सिक्किममा नेवारहरुको नव-वर्ष र म्ह-पूजा
केही सम्झना र चर्चा-परिचर्चा
१. नेपा: पासा पुच: अमेरिकायेद्वारा आयोजित म्हपूजा/न्हूदंं समारोहका केही अविस्मरणीय क्षणहरु २०१५
२. जयश्री, रिनाक, सिक्किममा सपरिवार म्हपूजा २०१६
३.मेरिल्याण्ड अमेरिकामा कुम्हाल टोल बीरगञ्ज परिवारसित म्हपूजा २०१५
४. सिक्किम नेवार गुठीद्वारा आयोजित ऐतिहासिक सामुहिक म्हपूजा १९९९
५. नेवा: अर्गनाइजेसन अफ् अमेरिकाद्वारा आयोजित
न्हूदंं / नववर्ष नेपाल संवत् ११३६ समारोहबाट अति रमणीय र स्मरणीय क्षणहरु |
-०-
सिक्किममा नेवार भाषासितै अन्य छ: राज्य भाषालाई विशेष अध्यादेश संख्या ५ एल. डी. ९० दिनाङ्क अप्रेल ३, १९९५-द्वारा यहाँका नेपाली, भोटे, लेप्चा र लिम्बु भाषा सरह आधिकारिक मान्यता हुँदा हामीले हाम्रो पुस्तक 'नेवा: वर्ण, लिपि र भाषा परिचय' सन् १९९६ र २००१-मा दोस्रो संस्करण निकालेर पाँच हजार प्रति सिक्किमभरि मात्र नभई कालेबुङ-दार्जीलिङतिर अनि नेपालमासमेत व्यापक रूपमा वितरण गरेका थियौँ | फेसबुकमा केही व्यक्तिले सम्बन्धित समूहमा भाषा सिक्न-सिकाउन अझ पनि यसबाट कतिपय पृष्ठहरु बिना स्रोत-साभार जनाएर राख्ने गरेको हेर्नपाइन्छ | थाहा भएकै कुरा, सिक्किमवासी नेवारहरुले यस भाषामा बोलिने साइनो-सम्बोधन अजा-अजि, पाजु-मलेजु, तता, चमा (चिरिमा), इत्यादि दैनिक जीवनमा व्यवहार गरिआएको पाउँछौं | यस कुराले मलाई यसै वर्षको प्रारम्भमा अखिल भारतीय नेवार सङ्गठन कालेबुङ अञ्चलले आयोजित राष्ट्रिय शिक्षक पुरस्कारले सम्मानित पंचरत्न प्रधानको संवर्धना-समारोहमा त्यहाँका नेवार भाषा, कला, संस्कृति, इतिहास, परम्पराका कुशल ज्ञाता योगवीर शाक्यले राखेका त्यो प्रसङ्ग सम्झना भएकोले सर्वसाधारणको जानकारीको लागि सो यहाँ राख्दछु |
योगवीरले हाम्रो समाजको एक महत्वपूर्ण पक्षप्रति हामीहरुको व्यवहारतर्फ प्रकाश पारेका थिए | जनगणनामा वा अन्य सर्वेक्षण हुँदा हामी आफ्नो मातृभाषा नेवार/नेपाल भाषा नलेखेर नेपाली लेख्ने गर्छौं यस गलत धारणामा कि हामी आफ्नो मातृभाषा जान्दैनौं अनि यो बोल्न आउँदैन भनेर | 'लिन्गुइस्टिक सर्भे अफ् इण्डिया' ( भारतीय भाषिक सर्वेक्षण )-का निदेशकसित केही समयअघि भएको एक अनौपचारिक कुराकानीको वर्णन गर्दै शाक्यले उनको यो