सिक्किममा नेवारहरुको नव-वर्ष र म्ह-पूजा
केही सम्झना र चर्चा-परिचर्चा
१. नेपा: पासा पुच: अमेरिकायेद्वारा आयोजित म्हपूजा/न्हूदंं समारोहका केही अविस्मरणीय क्षणहरु २०१५
२. जयश्री, रिनाक, सिक्किममा सपरिवार म्हपूजा २०१६
३.मेरिल्याण्ड अमेरिकामा कुम्हाल टोल बीरगञ्ज परिवारसित म्हपूजा २०१५
४. सिक्किम नेवार गुठीद्वारा आयोजित ऐतिहासिक सामुहिक म्हपूजा १९९९
५. नेवा: अर्गनाइजेसन अफ् अमेरिकाद्वारा आयोजित
न्हूदंं / नववर्ष नेपाल संवत् ११३६ समारोहबाट अति रमणीय र स्मरणीय क्षणहरु |
-०-
सिक्किममा नेवार भाषासितै अन्य छ: राज्य भाषालाई विशेष अध्यादेश संख्या ५ एल. डी. ९० दिनाङ्क अप्रेल ३, १९९५-द्वारा यहाँका नेपाली, भोटे, लेप्चा र लिम्बु भाषा सरह आधिकारिक मान्यता हुँदा हामीले हाम्रो पुस्तक 'नेवा: वर्ण, लिपि र भाषा परिचय' सन् १९९६ र २००१-मा दोस्रो संस्करण निकालेर पाँच हजार प्रति सिक्किमभरि मात्र नभई कालेबुङ-दार्जीलिङतिर अनि नेपालमासमेत व्यापक रूपमा वितरण गरेका थियौँ | फेसबुकमा केही व्यक्तिले सम्बन्धित समूहमा भाषा सिक्न-सिकाउन अझ पनि यसबाट कतिपय पृष्ठहरु बिना स्रोत-साभार जनाएर राख्ने गरेको हेर्नपाइन्छ | थाहा भएकै कुरा, सिक्किमवासी नेवारहरुले यस भाषामा बोलिने साइनो-सम्बोधन अजा-अजि, पाजु-मलेजु, तता, चमा (चिरिमा), इत्यादि दैनिक जीवनमा व्यवहार गरिआएको पाउँछौं | यस कुराले मलाई यसै वर्षको प्रारम्भमा अखिल भारतीय नेवार सङ्गठन कालेबुङ अञ्चलले आयोजित राष्ट्रिय शिक्षक पुरस्कारले सम्मानित पंचरत्न प्रधानको संवर्धना-समारोहमा त्यहाँका नेवार भाषा, कला, संस्कृति, इतिहास, परम्पराका कुशल ज्ञाता योगवीर शाक्यले राखेका त्यो प्रसङ्ग सम्झना भएकोले सर्वसाधारणको जानकारीको लागि सो यहाँ राख्दछु |
योगवीरले हाम्रो समाजको एक महत्वपूर्ण पक्षप्रति हामीहरुको व्यवहारतर्फ प्रकाश पारेका थिए | जनगणनामा वा अन्य सर्वेक्षण हुँदा हामी आफ्नो मातृभाषा नेवार/नेपाल भाषा नलेखेर नेपाली लेख्ने गर्छौं यस गलत धारणामा कि हामी आफ्नो मातृभाषा जान्दैनौं अनि यो बोल्न आउँदैन भनेर | 'लिन्गुइस्टिक सर्भे अफ् इण्डिया' ( भारतीय भाषिक सर्वेक्षण )-का निदेशकसित केही समयअघि भएको एक अनौपचारिक कुराकानीको वर्णन गर्दै शाक्यले उनको यो विचार राखेका थिए कि हामी आफ्नो मातृभाषा जान्दैनौं र हामीलाई बोल्न पनि आउँदैन भन्ने कुराले केही फरक पर्दैन किनकि सामाजिक र साँस्कृतिक रूपमा हामीहरु नेवार वस्तु र नामहरुसित परिचित भई जन्मे-हुर्केका हौँ | अन्खोरा, करुवा, सिन्हाम्हु-ज्वालान्ह्याँकं, अन्टी, कोत, इत्यादि प्रयोग गर्दै, बा, मा, धबा-धमा, निनी, तताजु, पाजु-मलेजु, चमा/चिरमा, इत्यादिले आफन्तहरुलाई सम्बोधन गर्दै, म्ह-पूजा, किजा-पूजा, जंक्व, इन्द्रजात्रा इत्यादि मनाउँदै, सुख वा दु:खमा खें, न्या र अयला भएको ख्यं सगं वा लड्डु-दही भएको धौ सगं विशेष अवसर र कार्य-सिद्धि-सफलता वा मृत्यु-शुद्धीकरणमा दिँदै-खाँदै, गर्भाधान भएकी चेली-बेटीलाई धौ-बजी खुवाउँदै, चाड़बाड़ वा भोजमा छोयला, कचिला, वो, बारा, चटामरी, योमरी, लाखामरी इत्यादि व्यवहार गरेर हामीले प्रशस्त र प्रचूर रूपमा हामी नेवार हौँ भन्ने प्रमाणित गर्दै प्रत्यक्ष र परोक्ष तौर-तरीकाले सिद्ध गरिआएका हौँ | संस्कृति-रीतिथितिको पालन-पोषण गर्नमा सफल भएका छौँ यद्यपि हामीले आफ्नो मातृ-भाषा भने व्यवहार नगर्नाले बिर्सेका छौं | केही मात्रामा नेवार भाषा ज्ञान भए ता पनि सञ्कोच वा असहजता कारणवश हामी यहाँ उपयोग नगरेका हुन्छौं | खिसी पो गर्ला कि भन्ने आशङ्कामा उचित वातावरणको अभावमा आफ्नो भाषादेखि टाढ़िँदै बिर्सेर गएका छौँ | जान्नेहरुले पनि बोल्दैनन् कि जस्तो मलाई आभास हुन्छ किनकि उहाँहरुमा यो भ्रम छ कि कहीँ-कतै उनलाई 'साहुजी'को उपमा दिई सिक्किमका मूलवासी होइनन् कि भन्ने अरुले सन्देह-दृष्टिले हेर्लान कि ! सिक्किम नेवार गुठीका एक भूतपूर्व अध्यक्षले पश्चिम सिक्किमको कुनै बजारमा नेवार हिड़ेको देखेर पहिले 'लु हेर साहुजी गएको' भन्ने गर्थे, हिजआज भने 'गुठी' गएको भन्न थालेको रोचक प्रसङ्ग सुनाएका थिए | अर्को परिप्रेक्ष्यमा यसलाई हामी यस प्रकार हेर्न सक्छौँ - परदेश-विदेश भूमिमा गई विकट परिस्थिति झेल्दै-जुद्धै आफ्नो पहिचान तथा अस्तित्व स्थापित गर्ने प्रयासमा आफ्नो मातृभाषालाई कतै अवहेलित गरी बचाउन असफल-असमर्थ भएका ता होइनौं जस्तो मेरो तुच्छ अनुमान छ | अहिले आएर आज यो स्थिति छ कि कहीं कतै बोल्न परे सञ्कोच वा असहजतावश आफ्नो त जिब्रो नै कसैले थुतेर लगेको अनुभव हुन्छ !