दार्जीलिङ चिया उद्योगलाई एक अपूरणीय क्षति
डा. मनबहादुर तामाङ्गप्रति श्रद्धासुमन
"मृत्यु अप्रत्याशित हुन्छ | दु:खलाग्दो कि डा. मनबहादुर तामाङ्ग, राष्ट्रिय स्तरमा परिचित ख्याति-प्राप्त चिया-वैज्ञानिक तथा दार्जीलिङ-पहाड़का गर्व, ७४ वर्षको उमेरमा गत ३० जुलाईको दिन दिल्लीमा अन्तिम साँस लिए |
"उनको मृत्यु एक महान् क्षति हो किनकि उनले दार्जीलिङको चिया उद्योगलाई पुनर्जीवित र पुनरुत्थान गर्न एक प्रमुख भूमिका अझ निर्वाह गर्नसक्थे | दोस्रो खण्ड, सोम बगानका एक भूतपूर्व ब्रिटिश सैनिकको छोरो भई जन्मेका डा. तामाङ्गको प्रारम्भिक शिक्षा मलयेसियामा भएको अनि दार्जीलिङको सेण्ट रोबर्ट्स स्कूलबाट उच्चतर-माध्यमिक शिक्षा प्राप्त गरे |
"डा. तामाङ्ग दार्जीलिङ सरकारी महाविद्यालयमा उद्भिद्-शास्त्रमा बी.एस्सी. अनि एम. एस्सी.-मा मेरा एक छात्र थिए |
"उत्तर-बङ्ग विश्वविद्यालय अन्तर्गत् उनले बी. एस्सी. परीक्षामा रजत् पदक प्राप्त गरेका थिए | पाठ्य-क्रममा चिया बाहिरी विषय भए ता पनि विज्ञान-अध्यापनले आफूमा भएको उद्भिद् अध्ययनको लागि ओझेल प्रतिभाको आफ्नो दृष्टिकोण विस्तृत गर्ने एउटा मञ्च प्रदान ग-यो तथा उनले ती प्रदर्शन गर्ने अवसर प्राप्त गरे |
"उद्भिद्-शास्त्रमा बी. एस्सी. (सम्मान) गरेर असमको जोरहाट स्थित टोक्लाई चिया अनुसन्धान केन्द्र अन्तर्गत् एक अनुसन्धान विभाग दार्जीलिङको गीङ्ग चिया बगानको क्लोनल प्रूभिङ्ग स्टेशनमा एक चिया अनुसन्धान सहायकको पदमा नियुक्त भए |
"उनले त्यहाँ आफ्नो चमत्कार गर्न समय व्यर्थ फालेनन् | उनले आफ्नो शैशव/मुना अवस्थामा भएको वैज्ञानिक सीपद्वारा चियापत्ती टिप्ने वार्षिक परिमाण/मात्रामा तीन गुणा वृद्धि गरे | यो खबर वन-डड़ेलो जस्तो सर्वत्र फैलियो अनि अधिकारिक वर्ग तथा जनमानसमा एक तरङ्ग नै उत्पन्न ग-यो |
"उनको यो विलक्षण गुण देखेर उनलाई तुरन्त टिपेर जोरहाटको टोक्लाई चिया प्रयोग केन्द्रमा एक उच्चतर पदमा नियुक्त ग-यो, जहाँ उनले आफ्नो अनुसन्धान कार्यक्रमलाई निरन्तरता दिनसके | समयान्तरमा डा. तामाङ्गले जोरहाटमा पनि चिया- विज्ञानमा नौलो खोज पत्तो लगाए | यही बीच, उनको वैज्ञानिक प्रतिभा देखेर, मैले उनलाई उद्भिद्-शास्त्रमा एम.एस्सी. पूरा गर्न भने किनकि यसपछि उनले चिया विषयमाथि अझसम्म कसैले गर्ननसकेको विद्यावारिधि अर्थात् पीएच.डी./डाक्टरेट डिग्री अध्ययन गर्न सम्भव हुन्थ्यो |
"मैले मेरो पक्षबाट दार्जीलिङ सरकारी महाविद्यालयमा उद्भिद-शास्त्र (बोटानी) स्नातक अनि स्नातकोत्तर विभागको अध्यक्ष हैसियतले सम्पूर्ण मार्गदर्शनप्रति आश्वस्त पनि गराएको थिएँ | उद्भिद्-शास्त्रमा स्नातकोत्तर अध्ययन सिद्ध्याएपछि उनको आगामी लक्ष्य डक्टरेट डिग्री पूरा गर्नु थियो, जसको लागि उनले आफ्नो अध्ययन-अनुसन्धानद्वारा विशाल वैज्ञानिक तथ्याङ्क/आधारहरु अगावै सङ्ग्रह गरेका थिए |
