धरोहर-प्रशंसामा
पुस्तक-पत्र-पत्रिकाप्रतिको प्रेम
कर्तव्य, सेवा र लेखन
राजीव शङ्कर श्रेष्ठ
मेरो प्रारम्भिक शिक्षा सन् १९५१तिर रिनाकको ईसाई मिसनरी पाठशालामा ढुङ्गे कक्षाबाट भुइँमा गुरु-गुरुमाले खरी/चकले लेखिदिएका अक्षरहरुमा मकैका दाना लहरै राख्दै लेख्नसिकेको सम्झना छ | त्यस स्कूलको मुनिल्तिर एकपट्टि मिसनकै दवाई-खाना/डिस्पेन्सरी हुन्थ्यो जसका कम्पाउण्डर बाबुबाट मैले औषधि मात्र नभई खोकी लाग्नअघि घाँटी दुख्दा ‘थ्रोट-पेन्ट’ अनि ‘स्मेलिङ्ग सल्ट’ सुँघ्नलाई, घाउ-साउ हुँदा ‘टिन्क्चर आइडीन’ लगाइमाँगेको याद छ | समयसमयमा झाड़ापखाला लाग्दा आवश्यक ‘सल्फागोनाडाइन’ र ‘एन्टरोक्विलोन’ अनि भिटामिन ट्याबलेट उनले दिनेगरेको याद छ | अघिल्तिर थाना हुने गर्थ्यो र त्यहाँ कैदीहरुलाई राख्न रुखको मुढ़ाको ठ्याङ्गरो देखेको सम्झना छ | हाल बजारबाट उकालो लाग्ने पहिलो घुम्तीनिर त्यस ठाउँ सड़क, मास्तिर थाना र अघिल्तिर निजी भवन/पसल छ |
त्यसपछि अर्को साल कालेबुङ आठ माइल छँदा त्यहाँको कन्भेन्ट स्कूलमा ‘सिङ्ग मदर सिङ्ग, मदर केन सिङ्ग...’ पढ़ेको र त्यही सब भएको ‘रेडिएन्ट वे’ पछि मेरा छोरा-छोरी दुवैले पनि यहाँ टी.एन.ए.मा पढ़ेकोले पुरानो सम्झना ताजा भएको थियो | उहिले यो पुस्तक विदेशमा असल कागजमा रङ्गीन चित्रहरुकोसाथ प्रकाशित हुनेगर्थ्यो भने पछि यो ‘एलाइड पब्लिशर्स’ कलकत्ताबाट प्रकाशित थियो |
त्यहाँदेखि म बनारस पुगेको थिएँ आफ्नो पढ़ाईको लागि – अग्रवाल समाज महाजनी पाठशालामा | चौखम्भास्थित यस पाठशालामा काठको पाटीमा ढिका-खरी/चक बाक्लो झोलले तयार गरिएको मसीमा सुकेका उनिउँका डाँठबाट बनिएका तिखारिएको कलम चोप्दै लेख्न सिकेको सम्झना छ | अहिले सम्झिँदा त्यस बेला हामीले गुजराती लिपि पनि सिकेको र साथै बही-खाता लेख्न कक्षा पाँचतिर नै प्रारम्भ गरेको रहेछ | हाल नरेन्द्र मोदीको बनारसमा चुनाउको समय गुजरातीहरुको निकै जनसङ्ख्या त्यहाँ रहेको जानकारीमा आउँदा त्यस समय हामीले किन सिक्नपरेको अनुमान गर्नसकेको छु | सन् २००६मा बनारस-गयाको पौष पितृ श्राद्धको लागि त्यहाँ जाँदा मेरो पुरानो स्कूल सश्रद्धा नमन गर्न पुगेको थिएँ | भाग्यवश त्यहाँको पाले पनि मेरा समकालीन भएकोले गर्दा त्यस बेला प्राङ्गणमा एक भित्तामा प्रार्थना उहिले हामीले बिहान गर्ने गरेको प्रार्थना ‘हे प्रभु आनन्ददाता ज्ञान हमको दीजिए’को स्थान अर्कै प्रार्थना पाएको स्मरण गराएको थिएँ उनलाई मैले | अघिल्लो दिन मेरी मुमाले मलाई चालीस सम्मको पहाड़ा सुनाउनु भनेकी थिइन् तर उहाँको अकस्मात् देहान्तले मेरो सब पढ़ाई अझ अधुरो रहेको लाग्छ |
