सिक्किममा इन्द्रजात्रा र नेवार भाषा
केही प्रस्तावना र सम्भावना
राजधानी बाहिरको तितो-मीठो एक दशकपछि सन् २०१०-मा सिक्किम नेवार गुठीको केन्द्रिय कार्यालय गान्तोक फर्काइ ल्याउने बाध्यतालाई अन्तत: सफलता प्राप्त भएर धेरैलाई राहतको अनुभव भएको थियो | इन्द्र्जात्रालाई राज्यस्तरीय सामुहिक पर्वको रूपमा परिचित भए बापत् सन् २०११-देखि राज्य सरकारबाट एक सार्वजनिक विदाको रूपमा मान्यता प्राप्त भयो | यो एक माइल-खुट्टी सिद्ध भएको छ साथै एक चुनौती पनि | सोही साल काठमाडौँबाट 'बाखं दबु' कथाकारहरुको संस्थाका लक्ष्मण राजवंशी, राजा शाक्य जस्ता प्रतिष्ठित नेवार व्यक्तित्वहरु आमन्त्रित गरी इन्द्र्जात्रालाई व्यापक तौरमा मनाइएको सम्झना छ | यसरी नै सन् २०१४-मा काठमाडौँबाट विद्वानहरु आमन्त्रित गरी 'नेवार भाषा, संस्कृति र परम्परामाथि राज्यस्तरीय गोष्ठी'का साथ समय-समयमा अरु क्रियाकलाप र कार्यक्रमहरु गर्दै यसलाई वार्षिक चाड़को स्वरूप दिइयो | एक विद्वानले यस इन्द्रजात्रालाई किन यसरी मनाएका होलान्, सो दिन त इतिहासका पानाहरुमा नेवारहरुको पतन भएको एक कालो दिन थियो | मैले त्यो साल सिक्किम नेवार गुठीको वार्षिक स्मारिकामा र अन्य पत्रिकामा पनि प्रकाशित एक लेख मार्फत् यस दिनलाई हामीले हारको दिनको रूपमा नस्वीकारेर एकता र सहभागिता प्रदर्शन गर्ने दिनको रूपमा लिएका हौँ भन्ने स्पष्ट गरेको थिएँ | यो अब हामीलाई एक चुनौती मात्र नभएर सम्भावनाहरुको स्रोत बन्न गएको छ साथै आत्म-विश्लेषण गर्ने अवसर पनि | यसै कारणवश नै यहाँ सिक्किममा मात्र नभई आज संसारको विभिन्न भागमा जहाँ पनि नेवारहरु बसोबासो गरेका छन् त्यहाँ क्रमशः इन्द्रजात्राको आयोजना गरी एकबद्धताको प्रतीक भएको छ | धनाढ्य नेवार भाषा, धर्म, कला, संस्कृति, भोजन, परम्परा, आदि प्रदर्शन गरी यी सबको संरक्षण, संवर्धन र प्रवर्धनको इन्द्रजात्रालाई नै एक माध्यम पनि बनाई लगनशील र सक्षम भई हामी समाज, राज्य र राष्ट्रमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा नै सफलतापूर्वक नेवार जाति र सभ्यतालाई एक सुसंस्कृत सामाजिक परम्परा एवम् ऐतिहासिक धरोहर भएको सन्देश दिई सो जानकारी सर्वव्याप्त भएको पाउँछौं | यो क्रम विस्तृत भएको प्रमाण यस वर्ष वर्ल्ड नेवाह अर्गनाइजेसनका नायो सिजन श्रेष्ठ स्वयमको प्रायोजना-सहभागितामा बाल्टीमोर मेरिलेण्डमा पहिलो पटक काठमाडौँमा हुनेगरेको जस्तै येंया / इन्द्रजात्रा गरिने भएको जान्नमा आएको छ |
परिकल्पना
