फेरि पनि नेपाल !
पितृभूमि देवभूमि
न्ह्यलुवा पद्मरत्न तुलाधर, प्रा. कमल प्रकाश मल्ल र भाषासेवी नातिवज्र वज्राचार्य साथै
काका देवशङ्कर लाल श्रेष्ठ अनि उद्योगपति इन्द्रभक्त श्रेष्ठको स्मरणमा सश्रद्धा समर्पित!
-०-
माघ महीना श्री स्वस्थानी व्रत-कथाको पावन महीना साथसाथै हाम्रो विवाहको ४५-औँ वर्षगाँठमा ससुराली घर बिहेमा साथै छोरा रमणलाई 'कान्तिपुर कन्क्लेभ'-मा अतिथि वक्ताको रूपमा सहभागी हुने दुर्लभ अवसरमा सारिक हुनु 'पशुपतिको दर्शन र सिद्राको व्यापार' भनेझैं भयो | परिवार-आफन्तजनसितको भेटघाट मात्र नभई मेरो बुवाको १०४-औँ पुण्य जन्म-जयन्तीछेक आफ्नो पितृ-भूमिमा पवित्र पैतृक-उद्गमस्थल स्क्व/साँखु र अन्य ऐतिहासिक नगरहरु अतिरिक्त देव-भूमिमा तीर्थस्थलहरूको दर्शन, तीर्थ-तुल्य वयोवृद्ध आफन्तहरु अनि आशा सफू कुथि, सफू-धुकु र इलोहँ प्रकाशन-पक्षसित भेटघाट सहज अनि अविस्मरणीय हुनुगएको थियो |
हामी पुगेको भोलिपल्ट वसन्त-पञ्चमीको दिन भदैनी स्मृतिको ज्युरिक स्विजरल्याण्डमा अध्ययनरत छँदा नै भेटिएका स्थानीय-निवासी जियोनसित विवाह सुसम्पन्न भएको थियो | गत वर्ष भारतमा छ:महीना लामो अध्ययन सिद्ध्याएर अन्त्य दिसम्बर सिक्किम घुम्नआएका थिए | फर्किंदा काठमाडौँ भएर जाने योजना थियो | त्यहाँ पुगेर उनिहरु फर्किनअघि यतै विवाह गर्ने निर्णय गरे | यसर्थ उनीहरुको परिणय-सूत्र यहाँ पकनाजोलस्थित गोकर्ण हाउस रेष्टुरेन्टको प्राङ्गणमा परिवार तथा मित्रजनको उपस्थितिमा दिनभरिनै रमाइलोकासाथ विधिवत् तौरले बाँधिनगएको थियो | आफन्तहरुमा कान्छा ससुरा राजबहादुर श्रेष्ठ, समाजवादी पार्टी नेपालका सह-अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ (एक जनसभामा जान्छन अनि फेरि आउँछन्), समृद्धि स्कूल/कलेज/नलेज सल्युशंस'-का सी.ई.ओ. नरेशप्रसाद श्रेष्ठ (हामीलाई पछि घर पु-याइदिन्छन् ) र अनेक अन्य भेट हुन्छ | वेलिङ्गटन न्युजिल्याण्डबाट आएका रञ्जनाकी बहिनी समा र ज्वाईंसाहेब विलास डङ्गोलका साथ हामी अग्रिम रूपमा बिहान नौ बजेनै त्यहाँ अतिथि-स्वागतमा उपस्थित हुनुपुगेका थियौँ | पर्सिपल्ट साँझ टेङ्गल परिवारद्वारा वरका पिता-मातालाई हाँसी-खुशी बिदाई-भोजमा हाम्रो उपस्थिति थियो |
कान्तिपुर कन्क्लेभ
बिहे लगायत भोज यसरी सुसम्पन्न भएपछि प्रतीक्षा थियो ७-८ फरवरीमा आयोजित दोस्रो 'कान्तिपुर कन्क्लेभ'-को - थीम/ केन्द्र-विषयवस्तु थियो 'रिइमेजिनिङ्ग कन्नेक्टिभीटी' अर्थात् 'सम्पर्क सुद्ध्याई' | यहाँ आमन्त्रित अतिथि-वक्ता रचना पुस्तकका रमणद्वारा शनिवार ८ तारिखको सत्र समाजमा 'साहित्य र कला सेतुको रूपमा' चर्चा-परिचर्चामा सहभागिताको सो गौरवमय सभागारमा हाम्रो पनि गर्वपूर्ण उपस्थिति | त्यसपछिको अर्को सत्रमा त्यसरीनै आमन्त्रित प्रज्वल पराजुलीको अन्य सहितको प्रस्तुतिपछि उनीसित रचना पुस्तकमा 'द् गुर्खास् डटर'-को लोकार्पण भएको (यद्यपि उनी यहाँ बराबर र भर्खरै पनि आएका) धेरैवर्ष पछिको भेट सभागारबाहिर हुन्छ र बधाई दिन्छु | गत सप्ताह २६ जनवरीको दिन मात्र रचना पुस्तकलाई फेरि पनि ऐतिहासिक चारमिनारको शहर हैदराबादमा 'इण्डिया रिडिङ्ग अल्म्पियाड' अन्तर्गत् 'फुड फ़ोर थट फाउन्डेसन'-द्वारा वर्षको सर्वश्रेष्ठ पुस्तक-भण्डार ठह-याई 'बुकस्टोर अफ् द् ईयर' पुरस्कारद्वारा सम्मानित गरिएको थियो | यसलगत्तै काठमाडौँ आउने अवसर जुरेकोमा यो भ्रमण अविस्मरणीय साथै महत्वपूर्ण थियो | स्मरण रहोस्, यसअघि रचना पुस्तकका रमण श्रेष्ठलाई गोवा आर्ट एण्ड लिटरेचर फेस्टिभल (कला अनि साहित्यिक उत्सव) २०१३, जयपुर लिटेरेरी फेस्टिवल २०१६ र २०१७, चेन्नईमा द् हिन्दू लिटरेरी फेस्टिभल २०१७, गुवाहाटी पुस्तक महोत्सव २०१८ आदिमा यसरीनै आमन्त्रित भई सम्मानित हुने अवसर प्राप्त भएको थियो | भर्खरै पनि 'आउटलुक ट्रेभेलर' पत्रिकाले समेत 'रचना पुस्तक'लाई गान्तोक/सिक्किममा हेर्नपुग्नैपर्ने एक गन्तव्यको रूपमा उल्लेखित गरेको थियो | होटल ह्यात रिजेन्सीबाट हामी दिवा-भोजपछि सोझै सानेपास्थित 'यलो हाउस' / पहेंलो घर परिसरमा 'आर्ट मार्ट'मा विभिन्न कलाकारहरुद्वारा गीत-सङ्गीत प्रस्तुति साथै ह्स्तशिल्प प्रदर्शनी-बिक्री हेर्नपुग्छौँ | सो दिनको लागि यति नै पर्याप्त भएकोले हामी आआफ्ना घर सन्तोषपूर्वक फर्किन्छौँ |
पावन भूमि सक्व / साँखु
स्वस्थानी व्रत-कथाको पुण्य महीना भएकोले यस पटक आफ्नो पवित्र पैतृक मूल-जन्म-उद्गम-स्थल सक्व अथवा साँखु जाने धेरै वर्ष अघिको इच्छा यसैपालि सम्भव हुन्छ | सोमवार ३ फरवरी श्री स्वस्थानी मन्दिरमा हामी देवीको साथै श्री माधव-नारायण मन्दिरको दर्शन गरी आशीर्वाद लिनुपुग्छौं | यहाँ हामी दुइ, दिदी सुशिला-रामचन्द्र भेनाजुसहित छोरी रोशनीको पहलमा समा-विलासको साथ पुगेका थियौँ | चिया-चमेनापछि मेला हेर्दै त्यहाँबाट फर्किंदा पुरानो नगर घुम्न अर्को पटकको लागि राख्ने वाध्यतामा चारमध्ये एक पुरानो प्रवेश-द्वारअघि एक तस्वीर खिचेर हामी दुई सन्तोष व्यक्त गर्छौं | ललितपुर झम्सिखेलस्थित नारी-शक्तिकरणको प्रतीक एक दशक जतिअघि सन् २००९-मा स्थापित 'सबाह नेपाल' समुहद्वारा परिचालित 'द् भिलेज एट पार्क' क्याफे' सोझै पुग्छौं - यमरी, ऐलासहितको ठेट नेवार भोजनका परिकारको आनन्द लिनु समा-विलासको आतिथ्यमा | उनीबाट अर्को यस्तै खाजाघर तर भुइँमा सुकुलमाथि बसेर खाने प्रबन्ध भएको कीर्तिपुरमा 'नेवार लहना' रहेको थाहा हुन्छ र एक दिन त्यहाँपनि पुग्ने हामी मन बनाउछौँ | बेलुकी टेङ्गल घरमा न्यूजर्सीबाट आइपुगेका भाइ बिकाश र छोरा विपुलबाट कुमारी पाटीमा 'वन डे थ्री डी रेष्टुरेन्ट' नामक एक नौलो चित्ताकर्षक प्रयास भएको त्यहाँ लिइएका तस्वीरहरुसहित विवरण थाहा लाग्छ |