गर्मीको छुट्टीमा रिनाक आएको बेला ललिता, बीनादिदीहरुले साँझ चउरमा खेल्दा ‘भाई त अखबार पनि पढ़्ने भएछ’ भनेको सम्झना छ – बनारसमा ससाना छँदा ‘आज’मा सधैँ आउने ‘मेनड्ेक’ र ‘फेन्टम’का चित्र-कथा /कमिक स्ट्रिप र साप्ताहिक बाल परिशिष्ट पढ्ने गरेकाले त्यसो भनेका थिए | ‘उदय’का अङ्कहरु समयसमयमा हेर्न पाउँथे कारण पल्लो घर छिमेक यसका सम्पादक-प्रकाशक स्वर्गीय काशीबहादुर श्रेष्ठको थियो | तीर्थ जाँदा त्यहाँ हामी – म, मेरी श्रीमती रञ्जना, छोरा रमण र भान्जा नीलाभ – उहाँका छोराहरु दुर्गादाई र विजय दाईका परिवारसित बसेर स्नेहमय आतिथ्य प्राप्त गर्ने साथै आफ्नो पुरानो घर सपरिवार परिभ्रमण गर्ने दुर्लभ सौभाग्य जुरेको थियो | सन् १९३७ देखिका ‘उदय’का सम्पूर्ण अङ्कहरुको सँगालो हेर्ने सुअवसर प्राप्त हुनको साथ यो कुरा पनि जान्नमा आयो कि ‘उदय’का पुराना अङ्कहरुको यस्तै एक सङ्ग्रह नेपालको ‘मदन पुरस्कार पुस्तकालय’मा पनि सुरक्षित छ | ‘उदय’मा मेरा परिचित हरुका प्रथम लेखन नरबहादुर दाहालको कहानी ‘क्रिसमसको रात’ (१९५७), गोपीनारायण प्रधान*को कविता ‘स्वर्णिम प्रभात’ (१९६३), नगेन्द्रबहादुर थापाको ‘पागल’ (१९६३) सिक्किमका शैलेशचन्द्र प्रधानको निबन्ध ‘बर-पिपल’मा थकाइ मार्दा’ (१९६२) र चन्द्रकला सिन्चेउरीको कविता ‘ओइलाएको फूल’ (१९६४) प्रकाशित देखें | मेरा काका लक्ष्मीशङ्करलाल श्रेष्ठ*का कविताहरु पनि यसमा शुरुदेखि बराबर प्रकाशित भएको पाएँ | ‘उदय’को पुनर्प्रकाशन भएर १५३ औँ अङ्क हामी समक्ष चाँड़ै नै आउँदैछ |
मेरो माध्यमिक पढ़ाई गान्तोक सन् १९५६मा आएर शुरुभएको थियो | त्यही सालतिर मेरा सानु मामा मोहनप्रताप प्रधान लगायत अन्यको पहलमा ‘सिक्किम हेरल्ड’को प्रकाशन शुरु भएकोले यसका प्रतिहरु हेर्ने सुअवसर जुरेको थियो | त्यस ताका अर्को स्थानीय पत्रिका भारत सरकारको पक्षबाट सूचना सेवा ‘समाचार बुलेटिन’, अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रकाशित हुने गर्थ्यो अनि मासिक ‘प्रगति’ पनि प्रकाशित हुनेगर्थ्यो | ससाना छँदा नै ‘इन्द्रकील पुष्पाञ्जली’ पत्रिका देखेको सम्झना छ – पहेंलो आवरणमा हरियो रातोमा मुद्रित भएको अङ्क जस्तो लाग्छ | पछि अखिल सिक्किम छात्र सम्मेलनको ‘दि पोलस्टार’ (१९५७) पत्रिका पनि सानु मामाको घरमा देखेको सम्झना छ | यसको पछि ‘ध्रुव-तारा’ भएर १९६१मा प्रकाशित भएको जानकारी यसको दोस्रो संस्करण २०११ सालमा प्रद्युम्न श्रेष्ठद्वारा प्रकाशित पुस्तकबाट थाहा लाग्छ | सम्पादक महानन्द पौड्यालका तीन