हीरक जयन्ती वर्ष नवनिर्माणको
***
रिनाक स्कूल - मेरा बुवाको सपना साकारआगामी ७० वर्षसम्म यो एक प्राथमिक स्कूल नै थियो | सन् १९५८-मा मेरा बुवा स्वर्गीय जय शङ्कर लाल श्रेष्ठ, एम.ए.(वाणिज्य) आफ्नो ससुराली शान्ति-कुटीर/वुडल्यांड नर्सरी आएका बेला स्थानीयवासी तथा सरकारको अनुरोधमा प्रधानाध्यापकको हैसियतमा यस स्कूलको प्रवेश गर्नु भयो | भारत-तिब्बत व्यापारमा अवरोध फलस्वरूप सन् १८८६ सालमा चौखम्भा, बनारसमा स्थापित 'हरिशङ्करलाल रामशङ्करलाल नेपाली' नामक पारिवारिक व्यापारिक प्रतिष्ठान सँगसँगै यसको दस माइल कालेबुङ्ग कोड़ामल भवनस्थित शाखा कार्यालयको पनि अन्त्य भयो | नेपाल, सिक्किम र भारतवर्षका विभिन्न ठाउँबाट आफ्नो, शिक्षा, व्यापार, भ्रमण, तीर्थाटन, पुस्तक-प्रकाशन/मुद्रण काम लिएर आउनेहरुको यो भेट-घाट गर्ने एक सुगम र सरल केन्द्र भएको हुनाले यो व्यापारिक-केन्द्र 'नेपाली कोठी' नामले सुपरिचित भएको थियो | पण्डित धरणीधर कोइराला, सूर्यविक्रम ज्ञवाली अनि विश्वेश्वर प्रसाद कोइराला जस्ता साहित्यिक-सामाजिक विद्वानहरु त्यहींबाट दार्जीलिङ आएका थिए भने आजका दिनमा दार्जीलिङबाट प्रोफेसर डाक्टर प्रतापचन्द्र प्रधान, जसले त्रिभुवन विश्वविद्यालयमा सेवा पु-याएर त्यहाँ काशी हिन्दू विश्वविद्यालयमा आफ्नो कार्यकाल समाप्त भएपछि सिक्किम विश्वविद्यालयमासमेत सेवा पु-याएका थिए | यहाँबाट प्रोफेसर डाक्टर दिवाकर प्रधान, डा. सञ्जय बान्तवा तथा अन्यले पनि त्यसरी नै त्यहाँ आफ्नो सेवा अझ पनि पु-याई आएका छन् |
ब्रिटिशहरु फर्केपछि यो प्राथमिक स्कूलको सञ्चालन स्थानीयवासीहरुको एक स्कूल प्रबन्धन समितिद्वारा गर्दै आएको थियो | यस समितिमा 'निर्वाण'/चन्द्र नर्सरीका बाबु दुर्गाशम्शेर प्रधान सभापति, शान्ति-कुटीर/वुडल्यांड नर्सरीका भीष्मप्रताप प्रधान (ठुलो हजूर) उप-सभापति तथा बड़ी दोकानका माइला बाबु सुन्दरकुमार प्रधान सचिव साथै केही कार्यकारिणी सदस्य थिए | रिनाक स्कूलका इतिहास-शिक्षक हेमकुमार राईले यसको इतिहास जान्न खोज्दा नब्बेको लग लागेका सुन्दर बाबुले सो स्कूलको वर्तमान स्वरूप दिने उहाँहरुको समयमा नै भएको जानकारी दिएका थिए | मेरा बुवाले त्यस स्कूलमा नव-रक्त सिंचित गरी यहाँको शिक्षा प्रणालीको सञ्चालन गरेका थिए | चाँड़ैनै त्यहाँ पाँचौ कक्षा प्रारम्भ गरियो र अर्को वर्ष छठौँ कक्षा शुरु गरियो र यसको लागि स्थानीय कचहरी भवन बाबु दुर्गाशम्शेर र भीष्मप्रतापले सहयोगस्वरूप उपलब्ध गराएर 'मिडल' स्कूलको दर्जा प्रदान गरे | स्कूलको प्राथमिक कक्षाहरु अझ पनि त्यहाँको वर्तमान सदर थाना जाने उकालो