विचार राखेका थिए कि हामी आफ्नो मातृभाषा जान्दैनौं र हामीलाई बोल्न पनि आउँदैन भन्ने कुराले केही फरक पर्दैन किनकि सामाजिक र साँस्कृतिक रूपमा हामीहरु नेवार वस्तु र नामहरुसित परिचित भई जन्मे-हुर्केका हौँ | अन्खोरा, करुवा, सिन्हाम्हु-ज्वालान्ह्याँकं, अन्टी, कोत, इत्यादि प्रयोग गर्दै, बा, मा, धबा-धमा, निनी, तताजु, पाजु-मलेजु, चमा/चिरमा, इत्यादिले आफन्तहरुलाई सम्बोधन गर्दै, म्ह-पूजा, किजा-पूजा, जंक्व, इन्द्रजात्रा इत्यादि मनाउँदै, सुख वा दु:खमा खें, न्या र अयला भएको ख्यं सगं वा लड्डु-दही भएको धौ सगं विशेष अवसर र कार्य-सिद्धि-सफलता वा मृत्यु-शुद्धीकरणमा दिँदै-खाँदै, गर्भाधान भएकी चेली-बेटीलाई धौ-बजी खुवाउँदै, चाड़बाड़ वा भोजमा छोयला, कचिला, वो, बारा, चटामरी, योमरी, लाखामरी इत्यादि व्यवहार गरेर हामीले प्रशस्त र प्रचूर रूपमा हामी नेवार हौँ भन्ने प्रमाणित गर्दै प्रत्यक्ष र परोक्ष तौर-तरीकाले सिद्ध गरिआएका हौँ | संस्कृति-रीतिथितिको पालन-पोषण गर्नमा सफल भएका छौँ यद्यपि हामीले आफ्नो मातृ-भाषा भने व्यवहार नगर्नाले बिर्सेका छौं | केही मात्रामा नेवार भाषा ज्ञान भए ता पनि सञ्कोच वा असहजता कारणवश हामी यहाँ उपयोग नगरेका हुन्छौं | खिसी पो गर्ला कि भन्ने आशङ्कामा उचित वातावरणको अभावमा आफ्नो भाषादेखि टाढ़िँदै बिर्सेर गएका छौँ | जान्नेहरुले पनि बोल्दैनन् कि जस्तो मलाई आभास हुन्छ किनकि उहाँहरुमा यो भ्रम छ कि कहीँ-कतै उनलाई 'साहुजी'को उपमा दिई सिक्किमका मूलवासी होइनन् कि भन्ने अरुले सन्देह-दृष्टिले हेर्लान कि ! सिक्किम नेवार गुठीका एक भूतपूर्व अध्यक्षले पश्चिम सिक्किमको कुनै बजारमा नेवार हिड़ेको देखेर पहिले 'लु हेर साहुजी गएको' भन्ने गर्थे, हिजआज भने 'गुठी' गएको भन्न थालेको रोचक प्रसङ्ग सुनाएका थिए | अर्को परिप्रेक्ष्यमा यसलाई हामी यस प्रकार हेर्न सक्छौँ - परदेश-विदेश भूमिमा गई विकट परिस्थिति झेल्दै-जुद्धै आफ्नो पहिचान तथा अस्तित्व स्थापित गर्ने प्रयासमा आफ्नो मातृभाषालाई कतै अवहेलित गरी बचाउन असफल-असमर्थ भएका ता होइनौं जस्तो मेरो तुच्छ अनुमान छ | अहिले आएर आज यो स्थिति छ कि कहीं कतै बोल्न परे सञ्कोच वा असहजतावश आफ्नो त जिब्रो नै कसैले थुतेर लगेको अनुभव हुन्छ !
