विधान चन्द्र प्रकाश प्रधान (१९४४-२०१७)
मेरा मामा - सबैका मामा
राजीव शङ्कर श्रेष्ठ
चित्र - परिचय
-०-
१. निर्वाण (१९३२) : पैतृक भवन, रिनाक
२. OBITUARY by S.F.A.S. Association
३. निर्वाण प्राङ्गण/चउरमा : विनोद कुमार प्रधान*, लेखक, विधान चन्द्र प्रकाश प्रधान *,
विजय प्रताप प्रधान, सुनील प्रकाश प्रधान* अनि सुबोध कुमार प्रधान*
४. रिनाक बजारमा 'नव जीवन सन्ध्या क्लब'का सदस्यगण
लेखक, मोहन प्रसाद प्रधान*, विधान चन्द्र प्रकाश प्रधान* श्याम सुन्दर प्रधान, सीता प्रधान*,
सिक्किम सरकारका प्रमुख प्रशासनिक अधिकारी आर. एन. ह्ल्दिपुर*,
शान्ति प्रधान, विनय कुमार प्रधान* अनि प्रणेता जय शङ्कर लाल श्रेष्ठ*
५. लेखक र विधान चन्द्र प्रकाश प्रधान
६. नीरा प्रधान, रञ्जना श्रेष्ठ, शान्ति प्रधान, लेखक, केशव चन्द्र प्रधान र विधान चन्द्र प्रकाश प्रधान
-०-
सदैव हँसिला र सरल प्रकृतिका विधान मामा कलेज छँदा मेरा मात्र नभई सबै मित्रका नै मामा भएका थिए र यही पर्याय मामाले सबै पछि/अझसम्म नै परिचित थिए | उहाँ नर्थ पोइन्ट सन्त जोसेफ कलेजमा अङ्ग्रेजी विषय सम्मान (अनर्स) लिएर पढ्दथिए ( सी. के. प्रधान र सी. के श्रेष्ठ सँगै?) जब कि हामी दार्जीलिङ सरकारी कलेजमा अध्ययनरत् थियौँ सन् १९६०-को दशकमा | उहाँ आएपछि म पनि चौरस्ताको बेलेभ्यु छात्रावास छाड़ेर हर्मिटेज रोड शारदेश्वरी कन्या पाठशाला मास्तिर एक गुरुङ (अलगढ़ाका नन्दु बाबुका भाइ पुड्के जर्नेलका छोरी-ज्वाईं) परिवारको घरमा सँगै बस्ने गर्थ्यौं | त्यहाँका सबैले अनि पछि सिङ्गमारी फाटकमुन्तिर लाई-भिल्ला र मास्तिर एक घरमा पाहुना बस्दा त्यस घरका बुजुर्ग स्वामी र वरिपरिका सबैले पनि उहाँलाई मामा नै भन्ने गर्थे आदर र मायासाथ !
सन् १९६३ साल म प्रि-युनिभर्सिटी सकेर कलेज छँदा उहाँसित शीतकालीन विदामा भेटघाट हुने गर्थ्यो | यही बेला हामी युवाहरु मिलेर नव जीवन संध्या क्लब शुरु पनि गरेका थियौँ | अहिलेको स्वच्छ भारत सेवा अभियान सरह त्यही समय हामीले रिनाक बजारको झाड़ू लगाएर स्वच्छताको आवश्यकताबारे सन्देश दिएका थियौँ | हरेक साँझ हामी दुइ रिनाक वरिपरि टाढ़ा टाढ़ासम्म घुम्न निस्किने गर्थ्यौं - कहिले रङ्गेली तर्फ उकालो बाटो चालिसे-ढोक्सिङ्ग-कोप्चेतिर अनि कहिले रोड़ाथाङ्गतर्फ ओह्रालो सड़कैसड़क हुँदै तार्पिनसम्म पुग्थौँ | रमाइलो साँझको दृश्य तथा बोट-बिरुवा हेर्दै घुम्न निस्किन्थ्यौं | फर्किंदा कहिले उहाँको, ठुलो मामाको वा हाम्रो घर चिया-खाजा खानेगर्थ्यौं | विश्व-प्रसिद्ध चन्द्र नर्सरीबाट आफ्नो पिताबाट साथै विरासतमा साथै पाएको उद्भिदबारे ज्ञान उहाँसित प्रशस्त थियो अनि त्यसको व्यवहारिक तथा केही व्यापारिक रुपमा पनि पछि सेवानिवृत्त भएर सदुपयोग गरे | भनौं भने