राष्ट्रिय स्वास्थ्य जाँच दिवस
उपचारभन्दा सुरक्षा असल
राजीव शङ्कर श्रेष्ठ
"बेञ्जामिन फ्रेङ्कलिन अनुसार, "अल्प मात्राको सुरक्षा, विशाल उपचारभन्दा उपयुक्त हुँदछ|”
सुरक्षा सदैव सुलभ र सरल प्रक्रिया हुँदछ - जब कि उपचार अक्सर खुबै खर्चिलो र प्रायशः धेर पीड़ादायी अनि अति नै बलात् हस्तक्षेपी हुन्छ - चिन्तामुक्त भने कदापि हुँदैन |
एक सुस्वस्थ्य जनसङ्ख्या एक खुशी र सुखी साथै असल जीवनस्तरको जनसङ्ख्या मात्र नभई उनीहरु हरेक क्षेत्रमा कुशल समेत हुँदछन् | यसर्थ व्यक्ति र परिवार मात्र तर राज्य समेतलाई बिमारी हेरचाहप्रति खर्च बेहोर्न पर्ने स्थिति उत्पन्न हुँदछ |तात्पर्य यो छ कि रोग प्रतिरोध अनि स्वास्थ्यलाई ध्यान राख्नमा नै समाजको बृहत् हित निहित छ | तथापि कुल स्वस्थ्य-हेरचाहमा खर्चिएको ९.६प्रतिशत रकम मात्र स्वास्थ्य-हेरचाह सुरक्षामा गरिन्छ |
'टाइम्स अफ् इण्डिया' र 'हेदियन्स'-को पहलमा गरिएको राष्ट्रिय स्वास्थ्य जाँच दिवसको केन्द्रबिन्दु हाम्रो देशमा स्वास्थ्य सम्बन्धित मामिलामा एक व्यवहारिक परिवर्तन सृजना गर्ने ध्येय छ | यस अभियानको लक्ष्य समय-समयमा स्वास्थ्य जाँच गर्ने अभ्यास/बानी उत्पन्न गरेर हामी आफ्नो शरीरप्रति सजग भएर यसबाट पाउन सकिने सङ्केतहरुप्रति धेर अबेर नगरी ध्यान पु-याउनु हो | यस अभियानद्वारा मानिसलाई कमसेकम एक दिन भए पनि आफ्ना स्वास्थ्यप्रति समर्पित गर्दै एक स्वस्थ्य जीवनशैलीतर्फ ध्यान केन्द्रित गरेर विकट बिमारिलाई पन्साउन प्रेरित गर्नसकोस् | हाम्रो बानीमा यो एक सानो परिवर्तनले आउँदा दिनहरुमा झेल्न पर्ने विकट बिमारीबाट जोगिन सकिन्छ | यही एक मौका हो एक स्वस्थ्यकर हामी स्वयमको अनि भारत निर्माणको लागि प्रण गर्ने अवसर | त्यसर्थ हामी किन पर्खिने ? आफ्नो असल स्वास्थ्यको लागि एक प्रण गरौं - अहिले नै!”
~~~
हरेक वर्षको शुरुमा नै अनि हाम्रो अमेरिका-भ्रमणको अघिबाट नै हामी एक स्वास्थ्य-जाँच अवश्य गराउँदछौँ जसले गर्दा हामी कुनै अप्रत्याशित अवस्थाबाट तैयार साथै जोगिन सकौं अनि विदेश भूमिमा यस्तो स्थितिको सामना गर्न नपरोस् | यस अतिरिक्त हामी भ्रमण इन्स्युरेन्स पालीसी पनि लिँदछौँ जसद्वारा नचिताएको कुनै मुसीबत आईपरेको खण्डमा बेहोर्न पर्ने आकस्मिक खर्चबाट पनि सुरक्षित रहनु सकौं |यस वर्ष केही कारणवश हामीलाई अपर्झट छोरीकहाँ जानु प्-यो जसले गर्दा रिनाक छँदा नियमित दन्त-जाँच गर्न सकिएन किनकि त्यहाँ कम्युनिटी हेल्थ सेण्टरमा सेवारत डा. प्रियङ्का प्रधान आफ्नो विवाहको लागि बिदामा थिइन् |गान्तोक आएर आफ्नो भ्रमणको तैयारीमा हाम्रो निवासदेखि केही पर डेभलपमेण्ट एरिया मुख्य स्थान अवस्थित डा. केदारनाथ प्रधानको समक्ष पनि पुग्न सकिएन | विगतमा सदैव झैं हामी यस विषयप्रति विश्वस्त अनि निश्चिन्त हुन्छौं किन कि त्यहाँ अमेरिकामा डा. मञ्जरी मोक्तान र हृदय मोक्तान (मिरिकका) हाम्रो ध्यान र उपचारका लागि सहज उपलब्ध छन् |
