श्रद्धापूर्ण पुष्पाञ्जलि : शिक्षाप्रति समर्पित पुष्प सर
हाम्रा काजी मामा गाउँघरमा पी.के. सरको नामले सुपरिचित - पुष्पकुमार प्रधान, रिनाक माध्यमिक विद्यालयका सन् १९५६-५७-देखिका शिक्षक | त्यस स्कूलका हेडसर मेरा बुवाका दाहिने हात थिए, जुनै पनि विषयमा - व्यवसायिक स्कूलको होस् वा पारिवारिक, सबैमा उहाँको सलाह, सहयोग र सहभागितामा सुसम्पन्न हुनेगर्थ्यो | अग्ला, स्वस्थ्य अनि छरितो शरीर भएका काजी मामा यति फुर्तिलो थिए कि उहाँलाई रेशी पारी पेदोङ्ग पुग्न हामीलाई त्यस बेला घरबाट बजार गएजतिनै | बिहानै पैदल गई बेलुकी घर फर्किनेगर्थे - सम्भवत: साप्ताहिक तौरले नै पुग्थे कि जस्तो लाग्छ | तिब्बत व्यापारको सिल्क-रूट अर्थात् खच्चर हिड़्ने बाटो हुनेगर्थ्यो त्यस बखत अनि पछि वाहनको सुविधा प्रारम्भ हुँदा पनि पैदल यात्रा नै गर्नेगर्थे | स्कूलमा फुटबल र अन्य खेलकूद गतिविधिहरु उहाँकै सुचारू मार्गदर्शन र कार्यान्वयनमा हुनेगर्थ्यो यद्यपि पी. टी. लेप्चा सर, के.के.थापा सर, फुरमित गुरुआमा, चन्द्रकला थापा गुरुआमा आदि सबैको तत्पर सहयोग र सहभागिता छँदै थियो | सन् १९६२ सालमा मैले म्याटि्रक परीक्षा-फल पर्खेर बसेको देखेर स्कूल प्रबन्धन समितिका अध्यक्ष चन्द्र नर्सरीका सह-संस्थापक बाजे दुर्गाशमशेर प्रधानले मलाई समय व्यर्थ फाल्नु भन्दा केही समय भए पनि शिक्षादान गर भनी त्यहाँ काम दिए – रू. ४०/- मासिक वेतनका साथ | यस अवसर मैले काजी मामासित धेरै कुरा जान्न-बुझ्न-सिक्न पाएँ | स्कूल फुटबल टीमको साथ स्वयम् पनि एक कुशल खिलाड़ी भई कहिले आरिटार-दलपचन्द दामथाङ्ग गढ्ढी चउरमा त कहिले पाचेखानी कोठी परतिर, एक पटक पारी पेदोङ्गसम्म त्यहाँ आयोजित टुर्नामेण्टमा उहाँसँगै पुग्नेगर्थें | रङ्गेली र पकिमसम्म पनि स्कूल टीम पुग्ने गर्थ्यो | म पछि दार्जीलिङ सरकारी कलेज पढ्दा पनि स्कूलसित बराबर सम्पर्कमा रहन्थें अनि सालको अन्तमा शीतकालीन विदा शुरुहुनुअघि त्यहाँ भव्य मेला आयोजन गरेको सम्झना छ - स्कूल कोषको लागि | स्कूलमा सरस्वती पूजा मनाउन हामी तिहार पछिदेखि नै बजारमा झण्डा-दिवसस्वरूप चन्दा सङ्कलन गर्थ्यौं, स्कूलका विद्यार्थीहरुको सक्रिय सहभागितामा | त्यस बेला विशाल रूपमा आयोजित हुने रोड़ाथाङ्ग मेलासम्म हामी त्यसरी चन्दा सङ्गह गर्नपुगेका