कसैलाई विश्वास नलाग्ला कि उदय र सुनिता दुवै अब यस दुनियाँमा रहेनन् र ती दुवै एकैसाथ हामीलाई छाडेर गए l
उनीहरु गत केही महिना देखि बराबर गान्तोक आइबस्थे आफ्ना पुश्तैनी सम्पतिको देखरेख गर्न तर जग्गा-जमिनको मामिला एउटा निपट्याई सिद्धियो त अर्को टक्रक्क आई पुग्थ्यो l उदय सधैं यहाँ एक ठाउँ देखि अर्को ठाउँ कागज-पत्र बुझाउँदै-संगाल्दै आफ्नो हक स्थापितगरि समस्या समाधानमा जुटेका देखिन्थे l
मेरी श्रीमती रञ्जनाको सिलगढी लायन्स नेत्रालयमा उपचारगराइ फर्किंदा हामी दुवै लाई स्याहार पुग्दैन भनी आफ्नी बहिनी अनिताको घरमा सबै सँगै बसौं भनि कर लगाएकी थिई l त्यसै महिना मार्चको अन्तमा सेवानिवृत्त हुनगइरहेका उदयलाई दार्जीलिङमा कहाँ एक्लै छाडेर यहाँ आई हामीलाई सेवा-सुश्रुसा गर्न मिल्छ, जीवनको यस अति महत्वपूर्ण अवस्थामा दुवै पति-पत्नी सँगै बस्नुपर्छ भन्दा "हामी कहाँ टाढा अनुभव गर्छौं र मोबाइलमा बराबर कुरा हुन्छ अनि केही फरक पर्दैन" हामीलाई जवाफ दिएका थिए उदयले l "दिदी भएर मात्र हो नत्र हामी मात्रद्वारा यस्तो सेवा माया गर्ने अवसर कहाँ सम्भव हुन्छ" कारण अनिता र बालकृष्ण दुवै आफ्नो गृह निर्माण यथाशिघ्र सिद्ध्याइ त्यहाँ सर्ने व्यस्ततामा थिए l त्यस बेला आफ्नी भाउजुलाई भनेकी थिइ, " गान्तोक धाउँदा-धाउँदा दिक्क लागिसक्यो तर के गर्नु एउटा झ्याउला सकिएको हुँदैन अर्को टुप्लुक्कै आइपर्छ र फेरि यहाँ आउँन कर लाग्छ l"
विहानदेखि नै हामी दुईको ओछ्यानमा चिया बिस्कुटदेखि लिएर छिन छिनमा केही न केही तातो स्वादिलो परिकार तैयार गरेर दिनभरि नै सेवा-माया गर्नमा व्यस्त हुन्थी अनि हामीलाई के थाहा यो अवसर हामीलाई अन्तिम पनि हो भनेर ! कसैलाई नबिझाउने न कसै प्रति दुर्भावना राख्ने उनी दुवैको स्वभावमा नै थिएन l अरुबाट आफूले भोग्न पारेको दुर्व्यवहारलाई आफ्नो पूर्वजन्मको कर्मको फल हो भनि आफैलाई सान्त्वना दिने सरल प्रकृतिका थिए lसुनिताले आफ्नी बहिनीलाई भनिबस्थी, "हामीले मौका पाएको बेला सेवा-सत्कार गर्न तत्पर रहनु पर्छ र आफ्नो कामकुरा गरिराख्नुपर्छ समयमा नै - कसलाई के थाहा कुन बेला कागले चिङ्गनालाई टप्प टिपे झैं दैवले टिपिलाने हो हामीलाई !
