
धरोहर-प्रशंसामा
पुस्तक-पत्र-पत्रिकाप्रतिको प्रेम
कर्तव्य, सेवा र लेखन
राजीव शङ्कर श्रेष्ठ
मेरो प्रारम्भिक शिक्षा सन् १९५१तिर रिनाकको ईसाई मिसनरी पाठशालामा ढुङ्गे कक्षाबाट भुइँमा गुरु-गुरुमाले खरी/चकले लेखिदिएका अक्षरहरुमा मकैका दाना लहरै राख्दै लेख्नसिकेको सम्झना छ | त्यस स्कूलको मुनिल्तिर एकपट्टि मिसनकै दवाई-खाना/डिस्पेन्सरी हुन्थ्यो जसका कम्पाउण्डर बाबुबाट मैले औषधि मात्र नभई खोकी लाग्नअघि घाँटी दुख्दा ‘थ्रोट-पेन्ट’ अनि ‘स्मेलिङ्ग सल्ट’ सुँघ्नलाई, घाउ-साउ हुँदा ‘टिन्क्चर आइडीन’ लगाइमाँगेको याद छ | समयसमयमा झाड़ापखाला लाग्दा आवश्यक ‘सल्फागोनाडाइन’ र ‘एन्टरोक्विलोन’ अनि भिटामिन ट्याबलेट उनले दिनेगरेको याद छ | अघिल्तिर थाना हुने गर्थ्यो र त्यहाँ कैदीहरुलाई राख्न रुखको मुढ़ाको ठ्याङ्गरो देखेको सम्झना छ | हाल बजारबाट उकालो लाग्ने पहिलो घुम्तीनिर त्यस ठाउँ सड़क, मास्तिर थाना र अघिल्तिर निजी भवन/पसल छ |
त्यसपछि अर्को साल कालेबुङ आठ माइल छँदा त्यहाँको कन्भेन्ट स्कूलमा ‘सिङ्ग मदर सिङ्ग, मदर केन सिङ्ग...’ पढ़ेको र त्यही सब भएको ‘रेडिएन्ट वे’ पछि मेरा छोरा-छोरी दुवैले पनि यहाँ टी.एन.ए.मा पढ़ेकोले पुरानो सम्झना ताजा भएको थियो | उहिले यो पुस्तक विदेशमा असल कागजमा रङ्गीन चित्रहरुकोसाथ प्रकाशित हुनेगर्थ्यो भने पछि यो ‘एलाइड पब्लिशर्स’ कलकत्ताबाट प्रकाशित थियो |
त्यहाँदेखि म बनारस पुगेको थिएँ आफ्नो पढ़ाईको लागि – अग्रवाल समाज महाजनी पाठशालामा | चौखम्भास्थित यस पाठशालामा काठको पाटीमा ढिका-खरी/चक बाक्लो झोलले तयार गरिएको मसीमा सुकेका उनिउँका डाँठबाट बनिएका तिखारिएको कलम चोप्दै लेख्न सिकेको सम्झना छ | अहिले सम्झिँदा त्यस बेला हामीले गुजराती लिपि पनि सिकेको र साथै बही-खाता लेख्न कक्षा पाँचतिर नै प्रारम्भ गरेको रहेछ | हाल नरेन्द्र मोदीको बनारसमा चुनाउको समय गुजरातीहरुको निकै जनसङ्ख्या त्यहाँ रहेको जानकारीमा आउँदा त्यस समय हामीले किन सिक्नपरेको अनुमान गर्नसकेको छु | सन् २००६मा बनारस-गयाको पौष पितृ श्राद्धको लागि त्यहाँ जाँदा मेरो पुरानो स्कूल सश्रद्धा नमन गर्न पुगेको थिएँ | भाग्यवश त्यहाँको पाले पनि मेरा समकालीन भएकोले गर्दा त्यस बेला प्राङ्गणमा एक भित्तामा प्रार्थना उहिले हामीले बिहान गर्ने गरेको प्रार्थना ‘हे प्रभु आनन्ददाता ज्ञान हमको दीजिए’को स्थान अर्कै प्रार्थना पाएको स्मरण गराएको थिएँ उनलाई मैले | अघिल्लो दिन मेरी मुमाले मलाई चालीस सम्मको पहाड़ा सुनाउनु भनेकी थिइन् तर उहाँको अकस्मात् देहान्तले मेरो सब पढ़ाई अझ अधुरो रहेको लाग्छ |
