रजत् जयन्तीको उपलक्ष्यमा
सिक्किम नेवार गुठी - एक सिंहावलोकन
माइलखुट्टी एक - चुनौती अनेक
राजीव शङ्कर श्रेष्ठ
-o-
उहाँ सिक्किम नेवार गुथिको स्थापनाकालदेखि आजपर्यन्त विभिन्न पदासिन हुनुभई
यस पंक्तिकारलाईझैं अनेकौंलाई एक मित्र, दार्शनिक अनि पथप्रदर्शकको रूपमा
सम्मति तथा प्रेरणा-स्रोत भई हाम्रो हौसला बढाउनु भयो |
केही समय अघिसम्म मेरा अन्य लेखहरु झैं यो लेख पनि उहाँलाई हेरिदिनु आग्रह गर्न सकिएन -
उहाँ साथै उहाँकी जीवन सँगिनी शान्ति प्रधानको स्वास्थ्यमा
शीघ्रतम सुधार र दीर्घायुको कामना गर्दै
हामी सबैलाई दुवैले सदैवझैं प्रोत्साहित गरिरहून् |
***
पृष्ठभूमि
धेरैअघि सन् १९८२ सालमा यस पङ्क्तिकारले गणेशकुमार प्रधान, हरेराम प्रधान र धनबहादुर श्रेष्ठको सहयोगमा न्यु क्वालिटी होटलका के. बि. प्रधान*, अङ्ग्रेजी साथै नेपाली दैनिक 'गान्तोक'का शिव प्रधान*, लेखा अधिकारी एल. एन. प्रधान* अनि युनिभर्सल पब्लिशर्स एण्ड प्रिन्टर्सका रुद्रमणि प्रधान जस्ता अनेकौं सहहृदयी मित्रगण तथा शुभचिन्तकहरुकोबाट समर्थन होस्टेमा हैंसे स्वरूप प्राप्त भएको हुनाले मिति २७ मईको दिन एक अन्तर्देशीयपत्रद्वारा हाम्रो सन्देश शङ्खनाद गरेका थियौँ | सन्देश यस्तो थियो - “सिक्किममा बसोबासो गर्दै आएका समस्त नेवार समुदायका आफ्ना साहित्य, परपरा, कला, संस्कृति आदिका पारस्परिक आदान प्रदान औ जोगाड़को निम्ति एउटा संगठनको आवश्यकता भान भएको हुनाले एउटा नेवार गुठी 'सिक्किम नेवार गुठी' को नाममा एउटा सामाजिक संस्थान स्थापना गर्ने अभिप्राय लिएका छौं | यस सन्दर्भमा हाम्रा केही साथीहरु गान्तोक वरिपरिका परिवारसित विचार-विमर्श गर्दा समयको माँग यही भएको आभास भयो | यस विषयमा यहाँको विज्ञ सुझाउहरु आमन्त्रित गर्दछौं औ यी माथि दिइएको ठेगानामा २० जून १९८२ भित्र पठाउन हुन हार्दिक अनुरोध गर्दछौं | भवदीय, सिक्किम नेवार गुठी | ( पुनश्च: हामी तपाईंसित पत्र/सूचनाद्वारा सम्पर्क राख्ने छौं|) “ यस कुराको वर्णन डा. बालगोपाल श्रेष्ठले सन् २००४ सालको सर्वप्रथम शोध-अध्ययनमा आधारित अनि २०१५-मा प्रकाशित आफ्नो पुस्तक 'द् नेवार्स अफ् सिक्किम : रीइन्भेन्टिङ्ग लेङ्गुएज कल्चर एण्ड आइडेन्टिटिस इन द् डायस्पोरा'-मा पनि वर्णन गरेका छन् | राजधानी गान्तोकबाट मात्र नभई सिक्किमका विभिन्न भागहरुबाट हाम्रो प्रस्तावनाको स्वीकृतिमा राम्रो समर्थन प्राप्त भएको थियो कि हामी नेवार एकजुट भई यी कुरा हेर्न एक राज्यव्यापी संस्था स्थापना गर्नु पर्छ |