छेउको एकरा, काठ र ढुँगाले निर्मित दुइ-तल्ले भवनमा सञ्चालित थियो | मिसनरी स्कूलमा उहिले कनान गुरुआमाले काम गर्नेगरेको मुमाले सम्झना गर्नु हुन्थ्यो | मुमा आफ्ना दिदी-बहिनीहररुसित चन्द्र नर्सरी छेउ राइ साहेब रत्नबहादुर र बाबु दुर्गा शम्शेर प्रधानद्वारा आफ्ना स्वर्गीय मुमाको नाममा स्थापित भीमादेवी स्मारक पाठशालामा प्राथमिक शिक्षा हासिल गरेका थिए | मुमा पछि कालेबुङ कन्भेन्ट स्कूलमा पढ्नु भयो | रिनाकको सो स्कूल १९४०-सम्म सञ्चालित रहेको उहाँलाई सम्झना छ | रिनाकको मिसनरी स्कूलमा नै मैले पनि आफनो अक्षर-ज्ञान ढुङ्गे कक्षामा प्रवेश गरेर सन् १९५०-मा प्रारम्भ गरेको थिएँ | त्यहीँ पढ़ेकी अङकित गुरुआमाले काठको पटाई भएको भुइँमा खरीले साउँ अक्षर लेखिदिनु हुन्थ्यो र त्यसैमाथि हामीले मकैको दाना लहरै राखेर लेख्नसिकेका थियौँ | त्यस बेला थाना त्यस बाटोको अघिल्तिर थियो | स्कूल भवनको तल्लो तल्लामा अर्को कुनामा एउटा औषधालय- मिसनरी डिस्पेन्सरी थियो जसका कम्पाउण्डर सम्भवतः लाप्चे सज्जन सादा थिए | उनी त्यहीँ पछिल्लो भागमा बस्ने गर्थे किनकि त्यहाँबाट निस्की, आउने रोगीहरुलाई दवाई दिने गर्थे | स्कूलका पूर्व प्रधानाध्यापक कोप्चे-निवासी जोह्न लेप्चा थिए, जो पछि कोप्चे स्कूलमा नै सेवारत् भए जस्तो लाग्छ | यो औषधालय नै वर्तमान रिनाक स्वास्थ्य केन्द्रको स्व्र्रूप थियो | अहिले थाना भएको ठाउँ ठुलो सुन्तला बगान थियो जसका स्वामी कालेबुङका राजा तोप्गे भएको सुन्थें | त्यहाँ बाट ऐतिहासिक सिल्क रोड वा रेशम मार्ग उकालो जाने गरेको र माथि श्री कृष्ण सिनेमाअघिल्तिर सड़क किनार एउटा ठूलो चप्लेटी ढुङ्गा हुनेगर्थ्यो, जहाँ मानिस सौदा गरी / हाट भरेपछि पथिकहरु सुसेली मार्दै बिसाउने गर्थे |
मिसनरी स्थापित प्राथमिक स्कूलमा सन् १९५०-६०-को दशकमा शिक्षकको रूपमा कार्यरत मोहनप्रसाद प्रधान, वाणीप्रसाद थापा (जो चाडै नै गान्तोकमा वन विभागमा फरेस्टरको पदमा सेवारत हुनुपुगेका थिए), फुर्मित लेप्चा, हरिप्रसाद भण्डारी (उदयचन्द्र वशिष्ठका दाजु), पुष्पकुमार प्रधान, पोलो छिरिङ्ग लेप्चा (जो पछि आफ्नो ठाउँ तिमी-तार्कुमा सेवारत हुनुपुगे), कृष्णकुमार थापा, वीरगञ्ज नेपालका भरतप्रसाद आमात्य अनि केही अन्य थिए | सन् १९६२-मा मैले मेरा बुबा अधीन केही समयका लागि स्कूल प्रबन्धन समितिका अध्यक्ष बाबु दुर्गाशम्शेर प्रधानको आदेशमा एक शिक्षकको रूपमा सेवा गर्ने दुर्लभ अवसर पाएँ | स्कूल फाइनल परीक्षा दिएर रिजल्ट/परिणाम प्राप्त नभएसम्म व्यर्थमा समय यता-उता खेरो फाल्न भन्दा केही असल काम गर्ने ज्ञान दिएका थिए | टाशी नामग्याल एकाडेमीबाट सो वर्ष स्कूल फाइनल परीक्षा दिने अन्तिम ब्याचमा हामी २० जना विद्यार्थी थियौँ | मेरा होनहार छात्रहरुमा एक गणेशकुमार प्रधानलाई सोही बेला केही डाक टिकटहरु र सिक्का दिएर यिनीहरुको सङ्ग्रह गर्नेबारे ज्ञान दिएको थिएँ जुन सीपलाई उनले तिखारेर लगी समाजमा आफ्नो एक विशिष्ट पहिचान बनाउनु सक्षम भए |
