स्थानीय चिन्तन - उपलक्ष्य विशेष
विश्व नेवार महाधिवेशन न्यूयोर्क
जे भयो ... राम्रै भयो - एक पर्वेक्षण
राजीव शङ्कर श्रेष्ठ
***
हाल विश्व भरिका नेवारहरुको नजर यसै सप्ताहको अन्ततिर मार्च ५ -७, २०२२ का दिन विश्व-सुप्रसिद्ध घटना-स्थल न्युयोर्कको ला गार्जिया प्लाजा होटलमा भव्यतापूर्वक आयोजित हुनुगईरहेको चतुर्थ विश्व नेवार महाधिवेशनमा टिकेको छ | यस शहरको कुल ८३.८ लाख (२०२०) जनसंख्यामा १० हजार नेवारहरु रहेको अनुमानित छ अनि यहाँ अमेरिकामा पहिलो नेवार व्यक्ति छ: दशक अघि सन् १९६० को पूर्वार्धमा पुगेको जस्तो लाग्छ | यस शहरलाई 'ठुलो स्याउ' बाहेक विश्वको राजधानी भनेर परिचित छ | 'कहिले नसुत्ने शहर' पनि भनिन्छ भने सन् २०१९-मा संसारभरिका ४८ शहरहरुको ३०,००० व्यक्तिहरुको एक मत-सर्वेक्षण अनुसार यहाँको साँस्कृतिक विविधताको कारण यसलाई विश्वको महानतम शहर भनी निर्वाचित छ| यहाँ यो महाधिवेशन गर्न के औचित्य छ ? - यहाँ संयुक्त राष्ट्र सङ्घ अवस्थित छ जो कि वैश्विक एकताको प्रतीक हो अनि यहाको स्टाच्यु अफ् लिबर्टी मानव स्वतन्त्रताको द्योतक हो | हामीलाई गर्व छ कि यस पटकको महाधिवेशनको लागि हामी यहाँ पुग्न समर्थ भएका छौं | हलिं नेवा: दबू वा विश्व नेवार गुठी (डब्लुएनओ)-को तत्वावधानमा नेवा गुठी न्युयोर्क तथा डब्लुएनओ युएसए-द्वारा संयुक्त रुपले आयोजित हुनगइरहेको छ अनि यस महाधिवेशनको मूलमन्त्र वा 'थीम' "नेवार विविधतामा एकता" छ | डा. बाल गोपाल श्रेष्ठ अनुसार "भाषा, संस्कृति र जातियताको आधारमा विभेदविरुद्ध आवाज उठाउनु डब्लुएनओ-को लक्ष्य हो र विश्वभरिका नेवारहरुसित एकबद्ध हातेमालो गरी नेवार भाषा, संस्कृति र जातिको उत्थानको लागि लागिपरेका छौं |"
नेवाह भन्नाले के बुझिन्छ?
एक गैर नेवार-मित्रलाई यो जिज्ञासा गर्नु स्वाभाविक हो कि "नेवाह (वा नेवार र नेवा) भन्नाले के बुझिन्छ?" जस्तै कि डा. लक्ष्मी पौड्यालले एक साथी अनिता प्रधानलाई सोधिन् अनि जवाब थियो "नेवार - नेपाल, काठमाडौँ खाल्डा अनि यसका वरिपरिका म स्वयम् झैं ऐतिहासिक मूलवासी अनि त्यहाँका ऐतिहासिक धरोहर सम्पदा तथा सभ्यताको निर्माता हुन् | यो सोधेकोमा धन्यवाद |" उनले बधाई दिँदा सुभाय् अर्थात् धन्यवाद भनिन्| अर्का मित्र नाओमी डेभिसन राउजले सोधिन् - "तिमी यस्ता धेरै काम गरिरहेकी छौ !" प्रत्युत्तरमा "होइन, साँच्चै होइन | यो एक जातीय समूहद्वारा गरिँदै छ जसभित्र म पनि छु र यस अन्तर्गत् आउँदछु | त्यति मात्र हो |" अनिता