सिक्किम नेवार गुठीको शङ्खनाद सन् १९८२-मा यस पंक्तिकार तथा सहकर्मी/सहयोगी गणेश कुमार प्रधान, हरेराम प्रधान र धन बहादुर श्रेष्ठको नाम यहाँ राख्ने धृष्टता गर्दछु | समय साक्षेप प्रस्तावनाको चौतर्फी स्वागत भई प्रत्यक्ष-परोक्ष समर्थनमा आएका अनेकौं महानुभावहरुमा एल. एन. प्रधान*, मित्र कुमार प्रधान* जस्ता अग्रजहरु बाहेक शिव प्रधान*(गान्तोक प्रकाशन), रुद्रमणि प्रधान (युनिभर्सल प्रिन्टर्स), के. बी.प्रधान* (क्वालिटी होटल, क्वालिटी स्टेशनरीज स्वामी बाहेक उहाँ सिक्किमबाट प्रथम हिन्दी चलचित्र 'रोमियो इन सिक्किम'-का निर्माता) र रचना पुस्तक परिवारले त्यस समयको प्रतिकूल र विषम परिस्थिति हेरी अति आवश्यक आर्थिक सहयोगद्वारा (त्यो चाहे वर्तमानको परिदृश्यमा कति नै तुच्छ रकम किन नहोस् ) सम्भव हुनुगएको थियो त्यो सन्देश | सिक्किम राज्यभित्र मात्र नभई अन्यत्र गई बसेका नेवार परिवारहरुमा चेतना र पुनर्जागरणको शङ्खनाद गरी सुदुर क्षितिजमा त्यो एक झिनो आशाको किरण पुग्न-पु-याउन सक्षम भएको प्रेषित त्यस अन्तरदेशीय पत्र / इनलेण्ड लेटर हामीहरुमा धेरैको विस्मृत भए ता पनि कतिका हृदयबाट भने अझ पनि मेटिएको छैन भन्ने मेरो अड़ान छ | हाम्रो त्यो परिकल्पना समय साक्षेप भए ता पनि अनुकूल भने थिएन |
नेवार भाषा : सन् १९९४को चुनावले नयाँ सरकार सँगसँगै राज्यका चार मूल सम्प्रदाय नेपाली, भुटिया, लेप्चा र लिम्बुका भाषा सरह नेवार भाषाले अन्य छः (पछि भुजेल सहित) भाषाले एक विशेष अध्यादेश संख्या ५ एल. डी. ९० दिनांक अप्रेल ३, १९९५-द्वारा राज्य भाषाको दर्जा प्राप्त ग-यो | यस अध्यादेशमा 'नेवारी' भनेर वर्णन गरिएको छ र यो शब्द अहिले आएर हामीले बुझ्दा हेय र उपेक्षापूर्ण रहेको छ किन कि लिम्बु, राई, गुरुङ, मगर शेर्पा, तामाङ्ग, भुजेल र खस भाषालाई त्यसरी ई-कारको प्रयोग गरी खसी, भुजेली, इत्यादि भनी नामकरण गर्दैनौं | यसर्थ, उक्त अध्यादेशमा 'नेवारी' भनी राखिएको शब्द प्रयोगलाई 'नेवार भाषा' भनेर यथाशीघ्र परिष्कृत गर्नपर्छ भन्ने मेरो यहाँ आह्वान छ | यसको भूल निवारणमा वर्तमान सिक्किम नेवार गुठीका कर्मठ कार्यकर्ताहरुलाई, सो अध्यादेश एक पटक फेरि जाँचेर सही हो रहेछ भने, सरकारसित यस दिशामा एक विन्ती-पत्र प्रस्तुत गरेर उचित संशोधन ल्याउँदै सो सच्चाई दिनहुन (विश्वभरिका नेवार भाषाविद् र सचेत नेवारहरुको आपत्ति रहेको र स्वयम्-को पक्षबाट) यस लेखको माध्यमबाट एक विनम्र आग्रह छ | यस विषय सिक्किम सचेत भएको राजधानीबाट फेसबुकमा सञ्चालित ग्रुप/समूह 'द् नेवार कम्युनिटी'को शीर्षक सन्देश नै 'इट इस नट नेवारी, प्लिज स्टप युसिंग दिस वर्ड' आह्वानलाई स्पष्ट गर्दछ | सम्भवत: उनलाई अध्यादेशमा भएको तथ्य थाहा छैन कि भन्ने मेरो अनुमान छ | अन्यथा, सिक्किमका कतिपय सरकारी पाठशालाहरुमा नेवार भाषा शिक्षणको प्रबन्ध रहेको चारै तर्फबाट स्वागत गरिएको सर्वविदित छ | स्मरणीय छ, हाम्रो 'नेवा: वर्ण, लिपि र भाषा परिचय' १९९६ र २००१- का दुइ संस्करण गरी पाँच हजार प्रति पाठकहरुसमक्ष पुगी सकेको थियो !
