व्यक्ति-विशेष
प्रेम प्रधान – नयाँ क्षितिज खोज्दै - भाग १
राजीव शङ्कर श्रेष्ठ
प्रेम प्रधान अर्थात् प्रेमचन्द्र प्रधान अझ हामीलाई केवल प्रेम – कति निकटका मित्रहरुले उनलाई ‘छोरालाल’ भन्थे हाम्रा प्राध्यापक बाबुलाल प्रधानका छोरा भएकाले |
प्रेमसित मेरो पहिलो पटक भेट दार्जीलिङ सरकारी कलेजमा १९६४मा प्रथम वर्ष साइन्स कक्षामा भेट भएको | सम्भवत: केमिस्ट्री कक्षामा कारण मेरो जुलोजी अनर्स र उनको बोट्नी अनर्स भएकोले यी दुवैमा भेट्ने कुरै भएन अनि रह्यो तेस्रो विषय सो केमिस्ट्री भएकोले त्यसो लागेको हो | जुलोजी अनर्स कक्षामा कालेबुङका (वर्तमान स्थानीय अध्यक्ष अखिल भारतीय नेवार सङ्गठन) नन्दनारायण प्रधान पनि केही समयका लागि सँगै थिए | पछि बोट्नी कक्षामा भेट भएका सहपाठीहरुमा देवकी प्रधान, सुलेखा सिन्हा, ज्योत्सना प्रधान, गङ्गा गुरुङ, मीना श्रेष्ठ, देशरत्न सुब्बाको नाम सम्झनामा आउँछ | केमिस्ट्री कक्षामा भेट हुनेहरूमा मनबहादुर तामाङ्ग, धनसिंह मोक्तान, फुर्बा लामा, दुर्गाप्रसाद शर्मा, ओङ्गछेन लक्सम (दुवै गान्तोक टाशी नामग्याल एकाडेमीमा केही समय कक्षा ६मा मसँगै थिए र सन् १९५७ सालमा छात्रवृत्ति पाएर बिड़ला विद्या मन्दिर नैनीताल पढ्न गए) सावित्री मुखिया, विष्णु घिसिंग, गीता कुमारी आदि थिए | यी दुवै विषय बोट्नी र जुलोजीका लागि उत्तर बङ्ग विश्वविद्यालयको स्नातकोत्तर कक्षा त्यहीं कलेजमा भएकाले पछि प्रेम र देशरत्न बोट्नी लिई एम.एस्सी.मा भर्ना लिए भने मैले जुलोजीमा – साल १९६९ तीनैजना उत्तीर्ण भयौं | सन् १९६७मा बी.एस्सी. अनर्स सिद्ध्याएर वीरगन्जमा श्री माइस्थान विद्यापीठमा केही समयको लागि शिक्षक भई सेवारत् छँदा एस.एल.सी. स्तरमा त्यहाँ शिक्षाको माध्यम नेपाली भएको तर विज्ञान विषय विशेषत: जीव विज्ञानमा पाठ्य-पुस्तकको त्यसताका अभाव देखेर तत्कालीन श्री ५ को सरकारद्वारा स्वीकृत पाठ्यक्रममा आधारित त्यस जाड़ो महिनामा तल्लीन भई अङ्ग्रेजी/वैज्ञानिक नामहरुको नेपाली शब्द प्रयोग गरी मेरो पहिलो पुस्तक ‘सरल जीव विज्ञान’ बीस वर्षको उमेरमा १९६८ जनवरीमा तयार गरें | स्थानीय ‘राष्ट्रिय प्रकाशन’लाई सो पुस्तक नेपाली रुपियाँ एक हजार एक सयमा बेचेको थिएँ जो सन् १९७०मा प्रकाशित हुनगयो | मलाई पुस्तकबाट रोयल्टी वा अन्य आर्थिक लाभभन्दा छात्र-छात्राहरुको हित अनि आफ्नो नामसहित मेरो पुस्तक छापामा आउने र मेरो परिश्रमले यथार्थमा परिणत हुने सुअवसर पाउनसकेको भन्ने विचार थियो | यता फर्किआएर पढ़ाई गर्ने विचार पनि हराइसकेको थियो | त्यहाँ एम.एस्सी.मा भर्ना को लागि आवेदन-पत्र दिने समय सिद्धिनलागेको देखेर प्रेम, देशरत्न र अन्यको सहयोग लिएर बी.ए. अनर्समा अध्यनरत् शान्ति प्रधान (वर्तमान डा, शान्ति छेत्री)-ले सो भरेर बुझाई मलाई तार पठाएर खबर गरेकी थिइन् | रिनाक सरकारी स्कूलमा ‘हेडसर’ भई सेवारत् बुवा स्वयम् मलाई लिन वीरगन्ज पुगेका थिए | मेरा मित्रहरुको यस कृपा फलस्वरूप नै आफुलाई केही शिक्षित र सक्षम बनाउनु सकेकोमा ती सबैप्रति म आजीवन अनुग्रहित छु |
साहित्य अकादेमी सञ्योजक
हाल साहित्य अकादेमीको ‘नेपाली भाषा परामर्श समिति’का लागि सञ्योजक “प्रेम प्रधान (जन्म १ जून १९४८) एक कुशल कवि, निबन्धकार, कथाकार, समीक्षक एवम् उपन्यासकारक रूपमा नेपाली साहित्य जगतमा सुपरिचित छन् | तिनले आजसम्म ७ वटा मौलिक साहित्यिक कृतिहरु नेपाली साहित्यलाई समर्पण गरेका छन् | तिनको बहुचर्चित उपन्यास ‘उदासीन रुखहरु’लाई साहित्य अकादेमी दिल्लीले अकादेमी पुरस्कार सन् २००२मा प्रदान गरेको छ | नेपाली साहित्यमा विज्ञान, फ्रायडीय मनोविश्लेषण एवम् अस्तित्ववादी सिद्धान्तहरु समाएर लेख्ने प्रधानका तीन कृतिहरु ‘कालो सर्प’ (कथा सङ्ग्रह ), उदासीन रुखहरु (उपन्यास) र प्रयोगको मेसिन (उपन्यास) निकै चर्चामा आएको छ | तिनीले नेपाली साहित्य सम्मेलनद्वारा प्रकाशित ‘दियालो’, ‘हिमालोक’, ‘चाँप-गुराँस’ आदि साहित्यिक एवम् वैज्ञानिक पत्रिकाहरु पनि सम्पादन गरेका छन् |” यो परिचय साहित्य अकादेमीद्वारा सन् २०१०मा प्रकाशित पुस्तक ‘भारतीय साहित्यका निर्माता शिव प्रधान’-बाट प्राप्त छ |
“प्रेम प्रधान – नेपाली साहित्य जगत्-मा परिचित नाउँ हो (नेपाल लगायत); प्रेम प्रधान – कवि, कथाकार, निबन्धकार एवं समालोचकको रूपमा चिन्हित छन् | नेपाली वाङ्गमयका पाठकवर्गले अति रुचाएका व्यक्तिहरुमा प्रेम प्रधान पनि एउटा ‘विशेषण’ हो|” भनी लेखेका छन् उनको प्रथम पुस्तक ‘कालो सर्प’को आफ्नो भूमिका ‘प्रेम प्रधान : कथाको नयाँ क्षितिज’मा स्वर्गीय शिव प्रधानले परिचय गराउँदै लेखेका छन् सन् १९९५मा |
‘नेपाली भाषा परामर्श समिति’मा सञ्योजकको पदमा पाँच वर्षको कार्यकालका लागि फरवरी २०१३ सालदेखि आसीन प्रेमलाई डा. जस योन्जन ‘प्यासी’, प्रद्युम्न श्रेष्ठ, भूपेन्द्र अधिकारी, डम्बरमणि प्रधान, थिरूप्रसाद नेपाल, चुड़ामणि अधिकारी, ज्ञानबहादुर छेत्री, सुभद्रा गुरुङ अनि चन्द्रकुमार राईको सहयोग प्राप्त छ | उहाँ डा. जीवन नामदुंगपछि सञ्योजक नियुक्त हुनुभएका हुन् | यस पदमा रहनु भई साहित्य अकादेमीलाई नेपाली भाषाको संवर्धन र विकासमा विगतमा आफ्ना महत्वपूर्ण परामर्शद्वारा सञ्योजक हुनभई योगदान पु-याउनुहुने साहित्यकारहरु पारसमणि प्रधान, इन्द्रबहादुर राई, एम.एम.गुरुङ अनि आर.पी. लामा पछि प्रा. गोपीनारायण प्रधान रहेका र अब डा. जीवन नामदुंग हुन्छन् भनी प्रा. प्रधानले ३०.११.२००७को एक पत्रमा मलाई जनाएका थिए |
कृतिहरु
कालो सर्प (कथा सङ्ग्रह ) १९९५
हाम्रा केही उपयोगी वनस्पतिहरु (बाल साहित्य) १९९५ बुक ट्रष्ट अफ् इण्डियाद्वारा प्रकाशित
उदासीन रुखहरु (उपन्यास) १९९९
प्रयोगको मेसिन (उपन्यास) २००९
उज्यालोतिर (अनूदित बेबी हालदारको ‘आलो अन्धारी’) २००९
केही अध्ययन - केही विवेचना (समीक्षा) २०१०
भारतीय साहित्यका निर्माता - शिव प्रधान (मोनोग्राफ) २०१० साहित्य अकादेमीद्वारा प्रकाशित
यी सात कृतिहरुले लगभग तीन दशकभन्दा धेरको साहित्यिक यात्रा इङ्गितगरे ता पनि प्रेम प्रधानको साहित्य सेवा विद्यार्थीकालदेखि नै हो र उनले आफ्ना पिता प्राध्यापक बाबुलाल प्रधान (१ फरवरी १९१९ - १५ अगस्त २००७)-बाट जन्म र विरासतमा नै पाएकाहुनाले यो भन्न सकिन्छ | संस्थागत सङ्गलग्नताबारे उहाँकै पुस्तकमा दिइएको परिचयबाट यो थाहा लाग्छ कि नेपाली साहित्य सम्मेलन, दार्जीलिङसित त्यही विद्यार्थीकालदेखि रहेता पनि आजीवन सदस्य भई सक्रियतासाथ योगदान मूल सचिवको रूपमा दुइ पटक सन् १९८३ देखि १९८७ अनि फेरि १९८९ देखि १९९३ साथै अध्यक्षको पदमा २००२ देखि २००६ सम्म पु-याइआएका हुन् | स्वाभाविक हो उहाँ यस संस्थाबाट प्रकाशित पत्रिका ‘दियालो’सित पनि सम्बन्धित भई योगदान पु-याएकै हुनुपर्ने भन्ने मेरो जिज्ञासा जाग्दछ अनि म मसित भएको ‘दियालो स्वर्ण जयन्ती विशेषाङ्क’मा प्रेमबारे जानकारी खोज्न शुरु गर्दछु |
नेपाली साहित्य सम्मेलन, दार्जीलिङ
नेपाली साहित्य सम्मेलन, दार्जीलिङको मुखपत्र ‘दियालो’का सम्पादकको रूपमा प्रेमले हाँगो १२० देखि १२८ सम्म र फेरि १३५ देखि १३८ सम्म जम्मा १३ अङ्कहरुको योगदान पु-याएकाछन् | नेपाली साहित्य सम्मेलन, दार्जीलिङको कार्यकारिणी समितिमा सन् १९७०मा उनी प्रथम पटक उप-मन्त्रीको रूपमा प्रवेश गरेको पाइन्छ भने पछि १९८०मा सह-सचिव हुँदै १९८३, १९८५, १९८९, १९९१ मा मूल-सचिवको पदमा २८.५.१९८३ देखि ३१.५.१९८७ अनि फेरि ३.९.१९८९ देखि १२.१२.१९९३सम्मको कार्यकालका लागि चुनिएका थिए | यसबिच १९८७मा कोषाध्यक्ष रहेका प्रेम प्रधान २०००-२००१ / २००१-२००२मा फेरि उप-सभापति भई २००२-२००३मा अध्यक्ष पदमा २९.९.२००२ देखि ३०.७.२००६ को समयावधिका लागि निर्वाचित भएका थिए | विभिन्न पदमा चार दशकभन्दा धेर समयका लागि उहाँ नेपाली साहित्य सम्मेलन, दार्जीलिङसित आबद्ध भई यस संस्थाको अतिरिक्त अध्यापन कार्यमा समेत लागिरहेका हुनाले प्रेम प्रधानले शिक्षाको क्षेत्र सँगसँगै साहित्य र समाजको अमूल्य सेवा पु-याइआइरहेको थाहा लाग्छ |
नवम्बर २००९मा प्रकाशित ‘दियालो स्वर्ण जयन्ती अंक’मा शरद् छेत्रीको लेख “‘दियालो’-मा प्रकाशित कथाहरुको समान्य सर्वेक्षण र प्रवृत्तिगत अध्ययन”बाट तीन वा तीनभन्दा अधिक कथाहरु हालसम्म ‘दियालो’मा छपाउने कतिपय श्रष्टाहरुमा प्रेम प्रधानको नाम इन्द्रबहादुर राई लगायतका अनेकौंमध्ये एक भएको जानकारी थाहा पाइन्छ | यसै लेखमा मनोवैश्लेषिक प्रवृत्तिका कथाहरुपनि ती हाँगोहरुमा यथेष्ट देखिन्छन्, तीमध्ये त्यस प्रवृत्तिका कथाका कतिपय श्रष्टाहरुमा पनि प्रेम प्रधान (हाँगो ३९) को नाम पढ्न पाउँछौं |
यसै अङ्कमा सूर्य शर्मा लिखित ‘नेपाली साहित्य सम्मेलनको साहित्यिक कार्य’ लेख अन्तर्गत् यो थाहा लाग्छ, “३ मार्च २००२ का दिन सम्मेलनको ‘सुधपा’ सभागृहमा प्रेम प्रधानको सभाध्यक्षतामा र नन्द हाङखिमको मुख्य आतिथ्यमा साहित्यिक गोष्ठी प्रारम्भ भयो | गोष्ठी आयोजना गरिनको उद्देष्य ‘नयाँ कलमले सठीक मंच नपाएर अल्मलिरहेका र नयाँ कविहरुको अभाव देखिएकाले मासिक रूपमा साहित्यिक गोष्ठी गर्नाले एकजना कवि/कवियत्रीले वर्षमा कम्तिको १२ वटा कविता तयार पार्न सके र पुस्तकाकार रूपमा प्रकाशित भए त्यो नेपाली साहित्य सम्मेलनको सँगसँगै कलमकार स्वयंको ठूलो उपलब्धि हुने र अन्तमा भारतीय नेपाली साहित्यको एउटा उपलब्धि हुनेछ’ भन्ने थियो |” अनि फेरि “२० अगस्त २००३ को दिन सम्मेलनको ‘सुधपा’ सभागृहमा प्रेम प्रधानको अध्यक्षतामा ‘नेपाली भाषा दिवस’ सम्पन्न भयो | यस अवसरमा सम्पन्न कवि गोष्ठी पछि आफ्नो विचार राख्ने क्रममा रामलाल अधिकारीले सिलगढीका अंग्रेजी माध्यमका विद्यालयहरुले अझसम्म नेपाली भाषा नपढ़ाएकोमा खेद प्रकट गरेको थाहा लाग्छ | ... “९ मार्च २००२ का दिन गुजराती साहित्यका विद्वान जयन्त गादिन नेसासमा आए | प्रेम प्रधानको अध्यक्षतामा बसेको भेटघाट सभाले गादिनलाई अभिनन्दन ग-यो | यस अवसरमा गदिनले नेपालको नेपाली भाषा र साहित्यसँग दार्जिलिङको नेपाली भाषा र साहित्यमा बंगाली भाषाको प्रभाव कति पर्न गएको छ भन्ने विषयको अध्ययनका क्रममा आफु यहाँ आएको कुरो बताए |” ... “६ मार्च २००३ का दिन सम्मेलनले आफ्नो पुस्तकालय कक्षमा दिल्ली निवासी धर्मराज थापालाई अभिनन्दन ग-यो | यस अवसरमा सम्मेलन भवनमा आधुनिक साहित्यबारे चर्चा-परिचर्चा गरियो | यस चर्चामा अध्यक्ष प्रेम प्रधान लगायत गोपीचन्द्र प्रधान, पी. लामा, कर्ण थामी, लरेन्स पी.