विश्वका पुस्तक-पसलहरु – भाग ३ – हिमालयमा तेस्रो स्थल
रचना पुस्तक, गान्तोक
अर्का दास अनुवाद राजीव शङ्कर श्रेष्ठ
-०-
सानो घुमौरो काठको सिढ़ीले कोलकताको पार्क स्ट्रिटस्थित अक्सफोर्ड बुकस्टोरको भूईं तलाबाट मुनिल्लो तल्लामा भएको स्थान हामी रित्ता-खल्ती भएका विद्यार्थीहरुका लागि एक स्वर्ग हुनेगर्थ्यो | त्यसताका पुस्तक-पसलहरुले त्यस्ता व्यक्तिलाई ताखबाट किताब निकाली एक घण्टा भन्दा धेर समय पढ्दा हेर्नदिने चलन थिएन, कठोर तर अल्प दयादृष्टि झेल्दै मैले धेरै दिउँसोको समय त्यस सिढ़ीमा मेरो सामर्थ्य बाहिरका किताबका पाना पल्टाउँदै घण्टौं बसेको सम्झना छ |
रचनामा भुइँ तल्लाबाट पहिलो तल्ला उक्लिने एउटा सानो काठको सिढ़ीले मलाई सोझै कोलकता पार्क स्ट्रिटको अक्सफोर्ड बुकस्टोरको सम्झना आयो – अर्कै संसारको प्रवेश-द्वार, द् प्लेटफर्म नाइन र थ्री क्वार्टर्स, जसले विशिष्ट पुस्तक पसलको जादुमा पुर्याउँदछ |
सन् २०१९ सालमा गान्तोक भ्रमण अघि मलाई रचना बुक्स, बुकमेन्स, क्याफे फिक्सन वा रमण श्रेष्ठबारे केही थाहा थिएन | मैले गान्तोकमा दार्जीलिङको हाल-प्रसिद्ध रिभल्भरसित मिल्दो-जुल्दो यसको ब्रेड एण्ड ब्रेकफास्ट एकाई बुकमेन्समा आफू बस्न कोठा सुरक्षित गराएको थिएँ |
मेरो पहिलो सम्झना नवम्बर महिनाको चिसो बिहानीमा रचनामा पुग्दा त्यहाँ शीशाको दैलोमा रङ्गीन अक्षरमा लेखिएको यो पङ्क्तिले स्वागत गरेको थियो – “तपाईंको जीवन एक कथा हो |” मेरो छोरा, त्यस बेला ९ वर्ष, दगुर्दै साँघुरो सिढ़ी उक्लेर माथि कोठामा पुग्यो, म स्वयम् भने क्याफे फिक्शनमा प्रवेश गर्दा त्यहाँको वातावरणले तत्कालै सम्मोहित भएँ | त्यसपछिका तीन दिन प्राय: दिनभरी त्यहीँ व्यतीत गरें अनि रमण र उसको रमाइलो परिवारसित परिचित भएँ |
बुकमेन्स/रचनाको बाहिर हेर्दा शहरको आन्तरिक भागको एक ठेट नमूना थियो, गान्तोकको मध्यवर्गीय वास्तुकलाको - ससाना बार्दली भएको एक ठाड़ो चौकोर, मात्र तीन वा चार तल्ले भवन, ससाना बार्दली भए ता पनि कोठाहरु प्रवेश गर्न पर्याप्त खुल्ला स्थान थियो | यस भवनले यहाँ कुनै पाहुना-घर पनि छ भन्ने झट्ट आभास हुँदैन बरु, कुनै व्यापारिक प्रतिष्ठानको गन्ध बिनाको यो एक कुशलतापूर्वक देखरेख गरिएको आरामदायी आवास भएको जनाउँदछ |