दीर्घायु तीर्थ
नेपाल आएको बेला यहाँ ९६-वर्षीय जमुनामाया बजैलाई नभेटी हाम्रो भ्रमण अधुरो हुन्छ | हालसाल उहाँ आफ्नो पशुपति मन्दिर अघिल्तिर अवस्थित निवास नबस्नेगरेकी हुनाले हामी उहाँकी कान्छी छोरी कल्पना र ज्वाईंसाहेब मनराजा रञ्जितको आवास नखु/एकान्तकुनास्थित 'सनराइज एपार्टमेन्ट' खोज्दै पुग्छौं | यसै याममा हामी नेपाल प्राय: पुग्नेगरेकाले "आज बिहान मात्र तिमीहरु आईपुग्छ होला जस्तो लागेको" भन्नुहुँदै खुशी भई प्रत्येक पटकझैं उहाँले पशुपतिनाथको प्रसादस्वरूप आशीर्वादमा एउटा रुद्राक्ष-माला दिनुहुन्छ | सिक्किम एक पटक पुग्ने उहाँको अभिलाषा रहेको सुनाउनुहुँदै अबको चार वर्षमा १०० वर्ष पुगेको अवसरमा हामीलाई अवश्य आउनु भन्नुहुन्छ | कानले केही कम सुन्ने गरेपनि दाँत र आँखा राम्ररीनै काम गर्दैगरेको थाहा लाग्छ | उहाँ अझैपनि दिन्हौँ एक सलिं/ट्वाक ऐला पिउने गरेकाले आफ्नो स्वास्थ्य असल राख्नसकेको ठान्नुहुन्छे | हामीलाई शताब्दी पुरुष सत्यमोहन जोशीको दीर्घजीवनको सुत्र सम्झना आउँछ - उहाँको खुराक २ सलिं छ, जिउ-डाल अनुरुप | बजैको स्मरणशक्ति अति सराहनीय र तीव्र भएको प्रमाण - दस वर्षअघि सन् २०१०-मा यसरीनै भेट गर्नजाँदा 'चन्द्र नर्सरी शताब्दी' पालनगर्ने हाम्रो प्रस्ताव सुन्नेसाथ यसको समर्थनमा रू. ५०००/-को आर्थिक सहयोग गर्नुभएको सम्झनागर्दै के-कस्तो परिणाम प्राप्तभएको सोध्नुहुन्छ | हाम्रो सतप्रयासलाई सन्तानपक्षबाट यथायोग्य समर्थन र सहयोगको अभावमा हामीले एउटा पुस्तक मात्र प्रकाशित गर्नसकेको कुरा सुनाउछौं | स्मरणीय छ, पोर्टल्याण्ड ओरेगन अमेरिका-निवासी भाषा-विज्ञ द्यारत्न शाक्यद्वारा लिखित 'नेवा: भाय् लर्नर' (सीडी सहित) 'चन्द्र नर्सरी'-का संस्थापकद्वय राइसाहेब रत्नबहादुर प्रधान र बाबु दुर्गाशमशेर प्रधानलाई (उहाँका पति) समर्पित पुस्तकको नव-वर्ष १ जनवरी २०११-को दिन न्ह्यलुवा पद्मरत्न तुलाधरको बाहुलीबाट लक्ष्मण राजवंशी जस्ता ख्यातिप्राप्त नेवाः विद्वानहरुको उपस्थितिमा मध्यपुर ठिमीमा भाषा-संस्कृति सेवी गणेशराम लाछीको सहयोगमा शंखधर सिरपा समितिद्वारा आयोजित एक भव्य समारोहमा विधिवत् रूपमा लोकार्पण गरिएको थियो | सो पुस्तक आफ्नै विशेषता रहेकोले यसको यहाँ हाम्रो २५-वर्ष पुरानो 'नेवा: वर्ण, लिपि र भाषा परिचय'-झैं अझपनि काठमाडौँमा माँग रहेको सफू धुकुका पवन भाईबाट थाहा लाग्छ |
उहाँको स्मरण-शक्तिबाट प्रोत्साहित हालै हाम्रो परिवारमा बढ्दो अन्तरजातीय विवाहको प्रचलनबारे उहाँसित सोध्ने जिज्ञासा जाग्दछ किनकि सबैभन्दा पहिलो सन् १९५७-मा सो रकम पञ्जाबी बुहारी ल्याउने उहाँकै परिवारमा जेठा छोरा निर्मलचन्द्र मामा थिए | बाजे दुर्गा शमशेर कड़ा मिजाज र सख्त अनुशासनका अनुयायी भएकाले उहाँको त्यस बेलाको पारिवारिक प्रतिक्रिया जान्न अझ उत्सुक भएका थियौँ | आश्चर्यचकित हामी तब भयौं, जब उहाँले सहज रुपमा परिवारमा केही प्रारम्भिक अड़चनपछि आकस्मिक बेहुली भित्राउने प्रक्रिया टीका-टालो गरी आफूसित भएको एउटा सुनको सिक्री लगाइदिएर सहर्ष स्वागत गरिएको जनाए | कालिम्पोङ्ग साढ़े आठ-माइलको काली मन्दिरनिरका सूद परिवारमा जन्मेकी अनि त्यहाँ ऋषि फार्मका हाम्रा खड्गप्रसाद प्रधान मामाकी जेठी छोरी (नेपालका प्रख्यात होटल-व्यवसायी) अम्बिका प्रधानसित सन्त जोसेफ कन्वेण्ट शिक्षित र सेवारत ज्योति माइजुलाई चिनेको | सानो छँदा विवाहअघि एक पटक हाम्रो निवास (हाल क्लुनी वुमन्स कलेज परिसर)-मा आएर त्यहाँ पोखरीमाझको सानो द्वीपमा ग्रामोफोन रेकर्ड बजाई निर्मल मामाद्वारा आयोजित रमाइलो वनभोज गरेको एक पटक स्मरण गराउँदा माइजु छक्क परेकी थिइन् - मेरो संस्मरण सुनेर | आफ्ना देवर हाम्रा विधान मामाको बिहेको अवसरमा र पछिपनि धेरै पारिवारिक अवसरमा उहाँले नेवार संस्कृति र रीतिथितिबारे ज्ञान धेरै जानेको पाएँ | उहाँहरु पछि कालिम्पोङ्गबाट नेपाल गएर आफ्नो नर्सरी व्यापार शुरु गरेका थिए अनि आफ्ना तीनै छोरीहरु मधु, मीना र सुजाता(सूजी)-को विवाह सुसम्पन्न गरेका थिए | पछि कालिम्पोङ्ग फर्किआई आफ्नो सुखमय जिन्दगी बिताइरहेकी र हाम्रा पारिवारिक कार्यक्रमहरु अनि छोरी रचनाको ज्वाईं साहेब विमल नायरसितको विवाहमा समेत सामेल भएर शोभा बढ़ाएकी थिइन् | उनको जेठा छोरा सुनीलको निधनपछि माइजु फेरि उतै फर्केर गएकी थिइन् र त्यहीँ शरीर त्याग गरिन | सो बेला हामी काठमाडौँमा आर्यघाट पुगी अन्त्येष्टि क्रियामा श्रद्धाञ्जलि अर्पण गर्नसकेका थियौँ | कान्छा छोरा अनिल उतै थिए जसको पछि २०१७-तिर निधन भएको जानकारी कालिम्पोङ्गमा अखिल भारत नेवार समाज कालिम्पोङ्ग अञ्चलद्वारा रकभेल स्कूलको सभागारमा आयोजित राष्ट्रिय शिक्षक पुरस्कारले सम्मानित एस.यु.एम.आई.का प्राचार्य नभरत्न प्रधानको संवर्धना समारोहमा हामी पनि निमन्त्रित भई सहभागी हुनपुग्दा मुख्य अतिथि रकभेल स्कूलका प्राचार्य क्याप्टेन प्रकाशमणि प्रधान (सुनीलकी बुहारी सरलाका दाज्यू)-बाट पछि थाहा लाग्यो |
बजैको अदम्य साहस र दृढ़ इच्छाशक्ति फलस्वरूप भर्खरै अकस्मात् 'लो ब्लड सुगर'-बाट पिड़ीत चार दिन अस्पतालबसेर तङ्ग्रिएकी र केही महीना अघिपनि त्यसरीनै चार दिन अस्पताल बसी निमोनियालाई जित्नसकेकी थाहा लाग्छ | हाम्रोलागि उहाँ एक तीर्थ सरह हुन् र हामी सबैको दीर्घायुको लागि एक प्रेरणा-स्रोत पनि !
