
- राजीव शङ्कर श्रेष्ठ
कालदेखि अनन्तमा हामीले कोल्टो फेर्नु नै मृत्यु हो | – विलियम पेन
For death is no more than a turning of us over from time to eternity. - William Penn
संसारमा मनुष्य वा कुनै प्राणीले जन्म लिएपछि उसको अन्तिम लक्ष्य मृत्यु नै हुन्छ भने मेरा मित्र मणिचन्द्र खातीले पनि सो लक्ष्य हासिल गरी यहाँबाट मुक्ति प्राप्त गरेको आशयको खबर भाई विजयले रिनाकबाट गर्छ गत मङ्गलवार ११ मार्च २०१४को दिन | सोही दिन हुने अन्तिम यात्रामा सामेल हुन असमर्थ मनलाई केही सान्त्वना दिन आज लेख्न बसेको छु यस बिहानी उनको स्मरणमा – मित्रहरुमा मणि |
सन् १९५६मा सर टाशी नामग्याल हाईस्कूलमा भर्ना लिँदा मेरा प्रथम मित्र थिए कृष्णप्रसाद खाती – कक्षामा सँगै बस्ने | मणिलाई अर्को साल कक्षा छ:मा पाल्जर नामग्याल कन्या पाठशालामा कक्षा ५-सम्म पढी भर्नालिनेहरुमा उनी एक थिए जस्तो लाग्छ | गणेशकुमार सुब्बा, अल्फ्रेड कार्थक, पुष्पकुमार गुरुङ, मणिकुमार छेत्री, शरदचन्द्र सिन्चुरी, निर्मल गुरुङ, प्रेमबहादुर छेत्री, खड़ानन्द घले, दीपक विष्ट, आदिको साथै कालेबुङका नेता डम्बरसिँह गुरुङ्गको छोरा किशोर गुरुङ्गको नाम सम्झना आउँछ | मणिकुमार खाती कक्षा ८सम्म सँगै पढ़े कि ? मसित भएको कक्षा ९ (१९६०) छँदा खिचेको एक समूह तस्वीरमा मणि देखिँदैन | पछि निजी परीक्षार्थीको रूपमा मणिचन्द्र खाती नाम धारण गरी मेट्रिक परीक्षा दिएका थिए |
गान्तोकमा हामी – विनय दाज्यु (स्वर्गीय), भाई विजय अनि म - मेरा सानुमामा स्वर्गीय मोहनप्रताप प्रधानसित डाक बङ्गला (हाल आकाशवाणी गान्तोक अवस्थित)-मा बस्थ्यौं | अर्को वर्ष सन् १९५७मा डेभेलप्मेन्ट एरियामा हाल मुन्शी कोलोनी नजिकै एक सरकारी आवासमा सरेका थियौं | पछि हाम्रा काइँला बाजे फरेष्ट मेनेजर राई साहेब भीमबहादुर प्रधान आफ्नो निजी घर ‘आत्म-निवास’मा सर्नुभएपछि त्यस सरकारी निवासमा सानुमामासँगै बस्न पुगेका थियौं | केही पर सड्कमास्तिर मणिको परिवार आफ्ना पिता भुवनसिंह खाती, ठूली दिदी डम्बरी, सानु दिदी र दाज्यु राजेन्द्रसहित बस्थे |
एउटै गाउँमा बसेका हुनाले मणि, राजेन्द्र र हामी सँगसँगै खेली हुर्केका हौँ | त्यस बेला – सन् १९५८ देखि १९६०सम्म - हामी बसेको सरकारी आवास अघिल्तिर सानु चौर थियो हाम्रो खेल्ने मैदान अनि भेला हुने ठाउँ | टेनिस गोली, पिड्डू, परेङ्गको भाला हान्ने, हाइ-जम्प, आदि खेल्थ्यौं | मैदान पल्लोपट्टिबाट विजयकुमार राई, अण्डरग्राउण्ड भिल्लाबाट टक्कु दाज्यु शान्तिकुमार प्रधान अनि केही परतिरबाट कहिलेकाहीं सहपाठी सुरेन्द्रकुमार राई र सचिन खाती (स्वर्गीय) पनि