उहाँले आफ्नो भवनको अधिकांश भाग फूल र साग-सब्जी उत्पन्न गर्नमा लगाएका थिए | उहाँले रचना पुस्तकबाट विभिन्न सम्बन्धित विषयका पुस्तक लगी साथै मसित भएका गनेउला लगेर उत्पादित कृमिमलको असल उपयोग गरे | उहाँलाई यस धरोहर चन्द्र नर्सरीको द्स्तावेजीकरण गर्न उत्कण्ठ अभिलाषा थियो र उहाँसित भएका कतिपय पत्र-पत्रिका मलाई हेर्न दिने गर्थे | मैले पनि एक वेब साइट शुरु गर्ने प्रक्रिया प्रारम्भ गरेको थिएँ तर अपर्याप्त सामग्री भएर कुनै ठोस परिणाममा हाम्रो यो प्रयास सफल हुनु सकेन |
सन् १९६०-को दशक हामी आफ्नो अध्ययन सिद्ध्याएर जीवन सङ्घर्षमा लाग्यौं | मामाको पुरा नाम विधान चन्द्र प्रकाश प्रधान (२८ सेप्टेम्बर १९४४-१९ सेप्टेम्बर २०१७) तर सेवाकालमा धेरैमाझ छोँटो रूपमा 'बिसिपी' भनी चिनिन्थे | उहाँले सिक्किम राष्ट्रियकृत परिवहन (एस.एन.टी.)-मा लेखा विभागमा सरकारी सेवा २० अगस्त १९७०-को दिन एक लेखा परीक्षक (अडीटर)-को पदमा प्रारम्भ गरेका थिए | नवम्बर १, १९७१ देखि नवम्बर २०, १९७४-सम्म कलकत्तामा प्राइसवाटर संस्थामा सिक्किम सरकारको सेवा अन्तर्गत् चार्टर्ड एकाउन्टेन्सीमा प्रशिक्षण प्राप्त गरेर आएपछि त्यही विभागमा ओ.एस.डी.(एकाउन्ट्स) पदमा आसीन भए | त्यसपछि उहाँ वित्त विभागमा चिफ एकाउन्ट्स अफिसर पदमा स्थानान्तरण भई सेवारत हुँदै केही वर्ष लटरी-निदेशक पनि भए | उहाँ ३१ मई १९९६-मा सिक्किम वित्त एवम् लेखा सेवा (सिक्किम फाइनेंस एण्ड एकाउन्ट्स सर्भिस)-का वरिष्ठतम अधिकारीको हैसियतमा लेखा नियन्त्रक (कन्ट्रोलर अफ् एकाउन्ट्स)-को सर्वोच्च पदमा आसीन हुनुहुने प्रथम व्यक्ति थिए | त्यहीँबाट ३० सेप्टेम्बर २००१-को दिन सिक्किम सरकारमा आफ्नो दीर्घकालीन सेवा पु-याई सेवानिवृत्त भएका थिए | उहाँको परिवारमा माइजुसित एक छोरी स्मिता र एक छोरा अतुल छाड़िगएका छन् |
विधान मामा मेरा मामा मात्र नभई एक मित्र पनि थिए भन्ने कुराको आभास र अन्दाज त उपरोक्त विवरणबाट पाठकवृन्दले पाए होलान् | हाम्रो जीवनको एक खुबै महत्वपूर्ण पाटो विवाहको हुँदछ अनि हामी दुवैले कलकत्ता छँदा परिवारप्रति आआफ्नो जिम्मेवारी बुझेर जीवन सँगिनी खोज्न काठमाडौँको नेवार्नी नै घर भित्राउने सलाह ग-यौं | उहाँका पाँच दिदी-बहिनीहरु सबै त्यहीँ नै विवाह भई बसेकाले साथै मेरा आफन्त वीरगञ्जमा भएकाले आवश्यक सहयोग पाउन निर्धक्क भई यो निर्णय गरेका थियौँ | कलकत्तामा मेरा मित्र ध्रुव त्यसताका स्वर्गीय इन्द्रमणि राजभण्डारी* परिवारको आयात-निर्यात सेवा 'नेपा एजेन्सी'को अभिभारा लिएर बसेकाले काठमाडौँ पठाइने एक नयाँ लेण्डरोभरमा जाने प्रबन्ध गरी दिएका थिए | मुजफ्फरपुर हुँदै वीरगञ्ज पुगी अर्को रात बिताएका थियौँ | निनीलाई हाम्रो अभिप्राय थाहा लागेपछि ठुली भाउजु