"टोक्लाई केन्द्रका निदेशक डा. जैनद्वारा आफ्नो विज्ञ सुझाउ दिएका थिए कि डा. तामाङगले आविष्कार गरेका चियाबारे चार नयाँ अनुसन्धान परिणामहरुमध्ये एक मात्र विषय "चियाको विकास आकृति-विज्ञान" (Development Morphology of Tea) उनको पीएचडी/विद्यावारिधि थेसिस/शोधपत्रको लागि पर्याप्त थियो | चाँड़ै, गुवाहाटी विश्वविद्यालयद्वारा उनलाई एक पीएचडी डिग्री प्रदान ग-यो | टोक्लाईमा चिया-प्रबन्धनको लागि तालीम प्राप्तगर्नेहरुका निम्ति "चिया-बगान व्यवस्थापकहरुका लागि प्रशिक्षण पुस्तक" (Training Manual for Tea Garden Managers in two volumes) दुई खण्डमा लेख्ने डा. तामाङ्ग पहिलो टोकलाई अधिकारी भए |
"उनको यस कृतिले चिया विज्ञान तथा प्रबन्धनका दुवै सैद्धान्तिक औ व्यवहारिक पक्षहरुबारे ज्ञान उपार्जन गर्नु खुबै सहायक सिद्ध भएको थियो | सङ्घ लोक सेवा आयोग, नयाँ दिल्लीद्वारा चिया सल्लाह अधिकारी पदका लागि आयोजित अखिल भारतीय स्तरको अन्तर्वार्तामा दर्जनौं उम्मेदवारहरुमा डा. तामाङ्ग प्रथम भएका थिए | अभाग्यवश, असम आन्दोलनद्वारा राज्य बाहिरकालाई बहिष्कार गर्नेभएकाले उनलाई आफ्नो यस कामबाट पदत्याग गर्नुपरेको थियो | सन् १९८४-तिर वैज्ञानिक एवम् औद्योगिकी अनुसन्धान परिषद् (सी. एस. आई. आर.), नयाँ दिल्लीद्वारा हिमाचल प्रदेशको पालमपुर जिल्लामा चिया खेती विस्तारणको लागि एक चिया वैज्ञानिक आवश्यक भएकोले गर्दा उनको सेवा प्राप्त गरे |
"उनको सक्षम देखरेखमा रूग्ण काङ्गड़ा चियाबगानहरुले नयाँ जीवन प्राप्त गरे | यही बीच, एक वरिष्ठ तथा सक्षम अधिकारी भएकाले उनी त्यहाँ निदेशकको पदमा पदोन्नति हुनेवाला थिए तर उनकै एक कनिष्ठद्वारा अतिक्रमित भए | यो घटना उनलाई एक झट्का मात्र नभई अपमान पनि भयो | डा. तामाङ्गले त्यागपत्र दिए र गीङ्ग चिया बगानमा फर्केर आए, जहाँ उनी केही समयका लागि एक प्रबन्धकको तौरले सेवा पु-याए |
"चाँड़ै नै नयाँ राज्य उत्तराखण्डको निर्माण हुनु गयो अनि डा. तामाङ्गलाई उत्तराखण्ड चिया विकास निगमद्वारा आमन्त्रित गरी एक चिया विशेषज्ञ तथा वैज्ञानिकको पदमा आसीन गराए |
"डा. तामाङ्गको मार्गदर्शनमा उत्तराखण्डका सात वटा जिल्लाहरुमा चिया खेती प्रारम्भ भयो | त्यहाँ उनले २०१०-सम्म सेवा पु-याए | उत्तराखण्ड सरकारले डा. तामाङ्गलाई अनिश्चित कालको लागि त्यहीँ नै राख्न चाहन्थे तर केही घरेलु वाध्यतावश दार्जीलिङ फर्किआउने स्थिति उत्पन्न भएकोले उहाँ फर्केर आए |
"चिया विज्ञान विषयबारे उहाँका विचारहरु तथा प्रवर्तनकारी उपलब्धिहरुलाई दस्तावेजको रूपमा सुरक्षित राखी राष्ट्रको हितमा उनले गर्दैगरेका सुकार्यहरुलाई सुचारू रुप दिनु नै डा. तामाङ्गप्रति सर्वश्रेष्ठ श्रद्धाञ्जलि हुने छ |
