पुराना अन्दाज - नञा सङ्कल्प
नञा साल र नञा पुस्तक
यस्तैमा यहाँबाट सिक्किम नेवार गुठीको पक्षमा प्रमुख सम्पादक प्रद्युमन श्रेष्ठले आगामी नवम्बरमा गुठीको रजत् जयन्तीको अवसरमा निस्कने विशेष वार्षिक 'स्मारिका'-को लागि २५ लामो ऐतिहासिक यात्राप्रति समर्पित मेरो एक संस्मरण-लेख अनुरोध गर्छन् | केही वर्ष यता मैले स्मारिका-को लागि लेख, अरुलाई पनि सो लेख्ने अवसर प्राप्त होस् भन्ने अभिप्रायले, नपठाएको र झण्डै यो लेखबारे कुरा बिर्सेको पनि थिएँ | घरमा फोन गर्दा छोरा रमणले उनले लगातार फ़ोन गरी मलाई सम्झाइदिने अनुरोध गरेको थाहा पाएँ अनि म प्रद्युमनलाई सम्पर्क गर्छु | कहिलेसम्म पठाउनुपर्ने र कति विस्तारमा लेख हुनुपर्ने कारण मेरा लेखहरु प्रायशः धाराप्रवाह हुनेगरेका साथै केही तस्वीर सँगै राख्नगरेकाले त्यस्ता पत्रिकालाई स्थानको अभावको अन्दाज अनि अन्य संस्थागत समस्या हुनुजाला कि भन्ने मेरो सन्देह थियो | उनले यस्ता कुनै समस्या नहुने र २० अक्टोबरसम्म लेख पठाइदिने आग्रह गर्छन् | तथापि यी कुराको मद्देनजर राखी 'स्मारिका'लाई सुहाउँदिलो एक सङ्क्षिप्त लेख पठाउँछु, बरु यस्को विस्तृत रुप कुनै पुस्तिकाको रुपमा पछि प्रकाशित गर्नपरे गरूँला भन्ने विचारले | पाठकहरुको हित ध्यानमा राखेर यो अङ्ग्रेजी लेख लोकप्रिय स्थानीय समाचारपत्र 'सिक्किम एक्सप्रेस'-मा पनि प्रकाशित हुन्छ | यसको नेपाली रुपान्तर 'यात्रा रजत् जयन्ती : सिक्किम नेवार गुठी - एक सिंहावलोकन : माइल खुट्टी एक चुनौती अनेक' शीर्षकमा केही समयपछि लोकप्रिय स्थानीय दैनिकहरु 'समय दैनिक', 'हिमाली बेला' र 'हाम्रो प्रजाशक्ति'-मा पनि प्रकाशित हुन्छ | टाढ़ाटाढ़ा भएका कतिपयले 'स्मारिका' वा दैनिकहरु कुनै पनि नपाउलान कि भन्ने आशङ्काले साथै विश्वभरिका हितैषीहरू सिक्किम र यहाँका विभिन्न गतिविधिहरुमा रुचि राख्नेभएकाले उनीहरुको हित ध्यानमा राखी यी दुवै लेख हाम्रो वेबसाइट 'करुणागुठी डटकम'-मा पनि 'थिङ्किङ्ग लोकल' व 'स्थानीय चिन्तन' पृष्ठ अन्तर्गत् पस्केर राख्छु | काठमाडौँ नेपालका हाम्रा हितैषी नरेशवीर शाक्यले यस लेखप्रति रुचि देखाएर त्यहाँका अनेकौं पाठकहरुको हित ध्यानमा राख्दै आफ्नो इलोहँ प्रकाशन अन्तर्गत् पाक्षिक 'लायकू'-मा प्रकाशित गर्ने ध्येयले मलाई यसको निम्ति नेपाली लेख पठाइदिने अनुरोध गर्दछन् | नेपालभाषा सँगसँगै नेपालीमा दुइ कलममा उनले यो लेख "लायकू" वर्ष १७ अङ्क ३ र ४ अन्तर्गत् नेपाल संवत् ११४० कछला व थिंला / २०७६ मंसीर १-१५ अनि मंसीर १६-३० तदनुसार १७ नवम्बर - दिसम्बर १ २०१९ र २ - १६ दिसम्बर २०१९ मितिमा धारावाहिक रुपले सचित्र प्रकाशित गर्दछन् | नेपालभाषा सँगसँगै नेपालीमा पनि भएका दुइ कलम/स्तम्भमा लेख्ने प्रथा सर्वप्रथम सन् १९९६-मा हामीले सिक्किम सरकारको मुखपत्र 'सिक्किम हेरल्ड नेवारभाषा संस्करण'- शुरुगर्दा यी पङ्क्तिका लेखक स्वयम् यसका सचिव एवम् मुख्य-सम्पादक छँदा अधिकांश नेवारहरुको हितमा उहाँहरु आफ्नो मातृभाषा पढ्न-बुझ्न नजानेका हुनाले सो सरल र सुगम होस् भन्ने अभिप्रायले परिचित गराएका थियौँ | सन् १९९७ सालमा भारतको स्वतन्त्रताको ५० वर्ष मनाउन संस्कृति र धरोहर विभागद्वारा आमन्त्रित नेवार साँस्कृतिक साँझको निम्ति नेपालभाषा मंका खलका नायो पद्मरत्न तुलाधर*-को अगुवाईमा नरेशवीर शाक्य संस्थाका मूल-सचिवको हैसियतले एक विराट टोली लिएर गान्तोक आएका थिए | त्यही बेला उनले सो 'सिक्किम हेरल्ड नेवार संस्करण' देखेर पछि नेपालमा आफ्नो पाक्षिक 'लायकू'-मा सो व्यवहारमा ल्याए होलान् | तर सूचना एवम् जनसम्पर्क विभागबाट मेरो स्थानान्तरण हुनसाथ त्यहाँका सम्बन्धित हाम्रा भाषाका पारङ्गत विज्ञ नेवार 'कालीदास' महानुभावहरुलेनै यस चलनलाई अन्त गरेका थिए | त्यसरीनै सन् १९५६-मा स्थापित अङ्ग्रेजी सिक्किम हेरल्ड'-को ५० वर्षीय ऐतिहासिक यात्रामा प्रथम पटक 'मास्टहेड' / शीर्षक नै परिवर्तन गरेर इतिहास रचेको थियो र यस नवीनतालाई सबैले सहर्ष स्वागत जनाएको, तर त्यो पनि यसको सिकोमा अर्कै राख्नमा आफ्नो बुद्धिमतता देखाए | नेवारहरुको मूलथलो नेपाल खाल्डामा 'लायकू'-ले सो प्रथा अझसम्म आज १७ वर्षमा प्रवेश गर्दा पनि निरन्तर व्यवहारमा ल्याउन श्रेयस्कर ठाने, जब कि हाम्राहरुले यसलाई तिरस्कार गर्नमानै कुनै पनि हिचकिचाहट देखाएनन् | जे होस्, आफ्ना अनेकौ प्रसंशक-पाठकहरुको हित/सुविधा ध्यान राख्दै वाराणसी / बनारस / काशीबाट सन् १९३७-देखि प्रकाशित भईआएको नेपाली साहित्य संकलन 'उदय' त्रैमासिकले पनि उपरोक्त लेख आगामी नव-वर्ष २०२० विशेषाङ्कमा प्रकाशित गरिरहेको छ | यस लेखको बृहत उपयोगिता देखेर यस्तो लाग्छ कि सिक्किमबाट प्रकाशित यस लेखले सिक्किमवासी नेवारहरुको मात्र नभई यहाँका सबै समुदायको सद्भावना र भातृत्वको मैत्रीपूर्ण सुसन्देश संसारभरिनै पुग्न-पु-याउन समर्थ भएको ठहर गरे अत्युक्ति नहोला | व्यक्तिगत रुपमा हेरौं भने मैले चुनाउअघि छाप्न नसकेको लेखद्वारा हुनुगएको मन-मलिनताको यसै लेखद्वारा क्षतिपूर्ति भएको आभास गर्दछु !