२१ जून २०१३
‘शरद् छेत्री स्मृतिग्रन्थ’ लोकार्पित
दिवङ्गत साहित्यकार शरद् छेत्रीको ६६ औँ जन्म जयन्ती २० जून २०१३ बिहिवारको दिन नेपाली साहित्य सम्मेलन दार्जीलिङको सुधपा प्रेक्षा-गृहमा करुणा देवी स्मारक धर्मार्थ गुठीद्वारा आयोजित लोकार्पण समारोहमा ‘शरद् छेत्री स्मृतिग्रन्थ’को विधिवत लोकार्पण नेपाली साहित्य तथा अध्यात्मिक जगत्-का प्रतिष्ठित व्यक्तित्व कृष्णसिंह मोक्तानका बाहुलीबाट सम्पन्न भयो| सम्मेलनका अध्यक्ष गोपीचन्द्र प्रधानको सभाध्यक्षतामा विशिष्ट अतिथि सहित्य अकादमीका नेपाली भाषा समन्वयन समितिका संयोजक प्रेम प्रधान अनि स्वर्गीय शरद् छेत्रीकी धर्मपत्नी शोभा छेत्री साथै गुठीका राजीव शङ्कर श्रेष्ठ अतिरिक्त साहित्यप्रति समर्पित व्यक्तित्वहरुका साथै साहित्य-प्रेमीहरुको उपस्थितिमा सो हुनगयो|
डा. जी. एस. योन्जन, डा. कविन्द्र कुमार तामांग, डा. शान्ति छेत्री, डा. असीत राई, डा.जस योन्जन ‘प्यासी’, डा. जीवन नामदुंग र मीना लामा, केदार गुरुंग, धनसिंह मोक्तान, सूर्य गिरी, हरेन आले, कर्ण थामी, लक्ष्मी कालिकोटे, भरत प्रकाश राई, हेमन्त प्रधान, पुरण थुलुंग राई र स्नेहलता राई, एम. पथिक, चन्द्र शर्मा, साँवर अग्रवाल, टी. एन. प्रधान, सुभाष छेत्री, दलसिंह ‘अकेला’, सचेन राई, प्रद्युम्न श्रेष्ठ, सूर्य श्रेष्ठ, उदय सुब्बा ‘गोर्खा’, अमर बानिया ‘लोहोरो’, एम. प्रधान, रञ्जना श्रेष्ठ, विद्या प्रधान, निम सेरमा, धिरज सुब्बा, आदि जस्ता हाम्रो समाजका नक्षत्रहरुको दुर्लभ उपस्थितिले यस समारोहको शोभा अनि गुठीको गरिमा बढेको थियो|
यस समारोहको प्रारम्भ गुठीका संस्थापक बुवा स्वर्गीय जय शङ्कर लाल श्रेष्ठ साथै स्वर्गीय शरद् छेत्रीको तस्वीरमा सुकुण्डा, पानस र दीयो बालेर दीप-प्रज्वलनकासाथै माला-खादा अर्पणका साथ शुरु भयो. करुणा देवी स्मारक धर्मार्थ गुठी, गान्तोक, सिक्किमको पक्षमा राजीव शङ्कर श्रेष्ठले आफ्नो स्वागत भाषणको प्रारम्भ दुवै दिवङ्गत आत्माहरुको स्मरणमा केही क्षणको मौन धारण पश्चात साहित्यबारे कविकेशरी चित्तधर ‘हृदय’-लाई स्मरण गर्दै स्वर्गीय मित्र शरद्-उपयुक्त उहाँकै एक पंक्तिकासाथ श्रद्धाञ्जलि अर्पण गरे -
“भाँडो शरीर मसिको, मसि रक्त बन्छ,
मस्तिष्क कागज भनि अनि सिद्ध हुन्छ
नाडी महाकलमले जुन भाव लेख्छ
'साहित्य' त्यै उचित भन्नु अवश्य पर्छ l”
अत: प्रत्येकले इमानदारीसित त्यस स्व-जातिप्रतिको ऋण चुक्ता गर्ने प्रयास गर्नैपर्छ| त्यही नै जीवनको कर्मण्यता र सफलताको कसी हो |....”
