राजीव शङ्कर श्रेष्ठ
राजधानी दिल्लीमा यस वर्षको गणतन्त्र दिवस समारोहमा प्रस्तुत झाँकीहरुमध्ये जसले मलाई अत्याधिक आकर्षित गरेको थियो त्यो थियो आसामको प्रस्तुति जुन ‘पद्म भूषण’द्वारा सम्मानित ‘आसामका स्वर्णिम स्वर’ स्वर्गीय भूपेन हजारिकाको स्मृतिमा समर्पित थियो ! चलचित्र, सङ्गीत, संस्कृति र साहित्यको क्षेत्रमा अविस्मरणीय योगदानको लागि उहाँको विशालकाय मूर्ति सँगसँगै कालजयी गीत ‘गङ्गा’ बजाएर यहाँ प्रदर्शित गरिएको थियो | यसबाट यो थाहा लाग्छ कि उहाँको निधन पछि पनि जनमानसका हृदयभित्र कतिसम्म प्रभावित पारेर अझ गहिरो बसेकाछन् | यस झाँकीलाई भारत सरकारको रक्षा विभागद्वारा उत्कृष्टतामा तृतीय ठहर गरिएको थियो | मलाई सम्झना आउँछ मेरो त्यो लेख जुन मैले निधनको खबर सुनेर उहाँको सिक्किम भ्रमणको स्मरणमा श्रद्धाञ्जलिस्वरूप समर्पित स्थानीय अङ्ग्रेजी दैनिक ‘सिक्किम नाउ’-मा प्रकाशित भएको थियो | वास्तवमा उहाँ राष्ट्रको सर्वोच्च नागरिक सम्मान ‘भारत रत्न’ योग्य रहेका पक्ष पनि राखेको थिएँ |
सुविख्यात गायक भूपेन ह्जारिका (८ सितम्बर १९२६ – ५ नवम्बर २०११) को अन्तिम यात्रामा तारिख ९ नवम्बर को बिहानी गुवाहाटीका सड़कमा मानव समुद्र उर्लेर-उफानिएर उनको अश्रुजलसँग सामेल भई आखिरी पटक दर्शन गर्न निस्केका थिए भने अनेकौं आफ्ना घरका छतबाट अनि कति रुखका टुप्पामा चढ़ी आफ्ना प्रिय गायकको अन्तिम दर्शन गर्न अश्रुपूर्ण नयन लिएर श्रद्धाञ्जलि अर्पण गरिरहेका थिए | आफ्ना गीतहरुले नै अमर भएकाले उहाँका गीतहरु सँगसँगै वैदिक मन्त्रहरुका उच्चारणका प्रार्थनासाथ “भूपेन ह्जारिका अमर रहोस्”-को नाराले सम्पूर्ण यात्रा र वातावरण नै गुञ्जायमान रहेको थियो | गुवाहाटी विश्वविद्यालय परिसरमा ब्रह्मपुत्र नदीको किनार आसाम प्रहरीद्वारा २१ तोपको सलामी दिँदैथिए भने डाक्टर र फरेन्सिक विशेषज्ञहरु भावी पिढ़ीका लागि उहाँका चरण-चिन्हहरु लिनमा व्यस्त देखिँदै थिए – चितामा अग्नि दिई उहाँको पार्थिव शरीरलाई पञ्चतत्वमा विलिन हुनदिनअघि |
सिक्किमका तत्कालीन राज्यपाल बी. पी. सिँहले आफ्नो श्रद्धाञ्जलि आफ्नो नागरिक सेवाका शुरुका दिनहरु जब भूपेन ह्जरिकालाई आसाम विधान सभामा सन् १९६७मा निवार्चित भएका घोषणा गरेका थिए अनि पछि सङ्गीत नाटक अकादेमीका अध्यक्षको हैसियतमा आफ्ना दुइटा पुस्तकको विमोचन उहाँका बाहुलीबाट उनका गीत “गङ्गा बहती हो क्यों”का साथ भएको स्मरण गर्दै अर्पण गरेका थिए | उनले उहाँ एक बहुप्रतिभाशाली व्यक्तित्व भनी आसामी र बाङ्ग्ला भाषामा मात्र नभई हिन्दी र अङ्ग्रेजीमा पनि गीत लेख्न र गाउनमा पुख्त थिए | सिँहका अनुसार उहाँ जस्ता उच्च कदका महान् गीतकार तथा सङ्गीतकार बिरलै जन्मन्छन् अनि उहाँको निधन आसामी साहित्य र सङ्गीतलाई अनि उहाँका परिवारका सदस्य र मित्रगणलाई मात्र नभई भारतको लागि पनि अपितु सङ्गीतको संसारलाई नै एक ठूलो क्षति भएको बताए |