पनि यसका एक सदस्य हुन् जसले मलाई मेरो चित्र भएको फ्रेमयुक्त तस्वीर पठाएकी थिइन् - मैले पनि विश्वका अन्य केही झैं यसलाई फेसबुकमा प्रोफाइल तस्वीर बनाउन इच्छुक छ कि भनेर | यो मेरो सौभाग्य थियो कि यसद्वारा सबैप्रति मैले आफ्नो मित्रता र एकबद्धता व्यक्त गर्ने सुअवसर पाएँ | अर्को एक पोष्टमा सुनन्दा डङ्गोलले लेखेकी थिइन् - "यो उपाय मन प-यो, यदि सम्भव छ भने सबैलाई यो उपलब्ध गराउन सकिन्छ कि ?' लण्डनबाट संयुक्त श्रेष्ठले उत्तर दिएका थिए " अभाग्यवश फेसबुकले आधिकारिक संस्थाहरुलाई यस्ता प्रोफाइल फ्रेम फेसबुकमा राख्न गत वर्षदेखि सीमित गरेको छ | यसर्थ यो हाम्रा टीम-सदस्यले हातद्वारा तैयार गर्नेगरेका छन् |
ऐतिहासिक पृष्ठभूमि
सर्वप्रथम महाधिवेशन लण्डनमा अक्टोबर २० - ०१ नवम्बर २०११ सालमा आयोजित भएको थियो, जसमा शताब्दी पुरुष सत्यमोहन जोशी तथा पद्मरत्न तुलाधर* जस्ता महानुभावहरुको गरिमामय उपस्थितिमा डब्लुएनओको विधिवत् गठन हुनुगएको थियो | पासा पुच: गुठी संयुक्त राज्य (पिपीजी युके) द्वारा आयोजित यस महाधिवेशनमा लाइडेन निदरलेण्ड्सका डा. बालगोपाल श्रेष्ठ अध्यक्ष निर्वाचित भएका थिए भने महासचिवको पदमा युके र रसियाका कृष्ण चखुं , जसले सो सुचारुरुपले सञ्चालित गरेका थिए, बाहेक अमेरिकाबाट दया शाक्य र जापानका सुवर्ण वज्राचार्य निर्वाचित भएका थिए |
द्वितीय महाधिवेशन अमेरिकामा मेरिलेण्ड राज्यको बाल्टीमोरमा मार्च २५ - २७, २०१६ मा नेपा पासा पुच: अमेरिकाए (एनपिपिए) तथा नेवाह अर्गनाइजेसनअफ् अमेरिका (एनओए ) -को संयुक्त तत्वावधानमा सफलतापूर्वक आयोजित भएको थियो | त्यहाँ एनओए-का सिजन श्रेष्ठ अध्यक्ष निर्वाचित भए | मार्च ३० -३१ २०१८ साल काठमाडौँमा डब्लुएनओ नेपाल च्याप्टरद्वारा आयोजित तृतीय नेवाह ग्लोबल महासभामा पहिले पटक विश्व नेवाह दिवस हरेक वर्ष मार्च महिनाको अन्तिम शनिवारको दिन मनाइने विधिवत् घोषणा गरिएको थियो | त्यस सभामा सिजन श्रेष्ठ दोस्रो कार्यकालको लागि निर्वाचित भए - यस निर्णयले कि उनले यस कार्यकालको पूर्वार्ध अनि दया शाक्यले उत्तरार्ध निर्वाह गर्ने छन् | सन् २०१९-मा वरिष्ठ उपाध्यक्ष दया शाक्यले सो जिम्मेवारी परित्याग गरे अनि एक रोचक घटनाक्रममा उनलाई संरक्षकको पदमा आसीन गराए जहाँ माणिकलाल श्रेष्ठ* र पद्मरत्न तुलाधर * विराजमान थिए | यसै परिप्रेक्ष्यमा आगामी महाधिवेशन पनि खुबै नजिकबाट नियाली हेर्नपरेको छ कारण यी कुराको प्रगतिले केही वरिष्ठ सदस्यहरुमाझ असन्तोषको लहर उत्पन्न भइरहेको आभास भयो | प्रस्तावित निर्वाचनलाई अलग्ग राखिने तरिकाले कार्यकारिणीको लागि उम्मेदवारहरुको सूची प्रकाशमा आयो जो कि रिक्त तथा उपलब्ध पदका को लागि अपर्याप्त थियो भन्ने आक्षेप सुन्नुमा आयो | केही मनोनयन पत्रहरु रद्द पनि गरियो | निर्वाचन प्रक्रियाबारे नै कार्यकारिणी पारदर्शी नभएकोले गर्दा मत विभिन्नताको स्थिति उत्पन्न हुनुगएको साथसाथै सो कार्यकाल नै परिदर्शितारहित तथा असन्तोषजनक रहेको लान्छना लगाइएको र वैमनश्यताले परिपूर्ण भएको कुरा सुन्नुमा आयो | यसै परिप्रेक्ष्यमा दया शाक्यको पहलमा १७ जुलाई डब्लुएनओ चुनावबारे एक सुनवाई-सभाबाट सर्वविदित भयो | यहाँसम्म कि केही दृश्य वा अदृश्य कारणवश डब्लुएनओ २.०- सम्मको सम्भावना टड्कालो भई विश्व संस्थामा विभाजनको सङ्केत गरिएको पनि अड्कलबाजी देखियो जुन परिदृश्य अवाञ्छित भई प्रस्तुत "नेवा: विविधतामा एकता" को विरुद्ध हुने छ | त्यसर्थ, हामी सतशताब्दीको दोस्रो दशक प्रवेश गर्ने यो चतुर्थ महाधिवेशन अत्यन्त महत्वपूर्ण भई यसका परिणाम उत्सुकतापूर्ण दृष्टिकोणमा रहेको बुझ्न सकिन्छ |
डब्लुएनओको विधिवित् स्थापना अघि पोर्ट लेण्ड ओरिगन अमेरिकाबाट दया शाक्य प्रस्तावित डब्लुएनओको लागि गठित समन्वयन समितिका समन्वयक भएर इमेल मार्फत् विश्वभरिका समान विचारधारी नेवारहरुसित सम्पर्क सूत्रमा बाँधिएका थिए | मलाई राम्ररी थाहा छ कि अगस्त २०१० तिर एक अनलाइन सभा स्काईपद्वारा शुभारम्भ भई अर्को महिना "नेवारहरुको दशक' भनी नेपाल संवत् ११३१ -११४० तदनुसार सन् २०११ -२०२० भरि पालन गरिने भनी उद्घोषणा भयो | यस विचारका जनक त्रिभुवन तुलाधर थिए भने पिपीजी युकेका कृष्ण चखुंले उक्त प्रस्तावको समर्थनमा यसरी उद्गार व्यक्त गरेका थिए - "यो खुबै उपयुक्त शङ्खनाद हो | हामी यसको पालना गरौँ |" (स्रोत: डब्लुडब्लुडब्लु करुणागुठी डट कम) | त्रिभुवन स्वयम् बाहिरिए अनि लण्डन महासभामा उहाँ अनुपस्थित भएर सबैको ध्यान आकर्षित गरेका थिए भन्ने मेरो अनुमान| यस पटक पनि यस्तै घटनाको सम्भावना धेरैले लख काटेका छन् | कृपया यस पङ्क्तिकारलाई उस अन्तर्गत् सामेल नगरिदिनु होला किनकि उनलाई यस्तो महासभामा उपस्थित हुने सुअवसर विगतमा पनि कहिल्यै जुटेन | तर पनि उनी त्यहाँ महाधिवेशनमा आफ्नो एक प्रस्तुति दिने छन् अनि यसको लागि यस पटक पनि सो अवसर र स्थान जुटाईदिने कृपाका लागि सम्बन्धित पक्ष तथा सबै महानुभावहरुप्रति कृतज्ञता व्यक्त गर्दछ!
