२१ जून २०१३
‘शरद् छेत्री स्मृतिग्रन्थ’ लोकार्पित
दिवङ्गत साहित्यकार शरद् छेत्रीको ६६ औँ जन्म जयन्ती २० जून २०१३ बिहिवारको दिन नेपाली साहित्य सम्मेलन दार्जीलिङको सुधपा प्रेक्षा-गृहमा करुणा देवी स्मारक धर्मार्थ गुठीद्वारा आयोजित लोकार्पण समारोहमा ‘शरद् छेत्री स्मृतिग्रन्थ’को विधिवत लोकार्पण नेपाली साहित्य तथा अध्यात्मिक जगत्-का प्रतिष्ठित व्यक्तित्व कृष्णसिंह मोक्तानका बाहुलीबाट सम्पन्न भयो| सम्मेलनका अध्यक्ष गोपीचन्द्र प्रधानको सभाध्यक्षतामा विशिष्ट अतिथि सहित्य अकादमीका नेपाली भाषा समन्वयन समितिका संयोजक प्रेम प्रधान अनि स्वर्गीय शरद् छेत्रीकी धर्मपत्नी शोभा छेत्री साथै गुठीका राजीव शङ्कर श्रेष्ठ अतिरिक्त साहित्यप्रति समर्पित व्यक्तित्वहरुका साथै साहित्य-प्रेमीहरुको उपस्थितिमा सो हुनगयो|
डा. जी. एस. योन्जन, डा. कविन्द्र कुमार तामांग, डा. शान्ति छेत्री, डा. असीत राई, डा.जस योन्जन ‘प्यासी’, डा. जीवन नामदुंग र मीना लामा, केदार गुरुंग, धनसिंह मोक्तान, सूर्य गिरी, हरेन आले, कर्ण थामी, लक्ष्मी कालिकोटे, भरत प्रकाश राई, हेमन्त प्रधान, पुरण थुलुंग राई र स्नेहलता राई, एम. पथिक, चन्द्र शर्मा, साँवर अग्रवाल, टी. एन. प्रधान, सुभाष छेत्री, दलसिंह ‘अकेला’, सचेन राई, प्रद्युम्न श्रेष्ठ, सूर्य श्रेष्ठ, उदय सुब्बा ‘गोर्खा’, अमर बानिया ‘लोहोरो’, एम. प्रधान, रञ्जना श्रेष्ठ, विद्या प्रधान, निम सेरमा, धिरज सुब्बा, आदि जस्ता हाम्रो समाजका नक्षत्रहरुको दुर्लभ उपस्थितिले यस समारोहको शोभा अनि गुठीको गरिमा बढेको थियो|
यस समारोहको प्रारम्भ गुठीका संस्थापक बुवा स्वर्गीय जय शङ्कर लाल श्रेष्ठ साथै स्वर्गीय शरद् छेत्रीको तस्वीरमा सुकुण्डा, पानस र दीयो बालेर दीप-प्रज्वलनकासाथै माला-खादा अर्पणका साथ शुरु भयो. करुणा देवी स्मारक धर्मार्थ गुठी, गान्तोक, सिक्किमको पक्षमा राजीव शङ्कर श्रेष्ठले आफ्नो स्वागत भाषणको प्रारम्भ दुवै दिवङ्गत आत्माहरुको स्मरणमा केही क्षणको मौन धारण पश्चात साहित्यबारे कविकेशरी चित्तधर ‘हृदय’-लाई स्मरण गर्दै स्वर्गीय मित्र शरद्-उपयुक्त उहाँकै एक पंक्तिकासाथ श्रद्धाञ्जलि अर्पण गरे -
“भाँडो शरीर मसिको, मसि रक्त बन्छ,
मस्तिष्क कागज भनि अनि सिद्ध हुन्छ
नाडी महाकलमले जुन भाव लेख्छ
'साहित्य' त्यै उचित भन्नु अवश्य पर्छ l”
अत: प्रत्येकले इमानदारीसित त्यस स्व-जातिप्रतिको ऋण चुक्ता गर्ने प्रयास गर्नैपर्छ| त्यही नै जीवनको कर्मण्यता र सफलताको कसी हो |....”
शरद् छेत्री