आर. के. प्रधान (१५ अगस्त १९५३ - २०१८)
रिनाकका एक पर्याय
गोर्खा जनपुस्तकालय खरसाङले मंगलवार २१ अगस्त पुस्तकालयको अध्ययन कक्षमा एक शोक सभा आयोजित गरी सिक्किम निवासी आर. के.प्रधानले पुस्तकालय र शिवकुमार राई प्रतिष्ठानलाई धेरै सहयोग प्-याएको तथा सिक्किमस्थित रिनोकमा शिवकुमार राई प्रतिष्ठानलाई स्वागत गर्दै धेरै सहयोग पु-याएको स्मरण गर्दै उनीजस्तो सहयोगी व्यक्ति गुमाउनु परेकोमा पुस्तकालयले खल्लो अनुभव गरेको बताए | उनको चिर आत्माले शान्ति प्राप्त गरोस् भन्दै शोक सन्तप्त परिवारलाई यो बज्रघात सहन गर्ने शक्ति ईश्वरले प्रदान गरुन् भनी कामना पनि वक्ताहरुले गरे |
हालसाल केही वर्षदेखि हामी रिनाकमा नै बस्दै आएका भए ता पनि केवल एक पटक शुरुमा नै त्यहाँको प्राथमिक स्वास्थ्य केन्द्रमा आर. के.सित हाम्रो भेट भएको थियो - हरि भंसारी पनि सँगै थिए | आफ्नो जीवनको स्वर्णिम सन्ध्याकाल हामीले पुर्खेली घरमा नै व्यतीत गर्ने हाम्रो निर्णयलाई धेरैले झैं ती दुईले पनि सहर्ष स्वागत गरेका थिए | कुनै पनि व्यक्तिले आफ्नो जीवनको अधिकांश भाग राजधानी गान्तोकमा सेवारत बिताएको छ भने गाउँ फर्कि जीवनको उत्तरार्ध बिताउन तत्पर हुनु यो निश्चय नै एक असम्भव विषय झैं लाग्ला | तर पनि अब हाम्रो भेट बराबर भई नै रहने छ भन्ने एक झिनो आशा हाम्रो हृदयको एक कुनामा बसी रहन्छ | पुरानो घरको स्याहार-मरम्मतमा व्यस्त भई सो भेट नै असम्भव भयो, आज थाहा लाग्छ ! यता आउनअघि उनीसित फोनमा एक पटक कुरा भएको थियो - मैले यस अवधि रिनाक र कालो पहाड़बारे आफ्नो एक पुस्तक 'सिक्किम - आवर न्युफाउन्ड होम इन द् ब्ल्याकहिल : नेवार्स - हेयर एण्ड देयर' बारे जानकारी दिएको थिएँ | सो पुस्तक चार दिनअघि मात्र हात परेकोले यसको केवल एक घोषणा स्थानीय समाचारपत्रहरुमा विज्ञप्ति निकालेर सन्तुष्टि गर्नुपरेको वाध्यता थियो | नत्र भने सन् २०००-मा 'विकासको गोरेटो - ग्रामीण प्रौद्योगिकी' झैं त्यहाँ आरिटार र रिनाकमा प्रस्तुत गर्ने इच्छा थियो | सन् २०१६ मार्च महिनामा मेरो अघिल्लो पुस्तक 'द् नेवार्स वर्ल्डवाइड - कन्नेक्टिङ्ग द् डट्स : सिक्किम'-को बाल्टीमोर अमेरिका र काठमाडौँ नेपालमा लोकार्पित हुनुअघि रचना बुक्स गान्तोकमा आयोजित पूर्वावलोकन समारोहमा आरिटार, रिनाकबाट हरिप्रसाद प्रधानका साथ आर. के. सहभागी हुनुको साथै हाम्रो समाजको गौरवमय ऐतिहासिक पृष्ठभूमिबारे सठीक टिप्पणी सँगसँगै कमी-कमजोरी अनि आउँदो पीढ़ीलाई के गर्नपर्ने विषय समेत चित्रण गर्दै यस लेखकप्रति आफ्नो सौहार्द्पूर्ण मन्तव्य व्यक्त गरेका थिए | मुख्य अतिथि केशवचन्द्र प्रधान, विशिष्ट अतिथि विक्रम प्रधान, वक्ताहरुमा प्राध्यापक डा. दिवाकर प्रधानद्वारा पुस्तक-परिचय, प्राध्यापक डा. प्रतापचन्द्र प्रधान अनि अवकाशप्राप्त निदेशक गणेशकुमार प्रधानद्वारा नेवारहरुबारे, प्रस्तोता धीरज प्रधान, प्रद्युमन श्रेष्ठ, उपस्थित गण्यमान्य लगायत समस्त महानुभावहरुले झैं उनले सो पुस्तक, यसको प्रकाशन तथा हाम्रो योगदान र सतप्रयासको सराहना गर्दै समारोहको गरिमा सँगसँगै शोभा बढ़ाएका थिए |