गर्मीको छुट्टीमा रिनाक आएको बेला ललिता, बीनादिदीहरुले साँझ चउरमा खेल्दा ‘भाई त अखबार पनि पढ़्ने भएछ’ भनेको सम्झना छ – बनारसमा ससाना छँदा ‘आज’मा सधैँ आउने ‘मेनड्ेक’ र ‘फेन्टम’का चित्र-कथा /कमिक स्ट्रिप र साप्ताहिक बाल परिशिष्ट पढ्ने गरेकाले त्यसो भनेका थिए | ‘उदय’का अङ्कहरु समयसमयमा हेर्न पाउँथे कारण पल्लो घर छिमेक यसका सम्पादक-प्रकाशक स्वर्गीय काशीबहादुर श्रेष्ठको थियो | तीर्थ जाँदा त्यहाँ हामी – म, मेरी श्रीमती रञ्जना, छोरा रमण र भान्जा नीलाभ – उहाँका छोराहरु दुर्गादाई र विजय दाईका परिवारसित बसेर स्नेहमय आतिथ्य प्राप्त गर्ने साथै आफ्नो पुरानो घर सपरिवार परिभ्रमण गर्ने दुर्लभ सौभाग्य जुरेको थियो | सन् १९३७ देखिका ‘उदय’का सम्पूर्ण अङ्कहरुको सँगालो हेर्ने सुअवसर प्राप्त हुनको साथ यो कुरा पनि जान्नमा आयो कि ‘उदय’का पुराना अङ्कहरुको यस्तै एक सङ्ग्रह नेपालको ‘मदन पुरस्कार पुस्तकालय’मा पनि सुरक्षित छ | ‘उदय’मा मेरा परिचित हरुका प्रथम लेखन नरबहादुर दाहालको कहानी ‘क्रिसमसको रात’ (१९५७), गोपीनारायण प्रधान*को कविता ‘स्वर्णिम प्रभात’ (१९६३), नगेन्द्रबहादुर थापाको ‘पागल’ (१९६३) सिक्किमका शैलेशचन्द्र प्रधानको निबन्ध ‘बर-पिपल’मा थकाइ मार्दा’ (१९६२) र चन्द्रकला सिन्चेउरीको कविता ‘ओइलाएको फूल’ (१९६४) प्रकाशित देखें | मेरा काका लक्ष्मीशङ्करलाल श्रेष्ठ*का कविताहरु पनि यसमा शुरुदेखि बराबर प्रकाशित भएको पाएँ | ‘उदय’को पुनर्प्रकाशन भएर १५३ औँ अङ्क हामी समक्ष चाँड़ै नै आउँदैछ |
मेरो माध्यमिक पढ़ाई गान्तोक सन् १९५६मा आएर शुरुभएको थियो | त्यही सालतिर मेरा सानु मामा मोहनप्रताप प्रधान लगायत अन्यको पहलमा ‘सिक्किम हेरल्ड’को प्रकाशन शुरु भएकोले यसका प्रतिहरु हेर्ने सुअवसर जुरेको थियो | त्यस ताका अर्को स्थानीय पत्रिका भारत सरकारको पक्षबाट सूचना सेवा ‘समाचार बुलेटिन’, अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रकाशित हुने गर्थ्यो अनि मासिक ‘प्रगति’ पनि प्रकाशित हुनेगर्थ्यो | ससाना छँदा नै ‘इन्द्रकील पुष्पाञ्जली’ पत्रिका देखेको सम्झना छ – पहेंलो आवरणमा हरियो रातोमा मुद्रित भएको अङ्क जस्तो लाग्छ | पछि अखिल सिक्किम छात्र सम्मेलनको ‘दि पोलस्टार’ (१९५७) पत्रिका पनि सानु मामाको घरमा देखेको सम्झना छ | यसको पछि ‘ध्रुव-तारा’ भएर १९६१मा प्रकाशित भएको जानकारी यसको दोस्रो संस्करण २०११ सालमा प्रद्युम्न श्रेष्ठद्वारा प्रकाशित पुस्तकबाट थाहा लाग्छ | सम्पादक महानन्द पौड्यालका तीन लेखहरु अतिरिक्त यसमा बुद्धिमाया सिँह*, हरिप्रसाद वशिष्ठ*, ठाकुरप्रसाद उपाध्याय, गरुड़सिँह लामा, लक्ष्मी प्रधान, गीता शर्मा, अमृता सिँह, र सन्तबहादुर राईका लेखहरु यसमा पाइन्छ | त्यही बेलातिर बड़ा कोठीबाट उपलब्ध गराइएका पत्रिकाहरुमा ‘साप्ताहिक हिन्दुस्थान’, ‘धर्मयुग’, ‘आजकल’, ‘योजना’ आदि नियमित रूपले स्कूलहरुले पाउने गरेका अनि मेरा बुवा रिनाक सरकारी स्कूलका ‘हेड सर’ भएकाले हामीले कलेज छँदासम्म ती सब हेर्ने-पढ़्ने सुअवसर प्राप्त गरेका थियौं | यस अतिरिक्त म स्वयम् ‘हिन्द पुस्तक’ले शाहदारा दिल्लीबाट सञ्चालित ‘घरेलु पुस्तकालय योजना’को सदस्यता सन् १९६१मा ग्रहण गरेकोले हरेक महिना रू. १/-को दरले (पछिपछि अलिक ठूला रू. २/- अनि रू. ५/- मूल्यका) प्रकाशित उत्कृष्ट हिन्दी साहित्यका चार-पाँच पुस्तकहरु नियमित रूपले भी.