हुन्थे सहभागी | त्यहाँ एक दिन त्यसरी भाला फेक्ने खेल्दा भाई विजयको खुट्टामा लागेर हामी खुबै अत्तालिएका थियौं | त्यस्तै नै एक साँझ हामी मित्र छुगेलसित गर्ल्स स्कूल गेट अघिल्तिर बेरिङ्गको तीन चक्के गाड़ी खेल्दा मिस हेमिल्टनको कार आएको देखेर अत्तालिएर मेरो पैताला नै पिल्सिन गएको सम्झना आउँछ | त्यहीं मास्तिर अर्का मित्र फारुखसित सानो खोल्सानजिक उम्रेको पानीमा बुदुना समाती पकाएर खुवाएको पनि सम्झना छ | आइतवार छुट्टीका दिनहरुमा गर्मीमा हामी पुग्थ्यौं गर्ल्स स्कूलको झोड़ामा ऐसेलु टिप्नु र फलेदोको ठूलोपातको सोली बनाई जम्मा गरेर सँगै बसी खाने आनन्द लिन्थ्यौं | अल्गेरीको डाँठको बाजा बनाई फुक्नमा हामीलाई उस्तै खुशी लाग्थ्यो | जाड़ो महिनामा कहिले हाल हायर सेकेण्डरी स्कूल भएतर्फ गई घाम ताप्दै उखु खानमा रमाउने गर्थ्यौं | एक पटक हाम्रा अर्का सहपाठी निमा दोर्जी लामा (गोले)सँग उनको घर छेउ बारीमा हामी नास्पाती खान पुग्छौं | लहरै रुखहरुमा ठूल्ठूला नास्पाती फल्थ्यो र रुख चढ़्नजान्ने साथीहरु माथिबाट फल झार्दा हामी मुन्तिर बस्नेलाई हिर्काई उपद्रव गर्दा रमाइरहेकै हुन्थ्यौं | त्यस उमेरको त्यही नै रमाइलो समय थियो र पछि उमेर सँगसँगै समयले सिकाउँदै लगेका अरु धेर कुराको सम्झना मणिलाई सम्झँदा ताजा भएर कता-कता पुग्दछु आफ्नो मूल विषयबाट टाढ़ा-टाढ़ा |
जाड़ो महिनाको छुट्टीमा हामी रिनाक जान्थ्यौं भने मणि, राजेन्द्र र अन्य केही साथीहरु कुनै/लटरी कार्यालयमा काम गरे जस्तो लाग्छ – दुई-चार पैसा हात पारी फुरमास गर्न | यही बेला हो चेन-लेटरको चलन आएको थियो | आफ्नो नाममा पोष्ट-कार्ड आएपछि सूचीमा पहिलो स्थानमा भएको नामका व्यक्तिलाई एक रुपियाँ मनी अर्डर गरेर पठाउनु पर्ने र उसको नाम हटाई अन्तमा आफ्नो नाम राखी सूचीमा भएका अन्य सबैलाई त्यसरी नै पोष्ट-कार्ड पठाउनु पर्ने नियम थियो | यसबाट रू.६५/- जति मेरो नाममा पनि रकम आएकोले नोक्सान नरहेको यस खेलामा मलाई लाग्छ |
मणि पछि औलो उन्मूलन कार्यक्रममा मलेरिया कार्यालयमा निरीक्षकको पदमा एक समय सेवारत थिए | यही बेला एक-दुई पटक रिनाकको भ्रमणमा पुगेकाथिए र हामीसित बसेका थिए | म पनि उनी सँगसँगै वरपरका बस्तीको घर-घर हामी घुमेका थियौं | सन् १९६४ तिरको कुरा हो - त्यहाँ रेशीमास्तिर भीरमा चट्टानमा केही आकृतिहरु निस्केको थाहा पाएर हामी पनि सो हेर्न त्यो ठाउँ पुगेका थियौं | हिज-आज त्यो ठाउँ सानो-तिनो तीर्थस्थलमा परिणत भएको छ कारण साउन महिनामा गान्तोकबाट समेत भक्तहरु शिवजीलाई रेशी खोलाबाट जल लिई त्यहाँ गएर चढ़ाउने गर्छन् |
---
