मेरो उठ्ने पालो
अलविदा टक्कु दाजु
-
सन् १९५६-मा पहिलो पटक गान्तोक आएर मेरा सानु मामा मोहनप्रताप प्रधानसित बसेको ठाउँ थियो डाक बङ्गला वर्तमान आकाशवाणी गान्तोक केन्द्रको परिसर | त्यहाँबाट अर्को साल हामी डेभेलप्मेन्ट एरियाको गैरी-गाउँ, जो पछि मंशी कलोनी भनी पनि परिचित भयो त्यस अघिल्तिरको, सानो बङ्गला क्वार्टरमा जहाँ पछि शिक्षा विभागका नारी बाबु (एस.डी. रिन्छेन) धेरै समय बस्नु भयो | सन् १९५८-मा हामी केही माथि (हाल पुरानो एट-युनिट बिल्डिङ्ग तल्तिर) 'हेप्पी भेल्ली' स-यौं, जहाँबाट सेवानिवृत फरेष्ट मेनेजर हाम्रा काइँला बाजे राइसाहेब भीमबहादुर प्रधान त्यहाँ डाँडामा आफ्नो नवनिर्मित सुन्दर निजी निवास 'आत्म-निकेतन' बस्नगए |
त्यसबेला म सर टाशी नामग्याल हाई स्कूल (छि टाशी नामग्याल एकडेमी)-मा ६-७ कक्षाको विद्यार्थी थिएँ अनि हामी सबै त्यहीं नै जान्थ्यौं पढ्न | बेलुकी अनि छुट्टीका दिन घर अघिल्तिरको सानो चउरमा खेल्न-कुद्न हामी भेला हुन्थ्यौं | सँगैबस्ने भाइ विजय र विनय दाजु बाहेक छेउछाउ बस्ने मणि, राजेन्द्र, विजय, छुगेल, फारुख, किशोर, भालु अनि अटल बाबुको हिमालयन नर्सरी परतिर अण्डरग्राउण्ड भिल्लाबाट टक्कु दाजु पनि आईपुग्थे | पिडू, टेनिस गोली, लङ्ग जम्प, छेलो फ्याँक्ने, बारीबाट परेङ्ग काटील्याएर हाई जम्प, जेभेलिन फ्याँक्ने जस्ता विभिन्न खेल हामी खेल्ने गर्थ्यौं | टक्कु दाजुले नै हो कि, एक पटक परेङ्गको जेभेलिन फ्याँक्दा गएर सबैभन्दा उमेरमा सानो भाइ विजयको खुट्टामा झरेर चोट पुग्दा सबै जना अत्तालिएका थियौँ | गर्ल्स स्कूलको गेट मास्तिर बस्ने फारुखसित छेउको पानी उम्रेको ठाउँ गँड़ेला समात्ने गर्थ्यौं | गेट अघिल्तिर छुगेलसित तीन चक्के गाड़ीमा पछि बसेर ओह्रालो जाँदा परबाट मिस्साब हेमिल्टन आएको देखेर अत्तालिएर रोक्न गाह्रो परेकोलेगर्दा मेरो कुर्कुच्चा नै गत्तिलो प्रकारले पिल्सिएको थियो | मसित भएको सन् १९६०-तिर हेप्पी कटेज अघिल्तिर खिँचेको तस्वीर यहाँ साझा गर्नु चाहन्छु जसमा उनी, विनय दाजु, राजेन्द्र खाती अनि म स्वयम् उभेका छौं - सबै आआफ्ना अन्दाजमा देखिन्छन् | उमेर सँग सँगै कक्षा पनि बढ्दै गए पनि अनि सन् १९६१-६२-को जाड़ो महिनाको विदामा म्याटि्रक परीक्षा दिन तैयारीमा एक्लै बस्दा त्यस हामी खेल्ने-उफ्रिने चउरमा सरकारी क्वार्टर बन्नु थाल्यो | सो राम्ररी थाहा छ किन कि एउटी गर्भवती आइमाईको मृत्यु भएको थियो र मलाई खूब डर लाग्थ्यो | त्यस घरमा पहिला बस्ने अधिकारी तुलसीप्रसाद शर्मा* थिए र पछि १९७४-मा हामी सँगै मसुरीमा आई. ए. एस.