उहाँको सिक्किम भ्रमण बारे जानकारी त्यस दुःखद घड़ीमा कसैले सम्झे कि सम्झेनन् मैले इन्टरनेटमा समेत यसबारे खोजिहेरेँ | यस खोजले मलाई वेब साइट ‘भूपेन हजारिका डट कम’ पु-यायो जस अनुसार डाक्टर भूपेन ह्जारिका आजको भारतीय सांस्कृतिक धरोहरको पृष्ठभूमि/क्षेत्रमा उहाँ एक मार्गदर्शक - खूबै उच्चतम प्रसिद्धिका एक बहुमुखी प्रतिभाशाली बहुविद्य व्यक्तित्व, एक असल कवि, संगीतकार, गायक, अभिनेता, पत्रकार, लेखक र फिल्म निर्माता थिए |
‘हुने बिरुवाको चिल्लो पात’ भने झैं भूपेन ह्जारिकाले दस वर्षको कलिलो उमेरमा छँदा नै आफ्नो प्रथम गीत स्वयम् लेखेका अनि गाएका पनि थिए | पाठकहरुलाई यो जान्न चाख लाग्ला कि सन् १९९८मा प्रख्यात चित्रकार एम. एफ. हुसैनद्वारा लिखित र निर्देशित चलचित्र ‘गजगामिनी’ उनी भूपेन हजारिकाले नै सङ्गीतबद्ध गरेका थिए | उहाँ आसामको चलचित्र उद्योगका (सन् १९३९मा नै १० वर्षको उमेरमा दोस्रो टकी/बोली भएको आसामी चलचित्र ‘इन्द्र-मालती’मा अभिनय अनि सन् १९५६ मा निर्देशनका साथै सङ्गीतकार, गीतकार अनि गायक भई ‘एरा बाटार सुर’ चलचित्र निर्माण शुरु गरी) एक पथ प्रदर्शक मात्र नभई एक मात्र जीवित ‘लेजेण्ड’ पनि भएकाले सही तवरमा पूर्वोत्तर भारतीय सांस्कृतिक विश्वका एक बिना ताजका बादशाह भनी सम्मानित थिए |
यहाँ पनि मैले भूपेन हजारिकाको सिक्किम भ्रमणबारे जानकारी पाइनँ | बरु समयको प्रवाहसँगै उहाँको सुमधुर सम्झना पनि धुमिलिंदै गएको पाएर मलाई मनमा एक विचार आयो किन अन्यत्र अनेकौं भएझैं यहाँ सिक्किममा भएका उहाँका प्रशंसकहरुमाझ म स्वयम् नै मसित रहेका सुमधुर यादहरु सञ्चय गरी केही पङ्क्तिहरु कोरी राखेर यस महान् व्यक्तित्व, जो आफ्ना जीवनकालमा नै एक जीवित ‘लेजेण्ड’ भएका थिए, त्यस महान आत्माप्रति म आफ्नो श्रद्धा-सुमन अर्पण गरूँ ! मेरो मन मस्तिष्कमा साँचेर अझ पनि लछ्याप्रै छाइरहेको उहाँको भ्रमण अनि त्यो सङ्गीतमय संध्याको सम्झना, जब मलाई सन् १९८०को दशकको उत्तरार्ध त्यस ऐतिहासिक समारोहमा सहभागी भई यी महान् सङ्गीतकारको विश्व-प्रसिद्ध गायन सुनेर आनन्द लिने दुर्लभ अवसर प्राप्त भएको थियो |
मेरो मनमा एक्कासी राज्यको सांस्कृतिक एवम् धरोहर विभागमा लामो समयसम्म सेवारत रही सन् २००२मा सेवानिवृत्त भएकी ख्यातिप्राप्त सङ्गीतकार शान्ति ठटालसित नै किन यो विषय सोधिहेरुं भन्ने उत्सुकता जाग्यो | दार्जिलिङमा फोनद्वारा सम्पर्क गरेँ तर उहाँबाट पनि मेरो जिज्ञासाको समाधान हुनसकेन | त्यस समय उनी गान्तोकदेखि बाहिर रहेकीले सो समारोह सर्वोकृष्ट भएको कुरा सुप्रसिद्ध अन्तर्राष्ट्रिय फुटबल खिलाड़ी जेरी बासीबाट