त्यस्ता कतिपय टेलिकन्फरेन्स पछि अन्तत: सन् २०११ सालको मार्च महीना लण्डन महाधिवेशन हुनुगयो | दयाद्वारा त्यस बेलाका तस्वीर र स्मारिका फेसबुकमा राख्दा संयुक्तले ती सब ऐतिहासिक भएको पाए | चतुर्थ विश्व नेवार महाधिवेशनको उपलक्ष्यमा डलास टेक्ससबाट नेवाह सिभिलाइजेशन र डब्लुएनओ युएसए अध्यायद्वारा प्रायोजित ई-दबू-को विशेष जुलाई संस्करणको तेस्रो खण्डका लागि फेसबुक लाइभमा संस्करण#७९-मा कार्यक्रमका प्रस्तोता प्रमेश श्रेष्ठद्वारा आमन्त्रित डब्लुएनओका संरक्षक दया शाक्य पनि उपस्थित भएका सभामा अध्यक्ष सिजन श्रेष्ठले त्यसका उपलब्धिहरुको चर्चा गर्दा नेपालको महान् भूइँचालो र अन्य अवसरमा तत्काल सामाजिक सेवामा आर्थिक सहयोग समय-समयमा पु-याउन सकेको व्यक्त गरे | सामाजिक सञ्जाल जूममा "डब्लुएनओको दैनिक प्रसारण"-मा संसारभरिका ख्यातिप्राप्त साथै ओझलमा परेका नेवार प्रतिभावान व्यक्तित्वहरुलाई आमन्त्रित गर्दैआएको ३६५ संस्करण तथा "नेपालभाषा गुगल अनुवाद र सत्यापित" अन्तर्गत् ३६३ संस्करण साथै "नेपालभाषा गुगल अनुवादको ४६३औँ दैनिक प्रसारण लाइभ-सेशन पनि यसै जुलाई महिनामा पूर्ण हुनेभएको कुरा व्यक्त गरेका थिए | यसै क्रममा 'नेपालभाषा टाइम्स अमेरिकाये'ले सुरेश किरणको समन्वयनमा प्रवीण ताम्राकारद्वारा प्रस्तुत समय सान्दर्भिक भेटघाट कार्यक्रमले परिचित-केही अपरिचित व्यक्तित्व प्रस्तुत गरी महत्वपूर्ण योगदान पु -याई आएको सराहनामा यो एक पङ्क्ति यहाँ राख्दछु |
सन्दर्भ नेसोका
यस उपलक्ष्यमा नेसोका (नेवार सोलिडारिटी केम्पेन अर्थात् नेवार एकबद्धता अभियान) तथा यसमा प्रमुख भूमिका निर्वाह गर्ने महेश्वर श्रेष्ठसितका पुराना दिनहरुको सम्झना गर्दै उनी सँग सम्पर्क गरियो | यसरी सम्पर्क गर्दा उनले धेरै आभार प्रकट गर्दै आफू "परम्परागत नेवा आन्दोलनबाट निकै टाढिएको र नयाँ ढङ्गबाट बढ़ीरहेको जनाए | नयाँ सोच स्थापित हुन केही समय लाग्ला तर उद्देश्य हासिल गर्न क्रान्ति वा ठुलै आन्दोलन गर्नु पर्ने छैन | जहाँ सम्म नेसोका को कुरा छ म संलग्न नभए पनि डब्लुएनओ को विधिवत् गठन सँगै त्यसले आफ्नो दायित्व पुरा गरेको र लक्ष्य हासिल गरेको छ |त्यसैले नेसोकाको आवश्यकता पनि समाप्त भएको छ |" भनी आफ्नो मन्तव्य व्यक्त गरे | जवाबमा मैले लेखें, "यहाँको योगदान अमूल्य छ र यही अवगत गराउन मेरो प्रयास फलस्वरूप भर्खरैको सभामा नाम लिए | यहाँको हिजआजका चिन्तन/मनन शीघ्र फलदायी होस् हार्दिक शुभकामना छ सुस्वास्थ्य र कुशल मङ्गलको लागि |" त्यसै बेला एक विश्व सङ्गठनबारे पनि प्रस्तावना आउँदा त्यसको लागि समय परिपक्व नभएको मन्तव्य गरेको सम्झना छ तर यसको केही महिनाको अन्तरालमा नै प्रस्तावित डब्लुएनओ-को कुरा चुलियो अनि त्यसपछि शेष जे भयो एक इतिहास नै हुनु गयो | तत्पश्चात् वर्ल्ड नेवाह फेडेरेशनको लागि पनि प्रस्तावना सुन्नुमा आएको र यस पङ्क्तिकारलाई पनि आग्रह गरिएको थियो तर सद्बुद्धिले पराक्रम गरी "नेवाह विविधतामा एकता" भन्ने सिद्धान्तप्रति सबै पक्षधर भएको अनुमान लाग्यो|
