कसैलाई विश्वास नलाग्ला कि उदय र सुनिता दुवै अब यस दुनियाँमा रहेनन् र ती दुवै एकैसाथ हामीलाई छाडेर गए l
उनीहरु गत केही महिना देखि बराबर गान्तोक आइबस्थे आफ्ना पुश्तैनी सम्पतिको देखरेख गर्न तर जग्गा-जमिनको मामिला एउटा निपट्याई सिद्धियो त अर्को टक्रक्क आई पुग्थ्यो l उदय सधैं यहाँ एक ठाउँ देखि अर्को ठाउँ कागज-पत्र बुझाउँदै-संगाल्दै आफ्नो हक स्थापितगरि समस्या समाधानमा जुटेका देखिन्थे l
मेरी श्रीमती रञ्जनाको सिलगढी लायन्स नेत्रालयमा उपचारगराइ फर्किंदा हामी दुवै लाई स्याहार पुग्दैन भनी आफ्नी बहिनी अनिताको घरमा सबै सँगै बसौं भनि कर लगाएकी थिई l त्यसै महिना मार्चको अन्तमा सेवानिवृत्त हुनगइरहेका उदयलाई दार्जीलिङमा कहाँ एक्लै छाडेर यहाँ आई हामीलाई सेवा-सुश्रुसा गर्न मिल्छ, जीवनको यस अति महत्वपूर्ण अवस्थामा दुवै पति-पत्नी सँगै बस्नुपर्छ भन्दा "हामी कहाँ टाढा अनुभव गर्छौं र मोबाइलमा बराबर कुरा हुन्छ अनि केही फरक पर्दैन" हामीलाई जवाफ दिएका थिए उदयले l "दिदी भएर मात्र हो नत्र हामी मात्रद्वारा यस्तो सेवा माया गर्ने अवसर कहाँ सम्भव हुन्छ" कारण अनिता र बालकृष्ण दुवै आफ्नो गृह निर्माण यथाशिघ्र सिद्ध्याइ त्यहाँ सर्ने व्यस्ततामा थिए l त्यस बेला आफ्नी भाउजुलाई भनेकी थिइ, " गान्तोक धाउँदा-धाउँदा दिक्क लागिसक्यो तर के गर्नु एउटा झ्याउला सकिएको हुँदैन अर्को टुप्लुक्कै आइपर्छ र फेरि यहाँ आउँन कर लाग्छ l"
विहानदेखि नै हामी दुईको ओछ्यानमा चिया बिस्कुटदेखि लिएर छिन छिनमा केही न केही तातो स्वादिलो परिकार तैयार गरेर दिनभरि नै सेवा-माया गर्नमा व्यस्त हुन्थी अनि हामीलाई के थाहा यो अवसर हामीलाई अन्तिम पनि हो भनेर ! कसैलाई नबिझाउने न कसै प्रति दुर्भावना राख्ने उनी दुवैको स्वभावमा नै थिएन l अरुबाट आफूले भोग्न पारेको दुर्व्यवहारलाई आफ्नो पूर्वजन्मको कर्मको फल हो भनि आफैलाई सान्त्वना दिने सरल प्रकृतिका थिए lसुनिताले आफ्नी बहिनीलाई भनिबस्थी, "हामीले मौका पाएको बेला सेवा-सत्कार गर्न तत्पर रहनु पर्छ र आफ्नो कामकुरा गरिराख्नुपर्छ समयमा नै - कसलाई के थाहा कुन बेला कागले चिङ्गनालाई टप्प टिपे झैं दैवले टिपिलाने हो हामीलाई !
सधैं आतुरीमा हुन्थे हाम्रा उदय र भर्खरै मात्रको हाम्रो ३ र ४ अप्रिलको भेटमा उनी आफ्नो व्यस्ततासँग कुम्रेक-रजेमा कटाइएका काठ-पात हेरी बुझी साथै रम्फू बगरस्थित जमिनको निरीक्षणगरि साँझ बालकृष्णकासाथ घर आइपुगेका थिए l सो दिन रम्फूमा नै वन खण्ड अधिकारी भेट भएकाले डुगा जान नपरेको बताएका थिए. भोलि पल्ट उनी सरकारद्वारा रम्फू बगरस्थित जमिनको अधिग्रहणबारे स्थिति बुझी विन्ती-अनुरोध गर्न एकै दिनमा खानी तथा भू-गर्भ विभागगइ जमिनको सर्वेक्षणका लागि र त्यस पश्चात् भू-राजस्व विभाग, शहरी विकास र आवास विभाग अनि जिल्लाधीशसमेतलाई भेटी तीन वर्ष हुनलाग्दा पनि सो विषय बारे किन केही निर्णय हुन नसकेको जिज्ञासा राखेको कुरा घर फर्की मलाई सुनाएका थिए l कसलाई के थाहा हाम्रो यही भेट अन्तिम भेट हुनेछ भनेर !
रिनाकको हाम्रो पुश्तैनी घर आफ्नो ससुराली भनेर होइन तर त्यसै पनि उनलाई खुबै मन पर्थ्यो र सेवानिवृत्ति उप्रान्त हामीसँगै त्यहाँ बसी यसको आवश्यक मरम्मती र देखरेख गर्ने उत्कण्ठ थाँतीमा रह्यो उनी दुई हामीलाई छाडेर अरुलाई भन्दा हाम्रो परिवारलाई अपूरणीय क्षति हुन गएको छ कारण उनी दुवै हाम्रो ठुलो टेवा र आड थिए l अब त हामीलाई हरेक दुई दिनमा फोनगरि कुशल क्षेम सोध्ने कोइ रहेनन् !
***