लेखहरु अतिरिक्त यसमा बुद्धिमाया सिँह*, हरिप्रसाद वशिष्ठ*, ठाकुरप्रसाद उपाध्याय, गरुड़सिँह लामा, लक्ष्मी प्रधान, गीता शर्मा, अमृता सिँह, र सन्तबहादुर राईका लेखहरु यसमा पाइन्छ | त्यही बेलातिर बड़ा कोठीबाट उपलब्ध गराइएका पत्रिकाहरुमा ‘साप्ताहिक हिन्दुस्थान’, ‘धर्मयुग’, ‘आजकल’, ‘योजना’ आदि नियमित रूपले स्कूलहरुले पाउने गरेका अनि मेरा बुवा रिनाक सरकारी स्कूलका ‘हेड सर’ भएकाले हामीले कलेज छँदासम्म ती सब हेर्ने-पढ़्ने सुअवसर प्राप्त गरेका थियौं | यस अतिरिक्त म स्वयम् ‘हिन्द पुस्तक’ले शाहदारा दिल्लीबाट सञ्चालित ‘घरेलु पुस्तकालय योजना’को सदस्यता सन् १९६१मा ग्रहण गरेकोले हरेक महिना रू. १/-को दरले (पछिपछि अलिक ठूला रू. २/- अनि रू. ५/- मूल्यका) प्रकाशित उत्कृष्ट हिन्दी साहित्यका चार-पाँच पुस्तकहरु नियमित रूपले भी.पी.पी.द्वारा पाउने गर्थें | यीमध्ये अधिकाङ्श पुस्तकहरु हामीले सन् १९८०तिर सुवास ‘दीपक’द्वारा सम्पादित साप्ताहिक ‘विचार’मा प्रकाशित एक विज्ञप्तिद्वारा थाहा लागेर डा. शान्ति छेत्रीको पहलमा ‘नेपाली साहित्य परिषद्, सिक्किम’को पुस्तकालय सहयोग अभियानअन्तर्गत् गणेशकुमार प्रधानको सुझाउमा दिएका थियौं | हाम्रोमा नियमित रूपले ‘नवनीत’, ‘कादम्बिनी’, ‘सारिका’, ‘सरिता’, ‘माया’, ‘मनोरमा’, ‘चन्दामामा’ ‘विसडम’, ‘इलस्ट्रेटेड वीकली अफ् इण्डिया’, ‘केराभेन’, ‘इमप्रिन्ट’, ‘करेन्ट’, ‘करियर एण्ड कोर्सेस’ ‘करेन्ट इभेन्ट्स’,फिल्मी पत्रिकाहरुमा ‘रंगभूमि’, ‘स्क्रिन’, इत्यादि मासिक पत्रिकाहरु बाहेक साप्ताहिक रविवासरीय ‘हिन्दुस्थान स्टेण्डर्ड’, आर के. करंजियाको ‘ब्लिज़’ समाचार-पत्र पनि समयसमयमा आउने गर्थे | ‘दीयो’ र ‘दियालो’ कलेज छँदा पढिंथ्यो | कतिपय पुस्तक र पत्र-पत्रिकाहरु गान्तोक छँदा देवान*को ‘जेनेरल स्टोर्स’बाट लिनेगर्थें जहाँ उनका कर्मचारी जैन अनि मणि भाई हुनेगर्थे | यो पसल नगरको केन्द्र-स्थलमा अवस्थित यहाँका अति लोकप्रिय व्यक्तित्व अनि रिनाक काजीका सुपुत्र, हाम्रा मामाहरुसित पनि खुबै स्निग्ध सम्बन्ध रहेका छिटेन टाशी* परिवारद्वारा निर्मित एक विशाल भवन ‘लाइट अफ् सिक्किम’ जहाँ आज पनि ‘स्टेट बेंक अफ् इण्डिया’को मुख्य शाखा अनि मुन्तिर ‘छिटेन टाशी एण्ड संस’ फोटो पसल देख्नसक्छौं हुने गर्थ्यो | दार्जीलिङ सरकारी कलेज छँदा पाठ्य-पुस्तकहरु जज बजारको ‘घोष एण्ड संस’ र ‘दत्त’बाट अन्य पत्र-पत्रिका लाडेनला रोड ‘स्टेट बेंक अफ् इण्डिया’मुन्तिर अवस्थित ‘एस. लेखराज’ अघिल्तिरको ‘नेशनल बुक स्टल’बाट लिनेगर्थ्यों | त्यसताका यात्रा