पी.पी.द्वारा पाउने गर्थें | यीमध्ये अधिकाङ्श पुस्तकहरु हामीले सन् १९८०तिर सुवास ‘दीपक’द्वारा सम्पादित साप्ताहिक ‘विचार’मा प्रकाशित एक विज्ञप्तिद्वारा थाहा लागेर डा. शान्ति छेत्रीको पहलमा ‘नेपाली साहित्य परिषद्, सिक्किम’को पुस्तकालय सहयोग अभियानअन्तर्गत् गणेशकुमार प्रधानको सुझाउमा दिएका थियौं | हाम्रोमा नियमित रूपले ‘नवनीत’, ‘कादम्बिनी’, ‘सारिका’, ‘सरिता’, ‘माया’, ‘मनोरमा’, ‘चन्दामामा’ ‘विसडम’, ‘इलस्ट्रेटेड वीकली अफ् इण्डिया’, ‘केराभेन’, ‘इमप्रिन्ट’, ‘करेन्ट’, ‘करियर एण्ड कोर्सेस’ ‘करेन्ट इभेन्ट्स’,फिल्मी पत्रिकाहरुमा ‘रंगभूमि’, ‘स्क्रिन’, इत्यादि मासिक पत्रिकाहरु बाहेक साप्ताहिक रविवासरीय ‘हिन्दुस्थान स्टेण्डर्ड’, आर के. करंजियाको ‘ब्लिज़’ समाचार-पत्र पनि समयसमयमा आउने गर्थे | ‘दीयो’ र ‘दियालो’ कलेज छँदा पढिंथ्यो | कतिपय पुस्तक र पत्र-पत्रिकाहरु गान्तोक छँदा देवान*को ‘जेनेरल स्टोर्स’बाट लिनेगर्थें जहाँ उनका कर्मचारी जैन अनि मणि भाई हुनेगर्थे | यो पसल नगरको केन्द्र-स्थलमा अवस्थित यहाँका अति लोकप्रिय व्यक्तित्व अनि रिनाक काजीका सुपुत्र, हाम्रा मामाहरुसित पनि खुबै स्निग्ध सम्बन्ध रहेका छिटेन टाशी* परिवारद्वारा निर्मित एक विशाल भवन ‘लाइट अफ् सिक्किम’ जहाँ आज पनि ‘स्टेट बेंक अफ् इण्डिया’को मुख्य शाखा अनि मुन्तिर ‘छिटेन टाशी एण्ड संस’ फोटो पसल देख्नसक्छौं हुने गर्थ्यो | दार्जीलिङ सरकारी कलेज छँदा पाठ्य-पुस्तकहरु जज बजारको ‘घोष एण्ड संस’ र ‘दत्त’बाट अन्य पत्र-पत्रिका लाडेनला रोड ‘स्टेट बेंक अफ् इण्डिया’मुन्तिर अवस्थित ‘एस. लेखराज’ अघिल्तिरको ‘नेशनल बुक स्टल’बाट लिनेगर्थ्यों | त्यसताका यात्रा सुविधाजनक भएकोले कालेबुङ भएर रिनाक घर आउने-जाने गरेकोले गर्दा त्यहाँ ‘काशीनाथ एण्ड संस’बाट आफ्ना पठनपाठन सामग्रीहरु किन्ने गर्थेँ | पछि मणि कालेबुङमा त्यहीं भेटे जस्तो लाग्छ | सेन्ट अगस्टिन स्कूल पढ़दैगरेका विधान मामाबाट एक-दुई अङ्क देखेर ईसाई धर्म प्रचार गर्ने पत्रिका ‘अवेक’मा कतिपय लेखहरु सामान्य ज्ञानवर्धक साथै चाखलाग्दा हुनेगर्ने र यो सित्तै पाइने गरेकाले डाकद्वारा बराबर आउँथ्यो | सन् २०१०मा अमेरिका छँदा न्यूयोर्क हो कि बोस्टन शहर पस्दा ठूलो अट्टालिकामा ‘अवेक’ टाढ़ैबाट स्पष्ट देखिने गरी राखेको सम्झना छ | अमेरिकन दुतावास सूचना सेवाद्वारा प्रकाशित ‘स्पेन’ पत्रिकाको ग्राहक भएकोले नियमित रूपले आउनेगर्थ्यो भने यो आज पनि छोरा रमणले सौजन्यस्वरूप प्राप्त गरेकोले मलाई पनि हेर्न जुरेकोछ पचास वर्ष बितेर पनि !