सिक्किमवासी नेवारहरुलाई गुठीको परिकल्पना कुनै नयाँ विषय थिएन किनकि कालो पहाड़ कहल्याइएको रिनाकमा टक्सारी चन्द्रवीर नेवार अनि उनका दाज्यू लक्ष्मीदास नेवारले यहाँका प्रतिष्ठित प्रभावशाली काजीहरूको आमन्त्रणमा सिक्किममा बसाईं सरेर आफ्नो नयाँ घर बनाएको समयदेखि नै यो यहाँ हुनेगर्थ्यो| समाजलाई एकताको सूत्रमा बाँध्न अनि पारस्परिक भेटघाट गर्न-गराउनमा मन्दिरले एक महत्वपूर्ण भूमिका निर्वाह गर्नेहुनाले रिनाकमा श्री ३ धनेश्वर शिवालय महादेव मन्दिरको स्थापना गरेका थिए | "नेवार गुठीले त्यहाँ 'गीत गोविन्दम' र 'दशावतार' जस्ता धार्मिक ग्रन्थहरुबाट सप्ताहमा एक पटक नेपाली र नेवार भाषामा भजन गाउने गर्थे |” मदन सम्मानद्वारा विभूषित डा. शान्ति छेत्रीले सन् २०१६ साल वाराणसीमा मदन सम्मान व्याख्यानमाला अन्तर्गत् 'सिक्किममा साहित्यको स्फुरण र प्रगति' शीर्षक आफ्नो प्रस्तुतिमा यसरी वर्णन गरेकी छन् | टक्सारी चन्द्रवीरका पुत्रद्वय राइसाहेब रत्नबहादुर प्रधान र बाबु दुर्गाशमशेर प्रधानले 'चन्द्र ड्रामाटिक क्लब' नामक नाट्य मण्डली स्थापना गरेर गुठीका गतिविधिहरुलाई व्यापकता दिएका थिए | सन् १९५० सालमा गान्तोकमा 'अपतन साहित्य परिषद्' स्थापना हुनुअघिको त्यस संस्थाले गर्दै आएका साहित्यिक बाहेक नाट्य गतिविधिहरु त्यस ताका 'रामलीला' काल-प्रवेश सँगसँगै दशकको उत्तरार्धमा अन्त्य हुनुगएको थियो | जन्माष्टमीको अवसरमा रथयात्रा निकालिने गरिन्थ्यो जुन पछिसम्म नै थियो तर प्राचीन कालदेखि निकालिने गाईजात्रा (काठमाडौँ खाल्डा बाहिर यहाँमात्र नै ) आजसम्म हरेक वर्ष पारम्परिक तौरले हर्ष-उल्हाससित विगत वर्ष दिवङ्गत हुने आफन्तहरुको स्मरणमा यहाँ निकालिन्छ|
त्यस शङ्खनादद्वारा दिइएको सन्देशले सम्पूर्ण सिक्किमलाई कुना-काप्चासम्म यस्तो प्रभावित ग-यो कि तत्कालीन सरकारले यसको विरुद्ध तत्काल निर्मूल गर्न आफ्ना कदम चाल्ने निर्णय आवश्यक ठह-यायो | सन् १९९४ सालमा सरकारमा परिवर्तन आयो जुन चाहिं जनताका इच्छा-अभिलाषासित खुबै वाकिफ थियो अनि त्यस प्रकारका माँगहरु धेर बेरसम्म स्थगित राख्न अनुचित पायो | १९८२-मा सल्केको आगोको फिलुंगो अझ पनि भित्र-भित्रै जलिरहेको थियो र १९९३-मा तादोंगका दयाप्रसाद प्रधानको निवासमा केही नेवारहरु भेला भएर आफ्ना परिवारजन सहितको एक नेवार गुथि थाल्ने प्रयत्न गरे | नयाँ सरकारको गठनसाथ केही वरिष्ठतम सेवानिवृत्त