-को प्रशिक्षण लिने बद्रीनाथ शर्मा* बस्थे जब एट-युनिटमा हामी क्रमश: १. बी छिरिङ्ग* / जयश्री प्रधान / डूप छिरिङ्ग लेप्चा / किरण रसाइली; २. भुवनसिंह खाती* / एन. जस्वाल; ३. एन. के. कुमाई / ए. टी. सन्याल; ४. एल. पी. शर्मा* / महानन्द पौड्याल*; ५. म स्वयम्; ६. मिङ्ग्मा छिरिङ्ग* / हरेराम प्रधान / प्रतापसिँह बस्नेत; ७. बी. एस. राई* / पासाङ्ग नामग्याल / देवकुमार गजमेर र ८. आर. डी रेचुङग* / आङ्गी राप्ग्याल / तेन्जिङ्ग नामग्याल* / पुलिस डेपुटेशनवाला / बी. पी. एस. बस्नेत | यस प्रकार त्यहाँ बीस जना मित्रहरू आए-गए तर हामी सन् १९९१-मा मात्र कम्युनिटी हल अघिल्तिर आफ्नो वर्तमान निवास रचना भवनमा प्रवेश गर्नसकेका थियौं |
सन् १९६२-मा गान्तोकबाहिर अध्ययन-क्रम शुरु भयो | टक्कु दाजु र केही अन्य मित्रहरु भक्तबहादुर प्रधान, सुरेन्द्रकुमार राई, सचिन खाती*, आदि एस. एन. टी.-मा काम गर्नथालिसकेका थिए | सन् १९७०-मा मामा विधानचन्द्र प्रकाश प्रधान* पनि त्यहाँ काममा लागेका र पछि १९७२-मा कलकत्ता चार्टर्ड एकाउण्टेन्टको प्रशिक्षण सिद्द्याएर १९७६-मा फर्किआई त्यहीँ लेखा अधिकारीको पदमा सेवारत भए | पछि उहाँ वित्त विभागमा लेखा-नियन्त्रकको सर्वोच्च पदबाट सेवानिवृत भए | सुबोध दाजु* पनि त्यहाँ आफ्नो पहिलो सेवामा लागेका थिए | टक्कु दाजु एस. एन. टी.-मा स्टोर-इन-चार्ज थिए अनि पछि १९९०-तिर प्रोमोशन भई स्वास्थ्य विभागमा स्टोर्स अधिकारी भएर सेवानिवृत्त भएका थिए | त्यसपछि पनि उहाँ सिक्किम लटरी-मा एक अंशकालिन निर्णायकको रुपमा हरेक मङ्गलवार ह्वाइट हल पुग्नेगर्थे | त्यस बेला म त्यहीँ खेलकुद र युवा मामिला विभागमा सचिव छँदा उहाँ बेला-बेला निस्किनेगर्थे र यसरी भेटघाट हुँदा पारस्परिक कुशल-क्षेम सोध-पूछ हुन्थ्यो |
टक्कु दाजु हामीसित्त मित्रवत् व्यवहार गर्थे | उनी एक मिलनसार व्यक्ति हुनका साथै सामाजिक क्रियाकलापमा सक्रिय भए ता पनि उहाँ कहिल्यै सिक्किम नेवार गुठीमा सक्रियतासाथ भाग लिएको देखिएनन् - कि म आफै पनि उस्तै स्वभावको भएकोले हो | उहाँले आफ्नो जेठा छोरा ज्ञानेन्द्रको धुमधामसित बिहे गरिदिनुभएको बेला हामी सामेल भएका थियौँ | त्यसरी नै सन् २००८-मा हाम्री छोरी रचनाको बिहेमा पनि उहाँहरु उपस्थित थिए | सन् २०१६ मार्च अन्त्यतिर मेरो पुस्तक विमोचन कार्यक्रममा भाउजु मात्र आउनु भएको सम्झना छ - त्यस बेला उहाँलाई बिमारीले भेटिसकेको थियो जस्तो मेरो अनुमान छ |