बिहे-बटुलो, मराउ-पराउ, पूजा-आजा, जस्ता सामाजिक कार्यक्रमतिर पहिलेदेखि नै समर्पित भए ता पनि स्वर्गीय प्रभुनारायणका जेठा छोरा रघुलाई समाजको एक प्रखर वक्ताको रूपमा सन् १९९४-९५-तिर नेपाली साहित्य परिषद्, सिक्किमको सभाकक्षमा आयोजित सिक्किम नेवार गुठीको एक प्रारम्भिक सभामा उनले आफ्नो परिचय गहकिलो वक्तव्यद्वारा 'रिनाकको आर. के. प्रधान' भनी स्थापित गरेका थिए | १९९७ साल १३-१४ दिसम्बर - गान्तोक कम्युनिटी हलमा भारतीय स्वतन्त्रताको स्वर्ण जयन्तीको अवसरमा सिक्किम सरकारद्वारा आमन्त्रित नेपालबाट मानवाधिकार-योद्धा पद्मरत्न तुलाधरको नेतृत्वमा नेपाल भाषा मंका खल:को सांस्कृतिक टोलीले प्रस्तुत सांस्कृतिक साँझमा चिसो खराब मौसममा त्यहीँका कतिपय यस ऐतिहासिक क्षणमा अनुपस्थित भई स्वयमलाई वञ्चित गराए पनि राज्यका कुना-कुनाबाट आएर त्यस अभूतपूर्व महोत्सवमा सहभागिता जनाउनेहरुमा आर. के. प्रधान पनि एक भएको मलाई राम्ररी सम्झना छ|
सन् २००० सालको मई महीनामा रिनाकमा करुणादेवी स्मारक धर्मार्थ गुठीद्वारा आयोजित बुवा जयशङ्कर लाल श्रेष्ठको सहस्र-चन्द्र दर्शनम् अर्थात् महारथारोहण वा जंक्वको तीन-दिवसीय धार्मिक-सांस्कृतिक अनुष्ठान भव्य तथा अभूतपूर्व सफलता रिनाक नेवार गुठी र सिक्किम नेवार गुठीको सक्रिय सहयोगले नै सम्भव हुनुगएको थियो | सिक्किम नेवार गुठीद्वारा धरोहर नामथाङ्ग कोठीमा स्थापित र नव-सञ्चालित नेवा: भाषा व संस्कृति विद्यालयद्वारा प्रशिक्षित विद्यार्थी भाइ-बहिनीहरुको सांस्कृतिक टोलीले लाखे नाचसहितको बाँसुरी-वादन र धीमे बाजाको सर्वप्रथम प्रस्तुति सो अवसरमा निकालिएको नगर-परिक्रमा-जात्रामा सिक्किमका जनताले हेर्न पाएका थिए | अघिल्लो साँझ श्री कृष्ण सिनेमा-हलमा आयोजित सांस्कृतिक समारोहमा सम्मानित व्यक्तित्वको अभिनन्दन लगायत समाजमा बहुमूल्य योगदान पु-याए बापत् हुकुमचन्द्र प्रधान*, गणेशकुमार प्रधान र कुमार प्रधानलाई प्रशंसा-पत्र पनि प्रदान गरिएको थियो | यी समस्त कार्यक्रम रिनाक नेवार गुठीका तत्कालीन अध्यक्षको हैसियतले यीनै आर. के. प्रधानद्वारा कर्तव्यबोधले प्रेरित अनि आफ्ना श्रद्धेय हेडसरप्रति आदर जनाउने सुअवसर सुसम्पन्न गराउनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए |
सन् २००५-मा आयोजित 'रचना रजत जयन्ती कथा अनुष्ठान'मा रिनाकबाट आर. के. र गणेश दुवै सहभागी भएका थिए | सन् १९७८-मा नै प्रकाशित 'निलम'ले गर्दा गंगा कप्तानपछि दोस्रो उपन्यासकारको रूपमा सुपरिचित अनि पछि १९९४-मा 'अन्तिम उपहार', २००१-मा 'विवशता' अनि 'पुजा' अप्रकाशित - साथै सम्भवत प्रथम नेपाली फिल्म-निर्माता चलचित्र 'निर्मोही' (१९९०)-का निर्माता-निर्देशक हुनु बाहेक उनले स्थानीय विस्मृत धरोहर चन्द्र नर्सरीका सह-संस्थापक राइ साहेब रत्नबहादुर प्रधानका ज्येष्ठ सुपुत्र भीष्म प्रताप प्रधान* अनि उहाँको वुडलेण्ड नर्सरीमाथि अनि सिक्किममा मात्र नभई समस्त हिमाली-खण्ड भारतमा नै सर्वप्रथम टिस्यु-कल्चर-द्वारा सुनाखरीको प्रजनन पद्धतिको आविष्कारक कृषि-वैज्ञानिक रमेश कुमार प्रधान र उहाँका योगदानबारे पनि निर्माण गरेको तथ्य सर्वविदित छ | यी अतिरिक्त १९८७-तिर 'रिनाकको सेरोफेरो' शीर्षक वृत्तचित्र अनि लघु चलचित्र 'अन्त कहाँ?' निर्माण गरिएको 'खबर म्यागजिन'ले जनाएको छ | "२००४ को भीषण रिनोक अग्नि काण्डमा सर्वस्व गुमाउँदा उनी सुकसुकाएर रूँदा नमीठो लागेको थियो I आफनो घर श्रीसम्पत्ति भन्दा अधिक आफनो कृतिहरू पलभरमै खरानी हुँदा ज्यादै कुण्ठित बनेका थिए I समाजलाई केहि दिनु पर्छ भन्ने इमान्दारी कोशिश यिनीमा देखिन्थ्यो l ... उनको यो अपत्यारिलो निधनले रिनोकमा एउटा युगको अन्त भएको छ I ... केहि दिन अघि मात्र गान्तोक मनिपाल अस्पतालमा भेटेर निकै लामो गफ गरेको स्मरण हुन्छ l हस मुख हाँकिलो व्याक्तिव भएकोले होला त्यति शिथिल देखिएको थिएन l" उनका एक साइनोदार धीरज प्रधानले आफ्नो फेसबुकमा यसरी लेखेका छन् |
हामी जहाँ छौं, जुनै पनि अहोदामा छौं, समाजप्रति उत्तरदायी भई केही न केही फर्काउने भावना हामीमा हुनुपर्छ भन्ने कुराको उनी पनि, यस पङ्क्तिकार झैं, एक कठोर पक्षधर साथै ज्वलन्त उदाहरण पनि थिए | गान्तोकबाट हामी भाई विजय र रविसित कुनै सामाजिक कार्यक्रममा सारिक हुनुजाँदा आर. के.ले हाम्रो तत्परताकासाथ आवभगत गर्दै पुर्खेली गाउँ रिनाक आएर यसरी सम्पर्क र सम्बन्ध न टुटाएकोमा खुशी हुनेगर्थे | रिनाक बजार समितिका एक कर्मठ सदस्यको रूपमा उनी एक सक्रिय कार्यकर्ता भएर सबै समुदायमा सद्भावना र भातृत्व कायम गरी काम-कुरा गर्न सुझाउ-सहयोग गर्नेगर्थे | त्यहाँका दिल्लीप्रसाद अधिकारीले आफ्नो शोक व्यक्त गर्दै लेख्छन् - "हो, समाजले एक होनहार साहित्यिक र सामाजिक कार्यकर्ता गुमाएको छ |” वरिष्ठ साहित्यकार नरबहादुर दाहाल आफ्नो शोक सन्देशमा यसरी लेख्छन्, "रिनाक (सिक्किम)-का उपन्यासकार आर. के. प्रधानसितको आफ्नो पचास वर्ष अघिदेखिको मित्रता उहाँको निधनले विछिन्न भयो | गत 26 अप्रेलको शिवकुमार राई शताब्दीको उद्घाटन कार्यक्रम रिनाकमा उहाँले सञ्चालन गर्नुभएको थियो | दिवंगत मित्रमा श्रद्धाञ्जली र परिवारमा समवेदना |” आफ्नो सेवाकालमा केही समय रिनाक बसेका कथाकार हरिश मोक्तान 'अल्लरे' लेख्छन्, "दाजु आर.