शीतकालीन विदामा परे ता पनि हामीहरु भरपुर उत्साह र उमङ्गसाथ सरस्वती पूजा धुमधामसित मनाउने गर्थ्यौं जब कि त्यस बखत यस्ता पूजा मनाइने प्रचलन यस भेकमा थिएन - न ता विश्वकर्म पूजा नै हिजआज जस्तो ठाउँ-ठाउँमा मनाएको देखिँदैनथ्यो | यसको निम्ति हामी ह्फ्तौं अघिदेखि विद्यार्थीहरुलाई संलग्न गराई रिनाक बजारमा हाटको दिन झण्डा-दिवस आयोजन गरी चन्दा सङ्ग्रहित गर्नेगर्थ्यौं | रोड़ाथाङ्ग मेलामा पनि हाम्रो झुण्ड पुगेर सोही रकम चन्दा एकत्रित गर्नेगर्थ्यौं | एक पटक मलाई राम्ररी थाहा छ दिसम्बर १९६३-को महीना विदा हुनुअघि स्कूलको ग्राउण्डमा त्यसरी नै भव्य तरिकाले मेला आयोजना गरेका थियौँ, जसलाई शिक्षक-विद्यार्थी-अभिभावक-स्थानीयहरु - विशेष पीके सर र थापा सर लगायत सबैबाट पनि पूरा आनन्दपुर्वक सहयोग प्राप्त भएको थियो | एकत्रित रकम स्कूल कोषमा राखिएको थियो | आफ्नो युवाकालमा एक कुशल धावक र फुटबल खिलाड़ी रहेका साथै एकै दिनमा पेदोङ्ग आउने-जाने गर्ने,वयोवृद्ध पीके सरको सक्रिय नेतृत्वमा स्कूलको फुटबल टीम दलपचन्द गड्ढी मैदान, रङ्गेली-पाचेखानी-पाकिममा हुनेगर्ने टूर्नामेन्ट खेलमा मात्र नभई पारि पेदोङ्गसम्म लगेर मित्रवत् सहभागिता मात्र नभई सफलतापूर्वक शिल्ड- पारितोषिकसमेत जीतेर ल्याउने गर्थे | पछि मेरा आफन्त र स्कूल सहपाठी श्यामसुन्दर प्रधानले, जो स्वयम् पनि एक कुशल फुटबल-भलिबल खेलाड़ी थिए केही वर्ष त्यहाँ सेवारत छँदा विद्यार्थीहरुलाई भलिबलमा उत्साहित गर्दै आर्मी र बजारको खेल-प्रतियोगितामा भाग लिनेगर्थे | सांस्कृतिक कार्यक्रमहरुमा मोहन सरले गङ्गा-सुशीला-अन्जुलाई ससाना छँदा नै मन्चमा कुशलतापुर्वक प्रस्तुत गरेका थिए | यस्तो कार्यक्रममा पछि चन्द्रकला थापा*, फुर्मित गुरुमा आदिको सहयोग हुने गर्थ्यो | पछि १९६३-६४-तिर कालेबुङका दुर्गाप्रसाद शर्मा (डा. राजेन्द्र भण्डारीका दाजु) अनि खरसाङका हेमन्तकुमार छेत्री ( एक समय रिनाकका डाक-बाबु रहेका हर्कबहादुर छेत्रीका छोरा) पनि त्यहाँ सेवारत थिए | एक समय विद्यार्थी र शिक्षक समेत रहेका विनोदकुमार प्रधानको घरमा बस्ने गर्थे | हामी चार युवा साँझ भेला भएर खूब रमाइलो गर्नेगर्थ्यौं | पछि १९७२-७३-तिर रिनाक स्कूलमा मेरा