सुविधाजनक भएकोले कालेबुङ भएर रिनाक घर आउने-जाने गरेकोले गर्दा त्यहाँ ‘काशीनाथ एण्ड संस’बाट आफ्ना पठनपाठन सामग्रीहरु किन्ने गर्थेँ | पछि मणि कालेबुङमा त्यहीं भेटे जस्तो लाग्छ | सेन्ट अगस्टिन स्कूल पढ़दैगरेका विधान मामाबाट एक-दुई अङ्क देखेर ईसाई धर्म प्रचार गर्ने पत्रिका ‘अवेक’मा कतिपय लेखहरु सामान्य ज्ञानवर्धक साथै चाखलाग्दा हुनेगर्ने र यो सित्तै पाइने गरेकाले डाकद्वारा बराबर आउँथ्यो | सन् २०१०मा अमेरिका छँदा न्यूयोर्क हो कि बोस्टन शहर पस्दा ठूलो अट्टालिकामा ‘अवेक’ टाढ़ैबाट स्पष्ट देखिने गरी राखेको सम्झना छ | अमेरिकन दुतावास सूचना सेवाद्वारा प्रकाशित ‘स्पेन’ पत्रिकाको ग्राहक भएकोले नियमित रूपले आउनेगर्थ्यो भने यो आज पनि छोरा रमणले सौजन्यस्वरूप प्राप्त गरेकोले मलाई पनि हेर्न जुरेकोछ पचास वर्ष बितेर पनि !
हामीलाई मात्र नभई मेरी मुमालाई पनि ससाना छँदा नै माइली मुमा वृन्दादेवीले नियमित रूपले पाउन हुने मासिक पत्रिका ‘अखण्ड ज्योति’ र ‘कल्याण’ अतिरिक्त गीता प्रेसका अन्य पुस्तकहरु हेर्ने-जान्ने अवसर साथै पुस्तक पढ़्ने शौक लागेको थियो | उहाँका पति हीरामानसिँह जोशीको पहिले निधन भएकोले मलाई केही सम्झना छैन तर छोरा रमेशकुमार प्रधान सिक्किमका प्रथम कृषि स्नातक हुन् अनि सन् १९६०को उत्तरार्धमा स्वेच्छापूर्वक अवकाश ग्रहण गरेर टिस्यु-कल्चर पद्धतिबाट सर्वप्रथम सुनाखरी र अन्य उद्भिद् उमारेर सिक्किम-हिमाली क्षेत्रका लागि अभूतपूर्व योगदान पु-याएका हुन् | राई साहेब रत्नबहादुर प्रधानका ज्वाईं साहेब भएकाले हीरामानसिँह उहाँका भाई बाबु दुर्गाशमशेर प्रधानमाझ सम्बन्ध कायम राख्नमा मुख्य भूमिका निर्वाह गरेका थिए | यहाँसम्म कि दुवैका छोरीहरु मेरी मुमा करुणादेवीको बनारसमा र उहाँकी जेठी छोरी प्रतिमादेवीको कलकत्ताका तुलसीलाल श्रेष्ठ*सित एकै दिन एउटै लग्न र एउटै मण्डपबाट विवाह सम्पन्न हुनगएको थियो | शायद धेरै यस कुराबाट आजसम्म पनि अनभिज्ञ होलान् कि यी दुई भाई मिलेर जसरी ‘चन्द्र नर्सरी’लाई विश्वव्यापी स्तरमा नै अन्तर्राष्ट्रिय ख्याति राख्दै आफ्नो, आफ्ना परिवारको र सिक्किम जस्तो सानो राज्यलाई कीर्तिमान राख्न सम्भव गराए ती दुवै एकै मुमा-बुवाका सन्तान भएर पनि आपसमा भने बोलीचालीसमेत थिएन | यहाँ नै हीरामानसिँह जोशीको मध्यस्थता-भूमिका महत्वपूर्ण हुनगएको थियो | पछि उनका भतिजा राई साहेबका साइँला ‘ज्वाईं बाबु’ सूर्यमानसिँह जोशीको पनि केही यस्तै भूमिका देख्न-जान्न आइन्छ तर सम्पन्न परिवारको तीतो बण्डा भइसकेको थियो |
---


RSS Feed