अधिकारीहरुको ( हामी सेवारतहरुलाई पहिले झैं कुनै पनि कठोर वर्ताव सामना गराउँदै यो प्रयास पनि त्यसरी नै विफल नगरोस् भन्ने ध्येयले) एक सठीक समिति १९८२-मा दिइएको 'सिक्किम नेवार गुथि'कै नामकरण गरी गठन गरे | सोही अनुसार सरकार समक्ष एक प्रस्ताव प्रस्तुत गरे जसलाई अन्तत: नवम्बर १९९४मा पन्जिकरण संख्या ६८९/एल आर/९४ दिई स्वीकृति प्रदान गरे | मोहनप्रताप प्रधान* संस्थापक-सभापति, केशवचन्द्र प्रधान उप-सभापति, गोविन्दप्रसाद प्रधान महासचिव अनि भीमसिंह प्रधान* कोषाध्यक्षमा पदासीन भए | सिक्किम सरकारका तत्कालीन विधि/कानून सचिव भीमराज प्रधान*ले आफ्ना उप-सचिव विजयप्रताप प्रधानको सहयोगले अति कठिन परिश्रमद्वारा सिक्किम नेवार गुठीको लागि एक संविधानको मसौदा प्रस्तुत गरेका थिए | हामीले सन् १९८२-मा सिक्किम नेवार गुठीको परिकल्पना गरी शङ्खनाद गरेको सिक्किमवासी नेवारहरुको दीर्घकालीन समयवृत्तिमा एक अति महत्वपूर्ण पाटो कुरा दयाप्रसादले आफ्ना पुस्तकमा पनि पुष्टि गरेका थिए तर इतिहासका पानाहरुमा यो दुर्भाग्यवश हराइएको पाइएको छ | बारह वर्षअघि वीजारोपण गरिएको सिक्किम नेवार गुठी अन्त्यमा स्फुरण भई यसरी अङ्कुरित हुनु गएको थियो!
अन्तर्निरिक्षण
प्रारम्भकालदेखिको हाम्रो लामो यात्राको हाम्रो आगामी प्रकाशनमा एक पुस्तिकामा सबै पक्षहरुलाई समेटेर सचित्र प्रस्तुत गर्ने छौं | तथापि विगतदेखिका थाँतीमा रहेका केही विषयहरु जसलाई आजको सन्दर्भमा केही उपयुक्त नहोला तर यहाँ मनननीय ठह-याई यहाँहरु समक्ष प्रस्तुत गर्दैछु :
- नेवार जनसंख्याको जनगणना हाम्रो एक अधुरो सपना हो जुन आजको समयमा उपलब्ध सामाजिक सञ्जाल अनि आधुनिक तकनिकीको सहायताले सम्पन्न गर्न कुनै खुबै मुश्किल कार्य नहुनु पर्ने;
- सिक्किम नेवार गुथिको संविधानलाई नेपालीमा साथै सम्भवत: नेवार भाषामा पनि उपलब्ध हुनु पर्ने; सिक्किमवासी नेवारहरुलाई जनजाति दर्जा आउँदो समयमा सम्भव हुने छ किनकि हाम्रो समाजको बृहत् लाभार्थ यसका लागि सिक्किम नेवार गुथिले आफ्नो भरपूर प्रयासहरु समर्पित गरेको छ; अनि
- संस्थापक सभापति मोहनप्रताप प्रधानको फ्रेमजड़ित तस्वीर प्रद्युमन श्रेष्ठ मार्फत् सिक्किम नेवार गुथिका तत्कालीन सभापतिलाई कार्यकक्षमा राख्न प्रदान गरिएको थियो तर यो न ता फर्काइयो न यसको प्राप्ति-सूचना नै प्राप्त भयो | हाम्रो यस प्रायोजनको एक मात्र ध्येय यस उदाहरणद्वारा विगतका सभापतिहरुको जस्तोसुकै तुच्छ योगदान भए-नभए पनि उहाँहरुको प्रशंसामा सश्रद्धा स्मरण गर्ने प्रयास थियो |(स्वर्गीय मोह्नप्रताप प्रधानको तस्वीर तत्कालीन सभापति रोहित कुमार प्रधानलाई सुम्पेको थिएँ - प्रद्युमन श्रेष्ठ, सम्पादक स्मारिका)