"चिया-विज्ञानबारे उहाँको गहन ज्ञान, अनुसन्धान क्षमता, चिया-उत्पादनप्रति गुणस्तर साथै परिमाणका महत्वपूर्ण योगदानहरु, चियाको एक सक्षम प्राधिकारीको रूपमा नाम सँगसँगै प्रसिद्धिलाई मद्देनजर राखी पश्चिम सरकार सरकारले डा. तामाङ्गलाई एक सुहाउँदो स्थान प्रदान गरी उहाँ भित्रका ओझेलमा रहेका अमूल्य क्षमता यहाँको अधोगतितिर लागेको चिया उद्योगको समृद्धि तथा विकास गर्नलाई असङ्ख्य अवसरहरु पर्दाफाश गरी क्षेत्रीय अर्थ व्यवस्थालाई सुदृढ़ीकरण मार्ग प्रशस्त गर्न सकिन्थ्यो |
"एकातिर चियाको गुणस्तर र परिमाण निरन्तर घट्दो अवस्थामा छ भने अर्कोतिर विश्व-प्रसिद्ध दार्जीलिङ चियाको माँग लगातार बढ्दो छ साथै दार्जीलिङ चिया उद्योगले पहाड़ी युवाहरुलाई रोजगारका प्रचूर अवसरहरु प्रदान गर्ने सम्भावनाहरु पनि छन् |
"डा. तामाङ्गले आफ्नी श्रीमती अनि दुई छोराहरु छाड़ी गएका छन् - ठुलो छोरा भारतीय वायु सेनामा एक उच्च अधिकारी छन् |”
---
डा. जी. एस. योञ्जन लिखित तथा ११ अगस्त 'द् स्टेट्सम्यान'-मा प्रकाशित लेख साभार अनुवाद गरी प्रस्तुत गर्ने धृष्टता गर्दै यी दुई विद्वानहरुसितका केही विस्मरणीय क्षणहरुको सम्झना/चर्चा सान्दर्भिक लागेर केही तस्वीरसहित यहाँहरु समक्ष टक-याउँदछु:
सम्झना आउँछ २००१ साल ७ अगस्तको त्यो साँझ सिक्किम सरकारको विज्ञान एवम् प्रौद्योगिकी विभागमा सचिव छँदा सिक्किम-दार्जीलिङ हिमाली भेकका प्रतिष्ठित वैज्ञानिकहरुमाझ भातृत्व-बोध प्रकट गर्न गान्तोक टाशी नामग्याल एकाडेमीका हाम्रा विज्ञान विषयका गुरु पी. बी. चक्रवर्ती*-लाई उहाँका वरिष्ठतम विद्यार्थीहरुसमक्ष भेला गरेर संवर्धना जनाउने राजधानीको टाशी देले होटलमा एक भव्य समारोह आयोजित गरेका थियौँ | मंचमा विभागीय मन्त्री बाहेक मुख्य अतिथि थिए राज्यका मुख्य मन्त्री पवन चामलिङ्ग, जसले सभालाई सम्बोधन गर्दै भनेका थिए कि उहाँ जब यस्ता दिग्गज वैज्ञानिकहरुसमक्ष आफुलाई पाउँदा साक्षात् ईश्वरहरुमाझ स्वयम् उपस्थित भएको अनुभव गर्छन् | दार्जीलिङ सरकारी महाविद्यालय छँदाका हाम्रा गुरु डा. जी. एस. योञ्जन लगायत डा. भीम प्रधान, डा. आर. बी, भुजेल, चरा-चुरुङ्गी विशेषज्ञ भरतप्रसाद राई बाहेक स्थानीयहरूमा यहाँका शीर्षस्थ व्यक्तित्वहरुमा भूतपूर्व मुख्य सचिव एवम् वन-विद् केशवचन्द्र प्रधान, इतिहास-पुरुष सी. डी. राई*, डा. बी. एस. बस्नेत*, डा. हरेराम प्रधान, डा. एम. आर. कटवाल, डा. एकलव्य शर्मा, डा. सोनाम पाल्जर, डा. सी. बी. सुनुवार, आदि उपस्थित थिए | त्यही बेला डा. मनबहादुर तामाङ्गलाई पनि उहाँको योगदानको कदर गर्दै यस सभामा सहभागी हुनु आमन्त्रित गरेको तर उहाँ आउन असमर्थ भएका थिए |