शरद् छेत्री
“अनि हामीलाई पनि ऋण लागेको हुनाले नै यहाँ यसरी अवसर प्राप्त हुनगएको छ आज| हाम्रा स्वर्गीय मित्र साहित्यकार शरद् छेत्रीको महानतालाई कदर गर्दै विगतका समयमा यस करुणा देवी स्मारक धर्मार्थ गुठीले निरन्तर पाएका सहयोग अनि समर्थनप्रति साथै उहाँले हामीलाई रचना रजत जयन्ती कथा प्रतियोगिता अनि रचना कथा अनुष्ठान २००५-मा अन्तिम निर्णायकको रूपमा जुन अति महत्वपूर्ण अनि जिम्मेवारीको गहन भूमिका निर्वाहगरि गुण लगाएर गए त्यसप्रति पनि आभार प्रकट गर्नु हो| हाम्रो आफ्नो स्वार्थ यो पनि छ कि उहाँले हामीलाई लाएका ती सब गुणको भार अनि यस कृतज्ञताको बोझबाट हामी आफु स्वयम्-लाई मुक्त पार्नु हो यसरी आज|” गुठीको पक्षमा राजीव शङ्कर श्रेष्ठले यो जानकारी दिए|
श्रेष्ठले भने “यो हाम्रो कुनै निजी स्वार्थ परिपूर्तिको साधन अनि न कुनै व्यक्तिगत इच्छा-अभिलाषाको सिद्धिको प्रयास कदाचित नभइ एक संस्थागत वचन, निष्ठा र लगनको परिपूर्तिको एकमात्र ध्येयलाई कार्य रूपमा परिणत गरी यस पुण्य कार्यलाई सम्पन्न गर्नु थियो| यस पुण्य कार्यमा कति महिनतकासाथ मानसिक चिन्ता, व्यक्तिगत चेष्टा र शारीरिक कष्ट उठाउनु परयो यस प्रयाससित सम्बन्धितहरुले मात्र अनुभव गरेका छन् | यो कार्य जुन प्रकारले गरिसिध्याइयो त्यस कटिबद्धता र सहयोगप्रति हामी कृतज्ञ छौं – अन्यथा यो कतिपयको आशा अनुरूप असम्भव निश्चित नै थियो| जे जस्तो जसरी यो सम्भव हुनगयो त्यसप्रति म फेरि मेरो व्यक्तिगत साथै हाम्रो करुणा गुठीको पक्षबाट आभार प्रगट गर्दछु| हाम्रो प्रयासमा हामी कतिको सफल भयौं त्यो हामीलाई जानकारी दिनुहोस् न कि कहाँ कहाँ हामी विफल भयौं कारण कतिपय त्रुटी हुनु यस महान् कार्यमा अवश्यम्भावी छन् | ती सबलाई अनदेखा गरी क्षमा गरिदिनुभए मात्र पनि हामी यस पुनीत अवसरमा कृतार्थ भएको अनुभव गर्नेछौं|...”
आफ्नो वक्तव्यमा उहाँले नाम्चीबाट बालकृष्ण श्रेष्ठले पठाएका संस्मरणमा शरद्लाई डा. इन्द्रबहादुर राई पछिका दोस्रो महान् साहित्यकार हुन् भारतमा भनेका कुरा पनि राखे|
विशिष्ट अतिथि, मुख्य अतिथि, सभाध्यक्ष अनि सभाध्यक्ष बाहेक विभिन्न अतिथिहरु जस्तै, धनसिंह मोक्तान, डा.जस योञ्जन ‘प्यासी’, डा. असीत राई, सुभाष छेत्री, सांवर अग्रवाल र केदार गुरुंगले यस गुठीका प्रस्तुत प्रयासबारे आफ्ना विचार अभिव्यक्त गर्नका साथै शरद् छेत्रीबारे आ-आफ्ना संस्मरण बाहेक ऋषिहाटका धिरज सुब्बाले स्वरचित कविता सुनाएर श्रद्धाञ्जलि अर्पण गरेका थिए|
समारोहमा गुठीद्वारा मञ्चमा आसीन महानुभावहरु अनि गोर्खा जन पुस्तकालयका डा. जस योञ्जन ‘प्यासी’लाई स्मृति-चिन्ह टक्र्याइयो| ‘शरद् छेत्री स्मृतिग्रन्थ’का लागि आफ्ना लेख/संस्मरण पठाएर सहयोग गर्ने लेखकहरुप्रति आभार प्रकट गरी पुस्तक प्रदान गरियो| कार्यक्रमको सञ्चालन महेन्द्र प्रधानले गरेका थिए भने धन्यवाद ज्ञापन प्रद्युम्न श्रेष्ठद्वारा भएको थियो|