प्रस्तुत लेख लगभग तैयार भई सक्दा महेश्वर श्रेष्ठले थप टिप्पणी उपलब्ध गराएर मेरो स्मरण ताजा गरिदिए | सो यहाँ राख्न समय-साक्षेप अनि सान्दर्भिक मात्र नभई शैक्षिक महत्वको तथ्यपरक र युक्तिसङ्गत पनि लाग्दछ -
"सासं २०११ मा WNO गठन गर्ने प्रयास नेसोका आवद्ध साथीहरुको पहल नेपालमै भएको थियो । त्यसलाई अमेरिका निवासी साथीहरुले उछिनेर र हामीले गर्न लागेको World Newa Conference आयोजक समितिका साथीहरुलाई भड्काएर निष्क्रिय बनाइदिएका थिए । उहांहरुले हामी नै गर्छौं भनेको भए त्यो दायित्व उहांहरुलाई सुम्पन हामीलाई कुनै आपत्ति हुने थिएन । तर उहांहरुले हामी विरुद्ध sabotage बाटो अपनाउनु भयो । यसले मलाई निकै आघात पुर्यायो । तर जसले गरे पनि WNO शानदारसित गठन भयो । यो नै विश्वभरी छरिएर रहेका नेवाहरुको र मेरो पनि खुसीको कुरा हो, ऐतिहासिक उपलब्धि हो । यसलाई यसको उद्देश्य अनुरुप सक्रिय र जीवित राख्ने अभिभारा अबको पुस्ताको हो जसलाई तपाई दाजु जस्तो व्यक्तित्वको छत्रछाया प्राप्त छ । "WNO को सम्मेलनमा मेरो नाम उल्लेख गरिदिनु भएकोमा दाजु प्रति हार्दिक आभार प्रकट गर्दछु ।"
सिक्किमवासी नेवारहरु
यदि यो सान्दर्भिक तथा प्रासङ्गिक ठहरे यहाँ यो कुरा राख्न युक्ति सङ्गत लाग्दछ कि यस पुस्तकले नेवारहरुले प्राय: १५० वर्षअघि सिक्किमलाई आफ्नो नौलो घर बनाएदेखिका आगमन, उत्थान र प्रगतिको एक विवरण प्रस्तुत गर्ने जमर्को गरिएको छ | यद्यपि कतिपयले उनिहरु यसभन्दा अघिदेखि नै यहाँ बसोबासो गरेको विश्वास गर्छन् | यो एक मत विभेदको विषय हो र यसमाथि चर्चा-परिचर्चा मात्र होइन् गहन अध्ययन र अनुसन्धानको मार्ग प्रशस्त गर्दछ | लेखकको यो प्रस्तुति आफ्नो जीवन-यात्रा क्रममा उनीलाई आफ्नो पारिवारिक स्रोतबाट जेजति संसाधन सामग्री सीमित मात्रामा उपलब्ध हुनसके त्यसैको प्रमाणीकरण अर्थात् डकुमेन्टेशनको प्रयास हो | त्यो पनि सन् १९८२ को मई २७ उपरान्त |
आजभन्दा चार दशकअघि साल १९८२ का ती दिनहरु झलझल्ती याद आउँछ जब यस पङ्क्तिकारले आफ्नो गृहस्थलमा सदियौंअघिदेखिको गुठीलाई उदाहरण/आधार बनाई यस हिमाली राज्यका विभिन्न भागका रैथाने नेवारहरुको सबै गुठीलाई समेटेर एक राज्य-स्तरीय शीर्ष छाता संस्थानको परिकल्पना गरी सिक्किम नेवार गुठीको उद्घोषणा गरेका थिए | यो यहाँका टक्सारी चन्द्रवीर प्रधानको दूरदर्शिता थियो कि रिनाक बजारको मध्यमा श्री ३ शिवालय महादेव मन्दिरको स्थापना गरेर नेवारहरुलाई भेला गराई उनीहरुको सुख-दु:खसित अवगत भई एकसूत्रमा बाँधिएको समाज निर्माण गर्नसकेका थिए | सन् १९९४-मा नयाँ सरकारको गठनपछि मात्र सिक्किम नेवार गुठीलाई एक अराजनैतिक सामाजिक संस्थाको रुपमा मान्यता प्रदान गरिएको थियो | यसका संस्थापक-अध्यक्ष मोहन प्रताप प्रधान* तथा