उहाँहरुको विस्तृत बगैंचा सहितको प्रशस्त स्थान अगोटेका ठूला-ठूला कोठाहरु भएका भव्य महल हेर्ने अवसर जुरेको हुन्छ | भोलिपल्ट, ठहिँटीको एक गल्लीमा सहनशीला दिदीलाई भेट्नजाँदा उहाँको भातिजा डा. मङ्गेश र सलोनी वज्राचार्यको नवनिर्मित घरमा हामी दुईलाई स्वागत गरिएको पाउँछौ | घरको साँघुरो चौक जाने गल्ली पहिले चार फीट जतिको जोगिन्दा-जोगिन्दै टाउको ठोकिने अब अग्लो सजिलो बनिएकोले गर्दा पस्ने बाटोनै नचिनिने पाउँछौँ | मुश्किलले १०-१२ फीट चौड़ा र १८-२० फीट लम्बाइमा आधुनिक सरसमानसहितको नवीनतम ढाँचामा साढे-पाँच तल्लाको खुबै सुन्दर तरिकाले हरेक कुना-काप्चाको सदुपयोग गरी निर्मित वसन्त-पञ्चमीको दिन मात्र 'लुखाच्याका' अर्थात् गृहप्रवेश गरेको सो भवन देख्दा साँचैनै सरस्वतीको वरदानमा 'इन्टेरियर डेकोरेशन'को ज्ञान भएकी बुहारीले आफ्नो परिकल्पनालाई कठोर परिश्रम र खटनद्वारा साकार गर्नसकेकोमा प्रभावित भई मुग्धकण्ठले प्रशंसागर्दै बधाई दिन्छौं | केही बेरमा मङ्गेश मोडर्न नेवा: इङ्गलिश स्कूल पढ्ने आफ्नी तीन-वर्षीय छोरी सान्वीलाई लिएर आउँछन् | काठमाडौँको मुटु मानिएको असनमा जन्मे-हुर्केकी आमालाई नेवार/नेपालभाषा बुझ्नेगरे पनि बोल्न भने असहज लाग्ने अनि छोरीले स्कूलबाट फर्किआएर सिकेका केही नेवार शब्दहरु जस्तै न्ह्याप/कान, मिखा/आँखा, ख्वा/अनुहार, इत्यादि सुनाउँदा हर्षित भएकी पाउँछौं |
---
वीरगञ्ज कुम्हाल टोल निवासी माइली निनी गिरिजा देवी र लेफ्टिनेन्ट ज्ञानबहादुर श्रेष्ठका छ: भाई छोरा र दुई बहिनी छोरीमा सबैभन्दा जेठी सन्तान चण्डिकादेवीका श्रीमान, त्यहाँ गोश्वारा मार्ग-निवासी ९६-वर्षीय शम्भुबहादुर भेनाजु हिजआज यहाँ आफ्ना छ: छोरी र दुइ छोराको सन्तानमा कान्छा छोरा सुदीपसित बस्नेगरेकाले हामी उहाँलाई भेट्न जान्छौं | ह्याम्स अस्पताल नजिकै मण्डिकाटारमा उनको निवास खोज्दै कुमारी मन्दिर पुग्दा भान्जालाई हाम्रो स्वागत/प्रतीक्षामा उभेको पाउँछौं | नव-निर्मित सुन्दर भवन देखेर बधाई दिन्छौं | सँगै छेवैमा भएको घर भाञ्जी सरिताको भएको तर हाल धनकुटा घर पुगेको थाहा लाग्छ | सन् १९४५-४६ तिर बनारसमा शिक्षा हासिल गर्दा भेनाजुले मेरी स्वर्गीय मुमाको भेटेको सम्झना गर्दै उहाँ ठुलो जिउ-डालको असल र निपुण महिला भएकी अनि उहाँले पकाउनु भएका स्वादिष्ट व्यञ्जनको वर्णन गर्नु भयो | दिदीको देहान्तपछि सुदीप जवाहरलाल विश्वविद्यालय दिल्लीमा अध्ययन गर्नजाँदा उहाँ आठ वर्ष टेक्सस अमेरिकामा जेठा छोरा सुचित्रसित बसेका थिए | अन्य कतिपय झैं उहाँ फेसबुकमा अब उस्तो सक्रिय नदेखेका तर सो हेर्ने गरेका बताउँछन् | सन् १९७४-मा निनीका काइँला छोरा केशवको रिनाकका सूर्यमानसिँह जोशी र ठुलीमुमा की माइली छोरी दिपादिदीसितको विवाहपछि उहाँहरु गान्तोक आउनुहुँदा दिदीले नै हाम्रो रचना भवनको भूमि-पूजा गरिदिनुभएको स्मरण गराउँछु | उहाँ भन्नु हुन्छ – निनीका जेठा छोरा माधवले अरु कुराहरुमा झैं आलटाल गरी निर्णय गर्ननसक्दा मेरा बुवाले यहाँको केही चिन्ता लिनुपर्दैन केवल भानिज केशवलाई यता पठाइदेऊ हामी विवाह सुसम्पन्न गराई पठाइदिउँला भनेका थिए | उहाँ स्वयम् निनीबाहेक आफ्ना सन्तानको १२-१५ जनाको ठुलो टोलीसहित साथै नेपालगञ्जबाट कान्छी निनी सङ्कटादेवी आफ्ना छोरा र नाती महेन्द्रसँग सिक्किम आउनु भई बड़ो धुमधामसित विवाह भएको सम्झना छ | आफ्ना ससाना तीन छोरीहरुसहित सन् १९८०-को दशकमा अमेरिका पुगेका दिपादिदी-दाई हिजआज बाल्टीमोर नजिकको एक 'ज्येष्ठ नागरिक आवास'मा सरल जीवन बिताउनु हुँदैछ |
शा सफू कुथि
हाम्रो लागि अर्को तीर्थस्थल नरदेवी-टेङ्गल नजिकैको कुलाँभुलु अथवा रक्तकाली चित्तधर 'हृदय' मार्ग अवस्थित आशा सफू कुथि हो | यहीँ नजिकै चित्तधर 'हृदय'ले शुरु गरेका नेपाल भाषा परिषद् (जसमा मेरा काका देवशङ्कर लाल पनि एक सहयोगी थिए) अनि निवास अब भारत सरकारले पूर्ण रूपले पुनर्निर्माण गर्नेभएको भर्खर जान्नमा आएको छ | सन् १९९६-मा बुवाको मार्गदर्शनमा म र मेरी श्रीमती रञ्जनाको संयुक्त प्रयासमा तैयार गरिएको पुस्तक 'नेवा: वर्ण, लिपि र भाषा परिचय'-लाई एक कुशल सम्पादकको आवश्यकता भएर हेटौडा 'समाचार केन्द्र'-का साथै 'हेटौडा वापौ' साथै 'कुराकानी'-का सम्पादक-प्रकाशक रहेका मेरा साढ़ूभाई दीपकप्रसाद श्रेष्ठसित जनकवि दुर्गालाल श्रेष्ठको निवास पुग्छौं | उहाँले यस विषय आफुभन्दा सक्षम व्यक्ति आशा सफू कुथिका सञ्चालक राजा शाक्य भएकाले हामीलाई उहाँसित भेट्न आग्रह गर्छन् | यसरी उहाँसित र यस ज्ञान-मन्दिरसित सम्बन्ध रहनगएको २५-औँ वर्ष भएको छ | वर्तमान सञ्चालक मित्र शरद कसाले प्रारम्भिक कुराकानी र स्वागत चियापानसितै सम्झना आउँछ उहाँको त्यो चिरस्मरणीय दिवस | सन् २०१६-मा यहाँ प्राङ्गणमा उहाँको सहयोगद्वारा हाम्रो करुणादेवी स्मारक धर्मार्थ गुठी तथा स्थानीय इलोहँ प्रकाशनको पक्षमा नरेशवीर शाक्यको संयुक्त तत्वावधानमा आयोजित एक भव्य साहित्यिक समारोहमा नेपालभाषा साहित्य जगतका लब्ध-प्रतिष्ठित महानुभावहरुको उपस्थितिमा न्ह्यलुवा पद्मरत्न तुलाधरको बाहुलीबाट हाम्रो पुस्तक 'द् नेवार्स वर्ल्ड वाइड - कन्नेक्टिङ्ग