गत दुइ दशकमा रचना बुक्स पूर्वीय हिमाली भेकमा सम्भवत: सर्वश्रेष्ठ जीवन्त साँस्कृतिक गन्तव्यको रूपमा विकसित भएको छ | यस पुस्तक-पसलले नियमित रूपमा आफैलाई विविध विषयमाथि वार्तालाप, पुस्तक-लोकार्पण, पठन-पाठन, कार्यशाला साथै कला-चलचित्र प्रदर्शन आयोजित गरी स्वयमलाई ज्ञान तथा समकालीन संस्कृतिमाथि गहन चर्चा-परिचर्चा गर्नका लागि एक आन्तरिक स्थलको रूपमा प्रस्तुत गरेको छ | यसको उद्देश्य ‘संसारलाई नै हिमालय/हिमाली भेकमा भित्राउने अनि यसको बदली हाम्रो जीवनको केही अंश शेष संसारसित बाँड़चुड़ गर्ने’ हो |
श्रेष्ठ ‘जयपुर लिटरेचर फेस्टिभल’, ‘द् हिन्दू लिट फ़र लाइफ’, ‘गोवा आर्ट्स एण्ड लिटरेचर फेस्टिभल’, ‘जयपुर बुकमार्क’, ‘ब्रह्मपुत्र लिटेरेरी फेस्टिभल’ अनि काठमाडौँमा ‘कान्तिपुर कन्क्लेभ’ जस्ता विभिन्न साहित्यिक तथा प्रकाशन मञ्चहरुमा एक वक्ताको रूपमा निमन्त्रित भएका छन् | उहाँ एक वर्ष लामो ‘ब्रिटिश काउन्सिल इन्टरनेशनल पब्लिशिङ्ग फेलोशिप २०२२’-का लागि चयनित एक दर्जन प्रकाशकहरु (भारतबाट छ जना र संयुक्त राज्यबाट छ जना)-मध्ये एक हुन् | उहाँ ‘शारजाह बुकसेलर्स कन्फरेन्स २०२२’-मा पनि भारतीय प्रतिनिधिमण्डलमा सामेल एक सहभागी थिए |
सन् २०१५ सालमा रचना बुक्सलाई ‘बेस्ट बुकशप : पब्लिशिङ्ग नेकष्ट इन्ड्सट्री एवार्ड’ अनि २०२० मा हैदराबाद लिट फेस्टमा ‘फुड फ़र थट बेस्ट बुकस्टोर’-द्वारा पुरस्कृत गरेको थियो |
पुस्तक-विक्रेता, प्रकाशक, पाहुनाघर-सञ्चालक - रमण श्रेष्ठ यी सबै हुन्, अझ धेर पनि | सरल भाषामा भनौं भने श्रेष्ठ सिक्किममा साहित्यिक रुचिको एक नयाँ तरङ्गका अग्रदूत हुन्, जसले सहस्राब्दी २०००-को प्रारम्भदेखि नै प्रज्वलित मशालको अभिभावक भई निरन्तर भरण-पोषण गर्दैआएका छन् | डाकबङ्गला डट कमले रमण श्रेष्ठसित कुराकानी गरेको छ, उहाँका एकल प्रतिष्ठान, लेखन, प्रकाशन तथा प्रसिद्ध चिया-विश्राम ...
रचना बुक्स सन् १९७९-मा मेरा परिवारले शुरु गरेका थिए | त्यस बेला आफ्ना कामबाट फर्किंदा मानिस आपसमा भेटघाट गर्थे अनि त्यस दिनको खबरकागज लिने निहुँमा पुस्तक-पसलमा भेटघाट नै मनोरंजनको एक साधन हुने गर्थ्यो | कोही न कोही अवश्य भेट हुनेगर्थ्यो | १९८०-को दशक एक सुनौलो समय थियो, केबल टिभीले हाम्रा घर आक्रमण नगरेका हुनाले मानिसहरु अझ आपसमा एकअर्काको घर गई भेटघाट गर्नेगर्थे | समाजप्रति चेतना भएकोले एक बलियो गठबन्धन हुनेगर्थ्यो | पुस्तक र रेडियो यस्ता क्रिया-कलाप सहज बनाउन सहायक हुनेगर्थे |
रचनाको दोस्रो अध्यायमा – साथै यसको वर्तमान अवतारमा जस्तो कि हामीलाई अवगत छ – तपाईं नै केन्द्र-बिन्दु हुनुहुन्छ | तपाईंलाई के कुराले यस व्यापारका द्वार फेरि खोल्न प्रेरित गर्यो ?