बढ़्दो उमेरमा कमजोर शरीरलाई अनेक कष्ट-रोग-व्याधि आइपर्छ तर उहाँले यी सबलाई स्वीकार्दै हार नमानी समयसमय आवश्यक औषधि-उपचार गर्दै दृढ-सङ्कल्प र आत्मबलको साथ जुद्धै-जित्दै आएका थिए | यसैले गर्दा सन् २०१७ उहाँ आफ्नो कान्छा छोरा अनूपलाई भेट्न सावित्री भाउजु र ज्ञानेन्द्रसित न्युयोर्क अमेरिकासम्म पनि पुगेका थिए | त्यही साल आफ्नी ठुली छोरी उर्वशी र विकास ज्वाईंसाहेब भेट्न बहिनी सुन्दरी पनि अघिबाट फिलाडेल्फिया पुगिसकेकी थिइन् | हाम्री छोरी रचनाको बेबी-शावरमा पनि उपस्थित थिइन् | उहाँहरु केही सप्ताह वरपरका रमणीय स्थलहरु घुम्नमा व्यस्त भए | तर पछि समय निकालेर जुलाई २ तारीखको दिन हामीसित भेटघाट गर्न चेस्टरस्पिङ्ग्स सबैजना आएका थिए | विदेशमा स्वदेशका आफ्ना परिचित भेट्दाको आनन्द बेग्लै हुनेगरेको सर्वविदित छ | अझ, त्यसमाथि आफन्तहरु नै आउनाले हामी स्वयमलाई भाग्यमानी ठानेका थियौँ | फर्किँदा उहाँहरु दुबईमा केही दिन घुमेर सिक्किम फर्केको फेसबुकमा तस्वीर देखेर थाहा लागेको थियो | यसअघि पनि उहाँहरु दुवै सिक्किममा मात्र नभई बाहिर छेउछाउका साथै श्रीलङ्काका पर्यटन स्थलहरु घुमेका रमाईला तस्वीरहरुबाट अन्दाज हामीले पाएका थियौँ | जिन्दगीको उत्तरार्ध सार्थक रुपले जिउनु भयो - असल र सम्पूर्ण जिउनु भयो | कुनै किसिमको पछुतो वा सो अपुरो कि अधुरो भए जस्तो लाग्दैन हामीलाई |
हामीहरु गत वर्ष नवम्बरमा अमेरिकाबाट फर्केर आउँदा उहाँ अस्वस्थ भएको अनि रोगसित जुध्दै उपचारको लागि सिलगढ़ी जानुभएको सुन्नुमा आयो | भर्खरै मात्र उहाँ यता फर्किआएको केही दिनमा नै उहाँ जिन्दगीसित हार मानेर शरीर त्यागेको दुःखद समाचार सुन्नुप-यो | हुनु त हामी सबैजना एक न एक दिन आफ्नो बाटो लाग्नैपर्ने हो - अलिक अघि वा पछि मात्रको कुरा हो, यहाँबाट उठ्ने पालो सबैको अवश्य आउने नै हो | तर हामीले परिवारका एक प्रिय सदस्य मात्र नभई एक असल मित्र पनि गुमाउनु परेको छ | यो रिक्तता अपुरो नै रहने छ र उहाँ हाम्रो सम्झनामा सधैंभरि नै रहनुहुनेछ साथै हाम्रो हृदयमा उनको एक अमिट छवि पछिसम्म नै बस्ने छ, निसन्देह | उहाँको अनन्तको यात्राको लागि हाम्रो शुभकामना र उहाँ जहाँ रहे ता पनि आफ्नो नाम अनुरुप सदैव शान्तिपूर्वक बसी रहून् , अलविदा!
दृष्ट्व्य : यो प्रस्तुति लेखकको आफ्नो जीवन यात्रा-क्रम अन्तर्गत्, कहिले यता कहिले उता हुँदै यहाँसम्म पुग्नसकेको अनि व्यक्ति-विशेषसितको व्यक्तिगत विवरण हो | यसर्थ यहाँ व्यक्त गरिएका विचारहरु उनका निजी विचार हुन् र कुनै संस्था वा व्यक्तिसित यसको मेल हुनु आवश्यक छैन | केही नामहरु(तारा* चिन्ह दिवङ्गत चिन्हित गर्छन्), वर्णन, स्थान अनि घटनाहरु विषय-वस्तुसित जोड्नका लागि मात्र राखिएका हुन् - कसैलाई विद्वेषको भावनाले भने कदापि होइनन् | सम्पर्क : [email protected]