सधैं आतुरीमा हुन्थे हाम्रा उदय र भर्खरै मात्रको हाम्रो ३ र ४ अप्रिलको भेटमा उनी आफ्नो व्यस्ततासँग कुम्रेक-रजेमा कटाइएका काठ-पात हेरी बुझी साथै रम्फू बगरस्थित जमिनको निरीक्षणगरि साँझ बालकृष्णकासाथ घर आइपुगेका थिए l सो दिन रम्फूमा नै वन खण्ड अधिकारी भेट भएकाले डुगा जान नपरेको बताएका थिए. भोलि पल्ट उनी सरकारद्वारा रम्फू बगरस्थित जमिनको अधिग्रहणबारे स्थिति बुझी विन्ती-अनुरोध गर्न एकै दिनमा खानी तथा भू-गर्भ विभागगइ जमिनको सर्वेक्षणका लागि र त्यस पश्चात् भू-राजस्व विभाग, शहरी विकास र आवास विभाग अनि जिल्लाधीशसमेतलाई भेटी तीन वर्ष हुनलाग्दा पनि सो विषय बारे किन केही निर्णय हुन नसकेको जिज्ञासा राखेको कुरा घर फर्की मलाई सुनाएका थिए l कसलाई के थाहा हाम्रो यही भेट अन्तिम भेट हुनेछ भनेर !
रिनाकको हाम्रो पुश्तैनी घर आफ्नो ससुराली भनेर होइन तर त्यसै पनि उनलाई खुबै मन पर्थ्यो र सेवानिवृत्ति उप्रान्त हामीसँगै त्यहाँ बसी यसको आवश्यक मरम्मती र देखरेख गर्ने उत्कण्ठ थाँतीमा रह्यो उनी दुई हामीलाई छाडेर अरुलाई भन्दा हाम्रो परिवारलाई अपूरणीय क्षति हुन गएको छ कारण उनी दुवै हाम्रो ठुलो टेवा र आड थिए l अब त हामीलाई हरेक दुई दिनमा फोनगरि कुशल क्षेम सोध्ने कोइ रहेनन् !
***
उदयले आफ्नो जीविका उपार्जन दार्जीलिङको म्युनिसिपल हाई स्कूल अनि नागरीफार्म जुनियर हाई स्कूलमा केही समयको लागि कामगरि शुरुगरेका थिए l सन् १९७४मा हिमुलमा सेवारत भए पश्चात् ३८ वर्षको दीर्घकालीन सेवा पुरयाएर उनको दु:खद निधनको दुई हफ्ताअघि मात्र उच्च तकनिकी अधिकारी को पदबाट सेवानिवृत्त भएका थिए l
आफ्नो सेवाकालको अन्ततिर उनलाई सम्पूर्ण पहाडको जिम्मेवारी सुम्पिएकोले गर्दा एक पटक फेरि समस्त दार्जीलिंगका पहाड पखेरु भ्रमण गर्ने अवसर प्राप्त भएको थियो l केही वर्ष अघि यस्तै भ्रमणबाट फर्कंदै गर्दा पानी-झरी अनि हुरी-बतासको चपेटमा परि उनी यात्रा गरिरहेको वाहनमा ठुलो रुख ढलेर दुर्घटनाग्रस्त भएको थियो l निकै लामो उपचारपछि स्वास्थ्य लाभगरि उनको स्मरण-शक्ति सामान्य भएको थियो l उनलाई सेवाका निम्ति जोरबंगलास्थित चिलिंग प्लान्टमा खटाइएको थियो तर उनलाई केही गुनासो थिएन l नया पदभार ग्रहणगरि उनले कालेबुङ, लाभा, मिरिक, रिम्बिक, सुकेपोखरी, इत्यादि स्थानहरु भ्रमण गर्दा आफ्नो प्रारम्भिक सेवाकालमा सम्पर्कमा आएकाहरुसित भेटघाट गर्ने अवसरलाई एक सौभाग्य ठानेका थिए. नत्र कहाँ यस प्रकारको अवसर पाइन्छ !