थियौँ | “रिनाक स्कूलमा त्यस बेला धुमधामले सरस्वती पूजा हुने गर्थ्यो | कचहरीबाट माथि किंग्सटनमा स्कूल सरे पछि त कविता पाठ र नाटकहरुको आयोजना पनि हुन्थे | मान्यजन आएर हाम्रो प्रशंसा गरे पछि मात्र हाम्रो उमंग तृप्त हुन्थ्यो | त्यसपछि प्रसादी र विसर्जन कार्यक्रम | उनी कतै अदृस्य रहेर संचालन गरिरहन्थे शायद | त्यस्तो भेलामा कहिले झैं-झगडा भएको थाहा छैन | यसरी उनी कुशल प्रशासक पनि थिएछन् |” लेख्छिन् डा. शान्ति छेत्री आफ्ना हेडसरप्रति "सम्झनाको श्रद्धाञ्जलि" लेखमा | हेडसर बुवाको आशीर्वाद अनि काजी मामाको पूर्ण सहयोग र सलाह साथै विद्यार्थीहरुको समर्थन पनि प्राप्त थियो मलाई यी उत्सव-आयोजनालाई सफल बनाउनु |
यसभन्दा अघिको सम्झना हामी ससाना स्कूले बालक छँदा दशैंमा मामाको घर 'शान्ति कुटीर'मा टीका लगाएर थापेको पैसा त्यहाँ चउरमा भोगटेलाई गोली बनाई फुटबल बाजी खेल्नेगर्थ्यौं | भोज सकेर हामी पल्लो कोठी 'निर्वाण'मा बाजे-बजैको हातबाट टीका थापेर कान्छा मामाबाजेको घरपुगी माथि आरिटारमा तिनतल्ले काइँला मामाबाजेको घर हुँदै माथिल्लो तिनतल्ले (हाल प्रधान गाउँ) मामाबाजेहरुका घरसम्म एक पटक पुगेको सम्झना छ | अन्तमा हामी अबकारनी बजू हरिमाया गुरुङको घर पुग्थ्यौं | काइँली माइजुबजैकोमा काजी मामासित पहिलो पटक भएको अनि उहाँ अति सरल साथै मृदु स्वभावको मात्र नभई हामी भाञ्जा-भाञ्जीलाई खुबै माया गर्नु हुन्थ्यो र 'तपाईं' भनी आदरवाची सम्बोधन सदैव गर्ने गर्थे |
सन् १९७५-तिर गान्तोकमा आफ्नो घर बनाउन तरखर गर्दा काठपात चाहिएको बेला उहाँकै सलाह र सहयोगमा सँगै आरिटार लामपोखरीमास्तिर चन्दने जङ्गल साथमा लाग्नु भई रूख चिनाउने र आरावाल लगाउने समेत बन्दोबस्त गरिदिएर हामीलाई गुण लगाएका थिए | जङ्गल भन्दा सम्झना आउँछ यस विषयको - उहाँ शिकार खेल्न पनि जाने गर्थे - ठुलो मामा भीष्मप्रताप, मनोहरचन्द्र मामा, हुकुमचन्द्र मामा, लच्छु प्रधान, भक्त मिजार आदि साथ हुन्थे | यो कुरा सन् १९६२-को चीनसितको युद्धपछि यस क्षेत्रमा भारतीय सेनाको गतिविधि बढ़्दाभन्दा सन् १९७५ पछि निषेधात्मक वन्यजन्तु संरक्षण ऐन लागु हुनु अघिको हो | हिजआज भने हाम्रो घरमास्तिर बाँसघारीमा बसेको अनि बाटोतिर पनि मृग कुदिरहेको देख्न पाउँछौं खेत-बारीतिर आहारको खोजीमा !