- टिप्पणी: यो एक विषय थियो जसलाई भाजु रोहितकुमार प्रधानले जहिले पनि हाम्रो भेटघाट हुँदा चर्चा गर्न भुल्दैनन्| यस दिशातर्फ हामी यथोचित ध्यान दिने छौं अनि भाजु मोहनप्रताप प्रधान लगायत अन्य सभापतिहरुका तस्वीर नेवार भवनमा उचित तौरले कार्यकक्षमा राख्ने छौं - दिलुकुमार प्रधान, सभापति
सिक्किम विधान सभाको इतिहासमा प्रथम पटक ३२ आसन भएको सदनमा नेवार समुदायको (केही अन्य झैं) प्रतिनिधित्व शुन्य रहेको छ जब कि विगतमा कति पटक र भर्खरैसम्म दुइ जना विधायकले प्रतिनिधित्व गरेका थिए | पछिल्लो सरकारमा आरिटारका बिक्रम प्रधानले छुजाचेन समष्टिबाट अनि आरिथाङ्ग समष्टिबाट श्याम प्रधानले निर्वाचित विधायकको रूपमा सिक्किम नेवार गुथिसित निकट-सम्बद्ध भई सहयोग पु-याएका थिए |
वर्षौंदेखिको अनवरत चेष्टा, समर्पण, सिद्धि र तेजस्विताले परिपूर्ण क्रियाशीलता फलस्वरूप अघिल्लो दशक एक उपलब्धिपूर्ण रहेको तथ्य सिक्किम नेवार गुथिको नाममा दुवै जग्गा-जमिन पञ्जीकृत हुनुसकेकोले स्पष्ट गर्दछ | राजधानी नजिकै महत्वाकान्छी नेवार भवनको निर्माण तेस्रो तल्लाको ढलानसहित कार्यान्वयले सफल प्रगतिको ध्योतक हो | यस वर्षको इन्द्रजात्रा यसै परिसरमा साधारण तौरमा पालन गरिएको भए ता पनि यस्तो महत्वपूर्ण दिन यस माइलखुट्टीतर्फ सबैको ध्यान आकर्षित हुनुगएको थियो | पच्चीस वर्षअघि स्थापना भए पश्चात् एक महान् उत्सव आगामी ९ र १० नवम्बरको दिन हुनुगइरहेको छ | यहाँसम्मको यात्रा असल र सफल रह्यो | सिक्किम नेवार गुठीले आफ्नो कौशल्यपूर्ण कार्यक्षमता र सुसम्पादित प्रदर्शन गर्ने अवसर आफ्नो रजत् जयन्ती यथोचित तरिकाले भव्यतापूर्वक गर्ने कम्मर कसेको छ |
हाम्रा ती पूर्वजहरु, जसले सिक्किमलाई आफ्नो नौलो घर बनाए अनि हामीलाई यहाँ जन्मिने र हुर्किने भाग्य पाएकोमा गर्व लाग्दछ - जो अरुहरुको लागि इर्ष्याको कारण बन्नसकेको छ - यहाँ ती पुण्यात्माहरुको स्मरणमा एक पङ्क्ति श्रद्धाञ्जलिस्वरूप राख्न योग्य ठान्दछु| दार्जीलिङमा जन्मेका अनि शिक्षित भएका प्राध्यापक गोपीनारायण प्रधान*ले, जसले आफ्नो सम्पूर्ण जीवन शिक्षा र साहित्यको सेवामा उत्तर-पूर्व भारतमा समर्पित गरे, यस पंक्तिकारसित शिलङ्गमा२० जून २००५ सालमा भेटघाट