जनकदेवीले उहाँकी बहिनी (मामाकी छोरी)-को सुशील विवाह योग्य छोरीहरु भएको जानकारी दिइन् | उहाँकी दिदी हाम्रो नेपालगञ्जकी कान्छी निनी सङ्कटा देवी*का जेठा छोरा ठुल्दाई सर्वज्ञमान*की श्रीमती भक्ति भाउजु*की जेठी छोरी माधुरी काठमाडौँमा नै उनका श्रीमान प्राध्यापक विष्णुमान श्रेष्ठ* त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा सेवारत भएको र सम्पर्क गर्न जानकारी दिए | टेङ्गल घर पुग्दा रञ्जनासित भेट भयो र मेरो काम सजिलै हुनु गयो | विधान मामाकी काईँली दिदी सरला* र श्यामराज राजभण्डारी*ले उहाँका लागि एक सुकन्या थाहा लागेर पोखरा पुगी हेर्न गयौं | काठमाडौँ फर्केपछि उहाँकी कान्छी दिदी सरोजा र मणिराज कायस्थ* भेनाजु हामीलाई भेट्न बनेपाबाट आएका थिए | कुराकुरैमा विधान मामालाई त त्यहीँ घरमा भएकी भान्जी नानी नीरा मन परेको बुझेर हामीले सिक्किम त्यसै त टाढ़ो अनि कहाँ पोखरासम्म जन्ती गई बस्नु भनी आग्रह गर्दा अन्त्यमा कुरा मिल्यो | उहाँको त्यही वर्ष दिसम्बरमा र मेरो अर्को साल जनवरी १९७५-मा रिनाकमा बिहे भयो | बिहे भएर रिनाक आउँदा (बिजुली बत्ती आएको थिएन १९७९-८० सालतिर आएको हो) साँझ प-यो कि स्याल कराउँदा निरा माइजु डराएकी थिइन् रे तर वीरगञ्ज हाम्रो बिहेमा नै स्याल कराएको थियो !
म पछि सन् १९७३-मा भारतीय लेखा र लेखा परिक्षण सेवा ( आई.ए.ए.एस.)-को प्रशिक्षणार्थी भएर कलकत्ता पुगें | त्यहाँ छँदा हामी दुइको बराबर भेट हुन्थ्यो र बड़ा बजार / रविन्द्र सरणी उहाँकी माइली दिदी प्रतिमा* र तुलसीलाल श्रेष्ठ* र साइली दिदी मालती र पुण्यलाल श्रेष्ठ*को घर समय-समय भेटघाट गर्न पुग्थ्यौं | प्रत्येक सप्ताह हामी दुइ सिनेमा हेर्न जाने गर्थ्यौं | राजेश खन्ना-नन्दाको 'द् ट्रेन', देवानन्द-जीनतअमानको 'हीरा-मोती' र शम्मी कपूर- जीनत अमानको 'मनोरञ्जन' इत्यादि हेरेको सम्झना छ | यस अघि हामी दुवैले दार्जीलिङ छँदा देवानन्द- वहीदा रहमानको 'गाइड' र देवानन्दकै नन्दा, कल्पना र सिमी ग्रेवालसितको 'तीन देवियाँ' हेर्दाको रमाइलो प्रसङ्ग सम्झेर पुराना दिनहरु बराबर याद गरी रमाउने गर्थ्यौं | अर्को रमाइलो कहिले-काहिँ हामी सँगै बसी मद्पान गर्न आनन्द लाग्थ्यो | एक पटक काठमाडौँबाट मार्फा आइफलको रक्सी ल्याएको थिएँ | यस्तो मीठो कि हामी विजय, मामा र म गफको सुरमा उहाँ गाड़ी आफै हाँकेर घर फर्किनपर्ने यादै रहेन | भाग्यवश छः माइल बस्ने रिनाकका व्यापारी भाइ पुरुषोत्तम उनको गाड़ी तल राखेको देखेर हामीलाई भेट्न माथि आई पुगे | उनले नै आफ्नो वाहनमा लगी घरैसम्म पु-याई दिने उपकार गरे | पछि मामाले पिउन छोड़ेका थिए तर यस घटनाले हामीलाई भने छोड़ेको थिएन | धेरै पछिसम्म यस रमाइलो क्षणको सम्झना गरी हामी आनन्दित हुने गर्थ्यौं !