उपाध्यक्ष केशव चन्द्र प्रधान भए अनि दुवै सिक्किम सरकारका भूतपूर्व मुख्य सचिव थिए | सन् १९९५ सालमा राज्यका पाँच प्रमुख भाषाहरु अङ्ग्रेजी, नेपाली, भुटिया, लेप्चा र लिम्बु सरह नेवार भाषालाई पनि एक राज्य भाषाको दर्जा प्रदान गरियो | अर्को वर्ष १९९६मा उनीले आफ्नी धर्मपत्नी टेङ्गल काठमाडौँ की रञ्जनासितको सहलेखनमा र आशा सफु कुथिका राजा शाक्यको सम्पादनमा "नेवा: वर्ण, लिपि र भाषा परिचय" प्रकाशित गरे | सन् २००१ मा यसको संशोधित र परिमार्जित संस्करण प्रस्तुत गरी कुल पाँच हजार प्रति बिक्री साथै सित्थैमा पनि वितरण गरे | पुस्तक सानै भए पनि यसको महान् उद्देश्यले सामाजिक सेवा पु-याएको थियो किनकि यस हिमाली भेकमा मात्र नभई मूलस्थल नेपालमा पनि यसको दूरगामी प्रभाव देख्न गयो | साल १९९६ मा लेखक सिक्किम सरकारको सूचना एवम् जनसम्पर्क विभागका सचिव थिए जहाँबाट उनीले सरकारको ४० वर्षअघि सन् १९५६देखिको मुखपत्र 'सिक्किम हेरल्ड'को रुप नै परिवर्तित मात्र गरेनन् यसको नेवार भाषाको संस्करण साथै सिक्किम नेवार गुठीको मुखपत्र 'नेवा:' पनि सर्वप्रथम प्रकाशित गरेर एक कीर्तिमान स्थापित गरे |
यस समयञ्जेल ती दुइ सीमाना वारी र पारी मात्र परिचित नभई यहाँका सरकारले पनि खुबै पहिचान गरी उनलाई सेवाकाल अवधिभरि खुबै प्रताड़ित गरे | अविचलित आफ्ना बुबा जय शङ्कर लाल श्रेष्ठको आशीर्वाद-स्वरूप निरन्तर समर्थनद्वारा उनी नेवार मुलभूमिका नेसोका जस्ता नेवार आन्दोलनसित साथै समुद्र पारी अमेरिकाको पोर्टलेण्ड आरिगनबाट प्रकाशित "नेवाह विज्ञान"सित सम्बद्ध भई रहे | साल २००४मा लाइडेन निदरलेण्ड निवासी बालगोपाल श्रेष्ठ केम्ब्रिज विश्वविद्यालयसित सम्बद्ध तथा त्रिभुवन विश्वविद्यालयको नेपाल र एशियाली अध्ययन केन्द्र / सेन्ट्र फ़र नेपाल एण्ड एशियन स्टडिज (सिनास ) प्रायोजित 'सिक्किमका नेवारहरुमा रीतिथिति परिवर्तन'-बारे अनुसन्धान-अध्ययनका लागि सिक्किम आइपुगे | हामीसित भएका दस्तावेजहरुको त्यस अध्ययनद्वारा प्रमाणीकरण हुने अवसर पायो | हामी लेखकद्वय आफनी छोरी र ज्वाईं रचना-विमललाई भेट्न यहाँबाट अमेरिका प्रस्थान हुनुअघिनै २९ मई २०१०को दिन आयोजित एनओए-को नवौं महाधिवेशनमा आमन्त्रित भई सिक्किमवासी नेवारहरुबारे एक वक्तव्य राख्न निमन्त्रण प्राप्त भइसकेको थियो | संयोगवश त्यसै दिन बिहान संयोजक दया शाक्यले त्रिभुवन तुलाधरको निवासमा जलपानको लागि निम्त्याएर प्रस्तावित डब्लुएनओ बारे चर्चा-परिचर्च गदैं थियौँ | अक्सफोर्डबाट बालगोपाल श्रेष्ठ पनि स्काईपमा जुड़े | यस पङ्क्तिकार सिक्किम/भारतबाट सम्बद्ध एक मात्र प्रोमोटर थिए किनकि आमन्त्रित अन्य दुईले यस पहलबाट अझसम्म अज्ञात कारणवश दुवैले स्वयमलाई टाढाराखे | यदि उनको नाम धेरै अघिदेखि यथासम्भव योगदानको कदर गर्दै डब्लुएनओको प्रारम्भदेखि आजपर्यन्त नै सलाहकारहरुको सूचीमा देख्न भए सो कुनै आश्चर्यको कुरो नलाग्ला !
