आगत-विगत : चर्चा-परिचर्चा
रिनाकको सम्झ्ना गर्दै त्यहाँ भारती गुरुआमासित उहिले शिक्षक भई सेवारत छँदा गेजिङ्गदेखिनै परिचय थियो अनि उनको पछि रिनाकमा पदम गुरुङ* भाइसित विवाह भएकोले भेटघाट हुँदा कुरा-कुरैमा उनी पनि आफ्नै थरका भएको थाहा पाए | धर्म विषय कुरा गर्दा हामी नेवारहरु झैं अल्पसङ्ख्यक ३% मात्र भएका गुरुङहरु पनि हिन्दू र बौद्ध दुवै सम्प्रदायका समान रुपले अनुयायी भएको बताए | साहित्यिक कार्यक्रमहरुमा रिनाक जाँदावर्दा भाइ गणेशकुमार प्रधान कहाँनै बस्नेगरेको बताए | हाम्रो घर त्यहाँ सरकारी हाई स्कूल पस्ने बाटोमाथि मुखैमा भएको बताउँदा उनलाई ठिम्याउनु कठिन भएन |
रिनाक - साहित्य-संस्कृतिको उर्वर उद्गम-स्थल भएको विषय अघि राख्दै त्यहाँ राईसाहेब रत्नबहादुर प्रधान र उहाँका भाइ बाबु दुर्गशाम्शेर प्रधानले सन् १९३१-तिर नै 'चन्द्र ड्रामाटिक क्लब' नामक एक संस्था स्थापना गरेका थिए र त्यस बेलाको एक पुरानो तस्वीर ('प्राउड टु बी ए सिक्किमिज' शीतल प्रधानको सौजन्यले उपलब्ध) उहाँलाई मेरो मोबाइलमा देखाएँ | सन् ५१-मा स्थापित 'अपतन साहित्य परिषद्'-को प्रादुर्भाव हुनु अघि नै रिनाकमा हुनेगरेका साहित्यक-सामाजिक गतिविधिहरुको वृतान्त वर्णन रिनाककै ख्यातिप्राप्त विदुषी पुत्री शान्ति छेत्रीले राखिसकेकी छिन् भन्दा उहाँ अलिक आश्चर्यमा परे - त्यसो हुनु स्वाभाविक नै थियो | मैले उहाँलाई उनीले यस्तो कुराको खोज सन् २०१६-मा बनारसमा मदन सम्मान ग्रहण गर्दा प्रस्तुत व्याख्यानमाला अन्तर्गत् "रिनाकमा साहित्यको स्फुरण र प्रगति"-मा प्रस्तुत गरिएको बताएँ | अझ मेरो कुराको पुष्टिको लागि सो खोज-लेख 'उदय'-मा प्रकाशित पनि भएको बताएँ | उहाँ 'उदय'-को पश्चिम सिक्किमको लागि धेरै अघिदेखिका एक कर्मठ प्रतिनिधि हुनुभएकोले हेरिसकेका होलान् भन्ने मेरो अनुमान थियो | उनको अनभिज्ञता ध्यानमा राखी यस कुराको अझ पुष्टिको लागि मसित भएको 'उदय'-को सन् १९१७-मा निस्केको पूर्णाङ्क ११९- को एक प्रति उहाँलाई यस शीर्षष्थ साहित्यिक संस्थाका अध्यक्षको रुपमा हाम्रो शुभेच्छासाथ टक्र्याउँछौं | यस लेखलाई महत्वपूर्ण पाएर 'स्रष्टा'को आगामी अङ्कमा यसलाई मेरो सौजन्य र साभार 'उदय' राख्ने आफ्नो इच्छा प्रकट गरे |
उनले पुराना पाण्डुलिपिहरु सङ्ग्रह गर्ने आफ्नो संस्थानको प्रायोजना रहेको अनि हाल करीब एक सय जस्ता दिवङ्गत साहित्यकारहरुको योगदानबारे एक सङ्कलन निकाल्ने प्रयास रहेको कुरा राख्दछन् | मसित भएको पाचेखानीका पण्डित शङ्कर पोखरेल लिखित "टक्सारी चन्द्रवीर प्रधानको जीवन-चरित्र"-को एक प्राचीन हस्तलिपि उहाँलाई देखाउँछु | सन् २००५ सालमा रचना पुस्तक एवम् प्रकाशनको २५ वर्ष पूरा भएको उपलक्ष्यमा आयोजित "रचना कथा प्रतियोगिता"का उत्कृष्ट २५ कथाहरुको सङ्ग्रह 'रचना रजत् जयन्ती अनुष्ठान २००५" प्रकाशित गरी लोकार्पण समारोहमा यसका निर्णायक मण्डलीमा रहेका एक कथाकारले अठारह वर्षदेखि थन्किरहेको आफ्नो पाण्डुलिपिबारे