हामीलाई मात्र नभई मेरी मुमालाई पनि ससाना छँदा नै माइली मुमा वृन्दादेवीले नियमित रूपले पाउन हुने मासिक पत्रिका ‘अखण्ड ज्योति’ र ‘कल्याण’ अतिरिक्त गीता प्रेसका अन्य पुस्तकहरु हेर्ने-जान्ने अवसर साथै पुस्तक पढ़्ने शौक लागेको थियो | उहाँका पति हीरामानसिँह जोशीको पहिले निधन भएकोले मलाई केही सम्झना छैन तर छोरा रमेशकुमार प्रधान सिक्किमका प्रथम कृषि स्नातक हुन् अनि सन् १९६०को उत्तरार्धमा स्वेच्छापूर्वक अवकाश ग्रहण गरेर टिस्यु-कल्चर पद्धतिबाट सर्वप्रथम सुनाखरी र अन्य उद्भिद् उमारेर सिक्किम-हिमाली क्षेत्रका लागि अभूतपूर्व योगदान पु-याएका हुन् | राई साहेब रत्नबहादुर प्रधानका ज्वाईं साहेब भएकाले हीरामानसिँह उहाँका भाई बाबु दुर्गाशमशेर प्रधानमाझ सम्बन्ध कायम राख्नमा मुख्य भूमिका निर्वाह गरेका थिए | यहाँसम्म कि दुवैका छोरीहरु मेरी मुमा करुणादेवीको बनारसमा र उहाँकी जेठी छोरी प्रतिमादेवीको कलकत्ताका तुलसीलाल श्रेष्ठ*सित एकै दिन एउटै लग्न र एउटै मण्डपबाट विवाह सम्पन्न हुनगएको थियो | शायद धेरै यस कुराबाट आजसम्म पनि अनभिज्ञ होलान् कि यी दुई भाई मिलेर जसरी ‘चन्द्र नर्सरी’लाई विश्वव्यापी स्तरमा नै अन्तर्राष्ट्रिय ख्याति राख्दै आफ्नो, आफ्ना परिवारको र सिक्किम जस्तो सानो राज्यलाई कीर्तिमान राख्न सम्भव गराए ती दुवै एकै मुमा-बुवाका सन्तान भएर पनि आपसमा भने बोलीचालीसमेत थिएन | यहाँ नै हीरामानसिँह जोशीको मध्यस्थता-भूमिका महत्वपूर्ण हुनगएको थियो | पछि उनका भतिजा राई साहेबका साइँला ‘ज्वाईं बाबु’ सूर्यमानसिँह जोशीको पनि केही यस्तै भूमिका देख्न-जान्न आइन्छ तर सम्पन्न परिवारको तीतो बण्डा भइसकेको थियो |
---
सन् १९७१मा म भोटाङको शाही सरकार अन्तर्गत् मानस अभायारण्यमा सेवारत थिएँ | कलेज छँदाका मित्र प्रेम प्रधानको अनुरोधमा भरत यादव* सम्पादित पहिलो नेपाली डाइजेष्ट ‘हिमालोक’को लागि त्यहाँबाट केही लेखहरु पठाएको अनि प्रकाशित भएका थिए | यसअघि त्यही साल जनवरीतिर सिक्किम सरकारको सूचना एवं जन-सम्पर्क विभागको लागि डीन गेस्परद्वारा सम्पादित ‘सिक्किम हेरल्ड’ अङ्ग्रेजीमा मेरो ‘वाइल्डलाइफ अफ् सिक्किम’ अर्थात् ‘सिक्किमका वन्य जीव’ शीर्षक लेख प्रकाशित भएको थियो | यस लेखले पनि त्यहाँ सेवारत हुने अवसर प्राप्त गर्न सुगम भएको लाग्छ |
सन् १९७२मा सिक्किम सरकारमा नियुक्ति भए पश्चात् मेरो लेखन प्रयासमा विराम लागे जस्तो भएको थियो | गृह विभागमा पहिलो वर्षपछि वित्त विभागमा अवर सचिव देखि सह-सचिव, संयुक्त सचिव (१९८९) , विशेष सचिव (१९९४) हुनका साथै यहीबिच दोस्रो वेतन आयोगमा सचिव (१९८४), जिल्लाधीश (दक्षिण १९८५ नाम्ची), वेतन र लेखा अधिकारी (१९८५) आयकर र बिक्रीकर संयुक्त सचिव (१९८७) जस्ता पदमा रहँदै आफ्नो सेवा पु-याउनमा व्यस्त भई केही लेख्न सम्भव थिएन र भएन | राज्यको वित्त विभाग अधीनस्थ एकमात्र वेतन र लेखा अधिकारी भएकोलेगर्दा यहाँ कर्मचारीहरुको भविष्य निधि कोषमा हरेक महीना सञ्चयित रकमलाई सुरक्षित र संरक्षित राख्न खुबै उपयोगी ‘पास बुक’को व्यवस्था प्रारम्भ गर्नु पर्ने मेरो प्रस्तावलाई के कारणवश हो स्वीकृति त्यस बेला नभएको र यसलाई केही वर्षपछि मात्र व्यवहारमा ल्याइएको स्मरणीय छ | त्यहाँ नियमित तौरले वेतन वृद्धि भएकोलाई सुगम र सहजतासाथ परिणत गर्न वेतनमानको आधारमा वेतन निर्धारित गर्न ‘निर्धारण तालिका’ तयार गरी पुस्तिका प्रकाशन गरेको पनि स्मरणीय छ | यसले लेखा कर्मचारीको समयसँगसँगै दिमागी परिश्रमको पनि बचत हुनकोसाथ सही र ठीक रकम प्राप्त हुनगएको थियो |