टी. लामा, श्रीमती कुमारी खाती आदिको सहभागिता थियो |” ... २८ मार्च २००३ का दिन अमेरिकाका ब्रेन्ट विली नेसासमा आएका थिए | उनले नेपाल र दार्जिलिङमा विभिन्न स्थानहरुमा नेपाली भाषा र संस्कृतिमा अध्ययन गरेको अनुभव राख्दै अमेरिकी साहित्यका पुस्तकहरु र नेपाली साहित्यका पुस्तकहरु आदान-प्रदान गर्नु पर्ने सुझाव राखे |” ... “ २९ डिसेम्बर २००२ का दिन ‘सुधपा’ सभागृहमा प्रेम प्रधानको अध्यक्षतामा चित्रकार एवम् साहित्यकार लैनसिंह वाङ्देलको निधनमा एक शोक सभा बस्यो | यस शोक सभामा इन्द्रबहादुर राई, कृष्णसिंह मोक्तान, डा. लक्खीदेवी सुन्दास र भोटु प्रधानले वाङ्देलको साहित्यिक जीवनीमाथि आफ्नो मन्तव्य दिए |” ... “यसरी समय समयमा भाषा साहित्यमाथि गोष्ठी सम्पन्न गरी साहित्यकारहरुमाझ सम्पर्कका साथै साहित्यमाथि नवीन दृष्टिकोण आदान-प्रदान गर्न सम्मेलनले गरिरहेको पाइन्छ |” “नेपाली भाषा साहित्यलाई अकादमीबाट मान्यता दिलाउनु सम्मेलनका विभिन्न भाषिक कार्यहरु मध्ये एक कार्य हो | यसै कार्यद्वारा नेपाली साहित्यले अकादमीबाट पुरस्कृत हुने अवसर प्राप्त ग-यो |” यस पुरस्कार प्राप्त गर्ने साहित्यकार र तिनका कृतिहरुको सूचीमा क्रमाङ्क २६मा प्रेम प्रधान र उनको उपन्यास ‘उदासीन रुखहरु’को नाम २००२ सालमा भएको जानकारी यहाँ सम्मिलित भएको पाउँछौं |
प्रेम प्रधानले नेपाली साहित्य सम्मेलन, दार्जीलिङमा आफ्नो दीर्घकालीन सक्रियतासाथ सेवारत छँदा के कस्तो योगदान दिए सो जान्ने मेरो उत्सुकताको क्रममा यही ‘दियालो स्वर्ण जयन्ती अंक’मा स्वयम् प्रेम प्रधानलिखित “‘दियालो’-मा पुरस्कृत कथाहरु : एक अवलोकन” शीर्षक लेखमा यो जानकारी राखेको पाउँछु – “पूर्व इतिहासमा नेपाली साहित्य सम्मेलन दार्जीलिङ २५ मई १९२४ मा स्थापना भएपछि सम्मेलनले वि.सं. १९८८ पुसमा सर्व प्रथम पद्मप्रसाद प्रधानको सम्पादनमा ‘नेपाली साहित्य सम्मेलन पत्रिका’सम्मेलनको मुखपत्रको रूपमा प्रकाशित गरेको यसपछि इन्द्रबहादुर राईको सम्पादनमा एक शुद्ध त्रैमासिक पत्रिका ‘दियालो’ हुन् थाल्यो| दियालो साहित्यिक त्रैमासिक पत्रिकाको परिमार्जित रूप थियो र आजसम्म ‘दियालो’लाई नेपाली साहित्य सम्मेलन पत्रिका भनिन्छ |” सम्मेलनलाई अझ सशक्त एवं जीवन्त बनाउनुलाई दार्जीलिङ नगरपालिका च्याम्बरमा दिनाङ्क: ५ मई १९६८मा प्रा. तुलसीबहादुर छेत्रीको सभापतित्वमा गठित १७ जनाको - यी मध्ये एक प्रेम प्रधान - कार्यकारिणी समितिद्वारा सिद्धिनारायण प्रधान लगायतका आठ सदस्यीय समिति मनोनित गरी केही वर्षको शिथिलतापछि १९६८ देखि ‘दियालो’ लाई पुन: प्रकाशन र निरन्तरता दिनुको निम्ति हाँगो : २२ देखि पुन:प्रकाशन शुरु ग-यो | दुई वर्ष पछि ३ मई १९७०मा नयाँ कार्यकारिणी समितिमा अध्यक्ष प्रा. तुलसीबहादुर छेत्री र मन्त्री जगत् छेत्री र उप-मन्त्रीमा प्रेम प्रधानको नाम पाइन्छ जो नवगठित ‘दियालो उप-समिति’मा व्यवस्थापक पनि थिए – सम्पादकगणमा सूर्यकला थापा र अगमसिँह गिरी थिए भने प्रकाशक जगत् छेत्री र सल्लाहकार भोटू प्रधान | सन् २००३मा अन्तिम पटक कथालाई दियालो पुरस्कार दिइयो| ‘दियालो पुरस्कार’ ‘दियालो’पत्रिकामा प्रकाशित उत्कृष्ट रचना अर्थात् साहित्यका लागि दिइन्थ्यो भने ‘सम्मेलन पुरस्कार’-द्वारा भाषासेवीहरुको सम्मान गर्ने परम्परा अझ तेजिलो भएको जान्न पाईन्छ | शेष भाग २मा
१७ फरवरी २०१४
साहित्य-सेवामा समर्पित
सन् १९७० देखि १९७४ सम्म दार्जीलिङ सरकारी कलेज र सन्त जोसेफ कलेज दार्जीलिङ दुवैमा प्राध्यापक अनि दार्जीलिङ सरकारी उच्च माध्यमिक विद्यालय र कलिम्पोङ सरकारी उच्च माध्यमिक विद्यालय दुवैमा प्रधानाध्यापक रहेका प्रेम नेपाली साहित्य सम्मेलन, दार्जीलिङसित निरन्तर सम्बद्ध त थिए नै साथै आफ्नो साहित्यिक सेवामा आफ्नो व्यवसाय अध्यापनले कहीं-कतै पनि अड्चन वा बिघ्न-वाधा आउन दिएनन् | बरु यसले अझ यहीं कार्यरत् भई आफ्नो रहर भनूँ वा प्रतिभालाई मल-जल गरी स्याहारसुसार गर्न सक्षम भएर सीपको कलमलाई अझ तिखार्दै लगे | हामी अन्य व्यवसायमा लाग्नेहरु जस्तै कार्यालय धाउनेहरूको दाँजोमा शिक्षण पेशामा भएका प्रेमले आफ्नो हुनर चम्काउँदै लगे | यहाँ मलाई सम्झना आउँछ एक सहकर्मी सरकारी अधिकारीको जो आफ्नो साहित्यिक जीवनको प्रारम्भमा नै साहित्य अकादमी पुरस्कारले सम्मानित हुनु भयो तर हामी पाठकवर्गको दुर्भाग्य कि त्यसपछि यस असाधारण प्रतिभाका धनीबाट यस्तै अझ असल अनि ठोस साहित्यिक देनबाट समाज वञ्चित हुन गयो | जे होस्, हाम्रा पाठकवर्गको जानकारीका लागि प्रेमले दिएका साहित्यिक कृतिहरुको चर्चा-परिचर्चा तीबाट प्राप्त ज्ञानको आधारमा नै प्रस्तुत गर्ने प्रयास यहाँहरु समक्ष टक्र्याउँद्छु :
कालो सर्प
आफ्नो प्रथम पुस्तक ‘कालो सर्प’ नेपाल एवम् भारतका विभिन्न पत्र-पत्रिकाहरुमा प्रकाशित उनका २० कथाहरुको सङ्ग्रह हो | कथाहरु प्रकाशित गरिदिए बापत सम्पादकहरुलाई धन्यवादका पात्र ठहराएका छन् र अघि लेख्छन् - “कथाहरु लेख्दा कहिलेकाहीं सामाजिक, वैज्ञानिक एवं मनोवैज्ञानिक ढंगमा लेख्ने इच्छा हुँदा मनमा परेको भावना, कल्पना र यथार्थता व्यक्त गरेको छु | कतिपय कथाहरु मेरा जीवनका नानाविध परिस्थितिमा पनि उत्पादित भएका छन् | कति कथाले त् सशक्त परिस्थितिको चपेटामा नैराश्यपनलाई समेटेर मेरो जीवनसितै बाँचिदिएको छ | यसैले यस संग्रहका कथाहरु पूर्वकालमै लेखी पनि आजको सन्दर्भमा वर्तमान समाजलाई समसामयिक नै होला भन्ने ठानेको छु | ... आफ्नो अमूल्य मन्तव्य दिएर यस कृतिको महत्ता बढ़ाई भूमिका समेत लेखिदिनुहुने विद्वान समालोचक एवं वरिष्ठ पत्रकार श्री शिव प्रधानज्यूप्रति कृतज्ञता ज्ञापन नगरी रहन सक्दिनँ | अन्त्यमा, यस संग्रहको प्रकाशनले नेपाली भाषा र साहित्यको सेवाको निम्ति पूर्ण प्रेरित गरेको छ भन्दै – यस कृतिले विद्वान समालोचकहरुद्वारा निष्पक्ष पाउने छ भन्ने कुरामा आशा व्यक्त गरेको छु |”