आफ्नो सेवाकालमा भ्रमणमा छँदा एक साँझ उहाँ रिनाकमा हाम्रा ठूलो मामा भीष्म प्रताप प्रधानसित भेट गर्न पुगेकाले म पनि त्यहाँ उहाँसित भेट्नपुगेको हुन्छु | मेरा मामा आफ्नो आतिथि सत्कारमा कुशल अनि सुपरिचित साथै खाती बाबु पनि खान-पानका शौकिन भएकाले निक्कै पछि हामीलाई उहाँकी पहिलो श्रीमती प्रधान परिवारबाट नै भएको गुदी कुरा सुनाएका थिए | यसबारे अरु कुरा भनेनन् | पछि यो पनि तथ्य मैले त्यस साँझ जान्न पाएँ कि मणि र राजेन्द्र दुवै उहाँका जुम्ल्याहा छोराहरु हुन् | आश्चर्य र उदेक पनि लाग्यो वर्षौंदेखि देखिआएको परिवारबारे यस्ता गुप्ती कुरा थाहा लागेर – भाई विजयलाई पनि योबारे आजसम्म जानकारी छैन | यो विषय न त मैले कहिले कसैसित कुरा गरें वा सुनाएँ न यी दुईले नै कहिले हामीलाई बताए | हेर्दा भिन्न आकृति-प्रकृति भएका र व्यवहारले पनि कहिले यी दुई जुम्ल्याहा हुन् भन्ने कुराप्रति ध्यानाकर्षण हुने कसैले सोच्नै नसक्ने विषय मलाई अझ पनि लाग्छ | आज पनि यो एक विस्मय बनि रहन्छ कि कहीं कतै यी भेदका कुरा पल्टनेको गफको सुरमा मात्र र मदको प्रभावमा गरेका हुन् कि साँचै नै पनि हुन् | सरल प्रकृति र सहज प्रवृत्तिका व्यक्तित्व भएकाले उहाँलाई यसप्रति संशय, सन्देह वा शङ्का गर्ने स्थान वा कारण नै म देख्दिनँ | आज यो लेख्दा-लेख्दै म फेरि झट्ट सम्झेर पल्टाउनु पुग्छु हामीसित जय स्मृति शोध ग्रंथालयमा भएको सिक्किम सरकारद्वारा सन् १९७६मा प्रकाशित राजपत्राङ्कित अधिकारीहरुको सूची अनि पाउँछु क्रम संख्या ३मा मणिको १९.१.१९७२मा तथा ३८मा राजेन्द्रको ३०.१.१९७४मा नियुक्ति भएको जानकारी यस कुराको पुष्टिसाथ कि दुवैको जन्म तिथि एउटै - २७.४.१९४७ !
---
सन् १९६१मा हाम्रो खेल्ने-रमाउने-हल्ला गर्ने त्यस चौरको स्थानमा एउटा सरकारी आवासको निर्माण हुन्छ र त्यसमा बस्न हुने पहिला व्यक्ति हामीलाई कक्षा ७मा केही समयको लागि पढ़ाउनुहुने शिक्षक र जिल्ला विकास अधिकारी/डी.डी.ओ. तुलसीप्रसाद शर्मा थिए | निर्माणाधीन कालमा त्यहाँ एक ज्यामीको पत्नीको प्रसवकालमा हो कि के कारणवश निधन भएकोले एक किसिमको भयले त्रषित मेरो किशोर मन हुन्थ्यो | त्यस बेला मामा-माइज्यु बाहिर जानुभएकाले त्यस शीतकालीन विदामा स्कूल फाइनल परीक्षाको तयारी गर्न एक्लै स्वयम्-पाकी भएर बस्थें | परीक्षाको बेला यिनै मित्र मणिको घरमा खाना खान सधैं पुग्थें | त्यस बेला डम्बरी दिदीले पकाउनु भएको स्वादिलो पकवानको परिकारहरुको गजबको स्वाद अझ पनि मेरो जिभ्रोमा अल्झेर बसेको कुरा म घरमा मेरी श्रीमती र परिवारलाई सुनाइबसेको हुन्छु आजसम्म अनि आज फेरि यही कुरा दिदीलाई सुनाउने अवसर पाउँछु !