द् डट्स : सिक्किम'-को अविस्मरणीय स्वागत र विमोचन (अघिल्लो दिन २८ मार्च २०१६ बाल्टीमोर अमेरिकामा आयोजित दोस्रो डब्लुएनओ महाधिवेशनमा न्ह्यलुवा मल्ल के. सुन्दर तथा नेपालका राजदूत डा. अर्जुनकुमार कार्कीका बाहुलीबाट साथै २६ मार्च को दिन गान्तोक रचना पुस्तकमा आयोजित एक भव्य सभामा सिक्किम सेवा रत्नद्वारा सम्मानित केशवचन्द्र प्रधानको बाहुलीबाट तत्कालीन क्षेत्र-विधायक बिक्रम प्रधान लगायत परिवारजन तथा गण्यमान्य अतिथिहरूको उपस्थितिमा सो पुस्तक प्रस्तुत गरिएको थियो) सुसम्पन्न भएकोमा एक पटक फेरि हार्दिक कृतज्ञता र धन्यवादसहित हाम्रो नवीनतम पुस्तक 'सिक्किम - आवर न्युफाउण्ड होम इन द् ब्ल्याक हिल : नेवार्स - हेयर एण्ड देयर'-को एक प्रति 'तीर्थस्थल' आशा सफु कुथिलाई टक-याउँदछौं | त्यहाँ एक टेबलमा आफ्ना पुस्तक 'रणहार'-का लागि यस वर्षको मदन पुरस्कार विजेता योगेश राज पुरानो पहाड़े कागजमा लिखित कुनै दस्तावेजको अध्ययनमा तल्लीन भएको देख्छु | अन्य केहीझैं उनले पनि आफ्नो स्वयंसेवा पुयाएको कुरा शरदले जानकारी दिन्छन् |
यसपछि हालसालका गतिविधिसित परिचय गराउने क्रममा हामी माथिल्ला तल्ला उक्लिन्छौँ | बिचतल्लामा भएको सङ्ग्रहालयमा शुरुका केही स्टीलका आल्मारी बाहेक अब यहाँ दुर्लभ र बहुमूल्य पाण्डुलिपिहरुलाई अतिरिक्त सुरक्षा प्रदानगर्न रङ्गसमेत नगरिएका काठका आल्मारीले 'ह्युमिडिफायर'सहित अधिकांश स्थान सदुपयोग भएको पाउँछौं | माथिल्लो तल्ला सभागारमा आशा सफु कुथिबारे अध्ययन-अनुसन्धान गरी एक पुस्तक समेत समर्पण गरिसकेकी दिव्या ताम्राकारले आफुले गर्दैगरेकी कामबारे परिचय दिन्छे | भोलिपल्ट आयोजित हुने चार-दिवसीय कार्यशालाको तैयारीमा व्यस्त केही स्वयमसेवकहरु साथै शरद स्वयमले पनि हामीलाई हेमबर्ग विश्वविद्यालय, आशा सफुकुथि तथा 'सेन्ट्र फर द् स्टडी अफ् मेनुस्कृप्ट कल्चर्स' अर्थात् 'पाण्डुलिपि संरक्षण अध्ययन केन्द्र' जर्मनीबाट प्राप्त सहयोगमा स्थानीय हितधारकहरुको लाभका लागि आयोजित हुने कार्यशालामा त्यहाँबाट सोझै प्राप्त सेता कूट वा गत्ताद्वारा ससाना बट्टा/बक्सा बनाई दुर्लभ पाण्डुलिपि र वस्तुलाई सुरक्षित राख्ने तरिका/विधि प्रशिक्षण दिने जानकारी दिए | "वर्तमान सञ्चालक शरद कसाको प्रयास र पहलमा तथा उनको समर्पित युवा दलको सहयोगमा भइरहेको अनेक नौला सराहनीय कदमहरुको सराहना अनि उज्ज्वल सफलताको कामना गर्दै हाम्रो लागि एक तीर्थस्थल भएको गरिमामा निरन्तर अभिवृद्धि होस्" भन्ने आफ्नो श्रद्धापूर्ण उद्गार उहाँहरुको आग्रहमा आगन्तुक-पुस्तकमा प्रकटगर्दै त्यहाँबाट हामी धन्यवादसाथ बिदा माग्छौं | भ-याङ्ग झर्दैगर्दा उपरोक्त 'सेन्ट्र फर द् स्टडी अफ् मेनुस्कृप्ट कल्चर्स'-का स्थानीय 'अनुसन्धान सहयोगी' विदुर भट्टराईसित भेट हुन्छ र उनलाई पनि कार्यशालाको सफलताको लागि शुभेच्छा व्यक्त गरी विदा लिँछौँ |
---
तीर्थस्थलको कुरागर्दा हामी पशुपतिनाथ दर्शन गर्न प्रथम लक्ष्य भएकोले आइतवार २ फरवरीको दिन जाँदा त्यहाँका बाँदर देखेर अनि विस्तृत प्राङ्गणमा नातिनी सारालाई रमाएर उफ्री-खेल्ने अवसर जुरेको थियो | भोलिपल्ट हामी साँखु पुगेका थियौँ जसको वर्णन माथि गरिएको छ भने पर्सिपल्ट स्वयम्भूको दर्शन गर्न र हारती माताको मन्दिरमा दिदी-बहिनी मिलेर विधिवत् पूजा गर्छन् | फर्किंदा आनन्द कुटी विद्यापीठको मूलद्वारमा उभेर एउटा तस्वीर खिचीमाग्छु भेनाजुलाई - त्यहाँ सन् १९७०-मा सिक्किममा कुनै काम नपाइएकोलेगर्दा स्नातकोत्तर शिक्षकको पदको लागि अन्तरवार्ता दिनपुगेको सम्झना हुन्छ | यस अतिरिक्त एउटा अन्तरवार्तामा उपस्थित हुनु - मैले एम.ए. जूलोजी/प्राणी-शास्त्रमा एन्टेमोलोजी/कीट -विज्ञानमा विशेष-पत्र अध्ययन गरेको हुनाले - यहाँ कमलपोखरीस्थित औलो उन्मूलन कार्यालयमा साथै सिँहदरबारभित्रसम्म पनि अर्कोको लागि पुगेको सम्झना ताजा हुन्छ | खिचापोखरी मीरा होमका आफन्त जुद्धबहादुर श्रेष्ठले विराटनगरका लागि अवसर छ भनेका थिए भने कसैले वीरगञ्जमा बस्ने हो भने मात्र आफ्नी छोरी दिने भनेको पनि याद आउँछ |
असनको अन्नपूर्ण मन्दिर, इन्द्रचौकको आकाश-भैरव (त्यहाँ अघिल्तिर भईरहेको नेवा: जागरण मञ्चद्वारा आयोजित विरोध सभा हेर्दै) र नजिकैको गणेशस्थान, रक्तकाली, नरदेवी मन्दिरको साथै कष्ठमण्डप परिसर, नजिकै मरुद्य गणेशस्थान, कुमारी-घर, तलेजु भवानी, सानो पशुपतिनाथ मन्दिर, बौद्ध आदिको दर्शन बाटो हिड्दा प्राय: भईनै रहन्छ | जनबहा:द्य अर्थात् सेतो मछिन्द्रनाथको पनि दर्शन गर्न बुहारी सर्वदासहित पुग्छौं जहाँ हाम्रा राजा शाक्य एक वरिष्ठ पुजारी हुनुहुन्छ र वार्षिक जात्राको दिन उहाँको उपस्थिति अपरिहार्य हुन्छ | केही वर्षअघि सन् २०१०-मा म सो अवसरमा पुग्नसकेको थिएँ र त्यस बखत लिएका तस्वीर/भिडियो फेसबुकमा पछि मैले कुनै सान्दर्भिक प्रसङ्गमा राख्दा एक मित्र (सम्भवत: राजेन मानन्धर)-ले सिक्किमबाटपनि यस प्रकारको जानकारी आउँदा आश्चर्य प्रकटगरेको सम्झना छ | हाम्री बुहारीलाई भने आश्चर्य लाग्छ र आफ्नी सासूलाई सोद्ध्छे, 'ममी. यहाँका कतिपय मन्दिरहरु बाटोमुन्तिर किन रहेको होला ?' जसको जवाब उसित हुँदैन !