के. को देहावसान भएको खबरले म मर्माहत छु, दुख्दो छु अनि अश्रुप्लवित पनि छु । आज रिनाकको एक प्रतिभाशाली होनहार व्यक्तित्व र समाजसेवी गुमेको छ । रिनाकको एक पर्यावाची व्यक्तित्वको रुपमा चिनिने आर . के. दाजुको अप्रत्याशित देहावसान रिनाकको खति नै हो । यसघरि ईश्वरले संतप्त परिवारलाई यस दुखको घडी झेल्नलाई धैर्य र शान्ति प्रदान गरून् ।" थिरुप्रसाद नेपाल अनुसार "हाम्रो साहित्यिक विरादरीका एक सफल प्रयोक्ता हाम्रा मित्र आर के प्रधानजी अब रहनु भएन। अच्छा राई "रसिक" पनि 15 अगस्त कै दिन बितेका थिए अरे 1952मा।" सुमति छेत्री लेख्छिन्, "उनी साच्चै एक गुणी र प्रभावकारी व्यक्तित्त्वका धनी थिए । अस्ति भर्खरै मात्र २६।०४।२०१८, रिनाकमा शिव कुमार राईको जन्म सतबार्षिकी समारोह तथा साहित्यिक कार्यक्रममा उनी सित भेट भएको थियो । ... साहित्य जगतमा एउटा अनुपम उदाहरण हुन् साथै उनी सदा सर्वदा नेपाली साहित्याकाशमा धुर्व तारा भै चम्किरहनेछन्, उनको योगदान अतुलनीय छ ।" जयश्री प्रधान, विजय प्रताप प्रधान, के.एन. शर्मा, विचन्द् प्रधान, के. पी. अधिकारी, लोकनाथ उपाध्याय चापागाईं, अनन्त श्रेष्ठ, मोहन प्रधान 'नीरज', ध्रुब लोहागण, विजय बान्तवा, अनिता निरौला, वीणाश्री खरेल प्रधान, शंकरदेव ढकाल, किशोर मोक्तान, जोसेफ लेप्चा, थमन नौबाग, देवराज शर्मा, भरत वशिष्ठ, हरिभक्त शर्मा, टी. बी. चन्द्र सुब्बा, प्रबिन पी. खालिंग, सामसन गुरुङ, प्रणय लामीछाने, भानुराज थापा 'निरोगी', आदि जस्ता अनेकौं-अनेकले फेसबुकमार्फत् आआफ्ना शोक-सन्देश व्यक्त गरेकाछन् |
रिनाक नेवार गुठीसित आर. के. धेरै अघिदेखि नै सक्रियतासाथ सम्बद्ध थिए | वयोवृद्ध सुन्दर कुमार प्रधान संरक्षकत्वमा उनी नायो/अध्यक्ष भएर धेरै समयसम्म अनि यसअघि उहाँ सो पदमा छँदा मूल सचिवको हैसियतले आर. के.-ले महत्वपूर्ण योगदान पु-याएका स्मरण गर्न सकिन्छ | क्वाति-पुन्हि/रक्षा बन्धनको भोलिपल्ट विगत साल दिवङ्गत भएका आफ्नो प्रियजनको गाईजात्रा नेपाल खाल्डोबाहिर रिनाकमा मात्र पुस्तौंदेखि पारम्परिक तौरले मनाईने गरिएको छ | हाम्रा स्वर्गीय बुवा जयशङ्कर लाल श्रेष्ठको सन् २००३-मा आयोजन गर्दा आरिटार नेवार गुठीका हुकुमचन्द्र प्रधान*को तत्परतामा सुसम्पन्न गर्नमा अनि रिनाक नेवार गुठीको पूर्ण सहयोगद्वारा सो प्रथालाई पुनर्स्थापित गर्नमा टेवा पुगेको थियो | साल २०११मा स्वर्गीय अनुपकुमार प्रधानको गाईजात्रापछि २०१२-मा आर. के.-ले आफ्नी स्वर्गीय आमा धनमाया प्रधान सँगसँगै मोहनप्रसाद प्रधान, कृष्ण प्रधान र एक अन्य आमाको संयुक्त रूपमा भव्यताकोसाथ गाईजात्राको अभूतपूर्व आयोजना गरेका थिए | साल २०१६-मा आरिटार नेवार गुठीको सहयोगमा आयोजित स्वर्गीय विनोदकुमार प्रधानको स्मरणमा गाईजात्रा रिनाक बजारको परिक्रमा गरी आरिटार मन्दिरमा विसर्जन भएको थियो भने त्यसपछि २०१७-मा स्वर्गीय हुकुमचन्द्र प्रधानको सम्झनामा आरिटारमा सो निकालिएको थियो | यस वर्ष स्वर्गीय विधानचन्द्र प्रकाश प्रधानको स्मरणमा यो आयोजना गरिने भएको छ |