---
यस गुठीलाई प्राप्त केही मन्तव्य यस्ता छन् :-
“करुणा देवी स्मारक धर्मार्थ गुठी, गान्तोक, सिक्किमको पक्षमा श्री राजीव शङ्कर श्रेष्ठले अमर स्रष्टा शरद् छेत्रीका सम्बन्धमा प्रकाशित गर्नुभएको ‘शरद् छेत्री स्मृतिग्रन्थ’ समस्त साहित्य सर्जकहरुका लागि एक प्रेरक कार्य भएको छ| बहुविधाका स्रष्टा शरद् छेत्रीप्रतिको साँचो श्रद्धाञ्जलि भएको छ| यस्तो अनुकरणीय कार्यका लागि ‘गुठी’लाई जति नै जय! जय!! गरे पनि कम्ति नै होला|”
- डा.जस योञ्जन ‘प्यासी’
“अभूतपूर्व यस समारोहका लागि श्रद्धेय राजीव शङ्कर श्रेष्ठज्यूलाई बधाई| तपाईंले शरद् छेत्रीज्यूको वास्तविक स्मारक खडा गरिदिनुभएको छ| इतिहासले समयमा यसको निर्माण गर्ला|”
- डा. जीवन नामदुंग
“यति ठुलो विषय छोटो समयभित्र पनि संक्षिप्त रूपमा खुबै सफल भएको अनुभव गर्दछु| शरद् छेत्रीज्यूलाई आधारको मान्यता दिएर नेपाली साहित्यको अझ विस्तार गर्ने योजना भविष्यमा राख्न सकिन्छ|”
- डा. जी. एस. योन्जन
“श्री राजीव शङ्कर श्रेष्ठज्यूको पूर्खालु आत्मा-गुठी स्वरूप संचालन गर्दै धेरै महत्वपूर्ण ग्रन्थहरु प्रकाश गर्ने ठुलो माध्यम ‘करुणा देवी स्मारक धर्मार्थ गुठी’मार्फत् पुन: दिवङ्गत महान् साहित्यकार श्री शरद् छेत्रीको स्मृतिग्रन्थ पनि प्रकाश गरिदिनुभ एर एउटा प्रकाशले निभाउनु पर्ने र सक्ने ठूलो काम गर्नुभएको छ| यसर्थ पुण्यात्मा गुठी तर्फ एवं स्मृति व्यक्तित्व तर्फबाट धन्यवाद टक्र्याउँदछु|”
- केदार गुरुंग
“नेपाली साहित्यको युग पुरुष शरद् छेत्रीज्यूको ६६ औँ जन्म जयन्तीको अवसरमा यस साहित्यिक समागम ले साह्रै मर्मस्पर्शी छाप छाडेको छ, उहाँको स्मृतिमा प्रकाशित गरेर नेपाली साहित्य भण्डार मात्रै नभएर सम्पूर्ण भाषाकै साहित्य अनि साहित्यकारहरुको निम्ति एउटा उदाहरण भयेर गएको छ| भविष्यमा शरद्ज्यू को साहित्यले विश्वमा आफ्नो योगदान दिनेछ|”
- ओम् नारायण गुप्त
आकर्षक रङ्गीन आवरणमा दार्जीलिङबाट देखिने कञ्चनजङ्गा, त्यहाँको सानो रेल र सयपत्री फुलले भरिएको पृष्ठभूमिमा स्वजातीय पहिरनमा तेजिलो व्यक्तित्व शरद् छेत्रीको तस्वीर छ भने पछिल्तिर उहाँका सबै पुस्तकका आवरण लिई प्रस्तुत ‘शरद् छेत्री स्मृतिग्रन्थ’ पूर्व-योजना विपरीत खुबै कम संख्यामा प्रकाशित भएको छ| ‘रचना रजत् जयन्ती कथा प्रतियोगिता २००४’-का लागि शरद् छेत्री अन्तिम निर्णायकको रूपमा रही तयार गरिएको सिक्किम हिमाली भेकका सम-सामयिक पुरस्कृत प्रतिनिधि नेपाली कथा हस्ताक्षरहरुको सङ्गालो ‘रचना कथा अनुष्ठान २००५’ पनि यस पुस्तकसित गुठीको शुभेक्षासाथ दिँइदैछ|
सम्पर्क [email protected]
'समय दैनिक' २२ जून २०१३ मा संक्षिप्त अनि 'हाम्रो प्रजाशक्ति' गान्तोक/ 'स्वर्णभूमि' सिलगढी २४ जून २०१३ र 'हिमालय दर्पण' ३० जून २०१३मा प्रकाशित