काठमाडौँमा सन् २०१५-मा करुणादेवी स्मारक धर्मार्थ गुठीद्वारा 'जय स्मारक सम्मान'ले विभूषित राजा शाक्यलाई नभेटी फर्किन म सोच्नपनि सक्दिनँ र उहाँलाई एक बिहान फोनमा सम्पर्क गर्छु | हिजआज उहाँ आफ्नी छोरी हिसिलासित बस्नेगरेका र सो दिन क्षेत्रपाटी पार्टी पेलेसमा सुप्रसिद्ध कवि/गीतकार गिरिजाप्रसाद जोशीको २२औँ पुण्यतिथिमा उनको परिवारद्वारा एक कार्यक्रममा ८ बजे बिहानको निम्तो भएको र जाड़ोयाममा नौबजेसम्म पाहुनाहरु भेला हुनेगरेकाले त्यहाँ आइदिने आग्रह गर्छन् | म त्यहाँ पुग्दा, बाहिर चियापानको प्रबन्ध हुनाले केही अतिथिहरु सो ग्रहण गर्दैगरेका र केही घामको आनन्द लिँदै गफ गर्दै गरेकाहरुमा राजा शाक्यलाई देख्छु र आफ्नो उपस्थिति जनाउँछु | मल्ल के सुन्दर मलाई त्यहाँ उपस्थित देखेर आश्चर्य साथै खुशी हुन्छन् र "यहाँहरु जस्ता महानुभावहरूको दर्शन हुने मोहले यहाँसम्म ल्याइपु-याएको", म भन्छु | परिचितमा नेपालभाषा प्रथम नारी उपन्यासकार शशिकला मानन्धर भेट्छु र मलाई पनि जलपानको आग्रह गर्छिन् | चिसो बिहानीमा तातो चिया लिँदै राजा शाक्यसित कुराकानी गर्न लाग्छु | नरेशवीर शाक्य पनि त्यहाँ जलपान गर्दैगरेको भेट्छु | छोरा दर्शनवीरसित परिचय गराउँदै हामी दुइको फोटो खिचीमाग्छन् | उहाँसित भेटने इच्छा भएको र यसअघि मङ्गलवार ४ तारीख साँझ भोटाहिटीस्थित सफुधुकुमा अकस्मात् भेट्दा खुशी व्यक्त गर्छु | संस्थापक नेपालभाषा साहित्यसेवी स्वर्गीय नातिवज्र वज्राचार्यसित हाम्रो परिचय सन् १९९६-मा प्रथम पटक 'नेवा: वर्ण, लिपि र भाषा परिचय' निकाल्दादेखिको २५ वर्ष पुरानो परिचय रहेको र यसको २००१ सालको दोस्रो संस्करणमा यस पुस्तक-पसलको नाम पनि एक वितरण केन्द्रको रूपमा मात्र नभएर उहाँको मन्तव्य समेत राखिएको स्मरण गर्दै-गराउँदै छोरा पवनलाई मेरो नवीनतम पुस्तक दिँदैगरेको देखेर नरेशवीर एक प्रति किन्ने इच्छा व्यक्त गर्छन् | सिक्किमवासी नेवारहरुप्रतिको धेरै अघिदेखिको नै उहाँको योगदान र सहयोगको स्मरण गर्दै सराहनामा एक प्रति धन्यवाद र शुभेच्छासाथ टक-याउँछु | राजा शाक्यले आफ्ना नवीनतम दुई कृतिहरुको प्रति मलाई दिन्छन् जो कि हाम्रो जय स्मृति शोध सङ्ग्रहालयका लागि धन्यवादसहित स्वीकार्छु | उहाँलाई पनि मेरो सो पुस्तकको एक प्रति चढाउँछु | कार्यक्रम शुरु हुनलागेकोले राजा शाक्यसित सभागारमा प्रवेश गर्छौं | स्वर्गीय कविकी धर्मपत्नी, बाल्यकालदेखिका साथी विशिष्ट अतिथि मल्ल के. सुन्दर र मुख्य अतिथि दुर्गालाल लगायत अन्य वक्ताहरुद्वारा आआफ्ना स्मरण प्रस्तुति पश्चात् स्वर्गीय गायकको एक कालजयी गीत 'आकाश ख्वगु जी खना'/'आकाश रोएको मैले देखेँ'-को कभर भिडियो उनकी छोरी लसता जोशीले आफ्नो यस गीतप्रतिको परिचय दिँदै त्यहाँ टिभीमा प्रस्तुत गर्छिन् | साथसाथै यो गीत 'नेवा:यु ट्युब'-मा पनि राखिएको घोषणा गरिन्छ | मुख्य अतिथि यसका गीतकार जनकवि दुर्गालालको बाहुलीबाट यस भिडियोको निर्माणमा र सो सभा प्रस्तुत गर्न सहयोग पु-याउनेहरुलाई संवर्धना गर्नकासाथ समारोह सुसम्पन्न हुन्छ | बाहिर निस्किँदा नरेशवीरले आगामी आइतवार आफ्ना बुवा धर्मवीरको ८८ वर्ष ८ महीना पुग्दाको तेस्रो जंक्व साथै छोरी रुबीको कलकत्ता-निवासी देवव्रत भट्टाचार्यसितको भिं~इहिपा/शुभ विवाहको निम्तो दिन्छन् | शनिवार छोरा रमणको कान्तिपुर-कन्क्लेभमा निम्तो भएको र बसिएछ भने अवश्य आउने वचन दिँदै धन्यवाद प्रकट गर्दछु |
कीर्तिपुर
दस दिनमा समेट्ने हाम्रो पूर्व-योजना समयावधि अपुग भएर १५ दिन गर्दा पनि कताकता अझ पर्याप्त नभएको लाग्यो तर जे, जस्तो भयो जति सम्भव हुनुगयो त्यो अभूतपूर्व अनुभव भएको मेरो ठहर छ | अन्तिम दिन हामीले नजिक को ऐतिहासिक नगरी कीर्तिपुर सपरिवार जाने कार्यक्रम बनाउँछौं र टोयोटाको १२-सिटर आरामदायी बसको प्रबन्ध गरी रमणले गरेर अन्य सबैलाई लिई डल्लुको प्राचीन झुलुङ्गेपुलनजिकै प्रख्यात जगतसुन्दर ब्वने कुथि अघिल्तिर हामीसम्म पुग्छ - समय लगभग साढ़े-एघारमा र बल्खु कुमारी क्लब नजिक बहिनी समा र विलासको घरबाट हाम्रो भ्रमण प्रारम्भ हुन्छ मंगलवार १२ तारीख | विलासले त्यहाँ हेर्नपर्ने प्रमुख आकर्षणका स्थलको सूचीमा 'छ्याक:ल्वहं' अर्थात् थुक्ने ढुङ्गा पनि समावेश गरिएको पाएर त्यसलाई पर्याप्त भएको र ढुक्क हुन्छु | भोजनको निम्ति पूर्वनियोजित/निश्चित भोजनालय 'नेवा: लहना' अर्थात् नेवार सभ्यता भएकोले यसबारे निश्चिन्त थियौँ | हामी त्रिभुवन विश्वविद्यालयको विशाल परिसरलाई हेर्दै कसरी त्यहाँका विस्थापित नेवार परिवारहरुले कृष्णहरि महर्जन जस्ता कर्मठहरुको तत्परतामा वर्षौंदेखि आफ्ना व्यर्थ राखिएका भूमि फर्काइ माँगेका थिए त्यसको चर्चा गर्छौं र हामी सोझै बाघ-भैरव मन्दिर गई नगर परिदर्शनको लागि गाड़ीबाट ओर्लन्छौं |