‘प्रेम प्रधान : कथाको नयाँ क्षितिज’ शीर्षक दिँदै शिव प्रधान आफ्नो भूमिकामा यसरी लेख्छन् – “नेपाली साहित्यमा फ्रायडलाई अंगालेर मनोविश्लेषणात्मक आधारमा मानसिक जटिलताको अध्ययन – विश्लेषण बी.पी. कोइरालाले स्थापित गरेका हुन्, तर भारतीय नेपाली साहित्यको परिप्रेक्ष्यमा हेर्दा यस सिद्धान्तलाई प्रतिपादन गर्दै प्रयोग गर्नेहरुमा प्रेम प्रधान निकै अघि बढेका छन् भन्दा अत्युक्ति नहोला | तिनले यौन प्रधान एवं मनोविश्लेषणात्मक कथा लेखेर एक छुट्ट स्थान ओगटेको कुरा कसैले नकार्न सक्दैन |
“प्रस्तुत कथा संग्रह ‘कालो सर्प’ एक प्रतीकात्मक स्वप्न प्रतीक र तिनको दमित व्याख्याको क्रममा फ्रायडको स्वप्न प्रतीक र तिनको दमित आकाङक्षा तथा तिनको अन्तर्मनको व्यञ्जक प्रस्तुतिका रूपमा लेखकले यौन प्रतीकहरु टिपेर कथाहरुमा प्रयोग गरेका छन् | पुरुष स्त्रीका जनेन्द्रियका प्रतीकहरु यथेष्ठ रूपमा प्रयोग गरेको पाइन्छ | व्यक्तिको स्वप्नको खोज र विश्लेषण फ्रायड वादी सिद्धान्तको महत्वपूर्ण मोवैज्ञानिक उपलब्धि हो | व्यक्ति अचेतनमा दमित रूपमा रहेको इच्छाहरु को परितृप्तिको मूल माध्यम स्वप्न हो | ... कथाकारले नारीको यौनजन्य अनुभूतिलाई केलाएर तिनमा भएको यौं संवेदनलाई आत्मसात गरेका छन् | प्राय: जसो कथाहरु मा नारीपात्रप्रति स्नेह र सहानुभूति भएको पाइन्छ | तिनले नारी पात्रका अचेतन मनका स्थिति, प्रेरणा र क्रियालाई चेतन मनसँगै उदघाटन गरेका छन् | पुरुष र नारीको मनमा भएको कुण्ठा, यौन संप्रेषण, हीनताबोधको प्रश्रय दिएर लेखेका तिनका कथाहरुमा यौन मनोविज्ञान प्रशस्त देखिन्छन्. कथाकारले जटिलता, कुण्ठा, तनावजस्तो युगले जन्मेको वातावरणमा आत्मसात गरेका छन् |
“... हाम्रो वौद्धिक अभिव्यक्तिगत गहन चेतनमा यस प्रकारका मनोवैज्ञानिक साधनीय कथाहरुले नेपाली वाङमयलाई ठूलो टेवा पु-याएको छ | हाम्रो भूमि पनि त्यही हो – उसको कथाको राष्ट्र पनि त्यहीं सीमाविहिन साहित्य भएर बाँच्दछ | ... अन्तमा यो पुस्तक (कालो सर्प) नेपाली कथानकको आख्यानको एउटा चर्किलो उपलब्धि मान्नु पर्छ भन्ने पक्षमा छु | नेपाली वाङमयका व्यक्तित्वहरुले झैं हामीलाई प्रेम प्रधानले गौरवको चौड़ा जातीय छाती दिँदै आएका छन् | एउटा स्नेह र सहभागिताको यो कृति प्रेमको परिचायक हो | सीमाहीन नेपाली साहित्यको वक्षस्थलमा यस कृतिले बोकेको फ्रायडीय मनोविश्लेषणात्मक कथाहरु हाम्रै घर-आगनका यथार्थ, अस्तित्व र इतिहास हुन् | यस्ता पुनीत कार्यमा लेखकले मनग्गे हौसला पाइरहुन् भन्दै बस्!” गरेका छन् |
उदासीन रुखहरु
सन् २००२मा साहित्य अकादेमी पुरस्कार प्राप्त गर्न सकेको आफ्नो पहिलो उपन्यास ‘उदासीन रुखहरु’बारे प्रेम प्रधान आफ्नो मन्तव्य यसरी पोख्छन् – “यस उपन्यासमा मैले मान्छेको मानसिक स्थिति, विविध मानसिक वृत्तिहरु र वैयक्तिक आन्तरिक जीवनलाई नै बढ़ी हेर्ने, छाम्ने, पढ्ने, दृश्यावलोकन गर्ने र बुझ्ने कोशिश गरेको छु | मान्छे एक सामाजिक प्राणी हो र उ समाजमा बसेर विविध सामाजिक स्थिति र परिवेशसँग संघर्ष गर्दै बाँचे पनि उसको वैयक्तिक जीवन हुन्छर उसको वैयक्ति जीवन र स्वतन्त्रताको खोज गर्ने कोशिश यसभित्र छ | ... यस उपन्यासको प्रकाशनले नेपाली भाषा र साहित्य सेवाको निम्ति मलाई पूर्ण प्रेरित गरेको” लेख्छन् अझ सो पुरस्कारले आगोमा घिउको काम झैं थप प्रोत्साहन पाएको अनुमान हामी सहजै गर्न सक्छौं |
डा. जीवन नामदुंगद्वारा अभिव्यक्त “मनोविश्लेषणात्मक भावभूमिमा उभेका ‘उदासीन रुखहरु’” शीर्षक भूमिकाको सार-संक्षेप पुस्तकबाट यस्तो छ – “पाश्चात्य साहित्यका औपन्यासिक प्रवृत्ति सम्मत चेतना प्रवाहमा लेखिएका प्रयोगात्मक, प्रतीकात्मक केही राम्रा उपन्यास हरुको क्रममा ‘उदासीन रुखहरु’-को मौलिक ठाउँ थपना छ | आत्म कथात्मक परिपाटीमा प्रारम्भ र अन्त भएको यस उपन्यासको औपन्यासिक संरचना विस्तारणले औपन्यासिक परम्परा र प्रवृत्तिमा देखा परेका यथार्थवादी, अति यथार्थवादी, प्रगतिवादी तथा स्वच्छन्दतावादी जस्ता विकास क्रमका घुम्तीहरु पार गर्दै मनोविश्लेषणात्मक प्रवृत्ति अन्तर्गत फ्रायडीय मनोविश्लेषण पूर्वाभास र पद्धतिलाई एकातिर अंगालेको देखिन्छ भने, अर्कोतिर दोस्रो विश्वयुद्धपछि खासगरी युरोपका दुईजना साहित्यकार जिनपर्ल सार्त्रे र अल्वेयर कामुका अस्तित्ववादी चिन्तन र जीवन दर्शनका चस्काहरु यदा कदा प्रतिविम्बित भएको पाइन्छ | सुनियोजित घट्ना भन्दा पनि आकस्मिक घट्ना र त्यसको परिणामबाट संचालित मानव जीवन वास्तवमा घट्नै घटनाको अन्तहीन शुरुआत र श्रृङ्खला हो र त्यसबाट उत्पन्न विरोधाभास नै विसंगतिको पर्याय हो भन्ने संकेत उपन्यासको यस पंक्तिमा प्रतिफलन हुन्छ – ‘मलाई लाग्यो म पनि त्यो आकाशमा उड़िरहेको कागजको टुक्रा झैं अनिश्चित दिशाहीन हुँदै गइरहेको छु अनि डाँड़ाको जीर्ण र उदासीन रुखहरु झैं केवल अनिश्चितता निस्सरिता रिक्तता र शून्यता बोकेर उभिरहेको छु |’ --- नेपाली औपन्यासिक विधाले धेरै प्रवृत्ति, मोड़, परम्परा र प्रयोगका घुम्तीहरू नाघिसकेको छ | हाम्रो साहित्यिक संसारमा पाश्चात्य साहित्यको प्रयोग, परम्परा र प्रभावका पूर्वाभासहरु प्रतिविम्बित हुनु सभ्यताका लक्षण हुन्, अझ त्यस्ता प्रवृत्ति र प्रभावलाई हाम्रै सांस्कृतिक परिवेश र परिपाटीमा उतार्न सकिए साहित्य अध्ययन, मनन र चिन्तनका दिशामा थप योगदान हुनेछ | प्रस्तुत उपन्यास यही दिशातर्फको एउटा सत्प्रयास हो |”