'क्वाति-पुन्हि' : वर्तमान सरकारको उदार दृष्टिले नै हामीले सन् २००० सालदेखि मनाई आएको महान् पर्व इन्द्रजात्रालाई २०११-देखि एक सरकारी विदाको रूपमा घोषित भएको पाउछौँ | हरेक महीना/पूर्णिमामा अनेकौं चाड़बाड़मध्ये अर्को एक महान् पर्व 'गुन्हु पुन्हि' अर्थात् 'क्वाति-पुन्हि' हो | यो पूर्वघोषित सरकारी विदा 'पाङ्ग-ल्हाब-सोल' (जसलाई छोग्यालको शासनकालमा 'हिमादित श्रृङ्खलाको पूजा' वा 'वरशिप अफ् द् स्नोवी रेन्ज')-को दिन रक्षा-बन्धन पनि पर्नाले यसलाई कुनै अतिरिक्त कार्य-दिन विदामा खर्च नगरी यस महान् पर्वलाई पनि सिक्किम राज्यमा नेवारहरुका अर्को महत्वपूर्ण पर्वको रूपमा राज-पत्राङ्कित गरी सरकारी विदा घोषित गर्न सके सरकारको मात्र नभई हामी सकल नेवार जातिको एक महान् उपलब्धि हुनसक्ने छ | क्वाति वा यता प्रचलित रुप 'क्वाँटी' भनी परिचित जसलाई हाम्रा दिवङ्गत शिक्षाविद् डा. पारसमणि प्रधानले यसै शीर्षकको एक लेख राखी पुस्तक पनि सन् १९५०-को दशकमा नै प्रकाशित गरेका हुन् | सिक्किम सरकारको सूचना र जन-सम्पर्क विभाग सचिवको हैसियतमा 'सिक्किम हेरल्ड'को प्रमुख सम्पादक छँदा सो सरकारी बुलेटिनमा 'क्वाति-पुन्हि/पूर्णिमा'को अवसरमा यसमा एक लेख सर्वसाधारण पाठकवर्गसमक्ष जानकारी राखेको थिएँ | 'क्वा' अर्थात् तातो अनि 'ति' अर्थात् झोल - क्वाति अर्थात् तातो झोल | क्वातिमा भएका नौ थरिका गेड़ागुड़ी एक भई वर्षाकालमा कसरी सुपाच्य पोषक तरल भोज्य पदार्थ तयार गरी हामी आफ्नो शरीरलाई स्फूर्ति प्रदान गर्छौं त्यसरी नै समाजमा व्याप्त जात-जातको विभिन्नतालाई "विविधतामा एकता" भन्ने सन्देशलाई यसद्वारा प्रचार-प्रसार गर्न सक्छौं भन्ने सार साथै सन्देश व्यक्त गरिएको थियो | यसलाई त्यस बेला विभिन्न् पक्षबाट स्वागत पनि गरिएको मलाई अझसम्म राम्ररी याद छ | यस भन्दा अन्य के कारण हुनसक्छ जसद्वारा यस नेवारहरुका अनेकौंमध्ये एक भोजन साथै चाड़लाई सरकारी मान्यता प्रदान गरी उदार सरकारले एक पटक फेरि एक राज-पत्राङ्कित विदाको रूपमा घोषित गर्दै सिक्किममा जातीय सहिष्णुता कायम रहेकोमा थप ऊर्जा दिँदै अर्को उपलब्धि तथा श्रेय पनि सिक्किम सरकारलाई एक पटक फेरि प्राप्त हुने छ अनि हामीलाई यसमा गर्व !