मणिको स्वर राम्रो र गाउनुमा सिपालो भएकोले उनी प्राय: उच्च कण्ठले गाइरहेका हुन्थे | त्यस बेला वर-पर घरहरु कति नै थिए र ! पातलो बसेको त्यस गाउँमा उनको गीतको स्वरले नै वातावरण गुञ्जायमान हुन्थ्यो | केही राम्रो चीज वा कुनै असल चरा देख्यो कि उनको स्वर फुट्ने – त्यस्तै कोकिल-कण्ठ हुने प्रयत्नमा | कतिले अनुरोध गरी सुन्न मन पराउने अनि कतिलाई असह्य भन्दा दिक्क लागे पनि कसैले उनलाई कहिले केही भनेनन् न त मणिले नै आफ्नो स्वभावलाई नियन्त्रणमा राख्ने प्रयास नै गरे – कारण हाम्रो उमेर र समय नै त्यस्तै थियो | रहर त हामीलाई पनि हुन्थ्यो कि उनी जस्तो गाउनसक्ने हुन तर संकोच भनौं वा लज्जावश भन्दा उनको अघि हीनबोधले ग्रसित भएर नै हो कि हामीमा त्यो सीप फस्टाउन सकेन यद्यपि मणि हर हमेशा हामीलाई पनि गाउनलाई प्रोत्साहित गरिरहेका हुन्थे | हिजआज जस्तो कलिलो उमेरमा नै गीत-सङ्गीत सिक्ने कुनै संस्थान त के सिकाउने व्यक्ति पनि यहाँ नभएकाले हाम्रा मित्रको यस विलक्षण प्रतिभाको सही रूपमा विकास हुनपाएन – कदर हुनसकेन |
---
हाम्रो भेट फेरि दार्जीलिङ सरकारी कलेजमा भएको थियो | म एम. एस्सी. पढ्दा उनी स्नातक परीक्षा उत्तीर्ण गरे | भानुग्राम (ठुटे बजार) मुन्तिर लाई-भिल्ला नजिकै जीवन खातीको घरमा सँगै बस्नेहरुमा सन्त जोसेफ कलेजमा अध्ययनरत् विधान मामा र भाई विजय बाहेक विनोद सिन्चुरी हुन् | यसअघि विधान मामा र मणि बाहेक देवकुमार गजमेर र खड़्गजङ्ग थापा पहिले धीरधाम मन्दिर नजिक प्राध्यापक तुलसीबहादुर छेत्रीको घरमा बसेका थिए | पछि उनिहरु कलेज रेस्टुरेण्ट छात्रावासमा पनि सँगै बसेका हुन् | म भने चौरस्ताछेउ बेलेभिउ होस्टल थिएँ त्यस बेला | पछि शारदेश्वरी पाठशाला मास्तिर हर्मीटेज रोडमा गुरुङ्ग अङ्कलको घरमा बस्दा विधानमामा बाहेक टङ्कराम शर्मा, जसराज सुब्बा, विष्णुकुमार राई र नेपालका दिलीप बस्नेत थिए | विधानचन्द्र प्रकाश प्रधान मेरा मामा भएकाले मणि सँगसँगै यी मित्रहरुले पनि उनलाई कुनै नामले नभई ‘मामा’ नै भनी सम्बोधन गर्थे र अझ पनि गर्ने गर्छन् | आज दिवङ्गत आत्माको चिर-शान्तिको लागि प्रार्थना साथै शोकित परिवारप्रति हाम्रो समवेदना प्रकट गर्नपुग्दा राजेन्द्रले यही सन्दर्भ निकालेर हामी – भाई विजय, विधानमामा र म स्वयम् - बितेका दिनका अनेक क्षणहरु सम्झेर धेर बेरसम्म याद ताजा गरेर बसेका थियौं !