प्रेमकै शब्दहरुमा ‘पुस्तक लेख्ने र प्रकाशन गर्ने पनि ठूलै आँट हुनुपर्दो रहेछ | उमेर निक्कै छिप्पिएपछि पनि कहिले नथाक्ने लेखकहरुका सूचीमा शिवको नाम दर्ता गर्न सकिन्छ’ तर उनले पुस्तककारमा देख्न नपाएका ‘व्यक्ति : अभिव्यक्ति’ पुस्तकमा प्रकाशित लेख ‘खड़ेरीको मौसमसितै सन्दर्भ उदासीन रुखहरु’मा शिव प्रधान भन्दछन् – ‘मानवीय र विसधति पक्षहरुलाई सविस्तार चित्रण गर्दै प्रेम प्रधानले भारतीय नेपालीहरुमा आइपरेका समस्याको चित्रण राम्ररी गरेका छन् | ... उदासीन रुखहरुमा पाश्चात्य विद्वानहरुले मानेका उपन्यासको छ: विधामा तत्व – कथावस्तु, पात्र, चरित्र, चित्रण, कथापोकथन, देशकाल, शैली र उद्देश्यहरु सम्पूर्णता मा सन्तोषजनक निर्वाह भएको पाइन्छ | यस उपन्यासमा मान्छेको मानसिक स्थिति, वृत्तिहरु र वैयक्तिक जीवनलाई नजिकबाट हेर्ने, पढ्ने र चिन्तन गरिएका छन् सङ्घर्षशील जीवन बाँच्ने कोशिस उपन्यासभित्र जिउँदो पाइन्छ |’
अघिल्लो साल २००१मा नै लेखि सिद्धयाएको यस पुस्तकबारे ‘आफ्नो भनाइ’मा प्रेम लेख्छन् “मेरो प्रथम उपन्यास ‘उदासीन रुखहरु’ सन् १९९९मा प्रकाशित भइसकेको थियो अनि सो पुस्तकलाई साहित्य अकादेमी दिल्लीले सन् २००२ मा ‘साहित्य अकादेमी पुरस्कार’ प्रदान गरेपछि मैले थन्काइराखेको उपन्यास प्रकाशन गर्ने उत्साह, प्रेरणा र हौसला स्वत: मनमा जागेको अनुभव गरें |
“विज्ञान साहित्यमा साइन्स फिक्सनको प्रयोग पश्चिमे मुलूकतिर धेरै गरिएको थाहा लाग्छ तर साइन्स फिक्सन केवल कल्पनाको उडान र फेंटेसीमा नै मूल रूपमा आधारित हुनेहुनाले विशेषत: मानव जीवनको मूल्य र यथार्थ भावनालाई यसले छुन सक्तैन | यथार्थ रूपमा मानव जीवनसँग सम्बन्धित भएको प्रमाणिक एवम् सत्यमा आधारित साइन्स फिक्सनले मात्र आधुनिक विज्ञान जडित साहित्यको सफलीभूत खेतीसक्षम एवं उत्पादनमूलक बन्न पुगेको हुन्छ |”
विज्ञानका अध्यापक श्री प्रेम प्रधानले मनोवैज्ञानिक पृष्ठभूमिमा लेख्नुभएको प्रयोगको मेसिन उनको पुर्व कृति ‘उदासीन रुखहरु’ कै सम्प्रसारित स्वरूप बोकेर हामी समक्ष देखा परेको अनि आफ्नो मन्तव्य प्रकट गर्दै उत्तर बङ्ग विश्वविद्यालयका डा. मोहन पी. दाहाल भन्छन्, “वर्तमान युगमा मानिसलाई, प्रयोगको तुल्याइएको कुरो सत्यको एक पक्ष हो भने नवाविष्कृत मेसिनहरुको प्रयोगद्वारा मानिसले ज्ञानको नवीन क्षितिज कोरेको कुरो त्यसको अर्को पक्ष हो | आज विज्ञानको अभूतपूर्व विकास अघि मानव नतमस्तक छ | आध्यात्मिकताले मानिसलाई महात्मा बनायो, विज्ञानले महामानव | ... “साहित्य ज्ञान-विज्ञान, धर्म-आध्यात्म वा दर्शनको दास होइन तर तिनैका कतिपय तात्विक तन्तुहरु भने साहित्यका सुक्त वा प्राविधिक प्रक्षेप भएका छन् | ...”
‘दियालो स्वर्ण जयन्ती अंक’मा शरद् छेत्रीद्वारा निरुपणमा यो लेख्छन् – “भारतीय नेपाली साहित्यमा विज्ञान अनि मनोविज्ञानको आधार लिएर रचनाहरु सिर्जना गर्नमा पोख्त रचनाकार श्री प्रेम प्रधान लिखित उपन्यास ‘प्रयोगको मेसिन’ सन् २००९-को आरम्भतिर नै प्रकाशित भएको रोचक कृति हो | उनको पहिलो उपन्यास ‘उदासीन रुखहरु’ सन् १९९९-मा प्रकाशित भएको थियो अनि त्यस मनोविश्लेषणपूर्ण–कृतिको निम्ति रचनाकारलाई सन् २००२-को राष्ट्रिय तहको ‘साहित्य अकादेमी पुरस्कार’-द्वारा सम्मानित पनि गरिएको थियो | फेरि उहाँको कथासंग्रह ‘कालो सर्प’(सन् १९९५)-मा परेका कथाहरुमा देखा परेका फ्रायडेली मनोविश्लेषण पाठकहरुमाझ निकै चचित बनेका थिए | तर अघिल्लो उपन्यास वा अघिल्ला कथाहरुमा भन्दा बेग्लैतौरमा विज्ञान र मनोविश्लेषणलाई समावेश गर्ने गजबको क्रम उपन्यास ‘प्रयोगको मेसिन’ प्राप्त हुनाले गर्दा यस नवीनतम कृति विशिष्ट पुग्न गएको बोध हुँदछ पाठकहरुलाई | यस उपन्यासमा पुरुष प्रधान समाजमा नारी जातिले भोग्न परेका विविध शोषणहरुका चित्रण मात्र नरहेर नारीमा जागेको चेतना र विद्रोहहरु समेत पाइन्छन् | सचेत हुनाले मानिस जीवित छन् र प्रयोगको मेसिन बनेर शोषण खपिबस्नु तर्फ चेतनाले निरन्तर प्रहार गर्दछ, अस्वीकार गर्दछ, फलत: संघर्ष लगातार बढ्दै जान्छ | आमुख लेखमा लेखकले भनेका छन्, -“... उपन्यासमा केही मात्रामा फ्रायडेली यौन मनोविश्लेषण, नारी मुक्ति चेतना, विसंगति, निस्सारता र अस्तित्ववाद का केही बुँदाहरु पनि प्रयुक्त भएका होलान् | ...” तथा, ती पक्षहरु ग्रहण गर्दै परीक्षण नलीमा शिशु निर्माणार्थ नायिकामा गरिएको एकान्तवासको निर्णय दृढ़ देखिनाले यस कृति पठनमा बेग्लै स्वाद पाइन्छ | त्यस प्रकारले श्री प्रेम प्रधानले अत्यन्त कौशलतापूर्वक मनोविश्लेषणात्मक अध्ययन र विज्ञानको प्रयोगलाई समन्वित पारी उपन्यास ‘प्रयोगको मेसिन’ तयार पार्नु भएको छ | उम्दा उपन्यासहरुको कमी रहेको हाम्रो साहित्यको भण्डारमा यसरी ‘प्रयोगको मेसिन’ (उपन्यास) चढ़ाउनु भएको खण्डमा रचनाकारप्रति हार्दिक बधाई टक्राउँदछु |”