"सन् १९५०-तिर मेरा धबा पेदोङ्ग सेन्ट जर्ज हाई स्कूलबाट आफ्नो शिक्षा सिद्ध्याएर घर फर्के | त्यहाँ छँदा उहाँको भेट पेदोङ्गका प्रख्यात व्यक्तित्व हेनरी प्रधान सरकी बहिनी रुक्मिणी प्रधान (रोजा वा रोजमेरी)-सित हुन्छ | पछि उहाँले उही आफ्नी बाल्यकाल प्रियसीसित विवाह गर्छन् | केथोलिक विवाह फलस्वरूप धर्म परिवर्तन भई उहाँ प्रभु येशु मसीहका एक साँचो अनुयायी हुनु पुग्छन् |”
उहाँको स्मरणमा भाइ धीरजले उनीप्रति यस सन्देशमा व्यक्त गरेको भाव यहाँ अनुवाद गरी प्रस्तुत छ - "उहाँले सिक्किम सरकारको शिक्षा विभागमा एक शिक्षकको रूपमा ४० वर्ष जति लामो सेवा पु-याएका थिए | पी. के. सर नाम प्रसिद्ध आफ्ना समयका एक नामी फुटबल खिलाड़ी र खेलकूद प्रेमी | मलाई सम्झना छ उहाँ ७० वर्षको उमेरमा पनि राज्य-स्तरीय म्याराथन दौड़मा सहभागी भएका थिए | आरिटारमा एउटा पब्लिक स्कूल खोल्ने उहाँको सपना स्थानीयहरुको घोर विरोधको कारण असम्भव हुनु गयो | उहाँले मलाई भनेका थिए कि पाकिमको सन्त जेभियर स्कूल पहिले आरिटरमा खोल्ने प्रस्ताव थियो तर सो स्थानीयहरुले "फादर स्कूल खोले भने मान्छेले धर्म परिवर्तन गर्छ" भन्दै घोर निन्दा र प्रतिरोध फलस्वरूप त्यहाँ पुग्यो | अहिले सो स्कूलको गौरव हामी देख्न सक्छौं | अन्तमा, सेवानिवृत्त भएपछि रिनाकमा सन्त जोसेफ स्कूल स्थापना गर्न उहाँ सफल भए | ( त्यसरी नै उहाँकै सक्रियतामा कालेबुङ्ग साढ़े-आठ माइल सन्त जोसेफ कन्भेन्ट स्कूल नजिकै बाटो मुन्तिर क्लुनी महिला कलेज त्यसताका स्थापना हुनुगएको थियो | - लेखक)
"उहाँले धर्मको नाममा कुनै परिवर्तनमा जोर गरेनन् अपितु शिक्षा, मानवता र करुणाको महत्वलाई ग्राह्यता दिए | हामी ससाना छँदा नै जब मेरा बुवा स्वर्गवास भए उहाँ नै मेरा पथ-प्रदर्शक र दार्शनिक थिए | आज म जे छु र जुन स्थानमा पुग्नसकेको छु त्यसको श्रेय उहाँलाई नै जान्छ |
"अभाग्यवश उहाँलाई टाउकोमा गम्भीर चोट पुग्नगएको थियो जसले गर्दा विगत छ: महीना उहाँको मानसिक अवस्था स्थिर थिएन, न कुनै विषयमा ठीकसित सोच्न सक्थे |
"सन् २०१८-को क्रिसमस हामीले परिवारसित जोड़्न रमाइलो प्रकारले सँगै मनाउन सकेका थियौँ जुन मेरो लागि चिरस्मरणीय रहने छ |”
मेरो विचारमा काजी मामा र माइजु आफ्नो धर्मप्रति कट्टर थिएनन् किन कि हामीलाई उनको व्यवहारमा कहिल्ये यस्तो लागेन | उहाँका छोरा-छोरीहरुको पनि हिन्दू नाम नै छ | हाम्रो पारिवारिक र सामाजिक कार्यक्रमहरुतिर मात्र नभई गाउँ-घर समाजमा समेत उहाँहरुको विधि-व्यवहारमा असहज वा फरक देखिएनन् | बिहे होस् वा इही-व्रतबन्ध वा जङ्को होस् अनि मराउ नै किन न होस् हाम्रो रीतिथिति अनुसार नै सामान्यतया सामेल भई सगुन लिने-दिने गर्ने गर्थे | उहाँसित मेरो अन्तिम भेट विनोद दाजुको अत्येष्टि क्रियाको दिन भएको र मलाई चिन्न सक्नुभएको सम्झना छ |
---