***
सुनिता को जन्म २४ जुन १९५६ मा स्वर्गीय जयशङ्कर लाल श्रेष्ठ र माता इन्दिरा श्रेष्ठका कोखमा रिनाकमा भएको थियो l प्रारम्भिक शिक्षा त्यहाँ गरे पश्चात् कालेबुङको सन्त फिलोमिना स्कूलबाट प्राप्त भएको थियो l सिक्किम सरकारको शिक्षा विभागमा शिक्षिकाको रुपमा विवाहअघिसम्म सेवारत थिइ l उनको विवाह अक्षय तृतिया १९८० मा रिनाकमा सम्पन्न भएको थियो l
उनको एक छोरा निलाभ हाल गान्तोकमा छ l
***
उदय एक समर्पित साहित्य अनुरागी साथै धार्मिक अनि सांस्कृतिक परम्परामाथि निष्ठा र सेवाभाव राख्दथिए l उनी हाम्रो करुणा देवी स्मारक धर्मार्थ गुठीका गतिविधि हरु सित प्रारम्भ काल देखि नै सम्बद्ध थिए र सन् २००० मा हाम्रा संस्थापक पिता जयशङ्कर लाल श्रेष्ठ र माता इन्दिरा श्रेष्ठको 'सहस्र चन्द्र दर्शनम् ' वा 'महारथारोहण' वा 'जन्क्व'को भव्य र अभूतपूर्व आयोजन उनको सहयोगद्वारा मात्र सम्भव हुनसकेको थियो l सन् १९३७ देखि बनारसबाट नेपाली साहित्य जगत्- लाई अमूल्य योगदान पुरयाइआएको साहित्यिक पत्रिका 'उदय'को संरक्षण को लागि गुठीद्वारा सन् २००३ मा प्रारम्भ गरिएको 'उदय बचाउ अभियान'को व्यापक सफलताको श्रेय उनीलाई नै जाँदछ भने अत्युक्ति नहोला l उनले यस अभियानअन्तर्गत् दार्जीलिङका साहित्यकारहरुबाट जुन प्रकारको सहयोग समर्थन जुटाए त्यस प्रकारको समर्पित प्रयास र सफलता उनीबाट मात्र सम्भव भएको कुरा सर्वविदित छ l यसको सूची हेरयौं भने यो त्यहाँका मूर्धन्य साहित्यकारहरुको बृहत नामावली हुनेछ l
उनको यो महानता र विनम्रता नै हो कि उनले आफ्नो प्रथम पुस्तक 'लक्ष्मी' ( निर्माण प्रकाशन २००९ गान्तोक) मा लेख्छन् कि करुणादेवी स्मारक धर्मार्थ गुठीद्वारा प्रकाशित 'विकासको गोरेटो : ग्रामीण प्रौद्योगिकी' (२००१) मा उनका लेखहरु समावेश गरेर जुन प्रेरणा उनले पाए सो कहिले बिर्सनेछैन . उनको दोस्रो पुस्तक 'रुद्राक्ष' ( श्री सत्य साई पुस्तक अनि प्रकाशन २०१० दार्जीलिङ ) मा पुस्तक लेखनका लागि प्राप्त प्रशस्त जोश, उत्साह र हौसलाको लागि गुठीप्रति आफ्नो कृतज्ञता व्यक्त गरेका छन् l
'रुद्राक्ष'को लागि उदयले हरिदास हट्टामा प्रत्येक बुधवार साहित्यकार कमलचन्द्र राईको निवासमा हुने 'अध्ययन चक्र' वा 'स्टडी सर्कल' नामक आध्यात्मिक तथा बौद्धिक क्रिया-कलाप फलस्वरूप प्राप्त प्रेरणाद्वारा सम्भव भएको कुरा बताएका छन् l
उदयले आफ्ना रचनाहरु 'हिमाली दर्पण', 'उदय', 'अभ्युदय' र अन्य पत्र-पत्रिकातिर बराबर पठाउँथे l आकाशवाणी खरसाङबाट प्रसारित खेती-गृहस्थी कार्यक्रममा र सिक्किम सरकारको विज्ञान तथा प्रौद्योगिकी विभागमा उनी आफ्नो अनुभव-ज्ञान बाँड्न अनियमित प्रवक्ता थिए l