हुँदा यस्तो मन्तव्य व्यक्त गरेका थिए |सिक्किम नेवार गुथिका वर्तमान सभापति दिलु कुमार मास्के प्रधानले सिक्किममा 'साँस्कृतिक पुनरुत्थानका अग्रदूत' न्ह्यलुवा/ पथप्रदर्शक पद्मरत्न तुलाधरको गत वर्ष २०१८ साल भाद्र महीना-दिनव्यापी भीमरथारोहण जंक्वको अवसरमा एक प्रतिनिधि मण्डल काठमाडौँसम्म लगेर अनेकौं अन्यसित सहभागी भई उहाँलाई सम्मानित गर्ने अवसर जुराएर एक सराहनीय कदम उठाएका थिए | केही समय पश्चात् यी महान् विभूतिले आफ्नो प्राण त्यागेका थिए - उहाँ लगायत ती समस्त दिवङ्गत आत्माहरु अनि हाम्रा समकालीनहरु, जो सिक्किम नेवार गुठीसित सम्बद्ध थिए वा थिएनन् जसले यो संसार त्यागे उहाँ सबैलाई श्रद्धा-सुमन चढाउँदछु | हाम्रो श्रद्धाञ्जलि भारतीय सेनाका ती वीर शहीदहरु हवल्दार पदमबहादुर श्रेष्ठ र गोलाघाट असमका राइफलमेन गमिलकुमार प्रधान जसले २० अक्टोबर २०१९ सालको दिन पाकिस्तान अधीन काश्मिरको नीलम घाटीमा देशको सुरक्षामा आफ्नो जीवन बलिदान गरे | मेरो यो लेख व्यर्थ हुने छ यदि यहाँ ती समस्त जीवित अनि स्वर्गीय साथै भूतपूर्व औ वर्तमान पधादिकारीहरुप्रति केही शब्द सराहनाका यहाँ नराखे जसको फलस्वरूप जागरुक साथै वर्तमान समयको आवश्यकतासित सुपरिचित हाम्रो आउँदा पीढ़ीलाई अमूल्य नीधि र विरासतको मशाल सुम्पिनु सम्भव भएको छ |
सिक्किम नेवार गुथि युवा मामिला, जसले गत वर्ष असल प्रस्तुति दिए, आगामी दुइ दिवसीय रजत् जयन्ती महोत्सवको आयोजना गर्दै छ| हामीमाझबाट सर्वश्रेष्ठ आउन अझ बाँकी नै छ अनि त्यसमाथि सिक्किम नेवार गुथिसित एक खुबै प्रोत्साहित युवाशक्ति छ जसमा रेशु प्रधान र डा. सुशेन प्रधान जस्ताको एक समर्पित जमात छ जसले हाम्रा संस्कृति, रीतिथिति, परम्परा र कर्मकाण्ड साथै कला, इतिहास, भाषा र विरासत आदिको आउँदा दिनहरुमा अति असल उपायहरुद्वारा जगेर्ना गर्न कर्तव्यनिष्ठ भई कम्मर कसेका छन् | यस कुरासित हामी अवगत छौं कि यी सब विषय हाम्रा युवा पुस्तामाथि नै निर्भर गर्दछ अनि उनीहरुको अधीन मात्र यी सुरक्षित रहन सक्दछ | यसर्थ आऔं, हामी सबै एकजुट भई सहभागितासाथ यी चुनौतीहरुलाई सामना गर्न आफ्नो आदर्श र मनोवृत्तिलाई उच्च राखी - विगतका उपलब्धिहरुमा नता आश्वस्त हौँ न अघिल्लो दशकका विफलताले हतोत्साहित नै हौँ, बरु आउँदा हरेक नौलो दिन हाम्रा गौरवलाई उच्चतर स्तरमा राख्दै हामी स्वयमलाई साथै आफ्ना सहयोगीहरुलाई पनि अभिप्रेरित गरी सर्वोकृष्ट हासिल गर्न दृढ़ सङ्कल्प बनौं!