पुस्तक पसल फेरि खोल्न प्रेरित गर्ने सौभाग्यलाई धेरै कुरालाई श्रेय दिन सकिन्छ, तर पनि सर्वोपरी निश्चय नै आफ्नो लिखन्त नै थियो | मेरो जीवकोपार्जनको लागि आह्वान थियो | हो, यसका लागि साहसिक कदम आवश्यक थियो – पुस्तक बिक्रेता हुनु कुनै सरल / सहज होइन् | त्यस समय शहरमा हरेक तेस्रो पसल कि त एक अनलाइन लट्रीको वा मदिराको पसल हुने गर्थ्यो | अहिले फर्केर हेर्दा, मलाई लाग्छ कि यो म भाग्यशाली थिएँ कि मलाई जुन विषय गर्नसित प्रेम थियो त्यो गर्नलाई मलाई अनुमति प्राप्त भयो र यहाँसम्म पुग्न सम्भव पनि हुनुगयो |
‘स्वतन्त्र’ प्रतिष्ठानको रूपमा स्थापित गर्नलाई तपाईंलाई के कस्ता विघ्नबाधासित जुध्न पर्यो?
एक स्वतन्त्र प्रतिष्ठानलाई सफलतापूर्वक सञ्चालित गर्न धेरै व्यवधानको सामना गर्नपर्छ र ती परिवर्तन भईरहन्छ | शुरुका दिनमा मानिसलाई मेरो पसलमा आकर्षित गर्न एक ठुलो चुनौती थियो | कुनै स्थानीय व्यक्ति मेरो पुस्तक पसलमा भित्रिए त्यो दिनलाई म एक सफल दिन ठान्दथिएँ | पछि, ती व्यक्ति फेरि फर्किआएर थप पुस्तक खोजे, यसलाई एक महान् उपलब्धि भनी स्वीकार्थें |
कहिलेकाहीं, यो प्राकृतिक कारणवश वा परिपूर्ति-प्रणालीले गर्दा समयमा पुस्तक आई नपुग्दा हुन्छ | अरु बेला हामीलाई सम्पर्क अवरोध, दोषपूर्ण, लम्बित अनि समयलाग्ने आपूर्ति प्रणालिसित जुध्न पर्दछ |
अधिकांश अवसरमा, प्रकाशन उद्योग स्वयम् नै कम ख्यातिका पुस्तक बिक्रीकेन्द्र अनि ससाना पुस्तक पसलप्रति असहयोगको बर्ताव गर्नेगर्छन् | यदि हाम्रो गुनासोबारे भन्नु हो भने, यो व्यवधान अझ पनि प्रथम स्थानमा आउँदछ |
कसैलाई पनि रचनाको ‘स्वतन्त्र’ पुस्तक पसल यो विचार स्वयम् नै तगड़ा सामाजिक-राजनैतिक पहिचानको दिशातर्फ इङ्गित गरेको सहज अनुमान गरेको लाग्दछ | विगतका दुइ दशकमा यो पहिचान कसरी विकसित हुनुगएको छ ?