बुवासित सहकर्मी शिक्षकको रूपमा सेवारत हुनेहरुमा तुलसीराम शर्मा*(पछि रिगु समष्टिबाट चुनावमा दुइ पटक विजयी भई सिक्किमका शिक्षा मन्त्री र स्वास्थ्य मन्त्री साथै सिक्किम विधान सभा अध्यक्ष समेत रहे - त्यसपछि साहित्य-सेवामा समर्पित भई 'सिक्किम' पछि 'आमा' खण्डकाव्यको निम्ति साहित्य अकादमी पुरस्कार पाउने सिक्किमबाट प्रथम व्यक्ति हुने श्रेय प्राप्त गरे) , पेम्पा तामाङ्ग (जो सेवानिवृत्त भएपछि सिक्किम अकादमीका अध्यक्ष भए) र पासाङ्ग नोर्बु भुटिया (जो पछि पशुपालन विभागमा सेवारत भई सेवानिवृत्त भए) रङ्गेलीबाट सर्भिस जीपमा आउने-जाने गर्थे - हिजआज जस्तो आफ्नै गाड़ी हाँकेर वा बस वा ट्याक्सीमा खुरुक्क चढ़ेर आउने सुविधा शिक्षक वा छात्र सबैलाई नै असम्भव थियो | पाकिमका कुसाङ्ग दोर्जी तामाङ्ग पनि केही समयका लागि त्यही बेला यहाँ सेवारत् थिए | विवाहअघि हाम्रा परिवारबाट कला प्रधान, शीला प्रधान, सुनिता श्रेष्ठ* र अनिता श्रेष्ठले पनि केही समय सेवा पु-याएका थिए | रिनाक सिक्किममा मात्र नभई यस हिमाली भेकमा एक मात्र स्थान हो जसको एक पाठशालामा महान् शिक्षक, शिक्षाविद्, दार्शनिक र भारतका प्रधान मन्त्री डा. सर्वपल्ली राधाकृष्णनको मूर्तिलाई उनकै नाममा एक उद्यान निर्माण गरेर दुइ दशकअघि नै राखिएको थियो | यो मूर्ति हिज-आज स्कूल परिसर प्रवेश गर्ने बित्तिक्कै दर्शन गर्नसकिन्छ | बुबा कलकत्ता विश्वविद्यालयमा स्नातकोत्तर शिक्षा हासिल गर्नुहुँदा डा. राधाकृष्णन त्यहाँ सेवारत थिए भने उहाँले स्नातक गर्नुभएको काशी हिन्दू विश्वविद्यालयमा पछि उप-कुलपति भएर आएका थिए | सिक्किमका शिक्षा नेदेश्क रिनाक भ्रमणमा आउँदा बुवाको उच्च शैक्षिक योग्यता थाहा पाएर उहाँलाई त्यहाँको प्रधान अध्यापक भई शिक्षामा योगदान पु-याई दिनहुन आग्रह गरे फलस्वरूप १९५८-सालमा यस स्कूलसित सम्बद्ध हुनुगएका थिए, जुन प्राय: दुइ दशक लामो अवधिको भई सन् १९७८-सम्म रहनु गयो | | लगभग यसैसँग स्कूलको स्तरमा पनि सरकारबाट मान्यता प्राप्त गर्दै मिडल स्कूलको दर्जामा र तत्पश्चात् एक निम्न-माध्यमिक पाठशालाको रूपमा स्तर-वृद्धि भएको थियो | सम्भवत: सिक्किमका समकालीन विद्यालयहरुमा यस स्तरमा पुग्ने रिनाक स्कूल प्रथम हुनुपर्ने जस्तो लाग्छ | माध्यमिक / हाई स्कूलको दर्जा पाउनमा राजनैतिक हस्तक्षेप कारणवश रिनाकबाट सिक्किमका प्रथम शिक्षा मन्त्री भए ता पनि त्यहाँका विधायकको प्रभावमा रङ्गेलीको छुजाचेन स्कूलले उच्छिन्न गयो तर भए पनि महाविद्यालयको स्तरमा सिक्किम सरकारी कलेजको विषयमा भने रिनाकले यसको गौरवपूर्ण श्रेय प्राप्त गरेको छ |