बढ्दो उमेर सँगसँगै अनेक थरिका बिमारीले छोप्नु बुढ़ेसकालको सौगात नै हो अनि हामीमा कुनै अथाह ऊर्जा-स्रोत साथै आफूभित्र अदम्य आन्तरिक शक्ति छ भने मात्र त्यतिका उमेरसम्म आफ्नो सुद्धि जोगाएर अनेकौं अड्चन सहन गर्दै बाँच्ने क्षमता प्राप्त हुँदछ |यसरी नै आफ्नो उमेरको नब्बे छेउ पुगेकी मुमालाई सिक्किमका प्रथम डाक्टर को थिए भन्दा अनुहारमा चमकका साथ डा. भवानीप्रसाद प्रधानको नाम लिनु हुन्छ | उहाँ टक्सारी चन्द्रवीर प्रधान औ उहाँकी तेस्रो धर्मपत्नी धनलक्ष्मीको कोखबाट पाचेखानी कोठीमा जन्म लिएका सात भाइ छोराहरु र तीन बहिनी छोरीहरुमा साँहिला थिए, काहिँला राईसाहेब भीमबहादुर प्रधानका दाजु भएको, हरेकको लहरै नाम क्रमशः दलबहादुर, लालबहादुर, डा. भवानीप्रसाद, राईसाहेब भीमबहादुर, डम्बरबहादुर, रत्नकुमार र विजयकुमार छोरीहरुमा जानकी, नयना र इन्द्रा भएको मुमाले बताउँछिन् | केही व्यक्तिका साथ आरिटार रिनाकमा सिक्किम पुलिस विभागको स्थापना महाराजा साहेबद्वारा जारी गरिएको एक विशेष अध्यादेशबाट २७ नवम्बर १८९७-को दिन शुरु भएको र उहाँका माइला छोरा लालबहादुर प्रधानलाई यहाँका राजनैतिक अधिकारी / बड़ा साहेब जोह्न क्लड व्हाइटद्वारा बड़ा कोठीको लागि नियुक्त गरिएको थियो | यस वर्ष सिक्किम पुलिसले आफ्नो १२३औँ स्थापना दिवस मनायो |डा. भवानीप्रसादका साँहिला छोरा पनि एक डाक्टर नै थिए | डा. भीमशम्शेर प्रधानले १९५०-को दशकमा यहाँ सर थुतोब नामग्याल मेमोरियल (एस.टी.एन.एम.) अस्पतालमा सेवारत थिए अनि साठीको दशकमा दार्जिलिङ सदर / भिक्टोरिया अस्पतालमा डी. एम. ओ. अर्थात् जिल्ला चिकित्सा अधिकारीको रूपमा पदासिन थिए |
बुढ्यौली सम्झिँदा मेरो दिमागमा जिउँदा इतिहास र शताब्दी-पुरुष सत्यमोहन जोशीको सम्झना आउँछ जो नेपाली संस्कृति र धरोहरका प्रकाण्ड ज्ञाता साथै नेपाली साहित्यको बहु-प्रतिष्ठित मदन पुरस्कार प्रथम साथै तीन पटक पाउनुहुने एक मात्र व्यक्ति हुनुहुन्छ | एक वर्षअघि जसो आफ्नो स्वास्थ्य समस्यालाई जीतेर हाल १०१ वर्ष पुगेका उहाँ काठमाडौँ खाल्डामा आयोजित अधिकांश सभाहरुमा मुख्य अतिथि भएर शोभा र गरिमा बढ़ाई रहेका हुन्छन् | केही अघिसम्म एक्लै बसद्वारा यात्रा गरी पुगी रहन्थे अनि भर्खरै मात्र उहाँको समाज र राष्ट्रप्रति अमूल्य योगदानको कदर गर्दै ललितपुर महानगर पालिकाले एक वाहन उपलब्ध गराएकोले हिजआज त्यसै वाहनद्वारा सबैतिर पुग्ने गर्छन् | उहाँ मात्र यस्ता एक महापुरुष हुनुहुन्छ जसको जीवनकालमा नै गत मई महिनामा १०० वर्ष पुग्दा सेप्टेम्बर २०१९-मा नेपाल राष्ट्र बैङ्कले उहाँको सम्मानस्वरूप रू. १००/-, १,०००/- र २,५००/- रकमको सिक्का जारिगरेको छ |अब हुलाक विभागले उहाँको सम्मानमा टिकट पनि निकाल्ने भएको छ | "सत्यमोहन जोशीका लागि एक सय वर्ष बाँच्नु कुनै मुश्किल काम छैन - यो केवल नकारात्मक सोँचदेखि टाढ़ा रहेको परिणाम हो |”, भनी कसैले लेखेका छन् |