उज्यालोतिर
बेबी हालदारको यस बङ्ग्ला मूल पुस्तक ‘आलो आँधारी’(२००४) अर्थात् ‘उज्यालो-अँध्यारो’लाई यस पुस्तकको नाम ‘उज्यालोतिर’(२००९)-समेत निर्णय गरी हामीले करुणा देवी स्मारक धर्मार्थ गुठीबाट प्रकाशन विचार गरेका थियौं तर पछि अन्तर्राष्ट्रिय ख्याति-प्राप्त अनि हिन्दी (२००२), अङ्ग्रेजी (२००६) भाषा अतिरिक्त २४ विभिन्न भाषाहरुमा अनुदित भएको पुस्तकको बिक्री-वितरणमा यथोचित न्याय गर्न नसकिनेहुनाले यसको नेपाली संस्करण अन्यत्रबाट हुनगएको हो | छोरा रमण सन् २०००तिर ‘ग्राफिक डिजाइनिङ्ग’ प्रशिक्षणको लागि गुडगाउँ छँदा यस पुस्तकका प्रणेता हिन्दी साहित्यका महान विभूति प्रेमचन्दका नाती प्रबोधकुमार (आफ्ना मित्र नागार्जुनका पिता)-सित बसेकाले यस पुस्तकमा परिवार सँगसँगै रमणको पनि नाम प्रसङ्गवश पढ्न पाउँछौं | यही समयतिर हामीलाई पनि प्रबोधकुमार महोदयका परिवार साथै बेबी हालदार र उनका बालकहरुसित भेट गर्ने सुअवसर जुरेको थियो | प्रेम प्रधान लेख्छन्, “तिनले कसरी एउटा घरमा काम गर्ने स्वास्नी मान्छेलाई शरण दिएर तिनको प्रपीडित जीवनलाई जिउने भरोसा र सहारा दिएका थिए अनि सात क्लाससम्म पढेकी बेबीलाई उत्तिकै प्रेरणा र उत्साह दिएर साहित्य प्रति अभिरुची बढाएका थिए | प्रबोधकुमारले साँच्चै नै समाजमा अवहेलित अनि दुःख पाएकी नारीलाई उठाएर तिनीभित्र भएको प्रतिभालाई खोजेर निकालेका थिए | घरको समस्त कामकाज सकेर आफ्नो नानीहरुलाई देखरेख गरेपछि फुर्सदको समयमा बेबी हालदारले ‘आलो-आँधारि’ जस्तो पुस्तक समाजलाई दिनसकेकी थिई | आफ्नो जीवनको अँध्यारो दिनहरुमा तिनले उत्पीडन, यातना र पीडा बाहेक के पो प्राप्त गरेकी थिइ र ! जिउनुको निम्ति सङ्घर्ष गर्दै भड्िकरहेकी बेबीले प्रबोधकुमार जस्तो व्यक्तिसँग संयोगवश भेट हुनु तिनको भाग्यमा उज्यालो प्रकाश फैलिनु थियो |” प्रेमसितको कुराकानीमा बहुचर्चित सो पुस्तक विश्वका कुनै पनि भाषामा प्रकाशित भएपछि तात्तातै बिक्री भएको कुरा अनि यो कृतिलाई नेपाली भाषामा पनि अनुवाद गराउने मनसाय तिनीहरुबाट बुझेपछि उनले त्यसको अनुवाद गर्ने इच्छा जाहिर गरेका थिए |
प्रेम अझ लेख्छन्, “बेबी हालदारले सिर्जना गरेको यो कृति तिनले प्रतिष्ठा कमाउनुको निम्ति थिएन न कि एक साहित्यकार नै बन्ने तिनको इच्छा थियो | तर यस पुस्तकले विश्वको बजारमा प्रसिद्धि कमाएको छ | जुनै भाषामा अनुवाद भए तापनि यो पुस्तक अति नै लोकप्रिय भएको छ | बेबीले सबै पक्षबाट प्रेरणा एवं उत्साह पाएपछि सन् २००८ सालमा ‘इषत-रुपान्तर’ नामक पुस्तक लेखेकी छन् जो कलकत्ताको रोशनी प्रकाशनले प्रकाशित गरेको छ | बेबी को ‘आलो-आँधारि’पुस्तक NCERT-ले अनुमोदन गरेर एघारौं श्रेणीको पाठ्यपुस्तकको रूपमा पनि मान्यता प्राप्त भएको छ |”
अनुवादकले आफ्नो एक अझ पुस्तक प्रकाशित भएर परिश्रम व्यर्थ नगएको र एक विश्वप्रसिद्ध कृति नेपाली साहित्य जगत् समक्ष टक्र्याउने स्वर्ण अवसर जुटाउन सक्षम भएकोमा आत्म-सन्तुष्टि अनुभव अवश्य नै गरे होलान् तापनि यहाँ हामीलाई यो जान्नलाई उत्सुकता अनि उत्कण्ठा जाग्न स्वाभाविक हो कि यस नेपाली पुस्तक कति र कहाँसम्म पाठकहरुसमक्ष पुग्न सफल भयो साथै अन्तमा रोयल्टीबापत् बेबीले कति पाइन होलिन् यस नेपाली संस्करणको बिक्रीबाट !
क्रमशः भाग ३ मा
१८ फरवरी २०१४
केही अध्ययन – केही विवेचना
यस सङ्कलनमा समावेश भएका रचनाहरु प्राय: अस्सी र नब्बेको दशकमै लेखेका विश्वका केही महान दार्शनिक, चिन्तक एवं साहित्यकारहरुका कृतिहरुहरुको अध्ययन क्रममा तिनीहरुका दर्शन, सिद्धान्त अनि साहित्यलाई सूक्ष्म रूपमा हेरी, मनन गरी त्यस भित्र पसेर आत्मसात गर्ने मौका पाएर तीबाट प्रेम प्रधान आकर्षित मात्र नभई धेरै प्रभावित भएकाले नेपाली साहित्यमा पनि त्यसको खेती गर्न सकिन्छ कि भन्ने इच्छा र रहरहरु फलस्वरूप ‘केही अध्ययन – केही विवेचना’ सम्भव हुनगएको छ | एउटा पाठकको स्वतन्त्र एवं निष्पक्ष आँखाले हेरेर आफ्नो विचार एवम् दृष्टिले हेर्ने कोसिस लाई विद्वान साहित्यकार भाषाविद् डा. गोकुल सिन्हाले भाषाको एकरुपता र व्याकरण समेत हेरी मन्तव्य समेत राखिदिएकाले यस पुस्तकको महत्व बढेर सुनमा सुगन्ध थपिएको र समीक्षक लेखकले साहित्यको विकाशमा निश्चय नै थप योगदान पुग्न गएको भने अत्यिक्ति नहोला | दुइ खण्डमा विभाजित पुस्तकको पूर्वार्द्धमा पश्चिमी साहित्यकारहरु फ्यादोर दोस्तोवस्की, सिगमन्ड फ्रायड र मृत प्रियतमका सपनाहरु, फ्रेंज काफ्काका स्वप्नतन्त्र र फेंटेसी, अल्बेयर कामूका एब्सर्डिटी अनि ज्याँ पाल सार्त्रका कृति अध्ययन छन् भने उत्तरार्द्धमा नेपाली साहित्यकारहरु – नेपालबाट दुइ, बी.