हामीले चयन गरीराखिएका पुस्तक तथा आयोजित गरेका कार्यक्रमहरुले नै हाम्रो विषयमा बोल्न प्रेरित गर्दछौं | हाम्रो पुस्तक-पसलमा के-कस्ता पुस्तक बिक्रिका लागि राखिन्छ, धेर जस्ता, हाम्रो सर्वोत्तम ज्ञानमा आधारित विश्व-दर्शनको एक प्रतिविम्ब हो | कतिले भन्छन् कुन किताब कुन अर्को किताबसित त्यहाँ राखिएको छ, त्यसले पनि तिनीहरुको दर्शनलाई प्रतिविम्बित गर्दछ | जब पर्यटकहरुले यहाँ विशिष्ट रुपले यसरी चयनित गरीराखिएका सङ्कलन देखेर ठुल्ठूला ‘चेन-स्टोर्स’मा यस्तो सङ्ग्रह देख्न पाइन्दैन भन्छन् तब हामीलाई रोमान्चित बनाउँदछ | हाम्रो सङ्ग्रह कुनै सङ्ख्या वा गणित आधारित हुँदैन | यदि यहाँ कुनै गणित व्यवहारमा लगाइएको छ भने त्यो हो हाम्रो हृदय र मस्तिष्कको, अनि हाम्रा संरक्षकका निजी रुचिबारे हाम्रो मानवीय ज्ञानमा आधारित हुन्छन् |
रचनामा त्यसरी खुबै एकल प्रयासमा आधारित सङ्ग्रह पाउँदछ | के रचनाका सञ्चयन हिमाली पहिचान अनि दर्शनमा सदैव केन्द्रित छन् वा यसलाई यहाँले यी सब वर्षहरुमा विकसित गर्नु भएको हो ?
त्यस्ता जकड़िएका धारणा विपरीत हामीले त्यस्तो पुस्तक पसल हुनुबाट आफैलाई नियन्त्रित राख्यौं जस्तो कि सबैले आशा गर्छन् हिमाली भेकमा अवस्थित पुस्तक-पसल भएकोले हिमालय विषयमाथि मात्र पुस्तक बिक्री गर्ने गर्छन् | जब म प्रकाशक अनि वितरकका भण्डारमा पुस्तक किन्नु पुग्छु, त्यहाँका बिक्रि-प्रतिनिधिहरुको ‘बुद्धिज्म’/ बौद्ध विषयका पुस्तक ठेल्ने प्रवृत्तिबाट अझ पनि स्वयमलाई रोक्न पर्दछ | वा ‘माउन्टेनियरिङ्ग’/हिमाल आरोहण | वा हिमाली परिदृश्य भएका कफी-टेबलबुक | यो निराशजनक हुन्छ |
एउटा पुस्तक-पसलले संसारभरिबाट आएका विचारधाराको लागि एक सेतुको रूपमा काम गर्नुपर्दछ – जो समय र स्थानले हामीसमक्ष पुर्याउँद्छ अनि हामीले जीवनप्रतिको हाम्रो ज्ञान, संस्कृति, इतिहास र कथा शेष संसारलाई प्रवाहित गर्नु पर्दछ | यो अनुसन्धान, ज्ञान उपार्जन र साझा गर्ने एक स्थल हो |
यो पस्तक पसल एक महत्वपूर्ण साँस्कृतिक स्थल भएको छ; क्याफे फिक्शन र बुकमेन्स बी एण्ड बी ले एक चित्ताकर्षक विशिष्ट अपील (यो गान्तोक भरिमा मेरो प्रिय स्थल हो) राख्दछ | यी दुइबारे यस्ता विचार कसरी उत्पन्न हुनुगयो, सो भन्नु होस् ..
.
मैले शुरुका केही सालहरु पुस्तक-पसल सञ्चालित गरेपछि यसका पुस्तक, कार्यक्रम तथा क्रियाकलापद्वारा हाम्रो हिमाली नगरमा यो एक तेस्रो स्थलको रूपमा परिणत भइसकेको थियो | हाम्रो विचारधारालाई प्रज्वलित गर्न किताब मात्र पर्याप्त नभएको आभास हुनु प्राकृतिक थियो | साथै, अनलाइन भण्डारको आगमनले हाम्रा केही सेवाग्राही बाहिरिएर गए | एक अझ धेर जीवन्त विचारधारालाई एक ‘मेल्टिङ्ग बोल’ / सम्मिश्रण हुने स्थलको लागि गान्तोक तैयार भएको हामीलाई लाग्यो अनि यस प्रकार ‘क्याफे फिक्शन’ पुस्तक-पसलको तल्लो तल्लामा स्थापित हुनुगयो | अनि किनकि हामी सक्रिय शोधार्थी, अनुसन्धानकर्ता, कलाकार, सङ्गीतकारसित सम्पर्कमा भएकाले गर्दा यो हुनुगयो भने पर्यटकहरु गान्तोकमा आफ्नो भारी बिसाउन अनि आरामदायी आवासको खोजीमा थिए - फलस्वरूप, पुस्तक-पसल माथिको तल्लामा चार कोठालाई ‘बेड एण्ड ब्रेकफास्ट’-मा परिणत गर्यौं |
हामी सबैलाई दिउँसो दुइ बजेको टी ब्रेक / चिया-अवकाशबारे भन्नुहोस्...
