सिक्किममा इन्द्रजात्रा र नेवार भाषा
केही प्रस्तावना र सम्भावना
राजधानी बाहिरको तितो-मीठो एक दशकपछि सन् २०१०-मा सिक्किम नेवार गुठीको केन्द्रिय कार्यालय गान्तोक फर्काइ ल्याउने बाध्यतालाई अन्तत: सफलता प्राप्त भएर धेरैलाई राहतको अनुभव भएको थियो | इन्द्र्जात्रालाई राज्यस्तरीय सामुहिक पर्वको रूपमा परिचित भए बापत् सन् २०११-देखि राज्य सरकारबाट एक सार्वजनिक विदाको रूपमा मान्यता प्राप्त भयो | यो एक माइल-खुट्टी सिद्ध भएको छ साथै एक चुनौती पनि | सोही साल काठमाडौँबाट 'बाखं दबु' कथाकारहरुको संस्थाका लक्ष्मण राजवंशी, राजा शाक्य जस्ता प्रतिष्ठित नेवार व्यक्तित्वहरु आमन्त्रित गरी इन्द्र्जात्रालाई व्यापक तौरमा मनाइएको सम्झना छ | यसरी नै सन् २०१४-मा काठमाडौँबाट विद्वानहरु आमन्त्रित गरी 'नेवार भाषा, संस्कृति र परम्परामाथि राज्यस्तरीय गोष्ठी'का साथ समय-समयमा अरु क्रियाकलाप र कार्यक्रमहरु गर्दै यसलाई वार्षिक चाड़को स्वरूप दिइयो | एक विद्वानले यस इन्द्रजात्रालाई किन यसरी मनाएका होलान्, सो दिन त इतिहासका पानाहरुमा नेवारहरुको पतन भएको एक कालो दिन थियो | मैले त्यो साल सिक्किम नेवार गुठीको वार्षिक स्मारिकामा र अन्य पत्रिकामा पनि प्रकाशित एक लेख मार्फत् यस दिनलाई हामीले हारको दिनको रूपमा नस्वीकारेर एकता र सहभागिता प्रदर्शन गर्ने दिनको रूपमा लिएका हौँ भन्ने स्पष्ट गरेको थिएँ | यो अब हामीलाई एक चुनौती मात्र नभएर सम्भावनाहरुको स्रोत बन्न गएको छ साथै आत्म-विश्लेषण गर्ने अवसर पनि | यसै कारणवश नै यहाँ सिक्किममा मात्र नभई आज संसारको विभिन्न भागमा जहाँ पनि नेवारहरु बसोबासो गरेका छन् त्यहाँ क्रमशः इन्द्रजात्राको आयोजना गरी एकबद्धताको प्रतीक भएको छ | धनाढ्य नेवार भाषा, धर्म, कला, संस्कृति, भोजन, परम्परा, आदि प्रदर्शन गरी यी सबको संरक्षण, संवर्धन र प्रवर्धनको इन्द्रजात्रालाई नै एक माध्यम पनि बनाई लगनशील र सक्षम भई हामी समाज, राज्य र राष्ट्रमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा नै सफलतापूर्वक नेवार जाति र सभ्यतालाई एक सुसंस्कृत सामाजिक परम्परा एवम् ऐतिहासिक धरोहर भएको सन्देश दिई सो जानकारी सर्वव्याप्त भएको पाउँछौं | यो क्रम विस्तृत भएको प्रमाण यस वर्ष वर्ल्ड नेवाह अर्गनाइजेसनका नायो सिजन श्रेष्ठ स्वयमको प्रायोजना-सहभागितामा बाल्टीमोर मेरिलेण्डमा पहिलो पटक काठमाडौँमा हुनेगरेको जस्तै येंया / इन्द्रजात्रा गरिने भएको जान्नमा आएको छ |
परिकल्पना
सिक्किम नेवार गुठीको शङ्खनाद सन् १९८२-मा यस पंक्तिकार तथा सहकर्मी/सहयोगी गणेश कुमार प्रधान, हरेराम प्रधान र धन बहादुर श्रेष्ठको नाम यहाँ राख्ने धृष्टता गर्दछु | समय साक्षेप प्रस्तावनाको चौतर्फी स्वागत भई प्रत्यक्ष-परोक्ष समर्थनमा आएका अनेकौं महानुभावहरुमा एल. एन. प्रधान*, मित्र कुमार प्रधान* जस्ता अग्रजहरु बाहेक शिव प्रधान*(गान्तोक प्रकाशन), रुद्रमणि प्रधान (युनिभर्सल प्रिन्टर्स), के. बी.प्रधान* (क्वालिटी होटल, क्वालिटी स्टेशनरीज स्वामी बाहेक उहाँ सिक्किमबाट प्रथम हिन्दी चलचित्र 'रोमियो इन सिक्किम'-का निर्माता) र रचना पुस्तक परिवारले त्यस समयको प्रतिकूल र विषम परिस्थिति हेरी अति आवश्यक आर्थिक सहयोगद्वारा (त्यो चाहे वर्तमानको परिदृश्यमा कति नै तुच्छ रकम किन नहोस् ) सम्भव हुनुगएको थियो त्यो सन्देश | सिक्किम राज्यभित्र मात्र नभई अन्यत्र गई बसेका नेवार परिवारहरुमा चेतना र पुनर्जागरणको शङ्खनाद गरी सुदुर क्षितिजमा त्यो एक झिनो आशाको किरण पुग्न-पु-याउन सक्षम भएको प्रेषित त्यस अन्तरदेशीय पत्र / इनलेण्ड लेटर हामीहरुमा धेरैको विस्मृत भए ता पनि कतिका हृदयबाट भने अझ पनि मेटिएको छैन भन्ने मेरो अड़ान छ | हाम्रो त्यो परिकल्पना समय साक्षेप भए ता पनि अनुकूल भने थिएन |