रजत् जयन्तीको उपलक्ष्यमा
सिक्किम नेवार गुठी - एक सिंहावलोकन
माइलखुट्टी एक - चुनौती अनेक
राजीव शङ्कर श्रेष्ठ
-o-
उहाँ सिक्किम नेवार गुथिको स्थापनाकालदेखि आजपर्यन्त विभिन्न पदासिन हुनुभई
यस पंक्तिकारलाईझैं अनेकौंलाई एक मित्र, दार्शनिक अनि पथप्रदर्शकको रूपमा
सम्मति तथा प्रेरणा-स्रोत भई हाम्रो हौसला बढाउनु भयो |
केही समय अघिसम्म मेरा अन्य लेखहरु झैं यो लेख पनि उहाँलाई हेरिदिनु आग्रह गर्न सकिएन -
उहाँ साथै उहाँकी जीवन सँगिनी शान्ति प्रधानको स्वास्थ्यमा
शीघ्रतम सुधार र दीर्घायुको कामना गर्दै
हामी सबैलाई दुवैले सदैवझैं प्रोत्साहित गरिरहून् |
***
पृष्ठभूमि
धेरैअघि सन् १९८२ सालमा यस पङ्क्तिकारले गणेशकुमार प्रधान, हरेराम प्रधान र धनबहादुर श्रेष्ठको सहयोगमा न्यु क्वालिटी होटलका के. बि. प्रधान*, अङ्ग्रेजी साथै नेपाली दैनिक 'गान्तोक'का शिव प्रधान*, लेखा अधिकारी एल. एन. प्रधान* अनि युनिभर्सल पब्लिशर्स एण्ड प्रिन्टर्सका रुद्रमणि प्रधान जस्ता अनेकौं सहहृदयी मित्रगण तथा शुभचिन्तकहरुकोबाट समर्थन होस्टेमा हैंसे स्वरूप प्राप्त भएको हुनाले मिति २७ मईको दिन एक अन्तर्देशीयपत्रद्वारा हाम्रो सन्देश शङ्खनाद गरेका थियौँ | सन्देश यस्तो थियो - “सिक्किममा बसोबासो गर्दै आएका समस्त नेवार समुदायका आफ्ना साहित्य, परपरा, कला, संस्कृति आदिका पारस्परिक आदान प्रदान औ जोगाड़को निम्ति एउटा संगठनको आवश्यकता भान भएको हुनाले एउटा नेवार गुठी 'सिक्किम नेवार गुठी' को नाममा एउटा सामाजिक संस्थान स्थापना गर्ने अभिप्राय लिएका छौं | यस सन्दर्भमा हाम्रा केही साथीहरु गान्तोक वरिपरिका परिवारसित विचार-विमर्श गर्दा समयको माँग यही भएको आभास भयो | यस विषयमा यहाँको विज्ञ सुझाउहरु आमन्त्रित गर्दछौं औ यी माथि दिइएको ठेगानामा २० जून १९८२ भित्र पठाउन हुन हार्दिक अनुरोध गर्दछौं | भवदीय, सिक्किम नेवार गुठी | ( पुनश्च: हामी तपाईंसित पत्र/सूचनाद्वारा सम्पर्क राख्ने छौं|) “ यस कुराको वर्णन डा. बालगोपाल श्रेष्ठले सन् २००४ सालको सर्वप्रथम शोध-अध्ययनमा आधारित अनि २०१५-मा प्रकाशित आफ्नो पुस्तक 'द् नेवार्स अफ् सिक्किम : रीइन्भेन्टिङ्ग लेङ्गुएज कल्चर एण्ड आइडेन्टिटिस इन द् डायस्पोरा'-मा पनि वर्णन गरेका छन् | राजधानी गान्तोकबाट मात्र नभई सिक्किमका विभिन्न भागहरुबाट हाम्रो प्रस्तावनाको स्वीकृतिमा राम्रो समर्थन प्राप्त भएको थियो कि हामी नेवार एकजुट भई यी कुरा हेर्न एक राज्यव्यापी संस्था स्थापना गर्नु पर्छ |