मूलभूमि नेपालमा नेपाल संवत् कुनै विदेशी वा आयातित साल नभएर साथै यो नेवारहरुको मात्र नभई सम्पूर्ण देशको आफ्नै मौलिक संवत् भएको नव-वर्ष न्हुदँलाई राष्ट्रिय संवत्-को व्यावहारिक रूपमा स्थापित गर्ने प्रयास विगतका केही दशकमा तेज भएर गएको छ | संयुक्त राष्ट्र महासंघमा नेपाललाई एक अलग्ग स्वतन्त्र राज्यको रूपमा मान्यता प्राप्त गरी प्रवेश गर्नमा रञ्जना लिपि र नेपाल/नेवार भाषाले मात्र सम्भव भएको सर्वविदित छ | त्यहाँ नेपाल भाषालाई सरकारी स्तरमा प्रयोग र व्यावहारिक मान्यता चिन्ताको विषय भएको छ तथापि हालसाल त्यहाँ स्थानीय निकायहरु महानगरपालिकाहरुमा प्रयोग गर्न सकेर उत्साह र सम्भावना बढ़न गएको देखिन्छ | पाठशालामा शिक्षाको माध्यम मातृभाषा हुनु पर्छ भन्ने धेरै विद्वान, सङ्घ, संस्थानको माँग भए ता पनि यस विषय स्थिति अझ दयनीय छ र तिनीहरु संघर्षशील छन् | सिक्किममा भने स्थिति धेरथोर असल छ र यहाँ नेवार जनसंख्या केही धेर भएका स्थानहरुमा कतिपय सरकारी पाठशालाहरुमा नेवार भाषा पढ़ाउन यस विषयको शिक्षक नियुक्त गरी सो विषय पढ़ाइन्छ | तर पनि शैक्षिक तौरले माध्यमिक स्तरसम्म पुग्न-प्-याउन नसकेको कतिपयको गुनासो छ जब कि यसको दाँजोमा यहाँका केही अन्य भाषा स्नातक तथ स्नातकोत्तर स्तरसम्म पुग्न सफल भएको छ | उता संयुक्त राज्य अमेरिका, ओरेगन राज्यमा अदालतमा भाषा नजान्नेलाई यही सेप्टेम्बर ११, २०१८ देखि नेवार भाषामा नै बयान दिनु सकिने संवैधानिक अधिकार दिएको ताजा खबरले सबैलाई हर्षित बनेको छ | कुनै समस्या आई परेमा नेवारहरुको आफ्नो भाषा भएकोले त्यहाँ न्यायाधीशसम्मुख नेवार भाषा प्रयोग गर्ने अधिकार दिएको र यसको निम्ति व्यवहारिक दोभासे राखिने प्रबन्ध भएको छ | ओरेगन राज्यमा प्रदान गरिएको यो अधिकार नेवारहरुको यो एक उपलब्धि भएको र त्यहाँका अन्य राज्यहरुमा पनि यस्तै पहल गर्ने कुरा त्यहाँका द्यारत्न शाक्यले जनाएको खबर काठमाडौँबाट प्रकाशित नेपालभाषा टाइम्सद्वारा यो जानकारी सार्वजनिक भएको छ | यो एक महान् गौरवमय उपलब्धि हो, वास्तवमा नै !
पारिवारिक रूपमा मनाइने म्हपूजालाई व्यापकता दिँदै सामुहिक तौरले सिक्किममा प्रथम पटक सन् १९९९-मा सिक्किम नेवार गुठीका दोस्रो र तत्कालीन सभापति केशवचन्द्र प्रधानको पहलमा उहाँकै निवासमा यहाँका मुख्यमन्त्री समेतलाई सपरिवार निम्त्याएर खुबै हर्षोल्लासको साथ नेवार नव-वर्ष पनि मनाइएको थियो | विदेशतिर नव-वर्ष / न्हुदँ सामुहिक तौरमा मनाइने परम्पराको एक दुर्लभ क्षण सन् २०१५ सालमा अमेरिका छँदा नेवा: पासा पुच: अमेरिकायेद्वारा आयोजित समारोहमा आमन्त्रित भई सहभागी र सम्मानित हुने सुअवसर पाएका