सिक्किम नेवार गुथिको २५ वर्ष पुरा हुनुगएको शुभ अवसरमा सिक्किमवासी नेवारहरुको पक्षमा सबै मित्रहरु तथा शुभचिन्तकहरुप्रति हिमाली अभिनन्दन टक्र्याउँदछौं अनि संसारभरी फैलिएर बसेका नेवार बन्धु-बान्धवहरुलाई खुबै सुखद न्हूदको कामना गर्दछौं! यहाँहरु सबैलाई नव वर्ष शुभकारक रहोस् अनि स्वराष्ट्रियहरुलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य प्राप्तिका साथै सबै सपनाहरु परिपूर्ण हुँदै पारस्परिक समझदारी/विश्वासका साथ हामी हाम्रो व्यक्तिगत तथा सामुहिक रुपमा हरेक क्षेत्रमा सर्वश्रेष्ठ योगदानको साथ अग्रसर हुँदै सिक्किमलाई सफलताको सर्वोच्च शिखरमा भारतमाताको मुकुटमा एक उज्ज्वल रत्न बनाऔँ, जसरी हाम्रा पूर्वजहरुले यसलाई बनाई गएर हामीलाई आज गर्वान्वित बनाएका छन् !! सुभाय / धन्यवाद |
हाल : चेस्टर स्प्रिङ्ग्स, फिलाडेलफिया, संयुक्त राज्य अमेरिका २१ अक्टोबर २०१९
दृष्ट्व्य : यो प्रस्तुति लेखकको आफ्नो जीवन यात्रा-क्रम अन्तर्गत्, कहिले यता कहिले उता हुँदै यहाँसम्म पुग्नसकेको व्यक्तिगत विवरण हो | यसर्थ यहाँ व्यक्त गरिएका विचारहरु उनका निजी विचार हुन् र कुनै संस्था वा व्यक्तिसित यसको मेल हुनु आवश्यक छैन | केही नामहरु(* चिन्ह दिवङ्गत चिन्हित गर्छन् ), वर्णन, स्थान अनि घटनाहरु विषय-वस्तुसित जोड्नका लागि मात्र राखिएका हुन् - कसैलाई विद्वेषको भावनाले भने कदापि होइनन् | सम्पर्क : [email protected]
लेखक परिचय
राजीव शङ्कर श्रेष्ठ, एक शीर्ष सेवानिवृत्त अधिकारी, उर्वर लेखक एवम् सिक्किमका सन्दर्भमा एक चल्दो एन्साइक्लोपेडिया हुन्| उहाँको प्रमुख पुस्तक 'सिक्किम: थ्री डिकेड्स टुवर्ड्स डेमोक्रेसी- इभोल्युशन अफ् लेजिसलेटिभ सिस्टम' (२००५) एक खुबै उपयोगी सन्दर्भ-ग्रन्थ हो | सिक्किम नेवार गुथिको प्रारम्भिक कालमा खुबै क्रियाशील सदस्य रहेका वर्तमानमा संयुक्त राज्य अमेरिका अवस्थित वर्ल्ड नेवा: अर्गनाइजेसन(डब्लुएनओ)-सित गहन सम्बन्ध राख्दछन् | आफ्नी छोरी र परिवारसित भेट्ने क्रमको वार्षिक प्रवासमा डब्लुएनओका सम्बन्धित व्यक्तिहरुसित निकट सम्बन्ध राखेकाले सिक्किमवासी नेवारहरुलाई विश्वभरि सुपरिचित गराउनमा उनीले प्रमुख भूमिका निर्वाह गरेका छन् | वास्तवमा उनी साँचैनै एक अघोषित सर्वव्यापी राजदूत हुन् ...” - केशवचन्द्र प्रधान, आत्मकथा 'द् लाइफ एण्ड टाइम्स अफ् ए प्लान्ट्समेन इन द् सिक्किम हिमालायास' ( संशोधित संस्करण २०१८ )