सिक्किमवासी नेवारहरुलाई गुठीको परिकल्पना कुनै नयाँ विषय थिएन किनकि कालो पहाड़ कहल्याइएको रिनाकमा टक्सारी चन्द्रवीर नेवार अनि उनका दाज्यू लक्ष्मीदास नेवारले यहाँका प्रतिष्ठित प्रभावशाली काजीहरूको आमन्त्रणमा सिक्किममा बसाईं सरेर आफ्नो नयाँ घर बनाएको समयदेखि नै यो यहाँ हुनेगर्थ्यो| समाजलाई एकताको सूत्रमा बाँध्न अनि पारस्परिक भेटघाट गर्न-गराउनमा मन्दिरले एक महत्वपूर्ण भूमिका निर्वाह गर्नेहुनाले रिनाकमा श्री ३ धनेश्वर शिवालय महादेव मन्दिरको स्थापना गरेका थिए | "नेवार गुठीले त्यहाँ 'गीत गोविन्दम' र 'दशावतार' जस्ता धार्मिक ग्रन्थहरुबाट सप्ताहमा एक पटक नेपाली र नेवार भाषामा भजन गाउने गर्थे |” मदन सम्मानद्वारा विभूषित डा. शान्ति छेत्रीले सन् २०१६ साल वाराणसीमा मदन सम्मान व्याख्यानमाला अन्तर्गत् 'सिक्किममा साहित्यको स्फुरण र प्रगति' शीर्षक आफ्नो प्रस्तुतिमा यसरी वर्णन गरेकी छन् | टक्सारी चन्द्रवीरका पुत्रद्वय राइसाहेब रत्नबहादुर प्रधान र बाबु दुर्गाशमशेर प्रधानले 'चन्द्र ड्रामाटिक क्लब' नामक नाट्य मण्डली स्थापना गरेर गुठीका गतिविधिहरुलाई व्यापकता दिएका थिए | सन् १९५० सालमा गान्तोकमा 'अपतन साहित्य परिषद्' स्थापना हुनुअघिको त्यस संस्थाले गर्दै आएका साहित्यिक बाहेक नाट्य गतिविधिहरु त्यस ताका 'रामलीला' काल-प्रवेश सँगसँगै दशकको उत्तरार्धमा अन्त्य हुनुगएको थियो | जन्माष्टमीको अवसरमा रथयात्रा निकालिने गरिन्थ्यो जुन पछिसम्म नै थियो तर प्राचीन कालदेखि निकालिने गाईजात्रा (काठमाडौँ खाल्डा बाहिर यहाँमात्र नै ) आजसम्म हरेक वर्ष पारम्परिक तौरले हर्ष-उल्हाससित विगत वर्ष दिवङ्गत हुने आफन्तहरुको स्मरणमा यहाँ निकालिन्छ|
त्यस शङ्खनादद्वारा दिइएको सन्देशले सम्पूर्ण सिक्किमलाई कुना-काप्चासम्म यस्तो प्रभावित ग-यो कि तत्कालीन सरकारले यसको विरुद्ध तत्काल निर्मूल गर्न आफ्ना कदम चाल्ने निर्णय आवश्यक ठह-यायो | सन् १९९४ सालमा सरकारमा परिवर्तन आयो जुन चाहिं जनताका इच्छा-अभिलाषासित खुबै वाकिफ थियो अनि त्यस प्रकारका माँगहरु धेर बेरसम्म स्थगित राख्न अनुचित पायो | १९८२-मा सल्केको आगोको फिलुंगो अझ पनि भित्र-भित्रै जलिरहेको थियो र १९९३-मा तादोंगका दयाप्रसाद प्रधानको निवासमा केही नेवारहरु भेला भएर आफ्ना परिवारजन सहितको एक नेवार गुथि थाल्ने प्रयत्न गरे | नयाँ सरकारको गठनसाथ केही वरिष्ठतम सेवानिवृत्त अधिकारीहरुको ( हामी सेवारतहरुलाई पहिले झैं कुनै पनि कठोर वर्ताव सामना गराउँदै यो प्रयास पनि त्यसरी नै विफल नगरोस् भन्ने ध्येयले) एक सठीक समिति १९८२-मा दिइएको 'सिक्किम नेवार गुथि'कै नामकरण गरी गठन गरे | सोही अनुसार सरकार समक्ष एक प्रस्ताव प्रस्तुत गरे जसलाई अन्तत: नवम्बर १९९४मा पन्जिकरण संख्या ६८९/एल आर/९४ दिई