पछि थाहा पाएकी मलाई जवाबमा भनेकी थिइन् | त्यसर्थ म फोनद्वारा बासीसित सम्पर्क गर्छु तर उहाँ पनि ठीक साल सम्झन सक्दैनन् | उहाँले सो एक सांस्कृतिक आदानप्रदान कार्यक्रम अन्तर्गत् भएको समारोह थियो जसमा महाराष्ट्र बाहेक आसामका कलाकारहरुको सहभागिता थियो | शान्ति ठटालले यो कुनै स्वतन्त्रता दिवस समारोहमा भएको होला भनिन् सो सम्भवत: यसो हुनसक्ने कुरा मलाई लाग्यो |
भूपेन ह्जारिका हिन्दी चलचित्र ‘रुदाली’मा आफ्ना ‘दिल हुंम-हुंम करे’ र अन्य गीत तथा सुमधुर सङ्गीतले राष्ट्रिय स्तरमा परिचित हुनअघि उहाँ सन् १९८४तिर सिक्किम आउनुभएको मलाई लाग्छ | यो लेखक आफ्नी श्रीमतीको साथ गान्तोकको कम्युनिटी हलमा एक साँझ सो समारोहमा उपस्थित भएको थियो | विकिपीडियाबाट यो थाहा लाग्दछ कि “एक गायकको रूपमा ह्जारिका आफ्ना भारी आवाज अनि उच्चारणद्वारा परिचित थिए भने उहाँ गीतकारको रूपमा उनका काव्य-कृतिहरु अनि लोकगीतहरुद्वारा माया-प्रिती विषय बाहेक सामाजिक र राजनैतिक टिप्पणी/विश्लेषण हुन्थे अनि सङ्गीतकारको रूपमा लोकधुनहरुको प्रयोगको लागि चिनिन्थे |” त्यस बेला उहाँले गङ्गा, डोला, जजावर (ययावर) तथा अन्य कर्णप्रिय गीतले विश्व भरि नै ख्याति कमाइसकेका थिए | आफ्नो कालजयी ‘गङ्गा बहती हो क्यों’ गीतलाई भोल्गा, थेम्स, हड्सन आदि जस्ता शब्द अङ्ग्रेजी भाषामा र जहाँ-जहाँ पुगे त्यहाँ स्थानीय विशेषता भएका नदीहरुको विभिन्न नामहरु प्रयोग गरी हिन्दी, आसामी र बाङ्ग्ला भाषा बाहेक हाम्रो प्रिय आफ्नै भाषा नेपालीमा ‘टिष्टा तिमी बग्छौ किन’ समेत भनी त्यस साँझ गीत सुनाएर दर्शकवर्गलाई मन्त्रमुग्ध पारेका थिए | उहाँ नेपाली भाषासित अनभिज्ञ थिएनन् अनि नेपाली संस्कृति र परम्पराप्रति अति आसक्त भएकाले नै आजीवन उहाँलाई जहिले पनि सिरमा भातगाउँले टोपीले सुसज्जितरहेको हेर्न पाउँथ्यौँ – चितापर्यन्त |
संघले आफ्नो पत्रमा प्रधान मन्त्रीलाई उहाँलाई “एक जीवित ‘लेजेण्ड’ अनि बहुमुखी प्रतिभाका धनी” चिन्हित गरी उहाँ कसरी पूर्वोत्तरमा घरघरमा नाम लिइने एक महान् कवि, सङ्गीतकार, गायक, अभिनेता, पत्रकार अनि चलचित्र निर्माता हुन् | यस पत्रले यो कुराको पनि बयान ग-यो कि कसरी यस ८५ वर्षीय वयोवृद्ध गायकको दशकौं देखिका प्रयासहरुद्वारा गीतको माध्यमले सामाजिक परिवर्तन ल्याउन कारगार सिद्ध भयो |
उहाँका संसारभरि छरिएर बसेका अनेकौं प्रशंसकहरुको हित ध्यानमा राखेर प्रधान मन्त्रीलाई लेखिएको पत्रको पूर्ण अंश यहाँ प्रस्तुत छ :
“सम्माननीय प्रधान मन्त्रीजी,
“हामी, यस पत्रका सहीकर्ताहरु, यहाँलाई यो जानकारी दिन चाहन्छौं कि सन् २०१० फरवरी १२-१३का दिन गान्तोकमा आयोजित प्रथम सभामा पूर्वोत्तर संसदीय सङ्घद्वारा सर्वसम्मतिले एक प्रस्ताव पारित गरी राष्ट्रको सर्वोच्च नागरिक सम्मान ‘भारत रत्न’का लागि पूर्वोत्तर क्षेत्रका विविध अनि धनाढ्य संस्कृतिका प्रतिमूर्ति भूपेन ह्जारिकाको नाम सिफारिश गर्दै यहाँको आशीर्वाद चाहन्छौं |