सम्भावना
'अतुल्य भारत' : वर्तमान सरकारको यस्तै उदार दृष्टिद्वारा प्राप्त एक अनुदान राशिले दक्षिण सिक्किम तुरुङ्गमा एक भूमि किनेर यसको यथोचित उपयोग गर्न सिक्किम नेवार गुठी प्रयत्नरत् छ | हालै यस्तै अर्को अनुदान राशिले गान्तोक नजिकै बहु-प्रतिक्षित नेवार भवन निर्माण गर्नमा गुठी तत्पर रहेको छ | समय-समयमा प्राप्त यस प्रकारका अनुदान राशिले वर्षेनी इन्द्रजात्रालाई राज्यकै महोत्सवको रूपमा भव्यतासाथ राजधानी गान्तोकमा मात्र नभई अरु नगरमा पनि यो प्रस्तुत गरियो | तर गान्तोक नै इन्द्रजात्राको लागि उपयुक्त स्थान हो भन्ने हामीलाई लाग्छ | अब यसको मान्यता एक महत्वपूर्ण पर्यटकीय महोत्सवको रूपमा गान्तोकमा नै स्थापित भई देशभरिको मात्र एक राष्ट्रिय उत्सव नभई अन्तर्राष्ट्रिय स्तरमा पनि यो क्रमश: परिचित हुँदै 'अतुल्य भारत'को रूपमा सिक्किमलाई परिचय गराउने एक प्रमुख उत्सव चिन्हित भई 'पर्यटकीय भारत'को मानचित्रमा स्थापित हुने एक अझ उज्ज्वल भविष्यको प्रचूर सम्भावना देखिन्छ | यस वर्ष इन्द्रजात्रा महोत्सवमा 'टेलेण्ट हण्ट' अर्थात् प्रतिभा खोज, 'ठेट नेवार अचार', 'नेवार नृत्य', 'नेवार लोक-नृत्य' आदिको प्रतियोगिता सँगसँगै चित्रकला, छायाचित्र, विविध नृत्यकला, हस्तकला, आदि प्रदर्शन बाहेक कुमारी, मञ्जुश्री, लाखे नृत्य सहित धिमे बाजा र अन्य वाद्य यन्त्रले भरपूर सुसज्जित सांस्कृतिक कार्यक्रमको आयोजना साथै यी सम्बन्धित सामग्री लिएर मुखपत्र 'पौ'-को लोकार्पणआदि समेटेर प्रस्तुत ३-दिवसीय राज्य-स्तरीय समारोहले यसको निम्ती योग्य दावेदार रहेको प्रमाणित गर्नेछ भन्ने मेरो धारणा छ | म जस्तो धनाढ्य नेवार संस्कृति र सभ्यताको एक प्रबल समर्थकको मात्र नभई विश्वभरिका धेर जस्ता समर्थकहरुको व्यग्र र उत्कण्ठ अभिलाषा छ | यसै विश्वास लिएर केवल समयको प्रतीक्षा छ हामी सबैलाई !