गुनासो गरेका थिए | यो पङ्क्तिकार स्वयम् नेपाल गई अनेक खोज-अनुसन्धान गरी केही दुर्लभ सामग्रीहरुको जोहो गरी एक चर्चित साहित्यकार दिव्य गिरीको सक्रिय सहयोगमा उपलब्ध गराएर हामीले करुणादेवी स्मारक धर्मार्थ गुठीको तत्वावधानमा "धुमिल पृष्ठहरु - अनुसन्धानात्मक ग्रन्थ" सन् २००६-सालमा प्रकाशन सम्भव भएको कुरा चर्चा गरेँ | पुस्तक असल ढङ्गले निकाल्नमा समय, परिश्रम र धन खर्चिएको अनि पछि प्रकाशित पुस्तकलाई ठाउँठाउँ नेपालसम्म लगेर व्यापक रुपले सफल भएको साहित्यिक जगतमा चर्चा-परिचर्चा देखेर यसलाई बिना सलाह गरी एक वर्ष पनि बित्दा-नबित्दा चाँड़ैनै दार्जीलिङबाट अर्को संस्करण निकालेर हाम्रो सब प्रयासहरु व्यर्थ पारेका थिए | पुस्तकको सफलताले भन्दा पैसाको आवश्यकताले यसो गरे होलान् भनेर यो हाम्रोतिरको एक साहित्यकारको वाध्यता भएको स्वीकारेका थियौँ | नत्र भने हाम्रा कोशिस फलस्वरूप सम्भव हुनुगएको पुस्तकबाट प्राप्त राशि गुठीलाई नै सहयोग स्वरूप सुम्पिएको समझदारी थियो | यो कुनै लिखित रूपमा नभएकोलेगर्दा उनलाई स्वेच्छानुसार काम गर्ने स्वतन्त्रता प्राप्त भएको जनाएका थिए | पछि हामीले साहित्यकार "शरद् छेत्री छेत्री स्मृतिग्रन्थ" निकाल्ने घोषणा ग-यौं | त्यो कुरा सुन्नासाथ उनले फोन गरेर आफुलाई सम्पादकको रूपमा सहयोग गर्ने उनको प्रस्ताव हामीसमक्ष राखे | हामीले पनि उनीसितको अघिको तीतो अनुभवलाई पन्साउँदै उनको सो प्रस्तावलाई स्वीकृत ग-यौं | काम गर्न सजिलो र छिट्टो होस् भनेर यहाँ हाम्रोमा आउँदैगरेका लेख-पत्राचार सोझै सम्पादकलाई दार्जीलिङ पठाउने सूचना जारी ग-यौं | हाम्रो लक्ष्य दिवङ्गत साहित्यकारको निधनपछिको पहिलो जन्म-जयन्तीको अवसरमा लोकार्पण गर्ने योजना घोषणा गरिसकेका थियौँ तर सम्पादकले यसप्रति घोर विरोध जनाउँदै यो कार्य असम्भव, हुनैनसक्ने कुरामा अडिग रहे | हाम्रो पूर्व योजनालाई यस प्रकार बिथोलिने रहेछ जानेर हामीले आफ्नै कोशिसमा कामकुरा अघि सार्ने निर्णय लिई लेखहरु फर्काइ माँग्दा - यी सब उनकोमा उनलाई नै पठाएका हुनाले आफ्नो हक देखाउन थाले र थोरै मात्रामा लेखहरु फर्काइदिने कुरा कम्प्युटरमा अक्षर-सञ्योजन सहयोग गर्ने भाइलाई आदेश दिए | दृढ-सङ्कल्प र आफ्नो वचनप्रति कटिबद्ध भई हामीले जे-जति-जस्तो हामीलाई प्राप्त भयो ती सबलाई नै अनेक कष्ट, परिश्रम समय र पैसा खर्च गरेर काठमाडौँबाट एक प्रसिद्ध मुद्रण संस्थान, द् कमनर प्रेस -को सहयोगमा समयमा नै पुस्तक छापेर तैयार ग-यौं | निश्चित दिन राष्ट्रका शीर्षस्थ ऐतिहासिक साहित्यिक संस्थान नेपाली साहित्य सम्मेलन, दार्जीलिङको सहयोगमा २० जून २०१३-को दिन त्यहाँ शरद् छेत्रीकी धर्मपत्नी शोभा छेत्री तथा नेपाली साहित्य जगतका नक्षत्र डा. असित राई*, डा. गम्भीरसिंह योञ्जन, प्रेम प्रधान, गोपीचन्द्र प्रधान, डा. कविन्द्र त्तामाङ्ग, धनसिंह मोक्तान, हरेन आले, डा. जीवन नामदुङ्ग र मीना राई, डा. जस योञ्जन 'प्यासी', भरत प्रकाश राई, चन्द्रकुमार