यही बेलातिर हामीले हिमाचल प्रदेशको हिमाली जैवप्रौद्योगिकी संस्थान, पालमपुरका वैज्ञानिकहरुलाई यहाँ आमन्त्रित गरेका थियौँ अनि रिनाक चन्द्र / वुडलेण्ड नर्सरीमा भएको पुरानो चिया बगान भ्रमणमा लगेका थियौँ | त्यस बेला उनिहरुले आफ्ना वरिष्ठ वैज्ञानिक डा. मनबहादुर तामाङ्गको काङ्गड़ा चिया उद्योगमा पु-याएको उल्लेखनीय योगदानको श्रद्धापूर्वक भरपूर प्रशंसा गर्दै उहाँको सेवा उत्तराखण्ड सरकारद्वारा प्राप्त गर्दै आएको चर्चा गरेका सम्झना छ | पछि सन् २००६ सालमा खेल तथा युवा मामिला विभागमा प्रमुख सचिव छँदा मनाली प्याराग्लाइडिङ्गबारे जानकारी लिनु जाँदा बाटोमा पर्ने एक समय डा. तामाङ्ग सेवारत भएको त्यस संस्थानमा साथै धर्मशालामा पावन गुरु दलाई लामाको निवास-परिसर पनि पुगी पाइला टेक्ने दुर्लभ अवसर प्राप्त भएको अनि त्यहाँ पुस्तकालयमा मेरो पुस्तक "सिक्किम : थ्री डिकेड्स टुवर्ड्स डेमोक्रेसी" चढ़ाएको सो दिनको सम्झना छ |
यसअघि यही विभागमा छँदा २३ सेप्टेम्बर २००१-को दिन मेरो "विकासको गोरेटो : ग्रामीण प्रौद्योगिकी - कम दाम धेर ज्ञानका सठीक सुझाउहरु" (साथमा सी.डी.रोम, जो कुनै नेपाली भाषाको विज्ञान विषयमाथि सर्वप्रथम थियो)-को नेपाली साहित्य सम्मेलन, दार्जीलिङ भवनमा दिवङ्गत सभापति आर. पी. लामा*, प्रेम प्रधान, गोपीचन्द्र प्रधान, भरतप्रकाश राई, सुभाष छेत्री आदिको गरिमामय उपस्थितिमा हाम्रा प्राध्यापक डा. जी. एस. योञ्जनका बाहुलीबाट विधिवत् लोकार्पण भएको थियो | पछि यहाँ विश्व पर्यटन दिवसको अवसरमा एक राज्य-स्तरीय समारोहमा "एन्भिस सिक्किम"-को उद्घाटनको अवसरमा तत्कालीन राज्यपाल महोदय केदारनाथ साहनी*-द्वारा विमोचन गरिएको थियो | केही समयको अन्तरालमा सो पुस्तक साथै सी. डी. रोमको अवलोकन मुख्य मन्त्री महोदयले आफ्ना विभागीय प्रमुख एवम् सचिवहरुको साथ एउटा समन्वयन सभापछि गरेका थिए |
सन् २०१३ साल २० जूनको दिन हाम्रा दिवङ्गत मित्र शरद् छेत्रीको जन्म-जयन्तीको अवसरमा नेपाली साहित्य सम्मेलन, दार्जीलिङको प्रेक्षागृहमा करुणादेवी स्मारक धर्मार्थ गुठीद्वारा प्रकाशित "शरद् छेत्री स्मृतिग्रन्थ"-को लोकार्पण वयोवृद्ध साहित्यकार कृष्णसिंह मोक्तानका बाहुलीबाट गुरुवर प्रध्यापक डा. जी. एस. योञ्जन लगायतका नेपाली साहित्य जगतका लब्ध-प्रतिष्ठित साहित्यकारहरुको गरिमामय उपस्थितिमा आयोजित भएको थियो | सम्भवत: यसै बेला उहाँ दार्जीलिङ फर्किआएको थाहा पाएर भेट्ने प्रयास गरेका थियौँ | तर, उहाँसित पछि एक पटक मात्र फोनबाट कुराकानी गरेर परिवारबारे जानकारी आदानप्रदान गरेका थियौँ | उनले फेसबुकमा समेत मसित सम्पर्क राखेका थिए तर उस्तो केही थाहा लाग्दैन थियो जब कि मेरा विभिन्न गतिविधिबारे अवश्य नै उहाँ वाकिफ थिए होलान् |
---
आज डा. मनबहादुर तामाङ्ग हामीमाझ नभए ता पनि उहाँका कृतिहरुद्वारा साथै यहाँ दार्जीलिङ हिमाली भेकका बाहेक हिमाचल प्रदेशको पालमपुर-काङ्गड़ा अनि उत्तराखण्डका ती चिया-बगानहरु सबैमा जहाँ उनले आफ्नो अमूल्य योगदान पु-याए त्यहाँका असङ्ख्य बुटा-बुटाहरुमा उहाँ सधैंभरिका लागि जीवित रहने छन् | यस अतिरिक्त, हाम्रो सम्झनामा सदैव रहने नै छन् | अलविदा !
***