भारतीय प्रशासनिक सेवाअन्तर्गत् सिक्किम राज्यको निम्ति नियुक्त एक अधिकारी हुनाले केही समय केन्द्र सरकारलाई पनि दिनु पर्ने सेवा-नियममा प्रावधान भएकोले (यद्यपि सबैलाई यस्तो नियम समान रूपले लागु नगरिएको) सन् १९९०मा मेरो प्रतिनियुक्ति भारतको जनगणना १९९१को निम्ति सिक्किमको लागि निदेशक हुनपुग्छु | यहाँ व्यापक प्रचार-प्रसारको निम्ति सामग्रीहरु अङ्ग्रेजी र नेपाली दुवै भाषामा तयार गर्नपरेकोले मेरो लेखन-पठनप्रतिको अभिरुचिले केही प्रोत्साहन प्राप्त गरेको अनुभव गर्छु आज जीवनको सन्ध्याकालमा आइपुगी सम्झिँदा | यहाँ हामीले जनगणनापश्चात् प्राप्त विभिन्न परिणामका तथ्याङ्कहरु अनेकौं पुस्तक-पुस्तिकाहरू समय-समयमा तयार गरी प्रकाशित गरी सार्वजनिक गर्नुपर्थ्यो | यी सब तथ्याङ्कहरु सङ्ग्रह, विश्लेषण र अध्ययन साथै पछिल्ला दशक हरुमा प्राप्त परिणाम हरुसित तुलनात्मक अध्ययन आधारित हुनपर्ने भएकोले समय लाग्नु स्वाभाविक थियो | कोही यी कार्यहरुमा लाग्थे भने कोही अन्य उपयोगी क्रिया-कलापमा व्यस्त हुन्थे | यसै अवधिमा यहाँको एक गाउँलाई लिएर विशेष अध्ययन गरी एउटा अलग्ग विशेष पुस्तक निकाल्नुपर्थ्यो | यो हामीले एक समर्पित र कुशल सहकर्मी को लगन र परिश्रमले पाकिम महकुमा अन्तर्गत् डिकलिङ्ग गाउँलाई लिएर गरेका थियौं | यी सब प्रकाशनहरुमा विशिष्ट हुन्छ त्यस जनगणनाको निचोड़ जिल्ला-जिल्लाको तथ्याङ्कहरुको साथ राज्यको एक प्रतिवेदन हामीले प्रस्तुत गरेका थियौं | अनेक मानचित्रहरुसहितको ‘श्रृङ्खला २२’मा यो ३०० पृष्ठको बृहत आकारको महत्वपूर्ण पुस्तक ‘डिस्ट्रिक्ट सेन्सस हेन्डबुक’को नामले परिचित छ र यो | यस कार्यमा अन्वेषक मोहनकुमार दर्जीले प्रमुख अनि साथमा आर. एस. त्यागी, एच.एस.पी. गुप्त र एम लेप्चा बाहेक त्यहाँ पी.के. छेत्री, राय, जोह्न जोसेफ र अन्य पनि सेवारत सबैले आआफ्ना आवश्यक भूमिका निर्वाह गरेकाथिए |
यहाँ यो प्रसङ्ग मेरा पाठकहरुलाई जान्न चाखलाग्ला कि यसमा राज्यको सङ्क्षिप्त इतिहास राखिएको जस जस अन्तर्गत् ‘विजय पुर सिक्किम’ वर्णन गरिएको पाएर यसको सन्दर्भ-स्रोत जान्न उत्सुक पूर्व विधायक अनि अधिवक्ता नरबहादुर खतिवड़ा मलाई भेट्न सन् २००३ जूनमा मेरा बुवाको स्वर्गारोहण भएकोले कोरामा भएकै बेला मलाई भेट्नआएकाथिए | उनले यो कुरा भनेनन् कि उहाँ केही वर्षअघि अमेरिका भ्रमण छँदा मेरी निनी गिरिजादेवी*को हातबाट दशैंको टीका-आशीर्वाद थापेका थिए, थाहा भएन कि बिर्से कारण सिक्किमबाट पुगेकाले मेरा आफन्तहरुले अवश्य बताए होलान् कि यता उनीहरुका कोही नातादारहरु पनि छन् भनेर |
---