सरल र मिलनसार व्यक्तित्वका धनी मणि सबैसित सहजै प्रकारले मिलेर बस्न सक्थे | हामीमाझ कहिले मत भिन्न भएको र उनले कहिले अर्काको निन्दा गरेको थाहा भएन | हाम्रो मन मिल्ने भएकोले त्यस किशोर युवा उमेरको एक अर्काको मनका कुरा सुनाउने गरेकोले साथै आपसी भेदका आआफ्ना माया-प्रीतिका प्रसङ्गहरु जान्नमा आएको हुन्थ्यो |
स्कूल फाइनल / मेट्रिक उत्तीर्ण गर्न केही अतिरिक्त कोशिस गर्नपरेको देखेर कतिले नपत्याए पनि होलान् यी दुई भाई मणि र राजेन्द्रलाई तर उनका पिताको अथक प्रोत्साहन अनि आशीर्वाद फलस्वरूप नै यी दुवै स्नातक तहको शिक्षा प्राप्त गर्न सफल मात्र नभई सिक्किम सरकारमा राजपत्राङ्कित ओहदासमेत ओगट्न सक्षम भएर मणि कृषि विभागमा अतिरिक्त निदेशक अनि राजेन्द्र विद्युत विभागमा अतिरिक्त मुख्य अभियन्ताको पदमा सेवानिवृत्त भएर दृढ़ संकल्प र कठोर परिश्रम भए कुनै काम असम्भव छैन भन्ने सिद्ध गरेका थिए |
---
तत्कालीन सिक्किम छोग्यालको सरकारद्वारा नागरिक सेवाको लागि दुई वर्षको प्रशिक्षण मसुरी, शिमला र कलकत्तामा सिद्ध्याएर सन् १९७४मा गान्तोक फर्किंदा सिक्किम सरकारको गृह विभागमा मेरो नियुक्ति हुन्छ | मलाई आबंटित आवास भवनमा मणिको परिवार पनि एउटा एकाईमा आएर बसेकाले हाम्रो भेट हुन्छ | अरु भन्दा छुट्टीको दिन दिउँसो वा साँझ मेरोमा निस्कँदा हाम्रो छोरीलाई आफ्नो काखमा बोकेर मधुर गीत सुनाएर सुताइदिने गरेको सम्झना गर्छौं | त्यो गीत हाम्रो परिवारमा मणिको लागि पर्यायवाची भएको छ किनकि यस गीतबारे आज चर्चा गर्दा मेरी श्रीमतीले भन्छे उनको दुःखद निधनको खबर सुन्नेसाथ उनलाई सो गीत सम्झना आएको थियो | फिल्म ‘जख्मी’बाट ‘भारत रत्न’ स्वर-सम्राज्ञी लता मंगेशकरद्वारा गाइएको त्यस बेला चल्ती यो हिन्दी बालगीतको बोल यस्तो हुन्थ्यो – “जिङ्गल बेल, जिङ्गल बेल, जिङ्गल आल द् वे ... ... आओ तुम्हे चाँद पे ले जाएँ – प्यार भरा सपना सजाएँ – प्यारा सा बङ्गला बनाएँ - एक नई दुनियाँ बसाएँ... |”
हाम्रा अर्का सहपाठी पाकिमका नोर्छेन लक्सम (स्वर्गीय) झैं मणि टोक्लाई जोरहाट आसामबाट चिया-खेती उद्योगमा तालीम पाएका थिए | सिक्किमका दुई चिया बगानहरुमा राभाङ्गला नजिक केवजिङ्गको बगान बन्द भएकोले मणि तिमी चिया बगानमा केही समय सेवारत भएको थाहा छ | नोर्छेन पछि शिक्षा विभागमा ओ.एस.डी.को पदमा आसीन थिए अनि उनको निधन कम उमेरमा ५० ननाघी भएको थियो | मणि कृषि विभागमा नियुक्त भई त्यहींबाट अतिरिक्त निर्देशकको पदमा लामो समयसम्म सेवा पु-याइ सेवानिवृत्त भए सन् २००५ अप्रिलमा |
---
समयान्तरमा उनीहरु दुई भाई आ-आफ्नै घर निर्माण गरी अन्यन्त्र सरेकोले हाम्रो भेट-घाटको क्रम टुटे बराबर हुन्छ | हामी सरकारी सेवामा समर्पित आआफ्ना जीवन धान्न व्यस्त हुन्छौं | समयमा राजेन्द्र र मणि दुवैको पनि विवाह भएर परिवार बसाउने क्रममा कहिले-काहीं भेट हुन्थ्यो | वित्त विभागमा म सेवारत छँदा कति पटक सरकारी काम-काजको सिलसिलामा सचिवालयतिर आएको बेला मसित भेट्न आइपुगेका हुन्थे | सन् २००५ तिर होला, यस्तै एक पटक मणि मलाई भेट्न सिक्किम विधान सभा सचिवालयमा आइपुग्छन् | गान्तोक शहरबाहिर पारी राङ्कामा घर बनाएर उतै बस्ने गरेको साथै सेवानिवृत्त भएपछि केही समयदेखि आफु केही अस्वस्थ रहनेगरेको पनि मणिले बताएका थिए | यही नै हाम्रो अन्तिम भेट पनि हुन गयो |