आभार
यहाँ म मेरा समस्त पूर्वजहरुको स्मरण गर्दै मेरा समकालीन तथा अग्रजहरु जसजसले सिक्किम नेवार गुठी र समाजलाई यहाँसम्म पुग्न-पु-याउन समर्थ भए उनीहरुप्रति कृतज्ञता व्यक्त गर्दै उहाँहरुको पनि यहाँ स्मरण गर्नु म मेरो परम कर्तव्य ठान्दछु | सर्वप्रथम सिक्किम नेवार गुठीका संस्थापक-अध्यक्ष मोहन प्रताप प्रधान* लगायत समस्त समर्पित पदाधिकारीहरुको नाम लिनु चाहन्छु | तत्कालीन उपाध्यक्ष केशवचन्द्र प्रधान, जो दोस्रो अध्यक्ष रही र आजसम्म गुठीका केन्द्रीय सलाहकार समितिका अध्यक्ष भई समस्तलाई एक प्रेरणा-श्रोत भई विभिन्न विषयमा सलाह-ज्ञान दिइरहेका छन् | प्रथम गुठीमा मूल सचिव र दोस्रोमा उहाँका उपाध्यक्ष रहेका गोविन्द प्रसाद प्रधानले पनि अमूल्य सहयोग-सलाह दिई आइरहेका छन् | अर्का समकालीन सिक्किम सरकारका सबैभन्दा अधिक समय सेवारत कानून सचिव भीमराज प्रधान*ले सरकारसित पञ्जीकरण गर्दा एक अत्यावश्यक दस्तावेज सिक्किम नेवार गुठीको महत्वपूर्ण संविधानको प्रारूप आफ्ना उप-सचिव विजय प्रताप प्रधानको सहयोगमा तयार गरेका थिए | भीमसिंह वा बी. एस. प्रधान* गुठीका मूल सचिव भई त्यस बेला गाउँ-गाउँ घर-घर गई कुना-कप्चाका नेवारहरुलाई गुठीको सन्देश दिँदै महत्व बुझाएर सम्बद्ध गराएर एक राज्य-व्यापी संस्थाको रुप दिनुमा उनको अहम् भूमिका थियो | काठमाडौँमा गुठीको प्रतिनिधि टोलीमा उहाँको साथ नेवार भाषा ज्ञान भएका रङ्गेली निवासी वैकुण्ठ राज श्रेष्ठ* थिए | नेवार भाषा ज्ञानको अभावमा त्यहाँ यी दुइमा एक गलतफहमी भएको थियो | त्यस बेला देवानन्द-वैजयन्तीमाला-अशोक कुमार अभिनित सिक्किममा छायाङ्कन गरिएको चलचित्र 'ज्वेलथीफ'-मा अभिनयद्वारा सुपरिचित मदन कुमार प्रधान* कोषाध्यक्ष थिए | सिक्किम नेवार गुठीका अध्यक्ष अरुण कुमार प्रधान*को कार्यकालपछि नव-निर्वाचित खगेन्द्र प्रधानले केन्द्रीय कार्यालय राजधानी बाहिर लगेको माथि उल्लेखित छ |
केशव चन्द्र प्रधानको यो कार्यकाल एक ऐतिहासिक महोत्सवको लागि सदैव स्मरणीय रहने छ | भारतको स्वतन्त्रताको ५० वर्ष स्वर्ण जयन्तीको उपलक्ष्यमा सिक्किम सरकारको निमन्त्रणामा साँस्कृतिक मामिला र धरोहर विभाग सचिव जयश्री प्रधानको तत्परता अनि सिक्किम नेवार गुठीको तत्वावधानमा काठमाडौँ नेपालबाट नेपाल भाषा मंका खल:का नायो पद्मरत्न तुलाधर र कजि नरेशवीर शाक्यको अगुवाईमा एक विशाल साँस्कृतिक टोलीले सन् १९९७ दिसम्बर १३ र १४-को साँझ अभूतपूर्व नेवा: साँस्कृतिक साँझ सफलतापूर्वक आयोजना गरेको यस पङ्क्तिकार झैं धेरैको मानस-पटलमा आजपर्यन्त ताजा छ | कुनै पनि संस्थालाई आफ्नो उद्देश्य र क्रियाकलापलाई विस्तृत रुप दिनु