वर्ष १९९६मा सूचना एवम् जन-सम्पर्क विभाग सँगसँगै मुद्रण एवम् लेखन-सामग्री अनि चुनाउ विभागमा सेवारत हुनपुगें | केही अभूतपूर्व र अद्वितीय योगदान दिने विचारले मैले सन् १९५६मा सर्वप्रथम प्रकाशित चार दशकदेखि त्यही रङ्ग रूपमा प्रस्तुत भईरहेको ‘सिक्किम हेरल्ड’लाई आधुनिकतम फोटोअफसेट पद्धतिमा एक नञा अवतारमा अवतरण गराउने सुअवसर विभागीय सचिव पदेन मुख्य सम्पादकको हैसियतमा मैले प्राप्त गरेको थिएँ | यस कार्यबाट प्रसन्न अनेक पक्षबाट बधाई प्राप्त भएको थियो | प्रत्येक दोस्रो दिन सम्पादकीय साथै सामान्य रुचिका विषयमा लेख आदि राखेर नियमित रूपले सुलभ मूल्य रू. १/- मा सर्वत्र उपलब्ध गराइएको थियो | यही बेला अन्य राज्य मान्यता-प्राप्त भाषासँगै नेवार भाषामा पनि एक नञा संस्करण प्रस्तुत गर्ने अनि अन्य भाषाका संस्करणहरु समेतलाई रङ्ग-रूप र सज्जामा नवीनता प्रदान गर्ने सौभाग्य जुरेको थियो | यस बेला सीमित आर्थिक संसाधन भएपनि सिक्किम सरकारको सरकारी काम-काजको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नमा पनि केही विशिष्टता साथ प्रस्तुत गरेर नञा आयाम थपेको थिएँ जस्तो लाग्छ कारण मुख्य सचिवले पनि सराहना गरेका थिए मेरा प्रयासलाई |
कुनै समय तीन-तीन विभागहरुको अभिभारा ग्रहण गरेको तर सन् १९९८मा सांस्कृतिक मामिला एवम् धरोहर विभाग पुगें | छ: महीनाजतिको समय पाए ता पनि यहाँ छँदा भारतको स्वतन्त्रताको ५० वर्षको सालभरि राज्यव्यापी तौरमा मनाउँदै राजकीय समापन समारोह १५ अगस्तको दिन सम्पन्न भएको थियो | साँझ इन्डोर स्टेडियममा आयोजित सांस्कृतिक समारोहमा राज्य अनि राज्यबाहिरबाट आमन्त्रित कलाकारहरुद्वारा प्रस्तुत रङ्गारङ्ग कार्यक्रम रातभरि नै अप्रत्याशित दर्शकहरुको उत्साह र सहभागिताले चलेको थियो | यद्यपि यसको आधिकारिक समाप्तिको घोषणा मध्यरात आतिशबाजी र पटेकाहरु पड्काएर गरिएको थियो | यसको कस्ट पछिसम्म स्थानीय केबलले देखाएर मानिसले मनोरन्जन प्राप्त गरेका थिए | चाँड़ै मात्र श्रम विभाग प्रमुख भएर सेवा पु-याउने सरकारको निगाह भएको थियो | यो पनि शीघ्रातिशीघ्र छ: महीनामा नै अन्त हुनगई राज्यको विज्ञान एवम् प्रद्योगिकी विभागमा १९९९मा स्थानान्तरण भएकोले यहाँ अवसरहरु प्रशस्त भएको मलाई लागेको थियो कारण विज्ञान पृष्ठभूमिसाथ शिक्षा ग्रहण गरेको हुनाले राज्यप्रति योगदान समर्पण गर्न सम्भावना पनि प्रचूर देखेको थिएँ | नत्र भने यस्ता ससाना विभागहरुलाई अवाञ्छित कर्मचारी र अधिकारीहरुलाई ठेगाना लाउने वा पन्साउने ठाउँको रूपमा प्रसिद्धि प्राप्त थियो | म मेरा सबै सहकर्मी कर्मचारी र अधिकारीहरुलाई जहाँ भए पनि, जुनै पनि पदमा नियुक्ति भएपनि आफ्नो सेवा प्रदान गर्ने कर्तव्य पालनको साथै आफुमा भएका सुसुप्त गुण र क्षमता-विकाश गर्नमा उपयोग गर्न सके पछि गएर आफैलाई लाभ हुने भन्ने गर्थेँ | सरकारबाट प्राप्त अनि रकम पनि तिरेको समयभित्र यदि त्यहाँ भित्रको सेवा परिधिभित्र रहेर केही अतिरिक्त योगदान राज्यलाई पु-याउन सके त्यसले स्वयम् -को सीप विकास गर्न खुबै मदतगार सिद्ध हुने भनी केही न केही विशेष सेवा-योगदान प्रदान गर्ने आग्रह गर्ने गर्थे | कतिपयले यस्ता समय आफ्नो निजी स्वार्थद्वारा प्रेरित भएर सरकारी ठिका-बिघामा पनि हात हालेको जान्नमा त्यस बेला पनि सुन्न आएको हो तर त्यो सरकारी पद र समयको दुरुपयोग हो | संयुक्त सचिव के.एस.