विधान मामा स्वयम् वाहन हाँक्न जान्द थिए र पछि जल-विन्दु / ग्लुकोमाले गर्दा एउटा आँखा गुमाएकाले सो असम्भव भयो | उमेरको चपेटमा शरीर केही अस्वस्थ्य भएकोले गर्दा उहाँ सालबारी सिलगढ़ीका होमियोप्याथी डा. मणिकुमार छेत्रीको सलाहमा उपचार गर्दै आए | योगाभ्यास सँगसँगै उहाँले तपस्या-ध्यानमा पनि मन लगाएका थिए | विहङ्गम योगका रमेश कुमार प्रधानले प्रयागबाट गान्तोक आएको बेला यस बारे केही प्राथमिक ज्ञान प्रदान गरेका थिए | परिवार र गाउँ-घर छर-छिमेकमा सबै सुख-दु:खमा सहभागी हुने स्वभावका हाम्रा मामा थिए | ईसाई सम्प्रदायद्वारा सञ्चालित स्कूलमा पढ़ेका भए पनि उहाँ धार्मिक प्रवृत्तिकका र पूजा-पाठमा आस्था राखी समर्पित थिए | एक पटक उहाँले पश्चिम सिक्किमबाट देथाङ्ग बाजे र अन्य पण्डितहरु आमन्त्रित गरी गान्तोक निवासमा निष्ठापूर्वक सप्ताह-व्यापी पूजा लगाएका थिए | सोझा र सरल स्वभावका भएकाले उहाँ अलिक आफ्नो काम-कुरामा अडिग, हठी र स्वाभिमानी स्वभावका थिए | यस प्रसङ्गमा मलाई मेरा ठुलो मामा भीष्म प्रताप*ले उहाँ सम्बन्धित युवा छँदा केही भारतीय सेनाका उच्च पदस्थ अधिकारीहरु दुवै चन्द्र नर्सरी र वुडलेण्ड नर्सरी घुम्न आउँदाको एक घटना सुनाएका थिए | कुराकानी गर्दा छोँटो कद र केटौलो उमेर देखेर अङ्ग्रेजी भाषामा केही अपशब्द बोलेका थिए तर विधान मामाले त्यहीँ त्यही बेला झट्ट त्यसै भाषामा यस्तो जवाफ फर्काए कि सबै जिल्ल परेका थिए - त्यस घमण्डी कर्णेलको दम्भ रिसले चूर भएको अनुहार हेर्न लायकको भएको थियो |
विधान मामाको स्वर्गारोहण भएको ४५ दिनको क्रियामा सामेल हुनु काठमाडौँ, कलकत्ता, कालेबुङ, आदि ठाउँबाट अनेक परिवारजन शोक समवेदना प्रकट गर्न आएका थिए | हामी पनि अमेरिकाबाट फर्केर सो पावन अवसरमा पुगेका थियौं | त्यस दिन ३ नवम्बर २०१७-को स्थानीय दैनिक 'सिक्किम एक्सप्रेस'मा 'सिक्किम फाइनेंस एण्ड एकाउन्ट्स सर्भिस एशोसिएशन' परिवारको पक्षमा स्वास्थ्य सेवा र परिवार कल्याण विभागमा निदेशक चन्द्र लाल शर्माले स्वर्गीय विधान चन्द्र प्रकाश प्रधानको स्मरणमा उनको जीवनमाथि संक्षिप्त जानकारी राख्दै एक विज्ञप्ति निकालेर श्रद्धाञ्जलि अर्पण गरेका थिए | 'सिक्किम फाइनेंस एण्ड एकाउन्ट्स सर्भिसका वरिष्ठतम अधिकारी भएकाले 'कन्ट्रोलर अफ् अकाउन्ट्स' (लेखा नियन्त्रक)-को उच्चतम गरिमामय पदमा पुग्नुहुने उहाँ प्रथम व्यक्ति थिए | उहाँ एक सरल प्रकृतिका व्यक्तित्व र खुबै निष्ठावान अधिकारी थिए | राज्यको प्रथम सुव्यवस्थित सेवा 'सिक्किम फाइनेंस