पी. कोइरालाको ‘सुम्निमा’, लक्ष्मीप्रसाद देवकोटाको ‘मुना-मदन’ अनि भारतका दुइ, इन्द्रबहादुर राईको ‘आज रमिता छ’ र शिवकुमार राईका कथाहरु जम्मा चार कृतिहरुका विवेचना छन् | ‘केही आस्वादन : केही सम्पोषण’ शीर्षक दिँदै आफ्नो मन्तव्यमा डा. सिन्हा लेख्नुहुन्छ, “अध्यन, विवेचन, समीक्षण, मुल्याङ्कन जस्ता शब्दावलीहरू को भाषिक वा परिभाषिक अर्थले स्पष्ट सीमा रेखा कोरेको सम्भवत: कुनै साहित्यमा नहोला | आलोचना/समालोचनाले नै तिनलाई समावृत्त गरेको हुन्छ | आलोचना/समालोचना धेरै प्रकारका हुन्छन्, किन कि ती धेरै उद्देश्यले लेखिन्छन् | उद्देश्यहरुमा कुनै प्रभाव उत्पन्न गर्नु हुन्छ र कुनै व्याख्या गर्नु पनि हुन्छ | प्रस्तुत कृतिको पनि एस्तै रहेको छ | पहिलो खण्डले पूर्वीय पाठकहरुमा पश्चिमी प्रभाव उत्पन्न गर्ने प्रयास गर्छ भने दोस्रो खण्डले पूर्वीय, विशेष नेपाली कृतिहरुको मनोविश्लेषणात्मक व्याख्या गर्ने प्रयास गर्छ |” “... दोस्तोवस्की का कृतिहरुलाई प्रगतिवादी कसीमा घोटेर हेर्दा अझै चम्किला देखिनसक्छन्”, काफ्काका “क्यासल, ट्रायल, अमेरिका, मेयमफोर्सिस एण्ड अदर स्टोरिज उनका बहुचर्चित कृतिहरु हुन् जसको चर्चा श्री प्रधानले सम्यक् रूपमा गर्नु भएको छ |” ... “ आधुनिक कथा उपन्यासहरुमा चरित्र-चित्रणमा र पात्र-पात्रामा विशेष जोर दिइँदैन | व्यक्तिको भित्री पक्षको वर्णन ले नै तेस्मा प्रमुखता पाएको हुन्छ | कामूका उपन्यासहरुको विशेषता र विशिष्टता पनि तेसैमा छ जसको विस्तृत अध्ययन यहाँ प्रस्तुत गरिएको छ |” ... “‘सार्त्र को राजनैतिक आन्दोलन जतिको दार्शनिक छ त्यो भन्दा कम साहित्यिक छैन | साहित्यिक क्षेत्रमा तिनको भाषाको प्रयोग उल्लेखनीय छ | तिनका कृतिहरुमा एक विशिष्टवादी भाषाको विकास भएको छ’ – लेख्नुहुन्छ श्री प्रधान | अस्तित्ववादी दर्शन आज विश्व साहित्यकै एक सशक्त आधार बनेको छ | तेस्को अधिकांश श्रेय सार्त्रलाई छ | श्री प्रेम प्रधानज्यूले सार्त्रीय दर्शनको शास्त्रीय व्याख्या सविस्तार सुन्दर ढङ्गले गर्नु भएको छ |” ... “खण्ड ख-मा चार नेपाली चर्चित कृतिहरुको विवेचना छ | विवेचनको विवेचना गर्नु छैन | नेपाली समीक्षणको क्षेत्रमा यी थप समीक्षाहरु हुन् |यी कृति र कृतिकार हरुमाथि मनग्गे लेखिसकिएकै छन् तर दृष्टिकोण आफ्नो-आफ्नो |” ... “प्रस्तुत पुस्तक प्रणयन गर्नु भई श्री प्रेम प्रधानले आफ्नो विस्तृत अध्ययनलाई पाठकहरुका अघि सार्दै सहकारिताको काम गर्नु भएको छ | खण्ड क-ले लेखक र समालोचकहरुको दृष्टिकोणलाई विस्तारित गरिँदै छ भने खण्ड ख-ले सामान्य पाठक र विद्यार्थीहरुको पाठ्य-पुस्तकीय ज्ञानलाई टेवा र उकेरा दिन्छ | केही अध्ययन र केही विवेचनाका अध्येता र विवेचकको साहित्यिक अवदान स्तुत्य छ |”
प्रेमको साहित्य अकादेमीको लागि ‘भारतीय साहित्यका निर्माता’ श्रृङ्खला अन्तर्गत् प्रस्तुत ‘शिव प्रधान’ आफ्नो मन्तव्यद्वारा यसरी प्रारम्भ हुन्छ, “नेपाली भाषा, साहित्य अनि संस्कृतिप्रति प्रतिबद्ध रहेका साथै नेपाली पत्रकारिताको विकासमा योगदान पु-याउने प्रतिभाशाली एवं बहु-आयमिक व्यक्तित्वको धनी शिव प्रधान(१९४५-२००५)-ले नेपाली समाजलाई धेरै दिएका छन् | जातीय भावनामा सधैं ओतप्रोत रहने अनि जातीय अस्मिताको निम्ति चिन्तित बन्ने शिवले नेपालीहरुको जातीय अस्तित्व अनि तिनीहरुले भोगेका जीवन अनि पीड़ा हेरेका थिए | विश्वकै नेपालीहरुले भोगेका समस्या, उत्पीडन र शोषणको विरुद्ध आवाज उठाउने शिवले नेपाली भाषा साहित्यको विकासमा धेरै सहयोग पु-याएका छन् | तिनको व्यक्तित्वको फाँट विशाल अनि विस्तृत थियो अनि तिनको मन पनि त्यतिकै धनी थियो |समाज, जाति, भाषा, साहित्य, संस्कृति अनि देशप्रति इमान्दार रहेर तिनले जीवनमा ठूलो उपलब्धी हासिल गरेका थिए | शिव प्रधान एक साहित्यकार मात्र होइन तर एक कुशल पत्रकार पनि थिए | साहित्य तिनको प्रिय अनि मन पर्ने विषय थियो भने पत्रकारिता तिनको जीवन यापन गर्ने साधन | तिनले यी सब क्षेत्रमा विशेष योगदान दिएर आफूलाई धेरै ऊँचाइमा पु-याएका छन् | साहित्यको विविध विधाहरुमा कलम चलाउने शिवले विविध साहित्यिक ग्रन्थहरु मात्र सम्पादन गरेनन् तर तिनले विशेष समालोचना अनि समीक्षा क्षेत्रमा नै आफूलाई स्थापित गर्न सके | मृत्युको अन्तिम घड़ीसम्म भाषा-साहित्य अनि पत्रकारिता क्षेत्रमा काम गरिरहने शिव जीवनमा कहिले थाकेनन् |
“तिनको परिश्रम, लगनशीलता, धैर्यता, दृढता तथा भाषा साहित्य अनि समाजप्रति भएको प्रतिबद्धता एवं तपस्याले तिनलाई साहित्यको शिखरमा पु-याएको छ | तिनी एक कुशल सम्पादक, पत्रकार, चिन्तक, कवि, निबन्धकार, समीक्षक, नाटककार एवं समालोचक थिए | तीनले आफ्नो जीवन कालमा मौलिक एवं सिर्जनात्मक कृतिहरु मात्र होइन तर तेह्रवटा ग्रन्थहरु सम्पादन गरेर साहित्यको ढिकुटी भरिदिएका छन् | पत्रकारिता तिनको पेशा भए तापनि साहित्य तिनको ढुकढुकी थियो अनि यस क्षेत्रमा तीनले धेरै प्रशंसनीय काम गरेका छन् र नेपाली साहित्य जगत्-मा एक छुट्टै अस्तित्व कायम गरेका छन् |
“डा. दिवाकर प्रधान भन्नु हुन्छ – प्रस्तुत ग्रन्थ ‘व्यक्ति : अभिव्यक्ति’ संस्मरणात्मक लेखहरुको सङ्ग्रह हो | रोगले शिव प्रधानज्यूलाई जित्नैआँटेको बेलामा पनि केही गरिराखौँ भन्ने अभिप्रायले यो ग्रन्थ तयार गरेका थिए | ‘वृहत समालोचना’को परिवर्तित दोस्रो संस्करणको तयारीमा पनि लागिपरेका थिए |शरीर उनको साह्रै शिथिल थियो | मनको योगलाई तनको रोगले जितिछाड़ेको हुनाले काम धेरै थाँतीमा रहेको थाहा लाग्छ | यस पुस्तकमा यिनको आत्म जीवनीको एउटा पन अवश्य देख्न पाइन्छ जहाँ यिनी आफुलाई आदर्श र नैतिकताभन्दा बढ़ी सांसारिक कर्मीको रूपमा प्रस्तुत गर्नमा इमान्दार देखिन्छन् | कुरा नँढाटी नगर्ने आत्मपरक निबन्धकार दरिएका छन् |”