तोब्गे*को पहलमा विभागीय प्रकाशन ‘इनफिनिटी’ अङ्ग्रेजी मासिकको नेपाली संस्करण ‘अनन्त’ पनि अनुवाद-सम्पादन गरी निकाल्ने अवसर मलाई यहाँ जुरेको थियो | हामीसित स्वदेशी मात्र नभई छिमेकी मुलुक नेपालको ‘इसिमोड’ जस्ता शीर्षष्थ संस्थाका असल प्रमाणित प्रविधिहरु अङ्ग्रेजीमा प्रशस्त मात्रामा उपलब्ध तर ती सब प्रयोगकर्ता कृषकहरुसम्म पुग्न नसकेको पाएँ | ती सब सामग्रीलाई एकै ठाउँ एकत्रित गरी अनि त्यो पनि आफ्नै भाषा नेपालीमा उपलब्ध गराउन स्वयम् द्वारा अनुवाद गरी एक सङ्कलनको रूप दिएँ | सन् २००१ विश्व पर्यटन दिवसको दिन सिक्किमका राज्यपाल केदारनाथ साहनी*का बाहुलीबाट लोकार्पित ‘विकासको गोरेटो ग्रामीण प्रौद्योगिकी – कम दाम धेर ज्ञानका सठीक सुझाउहरु’ पुस्तक आकारमा प्रकाशित हुने देखेर सन्तुष्ट भई प्रकाशनको निम्ति मुख्यमन्त्रीले आफ्नो स्वेच्छा कोषबाट आर्थिक सहयोग अगावै प्रदान गरेकाले प्रोत्साहित भई यसको सी.डी.रोम पनि तयार गरेको थिएँ | यस विषयको यो नै प्रथम पुस्तक र यसको सी.डी.रोम नेपाली साहित्य जगत् कै कुनै पुस्तकको निम्ति सर्वप्रथम भई कीर्तिमान स्थापित हुनगएको थियो |
सिक्किम विधान सभामा मेरो प्रतिनियुक्ति २००३मा भएकोले यहाँ पनि मेरो अङ्ग्रेजीमा बृहत रङ्गीन पुस्तक ‘सिक्किम : थ्री डिकेड्स टुवर्ड्स डेमोक्रेसी’ प्रकाशित भएर राज्यमा विधायक प्रणालीको इतिहास साथै विकासको सर्वेक्षण गर्न सफल भएको थियो | देशका राष्ट्रपति ए.पी.जे. अब्दुल कलाम लाई सिक्किम भ्रमण छँदा टक्र्याइएको थियो भने लोकसभा अध्यक्ष सोमनाथ च्याटर्जीलाई स्वयम् त्यहाँ गई व्यक्तिगत रूपमा चढ़ाइएको थियो | यो पुस्तक राज्यमा बाहेक देशका अनेक विधान सभाका मात्र नभई यूरोप र अमेरिकाका कतिपय विश्वविद्यालयका पुस्तकालयहरुमा पुगेको छ | यसअघि त्यहाँछँदा नै ‘हेरिटेज कन्जरभेशन’, ‘धरोहर सुरक्षा’ अनि ‘मोटीभेशन – स्किल्स एण्ड टेकनिक्स’ पुस्तिकाहरूको विमोचन राज्यका मुख्यमन्त्री, अध्यक्ष र उपाध्यक्षद्वारा ‘विश्व राष्ट्र मण्डल दिवस’ ८ मार्च २००५को दिन एक भव्य राजकीय समारोहमा भएको थियो | त्यही दिन राज्य विधान सभाकी प्रथम महिला अध्यक्ष कलावती सुब्बाको सम्मानमा अनि सम्भवत: प्रथम पटक नै राज्यमा ‘विश्व महिला दिवस’ पनि विधिवत् राज्यस्तरमा पालन गरिएको थियो |
सन् २००६ मार्चमा सांस्कृतिक मामिला एवम् धरोहर विभागमा दोस्रो पटक पुगेको थिएँ तर यो पनि फेरि छ: महीना मात्र थियो | सेप्टेम्बरमा मलाई खेलकूद एवम् युवा मामिला विभागमा पठाईएको थियो जब कि राज्य सरकारका धेरै जस्ता कर्मचारी-अधिकारी ५८ वर्षमा सेवानिवृत्त हुन्छन् अनि आई.ए.एस. भएकोले म स्वयम् पनि यसको प्रतीक्षामा थिएँ कारण ६० पुग्न अझ केही महीना बाँकी नै थियो | यदि मनमा केही अभूतपूर्व योगदान दिने निश्चय छ भने उमेरले पनि छेकाबार लगाउँदैन | वर्षेनी झैं त्यो वर्ष पनि प्याराग्लाईडिङ्गको लागि पर्याप्त कोष उपलब्ध थियो अनि जोरथाङ्ग माघे मेलामा मनालीबाट पायलटहरु आमन्त्रित गरी यो आयोजित गर्ने प्रस्ताव मेरोअघि थियो | मैले यसो नगरेर आफ्नै युवाहरुलाई बरु क्षमता-विकाश योजनाअन्तर्गत् त्यहाँ पठाई तालीम दिएर पायलट बनाउनु पर्छ भन्ने मेरो प्रस्तावलाई विभागीय मन्त्रीले पनि मन