गत वर्ष मात्र हरिदास हट्टा सुधार सम्मेलनले आफ्नो स्थापनाको स्वर्ण जयन्तीको अवसरमा सेवा-सहयोग साथै कम्युनिटी हल निर्माणको लागि अपुग अतिरिक्त जमिन दान दिएकोमा उनलाई सम्वर्धना जनाएको थियो l यही भवनमा २८ अप्रिल २०१२ को दिन उनको अन्त्येस्टि क्रिया सम्पन्न हुँदा असंख्य शोकित जन समक्ष अखिल भारतीय नेवार संगठनका स्थानीय पदाधिकारीगणले उनका छोरालाई शोक समवेदना पढिसुनाएका थिए भने नेपाली साहित्य सम्मेलन दार्जीलिङका सभापति लगायतका एक प्रतिनिधि टोलीले त्यसरी नै अलग्गै समवेदना पढिसुनाएर शोक प्रकट गरेका थिए l
***
सोमवार १६ अप्रिल २०१२ को दिउँसो भएको दुर्भाग्यपूर्ण दुर्घटनामा यात्रा गरिरहेको जीप द्रुत गतिको कारण नियन्त्रण बाहिर भएकोले मल्लि नजिकै लाप्चे झोरा पुल परतिर सोझै टिष्टा नदीमा झर्न गएर स्थलमा नै उनीसित पाँच जनाको प्राण गएको थियो l पछिल्तिर बसेका बाँचेका यात्रीले त्यस बेला दुईले एक-अर्कालाई अँगालोमारि सँगै मृत्युलाई वरण गरेको कुरा बताए l मल्लि टिष्टाका पुलिस दल अनि 'रिभर राफ्टिंग दल' दुवैले जुन तत्परता साथ उद्धार कार्यमा जुटेर शरीर र सम्पति आफन्तजनलाई आवश्यक कार्यवाही गरिसुम्पे सो सराहनीय छ र उनीहरु सँगसँगै जस-जसले त्यहाँ दुर्घटना स्थलमा सहयोग-सहायता पुरयाए ती सबैप्रति धन्यवाद छ l
उनको १८ अप्रेल २०१२ बुधवारको दिन भएको अन्तिम यात्राअघि शोकाकुल अश्रुपूर्ण आफन्त, मित्रगण तथा हितैषी समक्ष साहित्यकार गोपीचन्द्र प्रधानले ल्याउनु भएको अघिल्लो दिन मात्र प्राप्त 'उदय स्मृति अंक'मा उनै उदयद्वारा रचित अन्तिम कविता 'काशीबहादुर र उदय' साहित्य अनुरागी प्रवीण प्रधानले पढेर सुनाएकोले उनीप्रति एक साँचो र सही श्रद्धान्जलि हुन गएको थियो l यस अघि एक सज्जन ले आफ्नो छोटो वक्तव्यमा उनीलाई विदा दिएका थिए भने आफन्त खुशनारायण प्रधान र उनका मित्रले वैदिक मन्त्रोच्चारणगरि विदा दिएका थिए l
खरसाङबाट एक अर्का वयोवृद्ध आफन्त चन्द्रवीर प्रधानले यो जानकारी दिन्छन् किसती प्रथा धेरै अघि समाप्त भए पछि सम्भवत: यो प्रथम पटक हो कि पति सँगसँगै पत्नीलाई पनि एउटै चितामा सुनिता र उदयको दहन हुनगईरहेको छ सो दिन lनिधनको तीन दिनअघि मात्र त्यहाँ आयोजित भजन पश्चात् सुनिताले कुनै कुरामा यसो भनेकी थिई, "के गर्नु हामी सँगै मर्न पाइने होइन!"
***
"उनी दुईमा एक अर्काप्रति यति अघोर माया थियो कि कुनै एक पनि बाँचेको भए उसलाई एक्लै जिउनु मुश्किल हुने थियो l राम्रै भयो उनीहरु दुवै सँगै गए!" मुमाले भनिन् l
***