एक मुखपत्रले अति महत्वपूर्ण भूमिका खेल्दछ भन्ने तथ्य र मेरो तर्क सही र न्यायसङ्गत ठह-याई सिक्किम नेवार गुठीको मुखपत्र / म्हु-पौ 'नेवा:' प्रकाशित गर्ने स्वीकृति संस्थापक-अध्यक्ष मोहन प्रताप प्रधानबाट प्राप्त भयो | यसको छठौं अङ्क उपरोक्त भारतको स्वतन्त्रताको ५० वर्ष स्वर्ण जयन्ती विशेषाङ्क थियो | कुन परिस्थितिमा सो अन्तिम हुनु गयो यो एक अर्कै कथा-व्यथा छ जुन यहाँ समय र स्थानाभावले राख्न सकिन्न | यहीबीच सिक्किम सरकारको मुखपत्र 'सिक्किम हेरल्ड'को नेवा: संस्करण मैले प्रारम्भ गरिसकेको थिएँ - मेरा संयुक्त सचिव बिन्दुमति प्रधानको सहयोगमा |
यस पंक्तिकारले आफ्नो पुस्तक 'द् नेवार्स वर्ल्ड वाइड – कनेक्टिङ्ग द् डट्स : सिक्किम'को बाल्टीमोर अमेरिकामा आयोजित वर्ल्ड नेवार अर्गनाइजेसनको दोस्रो महाधिवेशनमा नेपालका राजदूत डा. अर्जुन कुमार कार्की तथा न्ह्यलुवा मल्ल के. सुन्दरका बाहुलीबाट विश्वव्यापी लोकार्पण भएको भोलिपल्ट नै काठमाडौँ नेपालमा सन् २०१६ मार्च २७ तारिखको दिन आशा सफु कुथिको प्राङ्गणमा करुणादेवी स्मारक धर्मार्थ गुठी र इलोहं प्रकाशनको संयुक्त तत्वावधानमा आयोजित अर्को एक भव्य समारोहमा रुसमा नेपालका पूर्व-राजदूत हिरण्यलाल श्रेष्ठ, नरेशवीर शाक्य, राजेन्द्र बहादुर श्रेष्ठ, ध्रुव कुमार प्रधान लगायत त्यहाँका अनेकौं लब्धप्रतिष्ठित महानुभावहरुको उपस्थितिमा हाम्रा पथ-प्रदर्शक / न्य्हलुवा पद्मरत्न तुलाधरका बाहुलीबाट लोकार्पण भएको थियो | यसअघि कुनै संघ-संस्थाले ग-यो-गरेन तर यस पंक्तिकारले ती दुइ महानुभावहरु दुइ दशकअघि गान्तोकसम्म आएर सिक्किमवासी नेवारहरुलाई धनाढ्य नेवार कला र संस्कृतिको ज्ञान र सम्बन्ध आदान-प्रदान भएको स्मरण गरी दोसल्ला ओढ़ाएर कृतज्ञतासाथ धन्यवाद अर्पण गर्ने अपूर्व अवसर प्राप्त गरेको थियो | सन् २०११को जनवरी १-को दिन नेपालको मध्यपुर थिमी नगादेशमा नेपाल विभूति शङ्खधर साख्वा सिरपा समितिको आयोजनामा र नेवा: संस्कृति-ज्ञाता गणेशराम लाछीको सञ्योजनमा भएको एक भव्य कार्यक्रममा करुणा गुठी प्रकाशित दयारत्न शाक्य लिखित 'नेवाः भाय् लर्नर'को अनि 'नेवार्स इन सिक्किम' वेब साइट (हाल फेसबुकमा एक पृष्ठ)-को लोकार्पण यीनै पद्मरत्न महोदयले लोकार्पण गरेका थिए | दुवै समारोहमा प्रस्तोता आशा सफु कुथिका व्यवस्थापक शरद कसा: थिए भने मेरो पुस्तक परिचय त्यहाँ अन्तर्राष्ट्रिय कुटनीतिविद् प्रा. हिरण्यलाल श्रेष्ठले गरेका थिए | स्मरणीय छ यस पुस्तकको रचना पुस्तक गान्तोकमा आयोजित पुर्वावलोकन समारोहमा हाम्रा परिवारका तीन आदरणीय महिलाहरु मुमा, ठुली माइज्यु र सानु माइज्यु लगायत सिक्किमका