सन् १९९४-तिर उहाँ सरकारी सेवाबाट मुक्त भएर पर्याप्त समय पाएका हुनाले काजी मामालाई गाउँ-घरका छर-छिमेकलाई सजिलो र सुविधाजनक हुने व्यवसाय शुरु गर्नुलाई - जसद्वारा मानिसहरुसित बराबर भेटघाट हुने अनि बसीबियाँलो पनि - आफ्नो घरमा नै उचित मूल्य राशन दोकान खोल्न सुझाउ दिएको थिएँ | म त्यस बेला खाद्य विभागमा भर्खरै सचिव भएको थिएँ | निक्कै वर्षपछि उहाँले एक पटक झिँझो मानी सो लाइसेन्स फर्काइदिने कुरा पनि गर्नुभएको थियो | व्यापारमा तल-माथि हुनु स्वाभाविक हो तर यति कुरामा नै ह्तासिएर सो नफर्काउनु होस्, समय अनुकूल भएपछि यसले फेरि गति पक्रिने छ मैले भनेको सम्झना छ |
फेसबुकमा दिवङ्गत आत्मालाई स्मरण गरी श्रद्धाञ्जलि अर्पण गर्ने अनेकौं थिए | ती मध्ये केही उद्गारहरु यहाँ प्रस्तुत गर्दछु
"जब मान्छेको जन्म हुन्छ त्यस दिन देखि नै मृत्युको गणित पनि शुरू भई हाल्छ । केवल संसारिक मायाको गहिरो भुमरीमा पसेर पौड़िँदा-पौड़िँदै नै हामीले मृत्युलाई भुलेको हुन्छौ । संसारमा सब कुरा झुठो हुन्छ । मृत्यु मात्र एउटा तितो सत्य हो । मृत आत्माले शान्ति पाओस् भन्दै श्रद्धाञ्जली अर्पण गर्दै छु ।" - मोहन प्रधान
"समाज शिक्षित बनोस् भन्ने चाहना बोकेका परिवारका मूल स्तम्भको अनन्त विश्रामले आरिटार जी पी यू स्तब्ध बनेको छ, हार्दिक श्रद्धाञ्जलि पि के सरलाई।" - सुभाष दाहाल
“उहाँ मेरा आदरणीय गुरु थिए जब टीटीआई / शिक्षक प्रशिक्षण संस्थान तिमि, दक्षिण सिक्किममा छँदा अनि हाम्रो कक्षामा आएर शिक्षण अभ्यास गर्थे | ईश्वरले परमधाममा उहाँलाई लिऊन् र सुरक्षित राखूँन् |” - ईश्वर चन्द्र अधिकारी
"काजी मामा सम्झिँदा एक अति विनम्र, मानवीय गुणयुक्त, महान् धार्मिक व्यक्तिलाई स्मरण गर्दछु , जसले समाजका कम-भाग्यशालीहरुको उत्थान नै आफ्नो जीवनको ध्येय बनाएका थिए | आरिटार- किङ्गस्टन रिनाकमा सेन्ट जोसेफ स्कूलको स्थापनामा उहाँ एक प्रमुख ऊर्जा-स्रोत थिए | उहाँको निधनले रिनाक, विशेषत: आरिटारले एक साँचो भूमिपुत्र गुमाएको छ | उहाँको आत्माले चिर शान्ति पाऊँन् |” - रवि प्रधान
"प्रिय धबा पी. के. प्रधानको निधनको खबर सुनेर हामी खुबै दु:खित छौं, यसलाई शब्दमा व्यक्त गर्नसकिन्न | तपाईं हाम्रा नजरबाट ओझेल हुनुभए ता पनि हाम्रो हृदयबाट भने कदापि हुने होइन | यो रिक्तता सदैव हुने छ अनि तपाईं हाम्रो सम्झना र प्रार्थनामा सधैंभरि नै रहनुहुने छ | दिवङ्गत आत्माले चिर-शान्ति पाउँन् |” - विक्रम प्रधान
"एउटा ठूलो स्तम्भको अन्त्य । मुलुकमा अपूरणीय क्षति । समाजमा शिक्षा बिस्तारित सम्बन्धी वहाँले पु-याउनु भएको वास्तविक कार्य अमेट भइरहोस् भन्ने धृष्टता राखिन्छ | शोकसन्तप्त परिवारजनप्रति ईश्वरले सहन गर्ने शक्ति प्रदान गरून् तथा दिवङ्गत आत्माले शान्ति प्राप्त गरोस् भन्ने कामना राखिन्छ ।" - आर के. पोखरेल
---