थियौँ | सोही वर्ष हामीले त्यहाँ नेवा: अर्गनाइजेसन अफ् अमेरिका (एनओए)-द्वारा आयोजित येंया /इन्द्रजात्रा समारोहमा मात्र नभई नव-वर्ष / न्हुदँ समारोहमा पनि यसरी नै आमन्त्रित भई सहभागी र सम्मानित हुने सौभाग्य पाएका थियौँ | यी अघि हामीलाई स्वन्ति नख:/तिहारको उपलक्ष्यमा काठमाडौँ छँदा त्यहाँको रमझमले परिपूर्ण नव-वर्ष नेपाल संवत् आगमनलाई बृहत् तौरले भिन्तुना -याली आयोजित गरी स्वागत गरिएको हेर्ने र साँझमा म्हपूजा पारम्परिक रूपमा मनाउने र भोलिपल्ट साँझ त्यसरी नै किजा-पूजा हेर्ने सौभाग्य प्राप्त भएको थियो | सो बेला मैले यो अनुभव गरेको थिएँ कि हाम्रा सिक्किमका हाम्रा नेवारहरु आफ्नो धनाढ्य साँस्कृतिकको एक झलक हेर्न छ भने यस्तो स्वन्ति नख:/तिहारको अवसरमा आयोजित भिन्तुना -याली हेर्ने मौका अवश्य छोप्नुपर्छ | कतै सो सम्भव नभए यस्तै अर्को भव्यताकोसाथ यमरी पुन्हिको दिन राष्ट्रिय ज्यापू दिवसको अवसरमा त्यहाँ आयोजित हुने साँस्कृतिक -याली हेर्न पर्छ | मलाई यो सुअवसर सन् २०१० सालमा प्राप्त भएको थियो जसको सम्झना सधैं भरिको लागि मेरो मन-मस्तिष्कमा गहिरोसँग बसेको छ |
नेपालदेखि अमेरिका पुगेका नेवारहरुको पहिलो सङ्गठन बाल्टीमोरमा सन् १९८३-मा स्थापित 'नेपा गुठी' सम्भवत त्यहाँको पहिलो त्यस प्रकारको संस्था होला | कतै यो संस्था सिक्किममा हामीले २७ मई १९८२-मा शङ्खनाद गरेको सिक्किम नेवार गुठीको सन्देश त्यहाँसम्म पुग्नु गएको हो कि भन्ने मलाई लाग्दछ वा यो मेरो बढ्दो उमेरको एक संशय मात्र पनि हुनु सक्छ | गुन्हु पुन्हिको दिन रक्षा-बन्धनको अवसरमा बहिनी ज्वालाको घरमा भेला भएका दाज्यू-भाइहरुमा भाइ अच्युतलाई सो जिज्ञासा राख्न सकिन्थ्यो किनकि उनी सो नेपा गुठीका १२ संस्थापक/परिवारहरुमध्ये एक थिए | यस वर्ष ६ अक्टोबरको दिन ती सब भेला भएर अर्को सालका लागि चयनित कृष्ण प्रजापति परिवारलाई सो गुठीको प्रतीक आराध्य देव गणेद्यको मूर्ति हस्तान्तर गरेका थिए | त्यही गुठीमा भएका एक वयोवृद्ध सदस्य राम मालाकारको परिवारले उहाँको ७७ वर्ष सात महीना सात दिन सात घड़ी सात पलाको अवसरमा आयोजित हुने पहिलो ज्याजन्को अथवा भीमरथारोहण यही वर्ष बड़ो भव्यताकोसाथ धुमधामसित मनाएका थिए | त्यसपछि नेपालमा पनि न्ह्यलुवा/पथप्रदर्शक पद्मरत्न तुलाधरको बहुआयामिक प्रतिभा र साहित्य, पत्रकारिता, जनजाति, मानवाधिकार जस्ता विभिन्न क्षेत्रमा चेतनामूलक योगदान पु-याइआएको कदर गर्दै गत भदौ महीना-व्यापी समारोहहरु आयोजित गरी अन्त्यमा उनको लाजिम्पाट निवासदेखि राष्ट्रिय नाचघरमा पुगेर भव्य रुपले संवर्धना गरेको थियो | यसै सन्दर्भमा मलाई सम्झना आयो - हामीले