मूर्धन्य गण्यमान्यहरुको उपस्थितिमा हाम्रा पथ-प्रदर्शक/न्ह्यलुवा केशव चन्द्र प्रधानले क्षेत्र विधायक विक्रम प्रधानको विशेष आतिथ्यमा लोकार्पण गरेका थिए भने काशी हिन्दू विश्वविद्यालयका प्रा. दिवाकर प्रधानले मुग्ध कण्ठले पुस्तक-परिचय राखेका थिए | सिक्किम विश्वविद्यालयका डीन प्रा. प्रतापचन्द्र प्रधानले सिक्किमका नेवारहरुबारे वास्तुस्थिति वर्णन गरी एक वक्तव्य राखेका थिए भने सिक्किम सरकारको प्रशासनिक एवम् लेखा प्रशिक्षण संस्थाका पूर्व-निदेशक गणेश कुमार प्रधान अनि रिनाकका कर्मठ समाजसेवी आर. के.प्रधान*ले आआफ्ना मन्तव्य राखेका थिए | सो पुस्तक संयुक्त राज्य अमेरिकाको राज्य-पुस्तकालय ' द् लाइब्रेरी अफ् कङ्ग्रेस वाशिङ्गटन डी.सी.'मा समेत खरिद गरी सङ्कलित छ |
गत भाद्र महिना काठमाडौँमा महीना-व्यापी विभिन्न कार्यक्रम-समारोह आयोजित गरी आफ्ना प्रिय न्ह्यलुवा पद्मरत्न तुलाधरको ज्याजंको अर्थात् महारथारोहणको अवसरमा व्यापक रुपले उहाँको पत्रकारिता, साहित्य, मानवधिकार, जनजाति अधिकार, राजनीति र विविध क्षेत्रमा योगदान पु-याएका बापत् काठमाडौँमा संवर्धना गरी यसको समापन उहाँको निवास लाजिम्पाटदेखि राष्ट्रिय नाचघरसम्म महारथारोहण गरी भव्यतासाथ समापन कार्यक्रम सम्पन्न गरेको थियो | यस अवसरमा सिक्किम नेवार गुठीको एक प्रतिनिधि टोली गई उहाँद्वारा सन् १९९७-मा स्थापित सांस्कृतिक क्षेत्रको मैत्रीभाव आज पर्यन्त रहेको र भविष्यमा यो सुदृढ़ हुने भनी त्यस योगदानको कदर गरी सिक्किमका सम्पूर्ण नेवार समुदायको तर्फबाट सुस्वास्थ्य र दीर्घायुको कामनासाथ एक अभिनन्दन-पत्र चढ़ाएको थियो | यता सिक्किममा पनि सन् २०००-मा रिनाकमा करुणा गुठीको तत्परता/सञ्योजनामा तथा सिक्किम नेवार गुठी अनि रिनाक नेवार गुठीको सहयोगमा भव्य रुपले आयोजित हाम्रा बुवा जयशङ्कर लाल श्रेष्ठको 'सहस्र चन्द्र दर्शनम्' अर्थात् 'महारथारोहण' वा जंक्व अभूतपूर्व र अद्वितीय रहेको यहाँ स्मरणीय छ तर स्थानाभावले विस्तृत रूपमा वर्णन प्रस्तुत गर्न असमर्थ भएकोमा क्षमा याचना गर्दछु | कतिले यही तीन-दिवसीय जंक्व महोत्सवद्वारा नै सिक्किममा इन्द्रजात्रा प्रेरित भएर प्रारम्भ गरिएको भनी ठान्दछन् !
जे होस्, सबै राम्रै भइरहेको छ र आउँदो वर्ष पनि हामी सबैलाई मङ्गलमय रहोस् | इन्द्रजात्राको पावन उपलक्ष्यमा हार्दिक शुभकामना !
~~~
दृष्ट्व्य: यो प्रस्तुति एक संस्मरण मात्र भएको र यहाँ उल्लेखित व्यक्ति (दिवङ्गतलाई *), घटना, स्थान आदिका नाम सान्दर्भिक ठह-याई राखिएका हुनाले यसलाई अन्यथा न लिई दिने विनम्र अनुरोध छ | थप जानकारी भए [email protected] सम्पर्क गर्नु होला |