एण्ड एकाउन्ट्स सर्भिसको स्थापना गर्नमा उहाँको अहम् भूमिका रहेको उल्लेख गरेका थिए | लेख सँगै एलन साक्सको उक्ति 'डेथ इस मोर युनिभर्सल देन लाइफ, एभरीवन डाइस, बट नट एभरीवन लिभ्स' अर्थात् 'जीवनभन्दा पनि मृत्यु धेर विश्वव्यापी छ, सबैको मृत्यु हुन्छ तर सबै जना हामीमाझ बाँचेका हुँदैनन्' प्रेषित थियो | 'सिक्किम फाइनेंस एण्ड एकाउन्ट्स सर्भिस' परिवार यहाँका परिवारजनको साथ उहाँलाई स्मरण गर्दै हाम्रा प्रिय महाशय सँधैभरि नै हाम्रो हृदयमा रहनु हुनेछ | यहाँको स्वर्गवासबाट भएको रिक्तता अपूरणीय छ भनी शोक व्यक्त गरेका थिए | 'सिक्किम फाइनेंस एण्ड एकाउन्ट्स सर्भिसका समस्त सदस्यगण लगायत सबै मित्र, परिवारजन र शुभचिन्तकप्रति कृतज्ञता ज्ञापन गर्दै यस लेख मार्फत् आभार र धन्यवाद चढ़ाउँदछु |
विधान मामाको जीवन-कालमा परिवारप्रतिको कुनै एक मात्र महान् ठोस कार्य सम्भव भएको स्मरण गर्नु परे यो ऐतिहासिक घटना यहाँ उल्लेख निर्धक्क गर्वसाथ गर्न सकिन्छ | काखको शिशु हुँदा नै आफ्नी मुमा बिजुली देवी गुमाएका विधान मामाले एक पुत्रले (छोरा/छोरी मिलेर) आफ्नो कर्तव्य ठानी गर्नपर्ने कार्य - आफ्नो विमाता यमुना देवीको सहस्र चन्द्र दर्शनम् / महारथारोहण वा जंक्व जस्तो अति महत्वपूर्ण सामाजिक र धार्मिक अनुष्ठान पारम्परिक तौरले आफ्नो गान्तोक निवासमा सम्पन्न गरेका थिए | यद्यपि यसमा उहाँका आफ्नै छोरा र एक छोरीले स्वयमलाई वञ्चित गर्न उचित ठाने | उहाँले ओछ्यान लागेका आफ्ना पतिको सेवा-माया-सुश्रुषा र सकल विराट परिवारको विवाह लगायत समस्त संस्कारहरु सुसम्पन्न गरी लगाउनु भएको गुण स्मरण गरी विधान मामाले सो मातृ-ऋणबाट केही मात्रामा भए पनि मुक्त हुँदै पुण्य कमाउने तथा हामी परिवारजनले आशीर्वाद प्राप्त गर्ने दुर्लभ अवसर यसरी पाएका थियौं | हाम्रो अहोभाग्य हो, काठमाडौँ जाँदा पशुपतिनाथ मन्दिर अघिल्तिरको निजी निवासमा नब्बे सालको लग लागेकी यमुना माया बजैसित बेला-बेला भेट गर्न गई आशीर्वाद हामीले अझै पनि पाउन सकेका छौं |
"जानेवाले कभी नहीँ आते, जानेवाले की याद आती है ... दिल एक मन्दिर है" भने झैं हाम्रा प्रिय विधान मामा अब कहिले फर्किने छैनन् तर उहाँको सम्झना हामी सबैको मन मन्दिरमा रही रहने छ, निश्चय नै | दिवङ्गत आत्मालाई चिर शान्तिको कामना गर्दै यस पुण्य तिथिमा एक पटक फेरि पनि हाम्रो हार्दिक श्रद्धाञ्जलि टक-याउँदै उनको अनन्तको यात्रा निर्विघ्न रहोस् भन्ने प्रार्थना गर्दछौं !
दृष्ट्व्य : थप जानकारी भए सम्पर्क [email protected]