- राजीव शङ्कर श्रेष्ठ
कालदेखि अनन्तमा हामीले कोल्टो फेर्नु नै मृत्यु हो | – विलियम पेन
For death is no more than a turning of us over from time to eternity. - William Penn
संसारमा मनुष्य वा कुनै प्राणीले जन्म लिएपछि उसको अन्तिम लक्ष्य मृत्यु नै हुन्छ भने मेरा मित्र मणिचन्द्र खातीले पनि सो लक्ष्य हासिल गरी यहाँबाट मुक्ति प्राप्त गरेको आशयको खबर भाई विजयले रिनाकबाट गर्छ गत मङ्गलवार ११ मार्च २०१४को दिन | सोही दिन हुने अन्तिम यात्रामा सामेल हुन असमर्थ मनलाई केही सान्त्वना दिन आज लेख्न बसेको छु यस बिहानी उनको स्मरणमा – मित्रहरुमा मणि |
सन् १९५६मा सर टाशी नामग्याल हाईस्कूलमा भर्ना लिँदा मेरा प्रथम मित्र थिए कृष्णप्रसाद खाती – कक्षामा सँगै बस्ने | मणिलाई अर्को साल कक्षा छ:मा पाल्जर नामग्याल कन्या पाठशालामा कक्षा ५-सम्म पढी भर्नालिनेहरुमा उनी एक थिए जस्तो लाग्छ | गणेशकुमार सुब्बा, अल्फ्रेड कार्थक, पुष्पकुमार गुरुङ, मणिकुमार छेत्री, शरदचन्द्र सिन्चुरी, निर्मल गुरुङ, प्रेमबहादुर छेत्री, खड़ानन्द घले, दीपक विष्ट, आदिको साथै कालेबुङका नेता डम्बरसिँह गुरुङ्गको छोरा किशोर गुरुङ्गको नाम सम्झना आउँछ | मणिकुमार खाती कक्षा ८सम्म सँगै पढ़े कि ? मसित भएको कक्षा ९ (१९६०) छँदा खिचेको एक समूह तस्वीरमा मणि देखिँदैन | पछि निजी परीक्षार्थीको रूपमा मणिचन्द्र खाती नाम धारण गरी मेट्रिक परीक्षा दिएका थिए |
गान्तोकमा हामी – विनय दाज्यु (स्वर्गीय), भाई विजय अनि म - मेरा सानुमामा स्वर्गीय मोहनप्रताप प्रधानसित डाक बङ्गला (हाल आकाशवाणी गान्तोक अवस्थित)-मा बस्थ्यौं | अर्को वर्ष सन् १९५७मा डेभेलप्मेन्ट एरियामा हाल मुन्शी कोलोनी नजिकै एक सरकारी आवासमा सरेका थियौं | पछि हाम्रा काइँला बाजे फरेष्ट मेनेजर राई साहेब भीमबहादुर प्रधान आफ्नो निजी घर ‘आत्म-निवास’मा सर्नुभएपछि त्यस सरकारी निवासमा सानुमामासँगै बस्न पुगेका थियौं | केही पर सड्कमास्तिर मणिको परिवार आफ्ना पिता भुवनसिंह खाती, ठूली दिदी डम्बरी, सानु दिदी र दाज्यु राजेन्द्रसहित बस्थे |
एउटै गाउँमा बसेका हुनाले मणि, राजेन्द्र र हामी सँगसँगै खेली हुर्केका हौँ | त्यस बेला – सन् १९५८ देखि १९६०सम्म - हामी बसेको सरकारी आवास अघिल्तिर सानु चौर थियो हाम्रो खेल्ने मैदान अनि भेला हुने ठाउँ | टेनिस गोली, पिड्डू, परेङ्गको भाला हान्ने, हाइ-जम्प, आदि खेल्थ्यौं | मैदान पल्लोपट्टिबाट विजयकुमार राई, अण्डरग्राउण्ड भिल्लाबाट टक्कु दाज्यु शान्तिकुमार प्रधान अनि केही परतिरबाट कहिलेकाहीं सहपाठी सुरेन्द्रकुमार राई र सचिन खाती (स्वर्गीय) पनि हुन्थे सहभागी | त्यहाँ एक दिन त्यसरी भाला फेक्ने खेल्दा भाई विजयको खुट्टामा लागेर हामी खुबै अत्तालिएका थियौं | त्यस्तै नै एक साँझ हामी मित्र छुगेलसित गर्ल्स स्कूल गेट अघिल्तिर बेरिङ्गको तीन चक्के गाड़ी खेल्दा मिस हेमिल्टनको कार आएको देखेर अत्तालिएर मेरो पैताला नै पिल्सिन गएको सम्झना आउँछ | त्यहीं मास्तिर अर्का मित्र फारुखसित सानो खोल्सानजिक उम्रेको पानीमा बुदुना समाती पकाएर खुवाएको पनि सम्झना छ | आइतवार छुट्टीका दिनहरुमा गर्मीमा हामी पुग्थ्यौं गर्ल्स स्कूलको झोड़ामा ऐसेलु टिप्नु र फलेदोको ठूलोपातको सोली बनाई जम्मा गरेर सँगै बसी खाने आनन्द लिन्थ्यौं | अल्गेरीको डाँठको बाजा बनाई फुक्नमा हामीलाई उस्तै खुशी लाग्थ्यो | जाड़ो महिनामा कहिले हाल हायर सेकेण्डरी स्कूल भएतर्फ गई घाम ताप्दै उखु खानमा रमाउने गर्थ्यौं | एक पटक हाम्रा अर्का सहपाठी निमा दोर्जी लामा (गोले)सँग उनको घर छेउ बारीमा हामी नास्पाती खान पुग्छौं | लहरै रुखहरुमा ठूल्ठूला नास्पाती फल्थ्यो र रुख चढ़्नजान्ने साथीहरु माथिबाट फल झार्दा हामी मुन्तिर बस्नेलाई हिर्काई उपद्रव गर्दा रमाइरहेकै हुन्थ्यौं | त्यस उमेरको त्यही नै रमाइलो समय थियो र पछि उमेर सँगसँगै समयले सिकाउँदै लगेका अरु धेर कुराको सम्झना मणिलाई सम्झँदा ताजा भएर कता-कता पुग्दछु आफ्नो मूल विषयबाट टाढ़ा-टाढ़ा |
जाड़ो महिनाको छुट्टीमा हामी रिनाक जान्थ्यौं भने मणि, राजेन्द्र र अन्य केही साथीहरु कुनै/लटरी कार्यालयमा काम गरे जस्तो लाग्छ – दुई-चार पैसा हात पारी फुरमास गर्न | यही बेला हो चेन-लेटरको चलन आएको थियो | आफ्नो नाममा पोष्ट-कार्ड आएपछि सूचीमा पहिलो स्थानमा भएको नामका व्यक्तिलाई एक रुपियाँ मनी अर्डर गरेर पठाउनु पर्ने र उसको नाम हटाई अन्तमा आफ्नो नाम राखी सूचीमा भएका अन्य सबैलाई त्यसरी नै पोष्ट-कार्ड पठाउनु पर्ने नियम थियो | यसबाट रू.६५/- जति मेरो नाममा पनि रकम आएकोले नोक्सान नरहेको यस खेलामा मलाई लाग्छ |
मणि पछि औलो उन्मूलन कार्यक्रममा मलेरिया कार्यालयमा निरीक्षकको पदमा एक समय सेवारत थिए | यही बेला एक-दुई पटक रिनाकको भ्रमणमा पुगेकाथिए र हामीसित बसेका थिए | म पनि उनी सँगसँगै वरपरका बस्तीको घर-घर हामी घुमेका थियौं | सन् १९६४ तिरको कुरा हो - त्यहाँ रेशीमास्तिर भीरमा चट्टानमा केही आकृतिहरु निस्केको थाहा पाएर हामी पनि सो हेर्न त्यो ठाउँ पुगेका थियौं | हिज-आज त्यो ठाउँ सानो-तिनो तीर्थस्थलमा परिणत भएको छ कारण साउन महिनामा गान्तोकबाट समेत भक्तहरु शिवजीलाई रेशी खोलाबाट जल लिई त्यहाँ गएर चढ़ाउने गर्छन् |
---