“ज्ञातव्य छ कि यहाँले यो प्रशंसा गर्नुहुनेछ कि संघले देशभरिका लाखौं मानिसहरु, विशेषत: यहाँ स्वयम् समेत पूर्वोत्तर क्षेत्रका मानिसहरुको चाहना मात्र यहाँ फेरि एक पटक राखिएको हो |
“महाशय, यहाँलाई थाहा नै छ कि भूपेनदा, उहाँलाई सबैले माया गरी बोलाउँद्छ्न्, एक जीवित लेजेण्ड अनि बहुमुखी प्रतिभाशाली व्यक्तित्व हुन्, जो एक महान् कवि, संङ्गीतकार, गायक, अभिनेता, पत्रकार, लेखक तथा चलचित्र निर्माताको रूपमा उहाँका कामहरुबाट थाहा लाग्छ | यस क्षेत्रमा उहाँ घर-घरमा लिइने एक नाम हो अनि विख्यात संगीतज्ञहरुमध्ये एक भनी सुपरिचित साथै जनमानसमाझ एक अत्युत्तम प्रभावकारी सञ्चारकर्मी हुन् जसले आफ्ना गीतहरु प्रयोग गरी सामाजिक परिवर्तन ल्याउनसकेका छन् |
“सदिया आसाममा १९२६मा जन्मेका डाक्टर ह्जारिका बनारस हिन्दू विश्वविद्यालयबाट राजनीति शास्त्रमा एम.ए. अनि संयुक्त राज्य अमेरिकाको कोलम्बिया विश्वविद्यालयबाट जन-संचारमा पीएच. डी. गरेका हुन् | उहाँले संयुक्त राज्य अमेरिकाको शिकागो विश्वविद्यालयबाट लिस्ले फेलोशिप पनि प्राप्त गरेका छन् |
“यस देशमा उहाँको बराबरीमा कोही छैन जसले सृजनशील शक्ति, सङ्गीत निर्माण, गीत र स्वरको प्रस्तुति डा. हजरिकाले झैं राम्ररी गर्नसक्छ | जनसाधारणमाझ उहाँको लोकप्रियता फलस्वरूप नै १९६७-१९७२को अवधिका लागि उहाँ आसाम विधान सभाका लागि निर्वाचित भई विजयी हुनुभएको थियो |
“राष्ट्रले १९७७-मा संस्कृतिको क्षेत्रमा उहाँको विशिष्ट योगदानको लागि उहाँलाई उच्च नागरिक सम्मानमध्ये एक ‘पद्मश्री’द्वारा अनि १९९२-मा चलचित्रको क्षेत्रमा आजीवन उपलब्धिका लागि ‘दादा साहेब फाल्के पुरस्कार’द्वारा अलङ्कृत गरेको थियो | ललित कलाको क्षेत्रमा विशेष गरी लोक-सङ्गीतमा दुर्लभ निपुणताका लागि साथै शैक्षिक उत्कृष्टताका लागि उहाँको पहिचान गर्दै १९९९ मा सङ्गीत नाटक अकादेमीको अध्यक्षको पदमा पाँच वर्षको लागि नियुक्तगरेको थियो | भारत सरकारद्वारा २००१ सालमा उहाँको भारतको विकाशमा आजीवन योगदान पु-याए बापत् अर्को आकर्षक नागरिक पुरस्कार ‘पद्म भूषण’द्वारा उहाँलाई सम्मानित गरेको थियो |
“लोक सङ्गीतको विश्व मानचित्रमा भारतको सांस्कृतिक राजदूतको भूमिकामा लोक सङ्गीतलाई राख्न सक्षम भएकोमा डा. हजारिकालाई प्रशस्त स्वागत अभिवादन गरिएको थियो | आफ्नो बाल्यकालदेखि नै सामाजिक हितप्रति चिन्तित अनि समसामयिक समाजमा देखिएका विकृतिहरु माथि आजपर्यन्त उहाँ यसको समाधानका लागि गीतहरु लेख्दै अनि उत्कृष्ट धुनहरु सृजना गरि नै रहेकाछन् | उहाँका कामहरुले उहाँलाई राष्ट्रिय एकबद्धताका लागि एक साँचो व्याख्याकार भनी सिद्ध गर्दछ | उहाँ महान् जनगायकहरुमध्ये अन्तिम व्यक्ति रहेको ठानिन्छन् अनि भारतका एक मात्र जीवित महान् लोक गायकको रूपमा परिचित छन् | उहाँ सर्व-भारतीय लोकप्रियताको क्षमतावान व्यक्तित्वको रूपमा पनि सर्वमान्य अनि स्वीकार्य छन् |