सन् २००० सालमा हाम्रो करुणा देवी स्मारक धर्मार्थ गुठीको तत्वावधानमा संस्थापक-बुवा जयशङ्कर लाल श्रेष्ठको ८३ वर्ष चार महीना चार दिन चार घड़ी चार पलाको अवसरमा दोस्रो ज्याजन्को अथवा उहाँद्वारा एक हजार पूर्णिमा दर्शन सम्भव भएको सहस्रचन्द्र दर्शनम् / महारथारोहण तीन दिवसीय विविध कार्यक्रमसाथ रिनाक नेवार गुठी र सिक्किम नेवार गुठीको सहयोगमा आयोजित अघिल्लो दिन नेवा सांस्कृतिक साँझमा संवर्धना अनि भोलिपल्ट निजी वासस्थानदेखि नगरसम्म परिक्रमा गरी श्री ३ सिद्धेश्वर शिवालय महादेव मन्दिरमा समापन गर्ने अभूतपूर्व र अद्वितीय सौभाग्य प्राप्त भएको थियो |
सिक्किममा अन्य परिवारले पनि म्हपूजा अघिदेखि नै मनाइआएका होलान् तर हाम्रो रिनाक परिवारले मनाइआएको मलाई मेरो बाल्यकालमा जुन बेला रिनाकमा बिजुली बत्ती थियो न ता सवारी-साधनको सुविधा नै थियो - त्यस बेलादेखि नै मावली शान्ति कुटीरमा सबै परिवार भेला भई मध्य रातिसम्म म्हपूजाको र भोलिपल्ट किजापूजाको रमाईलो भएको अनि पछि युवा छँदा ससाना बहिनीहरुलाई बोकी उकालो घर फर्केको सम्झ्ना छ | नब्बे साल पुग्न लागेकी मुमालाई पनि म्हपूजा र किजापूजा आफ्नो बाल्यकाल, जहिलेदेखिको सम्झना छ सबै सन्तान भेला भई त्यसरी नै मनाई आएको थाहा छ | बनारसमा छँदा पनि हामीले म्ह-पूजा मनाइनेगरेको सम्झना छ र सो दिन गोबर्धन पूजा पनि पर्छ भन्ने थाहा भएको बाल्यकालको एक झझल्को छ | अहिले आएर हामी यो चाड़ अझ पनि सपरिवार मनाई नै आएका छौं | वर्तमानको चपेटमा परेर यो महत्वपूर्ण परम्परा कहीं-कतै यो पूजा शब्दले गर्दा भ्रममा पण्डित-पुरोहितको आवश्यकता छ भन्ने लाग्ला तर त्यसो होइन| म्ह-पूजा अर्थात् आत्म-पूजा - आफैले आफुलाई गर्ने पूजा हो र न कुनै मन्त्र-तन्त्रको नै आवश्यकता छ |
आजभन्दा दुइ दशकअघि काठमाडौँमा छँदा हाम्रा आफन्त उद्योगपति (स्वर्गीय) इन्द्र्भक्त श्रेष्ठले नेवार भाषा र संस्कृतिको जगेर्नाको सदाशयस्वरूप हामीलाई शताब्दी पुरुष सत्यमोहन जोशीद्वारा नेपाली साथै नेवार भाषामा लिखित "नेवारहरुको महान् चाड 'म्हपूजा'' पुस्तक 'सप्रेम उपहार' स्वरूप वितरणका लागि दिएकाले सिक्किम-कालेबुङ-दार्जीलिङतिर यसको हामीले पु-याएका थियौँ | धेरैपछि सो पुस्तक नपाइएकोले सन् २०१०-मा 'गुठी अष्ट्रेलिया'को अनुरोधमा हामीसित भएको नेवार भाषाको एक मात्र प्रति करुणादेवी स्मारक धर्मार्थ गुठीको तर्फबाट सद्भावनास्वरूप पठाएका थियौँ | सो वर्ष हामीले अमेरिकामा म्हपूजा र किजापूजा न्यूजर्सीमा मेरी श्रीमती रञ्जनाको काठमाडौँ टेङ्गल परिवारसित साथै बाल्टिमोरमा मेरा बीरगञ्ज परिवारको साथ मनाएका थियौँ | हामीले न्यूजर्सी-गान्तोक-काठमाडौँमा मनाइएका म्हपूजाको एक विडियो तयार गरी युट्युबमा पनि अपलोड गरेका थियौँ जो मेरो पूरा नाम र म्हपूजा २०१० अङ्ग्रेजीमा लेखेर खोजी हेर्न सकिन्छ |