अप्रेल २४-को द् टेलिग्राफ दैनिकमा म पढ्दैथिएँ लेखक टेरी प्राशेटले मृत्युलाई कसरी हल्काफुल्का लिएर यसबारे भनेका भावना - "एक आदर्श मृत्यु त्यो हुन्छ जब कि उहिलेको भिक्टोरियाकालीन समाजमा देखिएझैं आफ्ना शाखा-सन्तान नाति-नातिनिसित परिवारको सबै सदस्यले घेरेर बसेर सुकसुक रुँदैगरेको हेर्नपाउँ किनकि मृत्यु-शैयामा आँसुनै सठीक/सान्दर्भिक हुन्छ - जब आफ्ना प्रियजनहरूलाई हामी अलविदा भनिरहेका हुन्छौं |” म स्वयमको भाग्यमा भने मेरा बुवालाई अन्तिम क्षणमा भेट्न जुरेको थिएन अस्पतालमा मेरी श्रीमती रञ्जनालाई राखेर बिहानी पख घर आएको बेला उहाँले प्राण त्याग्नु भएको थियो | यसरी अन्तिम क्षण सम्झिँदा मलाई भने याद आउँछ भजन-सम्राट अनुप जलोटाले 'भजन-संध्या' एल्बममा गाएको मनलाई नै तृप्त गर्ने त्यो भजन, जो मेरा बुवालाई पनि खुबै मनपर्थ्यो -
इतना तो करना स्वामी, जब प्राण तन से निकले,
गोविन्द नाम लेकर, तब प्राण तन से निकले !
श्री गङ्गाजी का तट हो, जमुना का वंशीवट हो,
मेरा साँवला निकट हो, जब प्राण तन से निकले,
इतना तो करना स्वामी ...
पिताम्बरी कसी हो, छवि मन में यह बसी हो,
होंठोँ पे कुछ हँसी हो, जब प्राण तन से निकले,
इतना तो करना स्वामी ...
जब कण्ठ प्राण आए, कोई रोग ना सताए,
यम दरश न दिखाये, जब प्राण तन से निकले,
इतना तो करना स्वामी ...
उस वक्त जल्दी आना, नहीँ श्याम भूल जाना,
राधे को साथ लाना, जब प्राण तन से निकले,
इतना तो करना स्वामी ...
एक भक्त की है अर्जी, खुदगर्ज की है गर्जी,
आगे तुम्हारे मर्जी, जब प्राण तन से निकले,
इतना तो करना स्वामी, जब प्राण तन से निकले,
गोविन्द नाम लेकर, तब प्राण तन से निकले!
उनै प्राशेट भन्छन्, "कुनै व्यक्तिको मृत्यु पूर्ण रुपले भएको मानिँदैन जबसम्म यस संसारबाट उसले गरेका काम-कुराका तरङ्गहरु साम्य भई अन्त भएका हुँदैनन् |” शिक्षाप्रति समर्पित शिक्षक पुष्पकुमार प्रधान, हाम्रा काजी मामा धार्मिक सहिष्णुताको एक प्रतीक थिए | हाम्रो समाजमा उहाँको निधनबाट उत्पन्न रिक्तता अपूरणीय छ र धेरै समयसम्म सो रहने छ | आउँदो २९ अप्रेलको दिन उहाँको अन्त्येष्टि क्रियाको अवसरमा - कोविड-१९ लकडाउनले गर्दा उपस्थित हुन असमर्थतामाझ खेदपूर्वक - पुण्यात्माको चिर-शान्तिको कामना गर्दै हार्दिक श्रद्धापूर्ण पुष्पाञ्जलिस्वरूप यो लेख समर्पित छ |
---
दृष्ट्व्य : यो प्रस्तुति लेखकको आफ्नो जीवन यात्रा-क्रम अन्तर्गत् एक व्यक्तिगत संस्मरण हो | यसर्थ यहाँ व्यक्त गरिएका विचारहरु उनका निजी विचार हुन् र कुनै संस्था, परिवार वा व्यक्तिसित यसको मेल हुनु आवश्यक छैन | यस लेखसित सान्दर्भिक भएकाले फेसबुकबाट केही कुरा उद्धृत अनि अनुवाद गरी प्रस्तुत गरिएका हुन्| केही नामहरु, वर्णन, स्थान अनि घटनाहरु भने विषय-वस्तुसित जोड्नका लागि मात्र राखिएका हुन् - कसैलाई विद्वेषको भावनाले भने कदापि होइनन् | सम्पर्क : [email protected]