राई, सूर्य गिरी, सूर्य श्रेष्ठ, स्नेहलता राई र पूरण थुलुङ्ग राई, सचिन दुमी राई, कर्ण थामी, ओमनारायण गुप्त, हेमन्त प्रधान, कृष्ण प्रधान, टी. एन. प्रधान, आदि, आदि जस्ता मूर्धन्य व्यक्तित्वहरुको गरिमामयी उपस्थितिमा भव्यताको साथ पुस्तकको लोकार्पण सम्भव गर्न सक्षम र समर्थ भयौं | हाम्रा यहाँका एक महान् साहित्यकारप्रति समर्पित यस्तो पुस्तकको पहल यता दार्जीलिङबाट हुनुपर्ने तर हामीलाई सिक्किमले उच्छिट्यायो भन्ने मन्तव्य समारोहका मुख्य अतिथि बङ्ग-रत्न कृष्णसिँह मोक्तान जस्ता दिग्गज वयोवृद्ध साहित्यकारको मुखारवृन्दबाट सुन्नु पाउनु नै हामीलाई एक ठुलो गौरवमय उपलब्धि थियो | ती सम्पादक फेरि लोभमा परेको पछि सबले बुझ्न गए जब केही सप्ताहको अन्तरमा त्यहाँको एक प्रकाशन संस्थासित मिलेर उनले आफ्नो धूर्त इच्छा पूरा गरे |
धन्य, जसोतसो गरी सम्पूर्ण पाण्डुलिपि हामीसित फर्केर आएको थियो | यसको प्रकाशनको लागि पछि २००५-सालमा रचना रजत् जयन्ती-को शुभ अवसरमा अनि २०१२-मा पनि एक पटक फेरि सो पत्रिका निकाल्ने जमर्को ग-यौं तर पनि सो अघि बढ़ेन | अङ्ग्रेजीमा रहेको उखान झैं "सेभेन इयर इच" अर्थात् "सात-वर्षे कनाइ" जस्तै यसतर्फ फेरि सात वर्षपछिको अन्तरालमा २०१९ सालमा अब पनि कोशिस जारी छ र निकट भविष्य सम्भवत: आगामी वर्ष रचना पुस्तक एवम् प्रकाशनको ४०औं जयन्तीको शुभ उपलक्ष्यलाई हाम्रो लक्ष्य राखेका छौं अनि स्वयमलाई व्यक्तिगत रूपमा पनि यस प्रयासलाई फेरि कार्यान्वयन गर्ने उत्कण्ठ इच्छा छ | लेगशिपमा भर्खरै एक अन्त्येष्टि कार्यक्रममा शोकित परिवारप्रति संवेदना प्रकट गर्न पुगेका हाम्रा सहयोगी कमलप्रसाद अधिकारीलाई यस विषयको चर्चा गर्दा उनले मलाई केही न केही गरिनैरहने व्यक्ति भनेर यस प्रयासप्रति हर्ष प्रकट गरे | मैले ती स्थापित र नवोदित लेखकहरुलाई पुग्नसक्ने हौसला र मञ्च त्यसरी रोकिएकोमा खेद र ग्लानि रहेको तर परिस्थितिवश हामी लाचार भएको व्यक्त गरेँ | अर्का आत्मबल-परिपूर्ण मित्र धनबहादुर श्रेष्ठले आफ्नो एनजीओ 'लाम्पाते सोसाइटी'-का महासचिव दाउछो लेप्चालाई मेरा प्रयासहरुको मुग्धकण्ठले प्रशंसा गर्दै त्यस बेला सन् २०००-सालमा हाम्रो पुस्तक "विकासको गोरेटो : ग्रामीण प्रद्यौगिकी - कम दाम धेर ज्ञानका सठीक सुझाउहरु”-लाई आर्थिक सहयोग पु-याएको स्मरण गराए साथै त्यहाँ बैठक-कोठामा भएको अल्मारिमा सो पुस्तक अझ पनि सुसज्जित रहेको कुरा वर्णन गरेका थिए | एक अन्य सज्जनले पत्र-पत्रिकाहरुमा मेरा लेखहरु रुचिप्रद लाग्नेगरेको साथै पढ़ेर आनन्द लिनेगरेको मन्तव्य व्यक्त गरेकोमा उनलाई धन्यवाद चढाएँ | आगे ईश्वरको कृपा र यहाँहरुको शुभेक्षा अपेक्षा गर्दछौं |
---