लेखक यहाँ त्यस दयालु आत्मालाई स्मरण गरी श्रद्धाञ्जलिस्वरूप यो पङ्क्ति राख्न चाहन्छ कि उनका ज्वाईं साहेब वुडब्रिज भर्जिनियाका बिपिन कार्की* जो गत मई २२को रात चिरनिद्रामा जानु भयो | पेंसिल्भिनियासम्म आएर ती सब सामाजिक सभाहरुमा रात-बेरात निस्वार्थ सहयोग पु-याएकाले मात्र यहाँ सम्मको यात्रा पुग्न सकेको श्रेय उहाँलाई समर्पित छ |
.जे भयो ... राम्रै भयो
मूलस्थलदेखि टाढाबात यस गरिमामय संस्थासित सम्बद्ध हुनु पाउनु भाग्यको कुरा हो जुन थेगोसाथ हामीलाई सुनाउने गर्थे "उहिले नै हामी अमेरिका वा लण्डन छँदा भने झैं ..." यी संस्मरण क्रमबद्ध एक अग्रजले आफ्ना समकालीनहरु समक्ष प्रस्तुत गर्न पाउँदा खुशी लाग्छ - जे भयो ... राम्रै भयो !
अब उपरान्तका दिनहरु पनि सहज र सरल रहोस् सबै पक्षले समर्पित टोलीलाई जसले यस दौड्लाई मात्र जीतेर होइन तर सबै नेवार सहयात्रीको मन पनि जीतेर आफ्ना कार्यकाललाई बृहत् नेवार जातीय हितमा आफ्नो यथासम्भव योगदान निस्वार्थ भावनाले प्रेरित भई लक्ष्य तर्फ पुग्न-पु-याउन सकोस् | वर्तमान "नेवारहरुप्रति समर्पित दोस्रो दशक"-मा नेवार सभ्यतालाई उच्चतर टाकुरामा राख्न सफल रहोस् | यस दिशातर्फ निरन्तरअग्रसर भई बृहत् नेवार जातीय हितमा सेवाभावसाथ पुन:समर्पित हुने सुअवसरको रूपमा विश्व नेवार दिवसले हरेक वर्ष अनेकौं हितकारी सम्भावनाहरु बोकी ल्याई अवश्य नै प्रेरित गरिरहने छ निसन्देह!