यस मिलनसार पुस्तक-विक्रेता चयनित पुस्तक-सङ्ग्रहका लागि जस्तै चिया बनाउनुमा पनि उत्तिकै निपुण भएको जनश्रुति छ | प्रत्येक दिन दुइ बजे, पसलमा को छ सो कुराले फरक पर्दैन, दोकान हेरिदिने आग्रहसाथ धेरैका लागि गोप्य कल्पना, पस्तक विक्रेता स्वयम् माथि गएर सबैका लागि चिया बनाउन उक्लिंथे | चाँड़ै नै साथीभाई अनि ती मानिस जो ‘फ्रेन्ड्स एट रचना’ समूहमा सम्मिलित थिए दुइ बजे चियाका लागि भेला हुन थाले | परिकाष्ठा त्यस बेला भयो जब नियमित भेलाहुनेहरुलाई सित्तैको चिया पिउन लाज लाग्न थाल्यो | परिणाम स्वरूप, उनीहरुकै आग्रहमा यो क्याफे शुरु गरियो |
प्रकाशन शाखा प्रारम्भ गरेर एक निर्दिष्ट विस्तारण गरिएको थाहा लाग्दछ | व्यापक रूपमा पाठक तथा दर्शकवर्ग समक्ष पुग्न के-कस्ता योजना छन्, जान्न सकिन्छ कि ?
चार दशकको पुस्तक-विक्रेताको रूपमा हामीले यो जान्न सक्यौं कि हाम्रो अञ्चलबारे खुबै कम पुस्तक छन् – ती सबै आधिकारिक नभएका र अधिकांश विदेशमा प्रकाशन भएकाले गर्दा सामर्थ्य बाहिर साथै अप्राप्य दुवै भएकाले गर्दा नै हामी प्रकाशन क्षेत्रमा पदार्पण गरेका हौं | हाम्रा समुदाय, संस्कृति, हाम्रा जनजीवन र हाम्रा जीवन-पद्धतिमाथि अनुसन्धानकर्ता यहाँ वर्षौं काम गर्छन् | तर ती पुस्तक विदेशमा विश्वविद्यालयका मुद्रणालयद्वारा प्रकाशित हुन्छन् जसले गर्दा ती खुबै महँगा र पाउन मुश्किल हुन्छन् |
हामी प्रकाशन क्षेत्रमा प्रवेश गरेर यस प्रकारका पुस्तकलाई, साथै कल्पनामा आधारित कृतिहरु / फिक्शन समेतलाई सुपथ मूल्यमा उपलब्ध गराउँदैछौं | धेरभन्दा धेर युवा शोधार्थी तथा विद्यार्थीहरुलाई त्यस्ता पुस्तक अब सजिलै उपलब्ध छन् |
के तपाईंलाई लाग्दछ कि वर्तमानमा युवा पुस्तालाई पुस्तकले पर्याप्त रुपमा रुचिपुर्वक बाँधिएर राखेको छ ?