घुम्दै-फिर्दै फेरि रुम्झाटारमा भने जस्तै मूल विषय-वस्तु वा विशेष व्यक्तिप्रति प्रसङ्गवश यी कुरा चर्चा ग-यौं भने ती व्यक्ति हाम्रा साहित्य-सेवामा आजीवन समर्पित महानुभाव आफ्नो ह्रास भएको क्षीण श्रवण-शक्तिलाई भर्खरै आधुनिक संयन्त्र लगाएर विजयी भई सजिलैसित स्पष्ट कुराकानी गर्न सक्षम भएकोमा मैले बधाई दिएँ | अर्का पद्मश्री विभूषित अग्रज साहित्यकारले पनि यस्तै तर अलिक महङ्गो उपकरणको लाभ उठाएको जानकारी दिए | हुन त म स्वयम् पनि एक लगाउने विचार भएको तर यसलाई एक झिँझो मानेर स्थगित गर्दैगरेको अनि यथाशीघ्र सदुपयोग गर्ने अभिप्राय भएको बताएँ |
यिनीसित हाम्रो भेटघाटको श्रृङ्खला धेरैनै पुरानो अनि हाम्रा साहित्यिक यात्रामा सदैव समर्थन, सहयोग र सहभागिता व्यक्त गर्नहुन गान्तोकमा 'रचना रजत् जयन्ती समारोह २००५' अनि 'शरद् छेत्री स्मृतिग्रन्थ लोकार्पण समारोह'-का लागि सिक्किमबाट डा. शान्ति छेत्री, अमर बानिया 'लोहोरो' सरह दार्जीलिङसम्म उपस्थित भइदिने महानुभाव मात्र नभई एक दशकअघि यस पङ्क्तिकारको साहित्यप्रतिको तुच्छ सेवा-प्रयासलाई कदर गर्दै आफ्नो एक बहुचर्चित पुस्तक समर्पित गरी उदार हृदयता जनाउन हुने एक समकालीन सरल र सहृदयी सहयात्री भएको अनुभव गर्दछौं | यी सरल हृदयी नेपाली साहित्यप्रति लामो समयदेखि सेवारत समर्पित साहित्यकारको परिचय यहाँहरुले पाइसक्नुभयो होला | उहाँ पश्चिम सिक्किम साहित्य संस्थानका संस्थापक अध्यक्ष अनि यसको मुखपत्र साहित्यिक पत्रिका 'श्रष्टा' -का प्रमुख सम्पादक बाहेक स्वयम् पनि अनेकौं पुस्तकका लेखक पनि हुन् | यस साहित्यिक संस्थाबाट दिइने श्रष्टा पुरस्कार एक प्रतिष्ठित पुरस्कार भएको र यसद्वारा अनेकौं साहित्यिक विभूतिहरू विभूषित भई सकेका छन् | "अकबरी सुनलाई कसी लाउनु पर्दैन" भन्ने उक्ति छ तर उनी एक साधारण शिक्षकको रूपमा आफ्नो सरकारी जागिर शुरुगरेका व्यक्ति राज्यको एक शीर्षस्थ साहित्यिक प्रतिष्ठान सिक्किम अकादेमीको अध्यक्ष जस्तो गरिमामय पदमा आफ्नो जीवनको सन्ध्याकालमा आसीन हुनु नै उहाँका साहित्यप्रतिको समर्पण र योगदान कदरगर्दै उहाँलाई उचित र सही स्थानमा ढिलै भए पनि दुरुस्त सिद्ध भएका एक योग्य व्यक्तित्वको रूपमा चयनित भई गौरवमय स्थान प्रदान गरिएको पुष्टि गर्दछ | यसमा कुनै दुई मत हुनुनपर्ने | आफ्नो साहित्य-सेवा अझ पनि निरन्तर समर्पित राखेर धेरै युवा लेखकहरुलाई प्रेरणाका स्रोत बनेका छन् भने कुनै आश्चर्य र अत्युक्ति नहोला ! अब त माता सरस्वतीका यी वरद्-पुत्र चिन्न यहाँलाई गाह्रो भएन कि ?! उनी अन्य कोही नभई सिक्किम अकादेमीका वर्तमान अध्यक्ष पद्मश्री विभूषित केदार गुरूंग हुन् ! उहाँलाई यस साहित्यिक दिशातर्फ आजीवन समर्पित भई निरन्तर अग्रसर हुने प्रेरणा, जाँगर साथै यसका निम्ति अति-आवश्यक सुस्वास्थ्य र दीर्घायु ईश्वरले प्रदान गरिरहून, हाम्रो हार्दिक मङ्गलमय शुभकामना छ !
दृष्ट्व्य : यो प्रस्तुति एक संस्मरण मात्र भएको र यहाँ उल्लेखित व्यक्ति (दिवङ्गतलाई * चिन्ह) घटना, स्थान, आदिका नाम प्रसङ्गवश सान्दर्भिक ठह-याई राखिएका हुनाले यसलाई अन्यथा लिइनदिनहुन विनम्र आग्रह छ | थप जानकारी दिनुचाहनुहुने महानुभावले यहाँ सम्पर्क गर्नु होला - [email protected] |