कीर्तिपुर वा किपुको सम्झना गर्दा सन् १९७४-मा हाम्रो बिहेको अघिल्लो वर्ष त्यहाँ विश्वविद्यालयमा सेवारत भतिजी माधुरीका ज्वाईंसाहेब प्राध्यापक विष्णुमान श्रेष्ठ*को निवासमा पुगेको सम्झना गर्छु | काठमाडौँको पहिलो भ्रमण भने सन् १९६१ जनवरी महिनामा बीरगञ्जबाट गोविन्द दाइलाई लिई बुवासित आएको थिएँ | त्यसपछि राजा विरेन्द्रको ऐतिहासिक भव्य शुभ-विवाहको (२७ फरवरी १९६९) अवसरमा र पछि एक पटक फेरि आएको सम्झना छ | पहिलो पटक आउँदा असन नजिक मितिनी निनीको घरमा पाहुना भएर बसेका थियौँ भने पछिल्ला भ्रमणमा बीरगञ्जबाटनै ओम दाई, मित्रहरु पुष्कर अमात्य र भुपेन्द्र श्रेष्ठका साथ ट्रकमाथि बसेर दामन-सिमभंज्याङ्गमा हिउँ परेको आनन्द लिँदै त्रिभुवन राजपथको बाह्र-घुम्ती हुँदै नेपाल शहर पुगेको स्मरण छ | एक पटक कुपण्डोल/सनेपामा प्रख्यात चित्रकार लैनसिँह बाङ्ग्देलको गुड्ने घर नजिकैको तत्कालीन अञ्चलाधीश मनमोहन मिश्रका छोरा घनश्यामसित बसेको र अर्को पटक पुतली सड़क-दिल्ली बजारमा यस्तै जाड़ो याममा अर्का मित्रकोमा बासबसेको रमाइलो सम्झना अझसम्म छ |
कीर्तिपुरको प्रमुख स्थल बाघ-भैरव मन्दिर रहेको र एक किम्बदन्ती अनुसार यसभित्रको चाँदीको मुर्ति बनाउँदाबनाउँदै कारीगर केही क्षण अन्य कार्यमा लागी फर्केर आउँदा बाघले त्यहाँ वरपरका सबै वस्तु खाइसकेकाले त्यस मूर्तिमा जिभ्रो बनाउन त्यसै रहेको बताउँछन् विलास | त्यहाँ प्राङ्गणमा एउटा विशाल गँ पलिस्था वा घण्ट प्रतिस्थापना गरिने कुरोको पनि जनताबाट आर्थिक सहयोग सङ्कलनद्वारा सम्भव हुने जानकारी भयो | "नेपाल संवत् ८८६ विक्रम संवत् १८२२ चैत्र २७ गते रोज ७ कालो दिनमा कीर्तिपुर-गोर्खा युद्धमा आत्मसमर्पण पछि ८६५ जना किर्तिपुका वीर योद्धाहरुमाथि विजयी पक्षले प्रतिरोध स्वरूप नाक, कान र ओँठ समेत काटि अन्याय गरिएकोमा तिनै वीर योद्धाहरुको स्मरणमा गर्दै त्यस घण्टको तौल ८६५ किलो ग्रामको राख्ने र त्यो घण्टको ध्वनिले ती वीर योद्धाहरुको आत्मा शान्तिको कामना गर्दै प्रत्येक भाद्र सिँह संक्रान्ति १ गतेका दिन श्री श्री श्री धुंबहा आजु व्याघ्रेश्वर भैरव बाघभैरव जात्रा समापन गरिँदा जात्राको मुर्तिलाई मन्दिर भित्र्याउँदा परिक्रमा गर्ने समयमा १०८ पटक बजाउने र भक्तजनहरुपनि आफ्नो मनोकांक्षाको कामना गरि त्यस दिन मन्दिरको १०८ परिक्रमा गर्ने गरिने प्रचलन छ | यस पावन कार्यमा सबैको सहभागिताको लागि चन्दा सहयोग सम्पन्न गर्ने उद्देश्य रहेको" त्यहाँ एक सूचना-पट्टबाट थाहा लाग्छ | त्यहाँबाट काठमाडौँ शहरको नयनविराम दृश्य अति मनमोहक भएकोले नै हामी त्यसलाई आआफ्ना मोबाइलमा कैद राख्न विवश हुन्छौं | त्यहाँबाट हामी योद्धाहरुको आत्मा शान्तिको कामना गर्दै सोझै 'छ्याक:ल्वहं' हेर्न पुग्छौं जहाँ एक स्थानीयबाट थाहा लाग्छ त्यहाँकी रानीले आफ्नो धन-सम्पति लुकाएर ढुङ्गाले थिचेरराखेकी हुनाले त्यहाँ थुक्ने चलन भएको | अर्को किम्बदन्ती अनुसार त्यस ढुङ्गामा नै ठोकिएर राजा पृथ्वीनारायण शाहको मृत्यु भएको र राज्यको विजयपश्चात् जनतालाई आफ्ना अन्य प्रजा सरह बर्ताव गर्नको सट्टा उनिहरुको नाक, कान र मुखसम्म काटिदिएकाले त्यहाँ थुकेर धिक्कार गर्ने प्रचलन रहेको थाहा लाग्छ | हामी पनि सो 'रस्म अदा' गर्छौं | गत जनवरी ११-को दिन देशभरि पृथ्वी जयन्तीको मनाइने अवसरमा त्यहाँकाले त्यसरी नै धिक्कार दिवस मनाउने भएकाले त्यस स्थललाई प्रहरीको कड़ा निगरानी र सुरक्षामा घेरिएरराखेकोलेगर्दा नजिकैको अर्को ढुङ्गामा गएर आफ्नो अधिकार पूर्ण गरेको खबर जान्नमा आएको थियो |
नेवा: भोज
वचन दिए अनुसार आइतवार साँझ निम्तोमा क्षेत्रपाटी पार्टी पेलेस पुग्दा अतिथि-आगमन शुरु मात्र भएकोले नरेशवीर स्वयमलाई स्वागतमा पाउँछु र भित्र बस्छु | छेउमा बसेकी महिलासित कुराकानी गर्दा उहाँले हामीलाई पहिले पनि भेटेको थाहा लाग्दा खुशी हुन्छु - हेटौडामा नेपाल भाषा मंका खल:को तत्वावधानमा भएको नेपाल भाषा मिसा खल:-द्वारा आयोजित 'तिसा-ब्वंज्या'/आभूषण-प्रदर्शनीमा भेट भएकी कर्मठ आयोजिका मङ्गला कारञ्जित | त्यहाँ हामी बहिनी रजनी र दीपकप्रसाद श्रेष्ठसित सबै भुईँमा बसेर खाएको रमाइलो भोजमा नरेशवीर स्वयमले पनि अतिथि-सत्कारसाथ सेवा गरेको अझ पनि थाहा छ | यहाँ फर्किआएर उनले मलाई दिएको 'लुमन्ति पौ' खोजिहेर्दा विक्रम संवत् २०५७ माघ २८ र २९-को दिन आयोजित भएको 'प्रथम नेवा: मिसा महोत्सव नेपाल संवत् ११२१'-को अवसरमा प्रकाशित सिल्लागा ४ तदनुसार फरवरी ११, २००१ साल आइतवारको दिन सो स्मारिका हस्ताक्षरित पाउँछु | त्यसपछि एक पटक काठमाडौँमा नै अध्यक्षा सुवर्णकेशरी चित्रकारसित पनि भेट भएको सम्झना छ |