पराएकाले मुख्यमन्त्रीबाट स्वीकृति प्राप्त भयो | हामी स्वयम् यसको निम्ति प्रबन्ध हेर्न र आवश्यक तारतम्य मिलाउनकोलागि मनाली पुग्यौं | आफु मात्र न भई सँगै गएकी श्रीमती, अमेरिकाबाट आइपुगेकी छोरी रचना अनि संयुक्त सचिव कर्म युगेल पनि सोलङ्ग घाटीमा प्याराग्लाईडिङ्ग गर्दै उड़ेको भिडिओ ल्याएर यहाँ संवाददाताहरु निम्त्याई एक सभा डाकी देखाएर स्थानीय केबल सेवाद्वारा पनि समाचारमा प्रसारित हुनगई युवाहरुमा हौसला खुबै बढ़्नगएको थियो | हाल यहाँ प्याराग्लाईडिङ्ग एक साहसिक खेलको रूपमा फुल्न-फल्न लागेको देख्छौं त्यही प्रशिक्षण प्राप्त गरेका ती आँटिला युवाहरुको अथक परिश्रम, लगनशीलता र समर्पणको नै परिणाम हो | यसबाट सरकार खुशी भएर नै हो कि त्यहाँबाट नौ महीनामा नै मलाई राज्य योजना आयोगमा अर्को छ: महीनाको लागि सलाहकारको हैसियतमा नियुक्ति गरेको थियो | हुन त यसअघि त्यहाँ मलाई एक सदस्यको रूपमा पनि नियुक्ति दिएको थियो तर त्यो झन् एक महीनाको लागि मात्र थियो र म अघि भने झैं दोस्रो पटक सांस्कृतिक मामिला एवम् धरोहर विभाग पुगेको थिएँ |
कुनै कर्मचारी वा अधिकारीलाई जहिले भए, जहाँ पु-याए पनि त्यसरी स्थानान्तरण छाड़ी बिना कुनै ठोस कारणवश षड्यन्त्रवश वा फ्यातुलो दोषारोपण गरी कसैलाई सेवाबाट निलम्बन गर्नसमेत स्वामी/सरकारको इच्छा अनि विशेष अधिकार पनि हो | सरकारले जीवन-यापनको निमित्त दिने तलब, सुख र सुविधा हामीलाई दिइएको नै हुन्छ | त्यसर्थ त्यहाँ सेवा पु-याउनु हाम्रो परम कर्तव्य हुनकोसाथै सो एक नौकरीदारको कर्तव्य-परिधिभित्र आउँछ | यसलाई कुनै सजाय नठानेर एक वरदानस्वरूप अज्ञात अवसर स्वीकार गरी सकारात्मक रुपमा ग्रहण गरे के थाहा कुनै समय त्यस्तै विभागमा परेर आफ्नो सुसुप्त गुण वा सीप प्रज्वलित भएर ज्ञानदायक प्रकाशमय मुहान भई अविरल आनन्द र परम सन्तुष्टिको स्रोत बन्नजाँदछ | यी अनुभवहरु पछि गएर कुनै दिन सेवानिवृत्त जीवनको सन्ध्याकालमा ती सब तीता-मीठा कुराहरु सम्झिँदै मलाई झैं यसरी रहेको समय सदुपयोग गरी पाठक-मित्रहरुसमक्ष आफ्ना तीता-मीठा संस्मरणहरु लेखेर राख्न सहायक बन्नजान्छ कि - के थाहा !
० ० ०
दृष्ट्व्य : यहाँहरुसमक्ष प्रस्तुत लेख काल्पनिक नभएर सम्झनाको भरमा कोरिएका व्यक्तिगत भावना मात्र भएकाले यसलाई कुनै शोधार्थीको गहन अध्ययन आधारित वा कुनै साहित्यकारको संस्मरण नभई केही घट्नाक्रमलाई, जसअन्तर्गत् बिचबीचमा केही गल्छेँड़ो हुँदै, समाजप्रति गुण फर्काउने उद्देश्यले अभिप्रेरित एक निजी प्रयासको रूपमा भएकाले त्यतिकै मात्र लिइदिनहुन आग्रह गरिन्छ | कतिपय नाम सन्दर्भको निम्ति (तारा*चिन्ह दिवङ्गतहरुसमक्ष राखेर) अनि ती सबसित जोड़्ने प्रयासमा आवश्यक भएकाले राखिएका हुन् - यस अतिरिक्त अन्यथा अन्य केही अभिप्राय नरहेको स्पष्ट गर्नचाहन्छु | यस लेख अङ्ग्रेजीमा पनि उपलब्ध छ | आफ्ना प्रतिक्रिया साथै सुझाउ, संशोधन र अतिरिक्त जानकारीको लागि सम्पर्क गर्नुहोस् इमेल : [email protected] फोन 94340-22677 / 03592-202677 ‘रचना’, मनन् भवन अघिल्तिर, डेभेलपमेण्ट एरिया, गान्तोक ७३७ १०१ सिक्किम भारत |
---
'हिमाली बेला' आइतवार ०३ अगस्त २०१४ गान्तोकबाट पनि प्रकाशित छ |