संस्कृतिविद् जोशीले 'दुइ शब्द'मा यस्तो व्यक्त गरेका छन् - “'संस्कृति'को सरल अर्थ बोध हुन्छ - असल र परिष्कृत क्रम जसबाट समाज सुसंस्कृत (Civilized) हुने गर्दछ | कुनै पनि जाति जनजातिका धार्मिक परम्परा, पूजा पर्व उत्सव, नाचगान जात्राहरु पनि संस्कृतिकै परिचायक अंग हुन् | अनि यही संस्कृति नै प्रत्येक जाति जनजातिहरुको जातीय मौलिक पहिचान बनेको हुन्छ | यदि कसैले आफ्नो संस्कृतिलाई बिर्सिदिंन्छ भने उसले आफ्नो जातिलाई मात्र होइन आफ्नै राष्ट्रलाई समेत बिर्सिदिन बेर लाउँदैन | यसै परिप्रेक्ष्यमा नेवार जाति मात्रको परम्परागत आफ्नो मौलिक संस्कृति भएको म्हपूजा पद्धति पनि बिर्सिसकेका लागि उपयोगी सिद्ध होस् भन्ने हेतुले लेखिएको हो | हुन् त यसमा भएका म्हपूजा सम्बन्धी दर्शन र विधिमा आफ्नो कुलाचार र थितीरिती अनुसार कसैकसैको पृथक धारणा पनि हुन् सक्छ तर म्हपूजा गराउने मूल तात्पर्य चाही एउटै हो भन्ने कुरामा कसैको दुई मत हुने छैन |”
नेपाल संवत् १११६ चौलागा (वि.सं. २०५२ चैत्र २३ गते) 'नेवा: दे दबु'को तत्वावधानमा नेवारहरुको दोस्रो जातीय सम्मेलनमा पारित बिर्तामोड़ घोषणा' यस्तो छ - “नेपाल अधिराज्यभित्र र बाहिर जुनसुकै ठाउँमा बसोबास गरेका नेवार जातिका समुदायले नेपाल संवत् फेरिने नयाँ वर्षको पहिलो दिन ( कार्तिक शुक्ल पक्ष प्रतिपदा तिथि ) 'न्हूदँया भिन्तुना' (नयाँ वर्षको शुभकामना) आदान-प्रदान गरी जातीय एकता र पुर्ख्यौली साझा मौलिक संस्कृतिको रूपमा विकसित भैरहेको 'म्हपूजा' चाडपर्व उत्सव परम्परागत रूपमा आआफ्ना कुलाचारनुसार हर्षोल्लासपूर्वक मनाउने“| नेवा: देय् दबूद्वारा आउँदो नेपाल संवत् ११३९-को लागि 'भिन्तुना नारा' - "भाषा, संस्कृति हाम्रो ज्यान - नेपाल सम्बत राष्ट्रिय शान" दिँदै आआफ्नो ठाउँमा भव्य र सभ्य तरिकासँग कार्यक्रम गर्न दबूका सबै खल:-पुचलाई अनुरोध गरेको जानकारी उपाध्यक्ष कृष्ण उदासले फेसबुकमा राखेका छन् |
स्वन्ति नख: अर्थात् तिहारको हार्दिक अभिनन्दन टक-याउँदै यहाँहरु सबैलाई न्हूदँ/नववर्ष ने.सं. ११३९-को शुभ अवसरमा सुख, शान्ति, समृद्धि, सफलता सँगसँगै सुस्वास्थ्य र दीर्घायुको मङ्गलमय शुभकामनासाथ "न्हूदँया भिन्तुना" !
दृष्ट्व्य: यो प्रस्तुति एक संस्मरण मात्र भएको र यहाँ उल्लेखित व्यक्ति, घटना, स्थान आदिका नाम सान्दर्भिक ठह-याई राखिएका हुनाले यसलाई अन्यथा न लिई दिने विनम्र अनुरोध छ | थप जानकारी भए [email protected] सम्पर्क गर्नु होला |