त्यहाँ मञ्चमा परिवारलाई बेहुलीलाई सुपारी ल्याउने समारोहमा व्यस्त देख्छु | केही बेर पर्खेपछि वयोवृद्ध पितालाई खादासहित सुस्वास्थ्य र दीर्घायुको शुभकामना सन्देश र बधाई अर्पण गर्दै सिक्किमबाट आएको भनी आफ्नो परिचयसाथ आशीर्वाद लिन्छु | उनीसित छेउमा वरिष्ठ गायक भृगुराम श्रेष्ठलाई भेटेर आफ्नो परिचय दिन्छु - उहाँ पनि सन् १९९७-मा नेपालभाषा मंका खल: को सिक्किम आउने टोलीमा थिए | बेहुलीका माता-पितालाई भेटेर खादा चढ़ाई बधाई दिन्छु र सँगै फोटो खिच्छौँ | बेहुलीलाई भेटेर खादा र शुभकामनासाथ बधाई दिन्छु | सिक्किम नजिक कलकत्ता बिहे भएर आएकोमा स्वागत गर्दा उसले सिक्किममा नै भएकी अनि रम्फू छेउ औषधी-उद्योग 'सिप्ला'मा पाँच वर्षदेखि सेवारत भएको थाहा लाग्छ | हुन त पछिल्लो भेटमा नरेशवीरले पनि छोरी सिक्किममा नै भएको सुनाएका थिए - झल्यास्स सम्झना आउँछ | केही बेरमा मथुरा सायमी पनि आइपुगेकाले उहाँलाई भेटेर आफ्नो परिचय साथै उहाँका धेरै जस्ता पुस्तक बिमल ताम्राकारले 'कुत: पिकाक'द्वारा प्रकाशित जानकारी राखेको कुरा राख्छु | मल्ल के. सुन्दर, नर्मदेश्वर प्रधान, घनश्याम राजकर्णिकार र अन्यहरु आइपुग्छन् अनि हामी सँगै फोटो खिच्छौँ | मल्ल के. सुन्दर मेरो नयाँ पुस्तकबारे जिज्ञासा राख्छन् र उहाँलाई सो आशा सफू कुथि र सफुधुकुमा दिइएको कुरा गर्छु | नर्मदेश्वर प्रधानले पछिल्लो भेटमा मलाई दिएका पुस्तकबाट मैले केही कविता नेपालभाषाबाट अङ्ग्रेजीमा अनुवाद गरेको चर्चा गर्दै फेरि पनि पठाइदिने आग्रह गर्छन् र म ती खोजेर फेरि पठाइदिनेछु भन्छु | सो पठाएको खबर दिनु उहाँलाई सम्पर्क गर्ननसक्दा नरेशवीरलाई सो कुराको जानकारी दिनु मेसेन्जरद्वारा अनुरोध गर्छु |
यो नेवा: भोज पारम्परिक तौरमा भुइँमा नभएर, अतिथिहरुको सुविधाको लागि हालसालै प्रचलित टेबलमा आयोजित भए ता पनि विधिवत् रुपमा वरिष्ठताको आधारमा बसाइएको अनि बाटामा हात धुवाएर प्रारम्भ भएको थियो | भोजनका अनेक परिकार क्रमशः रीतिपूर्वक पस्किएको थियो | कौलासितै ऐला परिवारका महिलाहरुद्वारानै अन्टीबाट सलिमा लामो धारका साथ पटक-पटक गरी खनाए अनि अन्तमा बेहुलीकी आमाले नै दिएर हामीलाई सम्मानित गरेकी थिइन् | भोजपछि आखिरमा 'वेट नेप्किन'/भिजेको रुमाल साथै एउटा क्षेत्रपाटी पार्टी पेलेस छापिएको रातो थैला र ऐँठामरीसाथ सबै अतिथिलाई धन्यवाद दिइएको थियो | त्यहाँ भोजमा बस्दा अन्य अतिथिहरुमा लक्ष्मीदास मानन्धर, दुर्गालाल श्रेष्ठ, आदिलाई पछि आएका देख्छौं | भोजको तुरन्तपछि सब आआफ्ना बाटो लाग्छन् र म पनि निस्किँदा घड़ीमा सात बजेको देख्छु | मनमा हतार थियो घर पुगी यस भव्य भोजको बयान गर्नुका साथै मसितका तस्वीरहरु देखाउनु अनि आफ्नो फेसबुकमा संसारभरिका हाम्रा मित्रवर्गमा सो अति शीघ्र साझा गर्नु पनि!
रत्न पुस्तक
'उदय'का सम्पादक/प्रकाशक दुर्गाप्रसाद दाई काठमाडौँमा नै थिए र दिइएको फोनमा सम्पर्क गर्दा सदैवझैं रत्न पुस्तक भण्डारमानै आउन आग्रह गरे | शम्भु भेनाजुलाई भेटेर भान्जा सुदीपको साथ म त्यहाँ पुग्छु | यसअघि हामी तीनैजनाले जमलको गोल्डस्टारको बिक्री-कक्षमा गई एक-एक जोड़ जुत्ता किन्छौं | अमेरिकासम्म निर्यात भइपुगेको यो जुत्ता अवश्यनै राम्रो होला भनी केही दिनअघि किनेको जुत्ता खुट्टा र गोजी/खल्ती दुवैलाई सहज र आरामदायी भएकोले मैले अर्को जोड़ पनि किन्ने विचारले त्यहाँ पुगेको थिएँ | बाटोतिर बिजुलीका खम्भा/पोलतिर विज्ञापनकर्ताहरुले सित्थैमा पर्चा टालेर कुरूप बनाउनेगरेकाले बाँसको चोया बुनी बेरेको देखेर आकर्षित भई मनमनै प्रशंसा गर्छु | पछि थाहा हुन्छ, यो एक स्थानीय कैलाश श्रेष्ठद्वारा आफ्नै पहल र लागतमा स्वयम् नै बुनेर सुन्दरीकरणमा लागिपरेका रहेछन् जसको अब व्यापक चर्चा फेसबुक समेतमा देखियो |
रत्न पुस्तक पुगेको देख्नासाथ गोविन्दप्रसाद स्वागतमा 'अहो, यहाँसित त हिसाब-किताब पनि गर्नपर्ने छ |' लगभग दस वर्षपछिको यो भेट थियो | केही बकाया राशि पठाउने कुरा थियो र आजसम्म नपठाइएकोले उहाँले यसो भनेका र म पनि नगएको | उहाँसित कुराकानी गर्दैबसेका थियौँ र केही बेरमा दाई पुग्नुहुन्छ | दुइ पटक चियाको कप खालीगर्दै हामी पुस्तक-व्यवसायमा भर्खरै पनि समाचारमा रहेको जीएसटी समस्या लगायत खस्कँदो अवस्थाबारे पनि चर्चा गर्छौं | यस पालि 'उदय' निकाल्न भाई विजयलाई बनारस पठाएकोले यो भेटघाट यहाँ यसरी सम्भव भएको र जनवरी र अप्रेलका दुवै अङ्क सँगसँगै निस्किने कुरा गर्नुहुन्छ | गोविन्दप्रसादद्वारा हामीले दुर्गा दाइलाई प्रथम जय स्मारक सम्मान अलङ्करण गर्न आयोजित समारोहको कुरा गर्छन् | रत्न पुस्तकको सहयोगमा नजिकै सङ्गम होटलमा बालकृष्ण पराजुली, रत्नशमशेर थापा, मोदनाथ 'पश्रित', आदि जस्ता नेपालका दिग्गज साहित्यकारहरुको भव्य उपस्थितिमा साहित्यिक कार्यक्रम सुसम्पन्न भएको सम्झना गर्छु | उनले पछि नेपाली भाषा सम्पर्क समिति कालिम्पोङ्गद्वारा दुर्गा दाईलाई पारसमणि प्रधान पुरस्कार प्रदान गरेको अभिनन्दन पत्र प्रद्युमन श्रेष्ठले लिइआउँदा त्यहीँ ह्स्तान्तरण गरेको कुरा सुनाउँछन् | दुर्गादाईलाई हामीले सन् २००३-मा शुरुगरेको 'उदय बचाऊ अभियान' अन्तर्गत् प्रद्युमन श्रेष्ठद्वारा भर्खरै नयाँ चार जना साहित्यसेवीबाट आजीवन सहयोग राशि दिन स्वीकार गरेको कुरा सुनाएँ | यस बीच गोविन्दप्रसाद आफ्नोमा भएको मेरो हस्तलिखित एक पुर्जा लिई आउँछन् र उनको हिसाबले एक चेक दिन्छन् | अझ पनि दिएजस्तै रकम बाँकी रहेको यता आएर हिसाब-किताब हेर्दा थाहा पाउँछु | यसअघि यसको चार गुणा मोलका पुस्तक काकरभिट्टाबाट सन् २००५ अगस्त १ तारिख कुरियर गरी पठाएको उहाँले नपाएका थिए !