स्वीकृति प्रदान गरे | मोहनप्रताप प्रधान* संस्थापक-सभापति, केशवचन्द्र प्रधान उप-सभापति, गोविन्दप्रसाद प्रधान महासचिव अनि भीमसिंह प्रधान* कोषाध्यक्षमा पदासीन भए | सिक्किम सरकारका तत्कालीन विधि/कानून सचिव भीमराज प्रधान*ले आफ्ना उप-सचिव विजयप्रताप प्रधानको सहयोगले अति कठिन परिश्रमद्वारा सिक्किम नेवार गुठीको लागि एक संविधानको मसौदा प्रस्तुत गरेका थिए | हामीले सन् १९८२-मा सिक्किम नेवार गुठीको परिकल्पना गरी शङ्खनाद गरेको सिक्किमवासी नेवारहरुको दीर्घकालीन समयवृत्तिमा एक अति महत्वपूर्ण पाटो कुरा दयाप्रसादले आफ्ना पुस्तकमा पनि पुष्टि गरेका थिए तर इतिहासका पानाहरुमा यो दुर्भाग्यवश हराइएको पाइएको छ | बारह वर्षअघि वीजारोपण गरिएको सिक्किम नेवार गुठी अन्त्यमा स्फुरण भई यसरी अङ्कुरित हुनु गएको थियो!
अन्तर्निरिक्षण
प्रारम्भकालदेखिको हाम्रो लामो यात्राको हाम्रो आगामी प्रकाशनमा एक पुस्तिकामा सबै पक्षहरुलाई समेटेर सचित्र प्रस्तुत गर्ने छौं | तथापि विगतदेखिका थाँतीमा रहेका केही विषयहरु जसलाई आजको सन्दर्भमा केही उपयुक्त नहोला तर यहाँ मनननीय ठह-याई यहाँहरु समक्ष प्रस्तुत गर्दैछु :
- नेवार जनसंख्याको जनगणना हाम्रो एक अधुरो सपना हो जुन आजको समयमा उपलब्ध सामाजिक सञ्जाल अनि आधुनिक तकनिकीको सहायताले सम्पन्न गर्न कुनै खुबै मुश्किल कार्य नहुनु पर्ने;
- सिक्किम नेवार गुथिको संविधानलाई नेपालीमा साथै सम्भवत: नेवार भाषामा पनि उपलब्ध हुनु पर्ने; सिक्किमवासी नेवारहरुलाई जनजाति दर्जा आउँदो समयमा सम्भव हुने छ किनकि हाम्रो समाजको बृहत् लाभार्थ यसका लागि सिक्किम नेवार गुथिले आफ्नो भरपूर प्रयासहरु समर्पित गरेको छ; अनि
- संस्थापक सभापति मोहनप्रताप प्रधानको फ्रेमजड़ित तस्वीर प्रद्युमन श्रेष्ठ मार्फत् सिक्किम नेवार गुथिका तत्कालीन सभापतिलाई कार्यकक्षमा राख्न प्रदान गरिएको थियो तर यो न ता फर्काइयो न यसको प्राप्ति-सूचना नै प्राप्त भयो | हाम्रो यस प्रायोजनको एक मात्र ध्येय यस उदाहरणद्वारा विगतका सभापतिहरुको जस्तोसुकै तुच्छ योगदान भए-नभए पनि उहाँहरुको प्रशंसामा सश्रद्धा स्मरण गर्ने प्रयास थियो |(स्वर्गीय मोह्नप्रताप प्रधानको तस्वीर तत्कालीन सभापति रोहित कुमार प्रधानलाई सुम्पेको थिएँ - प्रद्युमन श्रेष्ठ, सम्पादक स्मारिका)
- टिप्पणी: यो एक विषय थियो जसलाई भाजु रोहितकुमार प्रधानले जहिले पनि हाम्रो भेटघाट हुँदा चर्चा गर्न भुल्दैनन्| यस दिशातर्फ हामी यथोचित ध्यान दिने छौं अनि भाजु मोहनप्रताप प्रधान लगायत अन्य सभापतिहरुका तस्वीर नेवार भवनमा उचित तौरले कार्यकक्षमा राख्ने छौं - दिलुकुमार प्रधान, सभापति