बुबाको रिनाक स्कूलसित सम्बन्ध सुमधुर तर कष्टरहित भने कदापि रहेन | सन् १९६३-६४-तिर होला उहाँलाई एक पटक सुदुर पश्चिम जिल्लाको कलुक-देन्ताम स्कूलमा स्थानान्तर गरिएको थियो | उहाँले लामो छुट्टीमा बसेर केही सानो व्यापारमा लाग्ने प्रयास गरेका थिए | आफ्ना प्रिय हेडसरको त्याग, लगन र समर्पणदेखि प्रभावित भएर स्थानीय जनता र अभिभावकहरु मिलेर एक प्रतिनिधि टोली गान्तोक गई शिक्षा विभागका शीर्षष्ठ अधिकारीसमक्ष उहाँलाई फर्काइ रिनाक स्कूलमा नै राखिदिने विन्ती गरेपछि उहाँ फेरि यहाँ सेवामा फर्के | यही बीच गान्तोकको नव-स्थापित टाशी नामग्याल हायर सेकेण्डरी स्कूलमा वाणिज्य/कमर्स शिक्षकको अभाव हुँदा उहाँ दुइ पटक त्यहाँ केही समयका लागि सेवामा गएका थिए | सन् १९७५-मा भारतसित विलय पश्चातको बदलिएको राजनैतिक परिवेशमा केही परिचित-अपरिचित असमाजिक तत्वहरुले अचाहिँदो जाली ट्रान्सफर सर्टिफिकेटको लागि दबाव झेल्न उहाँको अन्तरात्माले मानेन | फलस्वरूप, उहाँलाई उत्तर सिक्किमको फेन्साङ्ग स्कूलमा सरुवा गरियो | बरु, आफ्नो दुइ दशक जतिको दीर्घकालीन सेवालाई परित्याग गरी अन्ततः स्वेच्छापूर्वक सेवानिवृत्त हुनु श्रेयस्कर / बेस ठाने | उहाँको अथक समर्पित र ऊर्जावान दीर्घकालीन योगदानको कदर गर्दै रिनाक स्कूलको स्वर्ण जयन्ती समारोहमा उहाँलाई सम्मान जनाएको थियो | स्मृति-चिन्हको रूपमा एउटा देवल-घड़ी उपहार स्वरूप उपहार दिएको थियो, जुन आजसम्म उहाँको परिवारलाई एक अमूल्य सङ्ग्रहणीय वस्तु भएको छ | उहाँका असंख्य छात्रहरु, शुभचिन्तक तथा परिवारजनहरुलाई उहाँप्रति श्रद्धा प्रेम र सद्भावना प्रकट गर्ने र उहाँले लगाएका गुण फर्काउने सुअवसर सन् २०००-सालमा हाम्रो करुणा देवी स्मारक धर्मार्थ गुठीले रिनाक नेवार गुठी र सिक्किम नेवार गुठीको सक्रिय सहयोगमा मई ३०-३१ र जून १-मा आयोजित बुवाको सहस्र-चन्द्र-दर्शनम् / महारथरोहण व जंक्व समारोहमा पाएका थिए | बुबा ८३ वर्ष, चार महीना, चार दिन, चार घडी, चार पला पुग्दा एक हजार पूर्णिमाको दर्शन हुने भनेर सो तीन-दिवसीय धार्मिक-सामाजिक अनुष्ठान सम्पन्न भएको थियो | पूर्व-संध्यामा श्रीकृष्ण सिनेमा हलमा आयोजित भव्य नेवा: साँस्कृतिक समारोहमा उहाँलाई अभ्यर्थना गरिएको थियो | त्यहाँ एउटा 'स्मारिका' तथा स्मृति-चिन्ह को पनि विधिवत् लोकार्पण गरिएको थियो | भोलिपल्ट बिहानैदेखि पूजा सम्पन्न भए पछि भजन र गायत्री- मन्त्र उच्चारण गर्दै महारथ-यात्रा उहाँको निवासबाट नगर परिक्रमा गर्दै रिनाक बजारको श्री ३ सिद्धेश्वर महादेव मन्दिरमा गई समापन भएको थियो | बजार फाटक आइपुग्दा