हाम्रा आफ्नै शताब्दी-पुरुष सिक्किम-रत्न र पद्म-विभूषण काजी ल्हेण्डुप दोर्जी खाङ्गसार्पा सिक्किमका प्रथम मुख्य मन्त्री १०३ वर्षको उमेरमा निधन भएका थिए | आफ्नो जीवनको नै एकमात्र लक्ष्य र ठुलो सपना हिमाली राज्य सिक्किमलाई भारतीय गणतन्त्रको २२ औँ राज्य बनाउन सफल भए ता पनि जीवनकालका तिरस्कारपूर्ण अन्तिम दिनहरु लामो बिमारीले ग्रस्त, कुण्ठित एक्लोपनले ग्रसित कालेबुङस्थित आफ्नो निवास 'च्याखुङ्ग हाउस'-मा बिताएका थिए | नेपालका मानिस उनीहरुको देश पनि केही नेताहरुको 'ल्हेण्डुपे' प्रवृत्तिले गर्दा "सिक्किमीकरण' हुनुजाने हो कि भन्ने एक भयावय त्रासदी छ | उनको पूर्णाङ्ग सालिकलाई यहाँ चिन्तन भवन परिसरमा मृत्यु उपरान्त स्थापना हुनु धेर समयदेखिको लामो प्रतीक्षा थियो |
अमेरिकामा जीवनलाई सहज र सरल बनाइएको एक उदाहरण त्यहाँ वालमार्टको औषधि प्रशाखामा जड़ान गरिएको एक बस्ने कुर्सीसहितको अन्तरक्रियात्मक कियोक्सद्वारा आफ्नो स्वास्थ्य जाँच गर्ने सुविधाबाट जान्न पाइन्छ |आफ्नो उमेर, शरीरको उँचाई, तौल, रोग, आदि जस्ता कुराको जानकारी दिए पश्चात् केही समयमा परिणाम दिएर डाक्टरको परामर्श लिनुपर्ने विषयमा सूचना दिँदछ | मेरो हेल्थ-एज / स्वास्थ्य-आधारित-उमेर रिपोर्ट/परिणामले वास्तविक उमेर भन्दा ५.१ वर्ष कम भएको देखाएको थियो | "आफ्नो हेल्थ एज यसभन्दा अझ कम गर्ने ईच्छा छ ? आफ्ना तीन शीर्ष स्वास्थ्य समस्याहरुलाई प्रबन्धन गरी प्रयास शुरु गर्नुहोस् अनि आफ्नो प्रगतिबारे जाँच गर्न यहाँ यस कियोस्क्मा फेरि आउनुहोस् |” आग्रह गर्दछ ( साथको तस्वीर हेर्नुहोस् )|अमेरिकाबाट फर्किआएर आफ्नो स्वास्थ्य जाँच यथाशीघ्र यहाँ स्वदेशमा पाइला टेक्नेसाथ गर्ने हाम्रो विचार थियो | गान्तोकबाट छोरा रमण हामीलाई लिनुआउने विचार गर्दै थियो तर उनीहरुको सप्ताहान्त किन बिगार्ने भनेर रोक्यौँ |स्वयम् सिलगढ़ी एक-दुइ दिन बसेर, त्यहाँ भोलिपल्ट आइतवार बिहानै छठ पूजाको रमाइलो हेर्न म महानन्द पूल पुग्छु |सन् १९६०-को दशकतिर बीरगञ्जमा छँदा छठ पूजाको महात्म्य र महत्वसित म अवगत थिएँ र आफ्नो सम्झनालाई यसरी फेरि एक पटक तरोताजा राख्न पाएकोमा खुशी हुन्छु |त्यहाँको हाल एक आकर्षक पर्यटक केन्द्रको रूपमा परिवर्तित घढ़ेरूवा तालमा आयोजित हुने नेपालको साथै यसको वरपर क्षेत्रमा आयोजित हुने त्यस्ता पूजाहरुमा सबैभन्दा बृहत् अनि भव्य मानिन्छ | घर फर्किंदा हामी आफ्नो स्वास्थ्य जाँचको परिणाम सन्तोषजनक भएकोमा खुशी थियौँ यद्यपि केही फरक प्रगतिलाई बढ्दो उमेरको सौगात सम्झेर तीप्रति सचेत भई प्रबन्धन गर्न आवश्यक ठानेँ |
ग्रीक नाट्यकार युरिपेडिस अनुसार, “ हामी प्रत्येकको एक जिन्दगी हुँदछ - हाम्रो आफ्नो |” अनि "स्वस्थ र बुद्धिमान एकान्त जीवन बिताउँदछन् |” यस्तो तब सम्भव हुँदछ जब हामी आफ्नो स्वास्थ्य जाँच गराई पाएको सन्तोषजनक परिणामबाट आश्वस्त हुन्छौं | अब यस्तो असल कामको लागि पनि एक दिन समर्पित गर्ने आह्वान भएकोले किन हामी यसलाई स्वीकार्दै यसै दिन प्रथम राष्ट्रिय स्वास्थ्य जाँच दिवसको अवसरमा नै यो सुकार्य शुरु नगरौं , यदि हामीमाझ कसैले पनि यो अघिबाटै शुरु गरेका छैनौं भने | यहाँलाई शुभेच्छा छ !
दृष्ट्व्य: यो प्रस्तुति एक संस्मरण मात्र भएको र यहाँ उल्लेखित व्यक्ति (दिवङ्गतलाई * चिन्ह ), घटना, स्थान आदिका नाम सान्दर्भिक ठह-याई राखिएका हुनाले यसलाई अन्यथा न लिई दिने विनम्र अनुरोध छ | थप जानकारी भए [email protected] सम्पर्क गर्नु होला |