छ, पहिलेभन्दा अझ धेर | वास्तवमा हामीले मानिसको जिन्दगीबाट पुस्तकले स्थान छाड़्दैगएको सामान्य धारणालाई हाम्रो मन-मस्तिष्कबाट खेदी-निकाल्न आवश्यक छ | हाम्रो पसलमा आउनेहरुमा ८० प्रतिशत मानिस युवा र विद्यार्थी हुन् | अनि फेरि किन्नेहरूमा प्राय: ७० प्रतिशत पनि यी युवा नै छन् |
हामीमाझ यस्ताहरु पनि छन् जसले कसरी पुस्तक-पाठन संस्कृति धेरैअघि नै लोप भइसकेको गुनासो सँगसँगै मानिस कसरी अब पढ्दै-पढ्दैनन् भन्न पनि रूचाउँछन् | तिनीहरुलाई मेरो जवाब यो छ कि ती मानिस उनीहरु स्वयम् नै हुन् जसले पढ्न छाड़ेका छन् (यदि कहिले पढ़े पनि)| जो पढ्छन् पढ्दै नै छन् | युवाहरु इन्टरनेट अनि पुस्तक सँगसँगै नयाँ-नयाँ उपकरणहरुसितै हुर्किए | खासमा भनौं भने अघिल्ला पुस्ताका ती नै व्यक्ति हुन् जो पाठनबाट बाहिरिएर गए उनका मनोरन्जनको क्षेत्रमा जुन सामाजिक माध्यम / सोसियल मिडियाले उपलब्ध गरायो |
बाङ्गलामा लेख्ने धेरै लेखकले हिमाली जनजीवनमाथि लेखेका छन् | ती मध्ये केही द्विभाषिक छन् जस्तै कि परिमल भट्टाचार्य | अन्यका लागि, यहाँले आफ्नो प्रकाशन शाखा अन्तर्गत् अनुवादित कृति विचाराधीन राखेका छन् कि ?
यी क्षेत्रबाट प्रकाशित फिक्शन, गद्य र पद्यका लागि एक महान् समय हो |
परिमल भट्टाचार्यको दार्जीलिङ महिमा खुबै सुन्दर छ | प्रत्येक नगरले त्यस्ता लेखकबाट, जो त्यो ठाउँ अनि त्यहाँका मानिससित वास्तवमा परिचित छ, त्यस्ता कृति पाउनु पर्छ |
भर्खरै, एउटा नेपाली लेखकले बाङ्गलामा उपन्यास लेखेका छन् जसलाई एउटा बङ्गाली अनुवादकले नेपालीमा अनुवाद गरेका छन् |
हाम्रो प्रकाशन जुन १९८०सालको गोर्खाल्याण्ड आन्दोलनबारे प्रथम उपन्यास यस क्षेत्रबाट एउटाले लेखेको – छुदेन कबिमोद्वारा लिखित (नेपालीमा ‘फातसुङ’) ‘सोङ्ग अफ् द् स्वाय्ल’ हो जसलाई अङ्ग्रेजी, बाङ्गला र चाँड़ै हिन्दीमा अनुवाद गरिएको छ | यो पुस्तक साहित्यको लागि प्रतिष्ठित जेसिबी पुरस्कारको लागि पनि चयनित भएको छ |
अब हामी यस क्षेत्रबाट अर्को प्रतिष्ठित उपन्यास यस वर्ष प्रकाशित गर्ने तरखरमा छौं | हाम्रा पुस्तकले पाएको जवाब/रेस्पोन्सले हामी खुबै प्रोत्साहित छौं | प्राय: प्रत्येक पक्ष मलाई एक नयाँ लेखकले आफ्नो पुस्तक प्रकाशनको लागि सम्पर्क गर्दैछन् |
यो आश्चर्यजनक हो | एक समय पुस्तक-पसलमा मानिस डोर्याईल्याउन एक चुनौती हुनेगर्थ्यो, अहिले हामीसित पाठकहरु अनि लेखकहरु दुवै नै छन् !
आभार: डाक बङ्गला डट कम / २९ अक्टोबर २०२२ / चित्र: लेखकद्वारा
दृष्टव्य : प्रस्तुत लेखको अङ्ग्रेजी मूल ‘सिक्किम एक्सप्रेस’मा पनि सचित्र प्रकाशित छ | - अनुवादक राजीव शङ्कर श्रेष्ठ |