मदन पुरस्कार पुस्तकालयले कमलमणि दीक्षितको स्मृतिमा उहाँका चिठ्ठी-पत्र, सन्देश, इमेल आदिको सङ्कलन गरी 'अभिलेख ग्रन्थ' का रूपमा प्रकाशित गर्ने योजना भएकाले यहाँहरु सँग रहेका सामग्रीको नक्कल / सक्कल (फोटोकपी वा डिजिटल प्रति) उहाँलाई वा सोझै पुस्तकालयलाई पठाइदिने हार्दिक अनुरोध साथै यस अभिलेख ग्रन्थ'को सम्पादन दाईले गर्नेबारे कुरा उहाँसित गर्दा कसरी थाहा पायो सोध्नु भयो | मैले फेसबुकबाट सो थाहा भएको साथै हाम्रो करुणादेवी स्मारक धर्मार्थ गुठीद्वारा प्रकाशित मेरा सबै जस्ता नेपाली केही पुस्तकहरु त्यहाँ सन् २००१-तिर देखि नै समय-समयमा दिइएको जानकारी दाईलाई दिएँ | मसित भएका तस्वीर अनि अन्य सामग्री अवश्य पठाइदिने छु भनी आश्वस्त गराउँछु | बिदा माग्दा अब फेरि कहिले भेट हुने हो भनी सोद्धछन् अनि घर फर्किआउँदा हामी सँगै बसेको तस्वीर लिने सुद्धि किन नभएको होला भनी विस्मात मान्छु | यद्यपि त्यहाँ अफिस बाहिर नोटिसबोर्डमा दुर्गा दाईबारे नवम्बर १९, २०११ को 'द् काठमाडौँ पोष्ट'-मा 'द् लिभिङ्ग लेजेण्ड्स' स्तम्भ अन्तर्गत् 'द् वाराणसी कन्नेकशन' अनि अर्को स्थानीय समाचारपत्रमा 'पहिलो फिल्म - पञ्चायत प्रचार गर्न बनाइएको थियो - आमा' शीर्षक लेख दुवैको फोटो मैले भाई रमेशप्रसाद सोधेर खिँचेर ल्याएको थिएँ | त्यहाँ 'शारदा' पत्रिका पुन:प्रकाशित भएको देखेर खुशी हुन्छु र सँगै लैजाने अनुमतिलिई धन्यवाद दिँदै वि.सं. २०७६ मङ्सिर र पुस दुवै अङ्क मेरो झोलामा हाल्छु अनि विदा हुन्छौं |
पाटन अस्पताल
स्वयम्भूबाट फर्केको दिन दिउँसो हामी पाटन अस्पतालमा माधुरी भेट्न जान्छौं | केही दिनअघि घरमै कुर्सीबाट चिप्लेर लड़ी हड्डी भाँच्नाले अपरेशन गर्नपरेको थियो तर उनको अनुहार उज्यालो देखेर शीघ्र स्वास्थ्य-लाभ हुने लक्षण देखिएको भनी कुराकानी गर्छौं | दिदीको सेवा-सुसारमा दुई बहिनी नीना र मीरा भेट्न पाउँदा पनि हामी खुशी हुन्छौँ | नेपालगञ्जमा काइँला दाई खेमराजको जंक्व हुने कुरा सुन्दा उड़ेर सबैसित भेटघाट गर्न सामेल हुनुपुगुँ लाग्छ, तर सो भोलिपल्टनै भएकोले गर्दा असम्भव पाउँछौ | कीर्तिपुर चिलाँचो बिहार घुम्दैगर्दा त्यहाँबाट काठमाडौँ फर्केका जन्तरे दाई विष्णुमानले हामी यहाँ भएको थाहा पाएर फोनमा कहिले भेटघाट गर्ने भन्ने जान्न चाहन्छन् | हामी भोलि बिहानै फर्किने कुरा सुनेर खुबै विस्वाद मान्नु हुन्छ | गत हफ्ता ४८-औँ वर्षगाँठ मनाएका उहाँहरु, आफ्नो विवाहको केही सालमा सिक्किम घुम्नआएका थिए र धेरै वर्षपछि फेरि एक पटक भेट्ने अवसर यसरी गुमाउनुपर्दा हामीलाई पनि खुबै खल्लो लागेको तर विवश थियौँ |
अर्का आफन्त बहिनी जेनी र ज्वाईं साहेब विनय पनि विस्वाद मनाउँदै फेसबुकमै गुनासो पोखे | साथीहरु पनि भेट्न नसकिएकोमा मन मलिन थिँदैथियो र झट्टै फेरि फर्किआउँला भन्ने भित्री मनमा इच्छा साँचेर अर्को अवसरको प्रतीक्षामा! अमेरिकाबाट फर्किआएपछि आफ्नै घर रिनाक अझ पुग्ननसकी गान्तोकमा नातिनी सारासित रमाउँदै बसेको पाँच महीना पनि बितेको थाहै पाउँदैनौं | फरवरी महीना बित्दानबित्दै नेपालको पाटनको स्वर्ण मन्दिरमा दीपङ्कर बुद्ध तारा वसुन्धरा लगायत दुई सय बौद्ध देवी-देवतालाई निमन्त्रित गरी पाँच वर्षमा एक पटक मनाइने सम्यक महादानको पावन पर्वको छेक पारेर यहाँ विकाश क्षेत्र पुष्पा गेरेज / अण्डरग्राउण्ड भिल्ला परिवारकी साइँली बहिनी बेगमको तीन छोरातर्फ प्रत्येकको एक नातिनीको इही वा बेलकर्मको अवसरमा छेउको एक होटलमा भोजमा सपरिवार पुग्छौं | भाई विजय-बुहारी, अनिता बहिनी-ज्वाईं साहेब सँगै पुगेका तर पछि अरु पनि क्रमश: भेला हुँदै गएर एक ठूलो पारिवारिक जमघटमा परिणत हुन्छ | खरसाङ्गबाट निमन्त्रित नेवार बाज्येद्वारा विधिवत् पूजाको निम्ति नेपालबाट नै पूजन-सामग्री, आदि झिकाएर साथै धिमे बाजाको रमाइलो धुनमा सो एक अविस्मरणीय उत्सव धेरै दिनमा यस भेकमा यसरी सुसम्पन्न भई सारिक हुनुपाएकोमा परिवारजनलाई धन्यवाद दिई हामी बिदा हुन्छौं | फर्किंदा कान्छा भाई ओमद्वारा सञ्चालित नयाँ बेकरी पसलमा पुग्छौं, बुहारीबाट भर्खरै महाशिवरात्रिको साइतमा सो प्रारम्भ भएको थाहा लाग्छ | यसअघि सुन्दरी बहिनीको साथ यता घरमा बिहानको कार्यक्रम भएको पूजा--स्थल हेर्नपुग्छौं | त्यहाँ परिवारकै एक भाई मेरा सहयोगी गणेशकुमारसित फेरि भेट हुन्छ र केही दिनमा धनबहादुर श्रेष्ठसित पनि सँगै बसेर सन् १९८२-मा सिक्किम नेवार गुठीको हाम्रो उद्घोषणा तथा तत्पश्चात् गत नवम्बरमा यसको स्थापनाको २५ वर्ष पुग्दा रजत् जयन्ती मनाएपर्यन्तको एक चर्चा-परिचर्चा र विश्लेषण गर्न सँगै बस्ने अभिप्रायः भएको कुरा गर्छु | घर आएर साँझ यस अभिप्रायले एक सन्देश दुवैलाई पठाउँछु | मेरा अर्का सहयोगी हरेराम प्रधान हामी अमेरिकाबाट फर्किन केही दिनअघि मात्र आफ्नो लामो तीर्थयात्रामा प्रस्थान गरेका थिए - हामी सबैलाई उहाँ चाड़ै हामीमाझ फर्किआउलान् भन्ने उत्कण्ठ अभिलाषासहितको प्रतीक्षा छ |
यस नेपाल भ्रमण वर्ष २०२०-मा (जो अब करोना भाइरसको कारण स्थगित छ र सम्भवत: २०२२-मा यो मनाइने घाईँघुईं सुनिन्छ) कीर्तिपुर पुगेर खोकनासम्म पुग्ननसकेकोमा हाम्रो भ्रमण केही अपुरो जस्तो लागेको थियो तर त्यहाँ भइरहेको खोकना पर्यटन नगर महोत्सवको रमाइला क्षणहरुको परिभ्रमण घर बसीबसी फेसबुकमा ड्रोनसहितको भिडियोद्वारा प्रत्यक्ष हेर्नपाएकोमा सम्बन्धित पक्षलाई धन्यवाद टक-याउँदै अनि आफैलाई सौभाग्यशाली ठान्छु | थाहै नपाई केही बेरमै भुसुक्क निद्रादेवीको शरणमा पुग्छु |
दृष्ट्व्य : यो प्रस्तुति लेखकको आफ्नो जीवन यात्रा-क्रम अन्तर्गत्, कहिले यता कहिले उता हुँदै यहाँसम्म पुग्नसकेको व्यक्तिगत विवरण हो | यसर्थ यहाँ व्यक्त गरिएका विचारहरु उनका निजी विचार हुन् र कुनै संस्था वा व्यक्तिसित यसको मेल हुनु आवश्यक छैन | केही नामहरु(तारा* चिन्ह दिवङ्गत चिन्हित गर्छन्), वर्णन, स्थान अनि घटनाहरु विषय-वस्तुसित जोड्नका लागि मात्र राखिएका हुन् - कसैलाई विद्वेषको भावनाले भने कदापि होइनन् | सम्पर्क : [email protected]