"नेपाली भाषा आन्दोलनमा रिनाकबाट तिनको अहम् भूमिका थियो" भनी काशीबाट सिक्किमका एक प्रमुख आन्दोलनकारी रमेश कुमार प्रधान लेख्छन् | तारा दास सम्पादित 'नव प्रभात - परिचय विशेषाङ्क'मा उनीबारे रिनाकका कपिलमणि अधिकारी अनुसार “.. सन् १९७३ देखि सन् १९७५ सम्म सिक्किम जन आन्दोलनमा युवा कार्यकर्ता भएर सक्रिय भूमिका र १९८३ मा नेपाली भाषा आन्दोलनमा भोक हड़तालमा संलग्न रहेका हुन् |” उहाँको कार्य र योगदानको कदर गर्दै विभिन्न् संघ-संस्थाबाट पटक-पटक अनि २०१५-मा नेपाल नेवार गुठी काठमाडौँबाट समेत सम्मान जनाइएको जानकारी छ |
सन् २०१२-मा सरकारी सेवाबाट निवृत्त हालसाल आर. के.-ले आफ्नो समाजप्रति माया र दायित्व रङ्गेली-रिनाक शाखा गुठीका अध्यक्षको अभिभारा मूल-सचिव हरिप्रसाद प्रधानको सहयोगमा निरन्तरताकोसाथ वहन गरी सिक्किम नेवार गुठीप्रति एकबद्धता अनि सहभागितापूर्वक अमूल्य योगदान पु-याई आएका थिए | सिक्किम नेवार गुठीका पूर्व-अध्यक्ष आर. के. प्रधानले आर.के.-सित भेटघाटमा नेवार समाजको अनि विपिन्न परिवारको उत्थानबारे चर्चा गर्नेगरेका लेख्छन् | यस कुराको पुष्टि रचना पुस्तकमा गरिएको उपरोक्त समारोहमा उहाँ स्वयमको वक्तव्यमा पनि (उनको स्मृतिमा भर्खरै यु-ट्युबमा राखिएको https://youtu.be/Q7oaCh0zvZ4) हेर्न-सुन्न सकिन्छ |
आर. के.-को मृत्यु जन्मदिनकै दिन भएको एक सञ्योग मात्र हो कि भन्ने उत्सुकताले इन्टरनेटमा खोजिहेर्दा विश्वको एक सर्वेक्षणअनुसार यस्तो सम्भावना ३६५-मा एक रहेको अनि यो ६० वर्षको आयु नाघेकोमा अधिकांश पाइने साथै सो १४ प्रतिशत रहेको बताईन्छ | साहित्यकार विलियम शेक्सपियर (अप्रेल २४, १५६४-१६१६) र अभिनेत्री इन्ग्रिड बर्गमेन (अगस्त २९, १९१५-१९८२) जस्ता नाम यस्ताहरुको सूचीमा देखिन्छ | भगवान बुद्धको जन्म, बौद्धत्व साथै महापरिनिर्वाण एउटै दिन प्राप्त भएको हो | हाम्रोतिरका जन्मदिनको दिन मृत्युहुनेहरुको जानकारी गूगल गर्दा नपाईएकोले यस्ताहरु भाग्यमानी हुन् वा होइनन् भन्ने धारणा विभिन्न होलान् तर यो निश्चय नै एक दुर्लभ घटना भएकोले आर. के. भाग्यमानी नै थिए भन्ने लाग्छ किन कि समाजमा आफ्नो अविस्मरणीय योगदान पु-याएर अमिट छाप छोड़्न सफल भएका छन् | हामी माझबाट यसरी अकस्मात् विदा लिई पञ्चतत्वमा विलीन भए ता पनि आर. के.-ले आफ्नो सत्कर्मद्वारा प्रशस्त पुण्य कमाएका छन् त्यसर्थ स्वर्गको द्वार खुला पाउने छन् | हामी केवल उनको अनन्तको यात्रा सरल र सफल रहोस् अनि दिवङ्गत आत्माले चिर-शान्ति प्राप्त गरुन् भन्ने कामना गरौँ - अलविदा रघु / आर. के.!
~~
दृष्टव्य: सीमित समय र जानकारीमा प्रस्तुत - अन्यथा नलिई थप जानकारी दिन सम्पर्क [email protected]