“पूर्वोत्तर संसदीय सङ्घ उहाँ जस्ता गुण तथा कदयुक्त व्यक्तित्वलाई देशको उच्चतम नागरिक पुरस्कारका लागि प्रस्तावित गर्न अत्यन्त महत्वपूर्ण ठान्दछ कारण यो युक्तिसङ्गत मात्र नभई पूर्वोत्तर क्षेत्रका मानिसलाई देशका शेष नागरिकहरुसित भावनात्मक एकबद्धता स्थापित गर्नतर्फ पनि एक महान् कदम हुनेछ |
“यसकारण, हामी, यस सङ्घको तथा संसारभरि छरिएरबसेका उहाँका लाखौं प्रशंसकहरुको पक्षमा यहाँलाई आफ्नो योग्य पदको प्रयोग गरी डा. भूपेन ह्जारिकाको नाम सर्वोच्च नागरिक सम्मान ‘भारत रत्न’का लागि सिफारिश सुनिश्चित गरिदिनहुन अति विनम्रता साथ अनुरोध गर्दछौं |
“न्यानो आदरका साथ
“मुकुट मिथी, अध्यक्ष
बिरेन्द्र प्रसाद बैश्य, महासचिव”
भूपेन ह्जारिकालाई बङ्ग्लादेश सरकारद्वारा मरणोपरान्त ‘मुक्तिजुद्ध पदक’ले सम्मानित गरेको छ | उहाँलाई २००९ सालमा ‘आसाम रत्न’ले अलङ्कृत गरेको छ भने त्यही साल फरवरीमा अखिल आसाम विद्यार्थी संघद्वारा गुवाहाटीको डिघोली पुखुरीको किनार भूपेन हजारिकाको एउटा पूर्णाङ्ग सालिक निर्माण गरेको छ | उहाँको सङ्गीतको क्षेत्रमा समुचित योगदानको कदर गर्दै मध्य प्रदेश सरकारले उहाँलाई लता मंगेशकर पुरस्कारद्वारा सम्मानित गरेको छ भने अरुणाचल प्रदेश सरकारले उहाँको जनजातीय कल्याण साथै चलचित्र अनि सङ्गीतमार्फत् जनजातीय संस्कृतिको सम्बर्धनमा टेवा पु-याए बापत् १९७९मा ‘स्वर्ण पदक’ले विभूषित गरेको छ |
भूपेन ह्जारिका विभिन्न प्रचार-प्रसार माध्यमद्वारा राम्ररी व्यक्त गरिएको राष्ट्रिय एकीकरणको लागि एक साँचो व्याख्याता थिए – यो जानकारी उहाँको वेब साइटले दिँदछ |
सिक्किम भ्रमण छँदा भूपेन ह्जारिकाले टिष्टा नदीलाई आफ्नो कालजयी गीत ‘गङ्गा’को साथमा नेपालीमा गाइदिएर सही रूपमा यस राज्यलाई शेष राष्ट्रसित भावनात्मक तौरमा गाँस्न आफ्नो श्रद्धा-प्रेम व्यक्तगर्दै राष्ट्रिय एकीकरणको सन्देश जनमानसमा यहाँ पु-याएका थिए | फलस्वरूप, कृतज्ञ प्रशंसकहरु सम्भवत: यही योगदानको सराहनामा श्रद्धाञ्जलिस्वरूप उहाँको अस्तु-भष्म विसर्जन देश-विदेशका अनेकौं नदीहरुमा सरह टिष्टा-रङ्गीतको दोभान/त्रिवेणीमा पनि १४ नवम्बर २०११को दिन आसामदेखि यो अस्तु-कलश लिइआएर सो टोलीको उपस्थितिमा एक कार्यक्रममा सम्पन्न हुनगएको थियो |
उहाँको दिवङ्गत आत्माले चिर शान्ति पाउँन् !
---
सिक्किम र आसामबाट एकैसाथ प्रकाशित 'हाम्रो प्रजाशक्ति' २ फरवरी २०१४ गान्तोक-मा पनि प्रकाशित