जन्मदेखि नै झेल्न पर्ने अनेक परिस्थिति अन्जान शैशव पार गर्दै किशोर देखि युवा प्रवेश हुँदै वयस्क वय:सन्धि अवस्थामा बढ़्दो-चढ़्दो उमेरको सिढ़ी उक्लिनु र जीविका उपार्जनमा परेर भिन्दा-भिन्दै लक्ष्य हासिल गरेर आआफ्नो बाटो लाग्नुपर्ने अनि आ-आफ्ना क्षितिज पुगेपछि वरपर हेर्दा एक्लै पाउँदै गएको अनुभव गर्दै विस्तारै क्रमश: शनैः शनै: ओर्लिंदै जानुपर्ने नै जीवनको यथार्थ हो | सार्थकता पनि यही हो कि जस्तो लाग्छ आज यहाँसम्म आइपुग्दा | ढल्दो उमेरको प्रकोपबाट प्रभावित जीवन ती सब प्रक्रियामा बाँधिएको एक यात्रा नै हो | यही भोगाई पनि | कसैको लामो अनि कसैको केही अझ हेर्न पर्ने र भोग्न पर्ने विवशता छँदै छ | अन्त्यमा, अन्तिम लक्ष्य त्यही पञ्चतत्वमा विलिन हुनु हो | सब झैंझमेला झेल्न पर्ने विवशताबाट मुक्त भई फेरि अनन्तको यात्रामा लाग्नुपर्ने हाम्रो अर्थात् सम्पूर्ण प्राणी-जगतको वाध्यता पनि |
मणिको अकस्मात यसरी दुःखद निधन हुनगएकोमा हामी शोकग्रस्त थियौं र साथमा हुने परिवारजनलाई केही उपचार तुरन्त उपलब्ध गराउन नसकेकोमा क्षोभ पनि | सोमवार १० मार्च २००१४को बिहान राम्ररी नुहाई-धुवाई गरी भोजन गरेको अनि दिउँसोतिर अकस्मात् छात्तीमा केही असजिलो भएकोले उनलाई मणिपाल अस्पताल पु-याए पश्चात् डाक्टरी जाँच र सब प्रयास व्यर्थ सिद्ध भएको थियो | सरल र सहज ढङ्गले मृत्युलाई वरण गरेर अन्त असल प्रकारले भएकोमा सान्त्वना हामीले लिनु पर्ने म मेरो विचार व्यक्त गर्दछु | नत्र भने कतिलाई यो अवस्था असहज हुन गएर पीड़ादायक हुनजान्छ अनि पक्षघात जस्ता दुष्परिणाम भोग्न परे यसले रोगीलाई शेष जिन्दगी असहाय मात्र नभई परिवारजनलाई कतिको कष्टदायी हुन जान्छ सो हामीले देखेका साथै अनुभव पनि गरेका हौँ |
शान्तिपूर्वक चिरनिद्रामा सुत्नपुगेका मित्रहरुमा मणिले इहलोकमा यो यात्रा यहाँ यतिमा सम्पन्न गरे अनि तब लागेका हुन् अर्को परलोक-यात्रा अनन्तको यात्रामा – अलविदा, शुभ यात्रा !
---
शोक-सन्तप्त परिवारिक सदस्यहरुद्वारा धन्यवाद ज्ञापन २५ मार्च २०१४को ‘हाम्रो प्रजाशक्ति’मा प्रकाशित छ:
"मृत्यु जीवनको अभिन्न अंग हो | यसर्थ मृत्युबिना जीवन अधुरो रहन्छ | यसरी जन्मेपछि मर्ने पर्छ निश्चित छ | यसलाई स्वीकार्न सक्नुपर्छ |
“तारिक १० मार्च २०१४-को साँझ ६ बजी तिर हाम्रा पूजनीय पिता स्व. मणिचन्द्र खातीको जीवनलिला समाप्त भयो | हाम्रा यस्तो शोकाकूल अवस्थामा उपस्थित भई शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै २२ मार्च का दिन मृतकको आत्माले शान्ति पावस भनी उहाँको अन्त्येष्टि क्रियामा उपस्थित भइदिनुहुने सम्पूर्ण महानुभावहरु प्रति कृतज्ञता एवं हार्दी धन्यवाद टक्र्याउँदछौं साथै मृतकको समकालीन मित्र र मित्रताको तर्फबाट संक्षिप्त परिचयात्मक लेख लेखी हाम्रो प्रजाशक्तिमा प्रकाशित गरिदिनुभएकोमा राजीव शंकर श्रेष्ठलाई पनि हार्दिक धन्यवाद टक्र्याउँदछौं |”
---