नामथाङ्ग कोठीमा नव-स्थापित 'नेवा: भाषा र संस्कृति विद्यालय'बाट तालीम प्राप्त गरेका पारम्परिक वेश-भूषामा सुसज्जित युवा कलाकारहरुको एक साँस्कृतिक टोलीले धिमे र अन्य बाजागाजा अनि लाखेसाथ महारथको अगुवाई गरेको थियो | यस ऐतिहासिक उत्सवलाई अभूतपूर्व सफल पार्न सहयोग दिनेहरु प्रत्येकलाई एक-एक वटा वटा देवल घड़ी स्मृति-चिन्हस्वरूप दिएर धन्यवाद ज्ञापन गरेर सो अनुष्ठान सुसम्पन्न भएको थियो | सो देवल घड़ी अझ पनि कतिपय घरमा देख्न सकिन्छ |
रिनाक काजीले यस स्कूलको निर्माणको लागि एउटा ठुलो जमीन वर्तमान स्थानमा उदारपूर्वक दान दिएका थिए | मूल सड़क रेशी-रङ्गेली राजपथदेखि काजी कोठीतिर उकालो जाने ४-फुटे मूल-बाटो हाम्रो जमीनसित अलग गर्ने यसको सीमाना थियो | सर्वसाधारण जनताको आर्थिक सहयोगले विशाल हल भएको स्कूल भवन निर्माण आज भन्दा ६० वर्षअघि सम्भव भएको थियो | काठको पटाई र एकराद्वारा लामो बरेण्डा भएको कोठाहरुमा प्राथमिक कक्षाहरु थिए भने सो हलको मुनिल्लो तल्लामा त्यसरी नै यसका दुइतिर एक तल्ले ढुँगा-बेलायतीद्वारा बनाईएको पक्का घर थियो जहाँ प्रधानाध्यापकको कार्यालय र शिक्षक-शिक्षिकाहरुको एक पुस्तकालय सहितको कोठा बाहेक अन्य कक्षाहरु सञ्चालन गरिन्थ्यो | यी दुइ बीच पछिल्तिर खाली चउरमा भलिबल, बेडमिन्टन, आदि खेल्ने स्थान थियो |अघिल्तिर बुवाको समयमा रोपेको धुप्पीका दुइ ठुल्ठुला रुख भर्खरैसम्म थिए जो पुराना भवनहरु जस्तै अब त्यहाँ देखिन्न | मास्तिर भएका भवनहरुमा जाने बाटो बनाउनको लागि अन्य अनेक रुखहरुसितै यी पनि काटिएका थिए | हलको अन्त्य एक भीषण तूफानको कारण भएको थियो | त्यस बेलाकी एक छात्रा डा. शान्ति छेत्रीले स्वर्गीय बुवाको ४५-दिनको कामको बेला उहाँको स्मृतिमा प्रकाशित 'श्रद्धाञ्जलि'-मा कसरी हेडसरले आफ्नो दूरदर्शिता र सूझ-बूझले आकाश कालो भएको देखेर समयअघि नै छुट्टी दिएका थिए र ती सब तल सड़कमा पुगेका मात्र के थिए हल भत्केर झरेको ठुलो आवाज सुनेको संस्मरण गरेकी थिइन् ! सो पुस्तिका मुमाद्वारा उहाँका सहकर्मी शिक्षक कृष्णकुमार थापाको उपस्थितिमा लोकार्पण गरेका थिए | यसमा उहाँले पनि आफ्नो संस्मरण लेखेका छन् | बुवाले स्थानीय सैनिक अधिकारीहरुसित पनि सुमधुर सौहार्द्यपूर्ण सम्बन्ध राख्ने गर्थे | सेनाले पनि सहयोगस्वरूप बेला-बेला सो हलमा अनि हिउँदमा सफा मौसमको बेला स्कूल ग्राउण्डमा सर्वसाधारणको हितमा सिनेमा देखाउने गर्थे | त्यस बेला सिक्किम वा गान्तोकमा नै कुनै सिनेमाहल थिएन | यस प्रकारको सद्भावले हामी युवालाई मात्र नभई सर्वसाधारणलाई समेत खुबै प्रभावित पारेको थियो |