तब के यहाँ यस महाधिवेशनमा सहभागी हुनुहुँदै छ ? यो प्रश्न यस पङ्क्तिकारलाई पनि सोझ्याउन सकिन्छ अनि उनको जवाब सरल छ 'भिसा मदु' जस्तै कि एक सज्जनले दया शाक्यलाई तेर्साए | 'भिसा छैन' उनको उत्तर हुनेछ, तर पनि उनी यस महाधिवेशनमा आफ्ना नेवार बन्धु-बान्धव सहयात्रीहरुमाझ स्वयमलाई प्रस्तुत गर्ने छन् | उनले आफ्नो मुटु नजिकको प्रिय विषय सिक्किमवासी नेवारहरु माथि एक प्रस्तुति दिनेछन् | दया जिज्ञासा गर्छन् सुन्न पाउँदा खुशी लग्यो!! के यो नयाँ स्वरूप हो?" | काठमाडौँबात अर्का गुठियार एक समय 'गोरखापत्र''सित प्रमुख सम्पादकको रूपमा सम्बद्ध पुष्कर माथेमाले उनलाई एक सारांश पठाइ दिने आग्रह गरे | यसअघि केही अन्य मित्रहरूलाई झैं जो कि यस विषयमा विशेष रुचि राख्छन् कि भन्ने अभिप्रायले आफ्नो नवीनतम पुस्तक 'द् नेवार्स इन सिक्किम : ए पर्स्पेकटिभ - सम रिफ्लेकशन्स' वा 'सिक्किमवासी नेवारहरु : एक दृष्टिकोण - केही विचार' को एक संक्षिप्त परिचय पठाएका थिए | प्रत्येक विश्व नेवार महाधिवेशनको शुभ अवसरमा प्रकाशित हुने र यस पटकको "स्मारिका हलिं नेवा:" का लागि सो लेख आमन्त्रित गरेका थिए | यस प्रकार उनले त्यस महासभामा प्रवेश गर्दै छन् आफ्नो उपरोक्त प्रस्तुति समर्पित गर्न !
यस महाधिवेशनका लागि खुबै आकर्षक कार्यक्रममध्ये शैक्षिक अधिवेशन तथा लोकप्रिय सांस्कृतिक प्रदर्शन अन्तर्गत् नेपालको जातीय नेवार संस्कृतिको पक्षबाट नेवार कला, संस्कृति, शृङ्गार, परिकार, मनोरन्जन जस्ता अनेकौं सामग्रीसाथ ख्याली जुजु /हास्य-सम्राट मदन कृष्ण श्रेष्ठ , मिस नेपाल २०२२ प्रियङ्का रानी जोशी जस्ता व्यक्ति पनि निमन्त्रित छन् | यसर्थ, वने, नु / आऊ, जाऔँ अनि त्यहाँ प्रतीक्षा छ यहाँको आगमनको स्वागत छ - ज्वजलप्पा / नमस्कार अभिवादनमा!
अन्त्यमा, अनेक प्रत्याशित-अप्रत्याशित साथै दृश्य-अदृश्य घटनाक्रम सँगसँगै आरोह-अवरोहका साथ आज यसरी न्युयोर्कसम्म पुगी आफ्नो चतुर्थ विश्व नेवार महाधिवेशन आयोजित गरेर संसारभरिका नेवारहरुको ध्यान आकर्षण गर्न सक्षम भएकोमा यसले अन्य सङ्घ-संस्थाहरुलाई पनि यसबाट प्रेरित हुनसक्ने ऊर्जा प्रदान गरून् भन्दै डब्लुएनओ र यससित सम्बद्ध सबै कर्मठ बन्धुबान्धव वर्गमा हार्दिक बधाई अनि यसको भव्य प्रदर्शन अनि अभूतपूर्व सफलताको लागि एक पटक फेरि पनि हार्दिक मङ्गलकामना टक-याउँदछु| सुभाय !
दृष्ट्व्य : यो प्रस्तुति लेखकको आफ्नो जीवन यात्रा-क्रम अन्तर्गत्, कहिले यता कहिले उता हुँदै यहाँसम्म पुग्नसकेको व्यक्तिगत विवरण हो | यसर्थ यहाँ व्यक्त गरिएका विचारहरु उनका निजी विचार हुन् र कुनै संस्था वा व्यक्तिसित यसको मेल हुनु आवश्यक छैन | केही नामहरु(तारा* चिन्ह दिवङ्गत चिन्हित गर्छन्), वर्णन, स्थान अनि घटनाहरु विषय-वस्तुसित जोड्नका लागि मात्र राखिएका हुन् - कसैलाई विद्वेषको भावनाले भने कदापि होइनन् | सम्पर्क : [email protected]