यस लेखकसित पनि शिव प्रधानसित सौहार्दपूर्ण सम्बन्ध रहेकोले गर्दा नयाँ कृति प्रकाशित हुँदा एक प्रति मलाई पनि शुभेक्षासाथ अवश्य दिन्थे | सम्झना छ सन् १९८२मा यहाँका नेवारहरुमा आफ्नो भाषा, साहित्य, संस्कृति र परम्पराबारे सचेतना र आपसी भ्रातृत्व बढ़ाउने उद्देश्यले ‘सिक्किम नेवार गुठी’को शंखनाद गर्दा शिव प्रधानले पनि हाम्रो यस प्रयासको सन्देश प्रेषित गरिएको अन्तरदेशीय पत्रमा विज्ञापन दिएर हौसला बढ़ाउँदै साथ दिँदै सहयोग पु-याएका थिए |
“वृहत समालोचना शिव प्रधानको वृहत परिश्रमको फलस्वरूप नै प्रथम पल्ट नेपाली साहित्य जगत्-मा सम्पादित ग्रन्थ हो | ‘यस ग्रन्थका सम्पादक शिव प्रधानको यो श्रम साँचै श्रद्धेय र स्तुत्य नै छ | भारतेली नेपाली समाजले सिक्किमबाट जे जस्तो आशा राख्दछ साहित्यको पक्षमा त्यो शिवबाट पुग्दै छ | यसैले पनि प्रधान हामीलाई सिक्किम नै हुनुहुन्छ | भाषा र साहित्यको निम्ति कायेन-मनसा-वाचा खट्ने विज्ञ ज्ञानीहरु पौलो पाइए तापनि यसरी तन मन धनले खट्ने भाग्यमानीहरु धेरै मात्र पाइन्छ’भन्ने मन्तव्य डा. गोकुल सिन्हा दिनुहुन्छ |
“यसै सन्दर्भमा उहाँ भन्नुहुन्छ – ताना शर्माले भन्नु भए झैं यो बृहत समालोचना भारत नेपाली बीच एउटा साँघु हो, डा. तिमसिनाले भन्नुभए झैं ‘यथ नाम तथा गुण’ले युक्त छ तथा तुलसीराम कश्यपले भन्नुभए झैं यसमा नेपाली साहित्यलाई विश्व साहित्यसँग दाँजो शक्ति भएका स्तरीय लेखहरु छन् |
“यसरी नै डा. गोकुल सिन्हा भन्नुहुन्छ ‘वृहत समालोचना पठनीय, मननीय, संग्रहनीय, अतुलनीय, अनुकरणीय, उदाहरणीय, उद्धरणीय सबै बनेको छ |’
“यस ग्रन्थका सम्पादक शिव प्रधान स्वयं भन्नुहुन्छ ‘त्यो साहित्यिक बन्धुत्वको प्रयासलाई परस्पर प्रेम, साम्प्रादायिक सद्भावनामा, राष्ट्र राष्ट्रको मित्रता, एकता र बौद्धिक अंकमाल मानवीयताकै उपज बन्न सकोस् यहाँहरुको सद्भावना र सहानुभूति पाइरहन सकूँ |’
“यसै सन्दर्भमा डा. घनश्याम नेपाल भन्नुहुन्छ ‘अब उसो कुनै पनि लेखक वा अन्वेषणकर्ता यदि नेपाली समालोचनाको विकासको इतिहास लेख्न बसेछ र अरु जत्तिकै गम्भीर अध्ययन प्रस्तुत गरे पनि शिव प्रधानद्वारा सम्पादित यो ‘बृहत समालोचना’को नाउँ उल्लेख गरेन भने त्यसले गरेको अध्ययन वा अन्वेषण अधुरो रहनेछ त्यति मुल्यवान यो ग्रन्थ भएको छ |
“अन्तमा भनौं शिव प्रधानको सम्पादनमा प्रकाशन भएको ‘बृहत् समालोचना’ साँच्चै नै सबै दृष्टिमा वृहत नै भएको छ अनि सो ग्रन्थको प्रकाशनले तिनको साहित्यिक व्यक्तित्व लाई धेरै उचाइमा पु-याएको छ |”
स्कूलको प्राथमिक जीवनदेखि चिन्ने मौका पाएका अनि प्राय: पचास वर्ष अघिदेखि नै शिवका लेखन राम्ररी पढ्नेगरेकाले उनको जीवनको हर पक्षलाई प्रेमले यस मोनोग्राफमा राम्ररी सठीक ढङ्गले प्रस्तुत गर्न सक्षम भएका छन् | यस प्रकारको विस्तृत अध्ययन गरी पुस्तिका तयार गरेर लेखकले आफ्ना मित्रप्रति साँचो श्रद्धाञ्जलि दिने अवसर जुटाएकाछन् भने हाम्रा पाठक, विद्यार्थी, शोधार्थी, सबैले नेपाली साहित्य जगत्-का एक असल निर्माता शिव प्रधानसित खूबै कम समयमा समग्र रूपमा परिचित हुने स्रोत पाएको छ – साहित्य अकादेमीको यो प्रकाशन गागरमा सागर सिद्ध भएको छ |
---
क्रमशः अन्तिम भाग
१९ फरवरी २०१४
विद्यार्थी सङ्घ
सन् १९६८ मार्चमा शीतकालीन विदापछि आफ्नो अध्ययन-क्रम जारी राख्नु म फेरि दार्जीलिङ सरकारी कलेज पुग्छु – यहाँ प्राप्त शिक्षा मलाई एक लेखक बन्नमा सहायक भएकोले गर्दा मेरो जोश अनि हौसला बढ़ेको थियो | एक पटक प्रेमले अब हामी नेपाली भाषामा विज्ञानका कथा, लेख, आदि लेख्नु पर्छ भनेको याद छ - जुन स्वाभाविक पनि थियो त्यस समय स्नातकोत्तर विद्यार्थी हुनपुगेकोमा | जुलोजी विभागमा ‘बायोस्’ नाम दिँदै भित्ते-पत्रिका शुरु ग–यौं जसको लागि साथीहरुकोबाट रचनाहरु जम्मा गरी त्यसको लेखन, चित्राङ्कन साथै सज्जाको जिम्मा म स्वयम्-ले नै लिएको थिएँ | सो अझ पनि चालु छ कि छैन मैले जान्ने कोशिस गरेको छैन |
प्रेम, देशरत्न र म हामी तीन सधैं चिया-खाजा खान भानुग्रामतिर जान्थ्यौं | एक दिन मैले साथीहरुलाई भनें कि हामी प्रि-यूनिभर्सिटीदेखि एम.एस्सी. अन्तिम वर्षसम्म पुग्यौं , यहीँ पढ्यौं र अब कलेज छाड़्ने समय पनि नजिकिँदैछ तर केही उल्लेखनीय योगदान दिनुसकेका छैनौं | यसको लागि केही गर्न पर्ने हो तर कुनै ठोस कदम यहाँ चालेका छैनौं | सलाह हुन्छ हामी स्नातकोत्तर विद्यार्थीहरुलाई यहाँको विद्यार्थी सङ्घमा प्रतिनिधित्व मात्र नभई कार्यकारिणी समितिमा केही महत्वपूर्ण पदमा स्थान सुरक्षित हुनुपर्छ | हामी सबै स्नातकोत्तर छात्र-छात्राहरु मिलेर एक प्रतिवेदन प्राचार्यसमक्ष चढ़ाउँछौं तर समाधान सरल थिएन र प्राचार्यसाथै कार्यकारिणी समितिका पदेन अध्यक्ष डा. विश्वपति दासगुप्त (सन् १९६२मा म यहाँ प्रवेश लिँदा मेरा श्रद्धेय गुरु जुलोजी विभागाध्यक्ष थिए अनि प्राचार्य १९६८-१९७२ पछि फेरि १९७७-१९९३)-द्वारा यो स्वीकार भएन | फलस्वरूप, हामी आन्दोलित भई आफ्नो माँगको पक्षमा कलेजबाहिर यताउता शहरतिर देवप्रकाश राई र अन्य स्थानीय नेताहरुसितसमेत भेटघाट गर्न पुगेका थियौं | अन्तत: हाम्रो प्रस्ताव स्वीकृत हुन्छ अनि कार्यकारिणी समितिमा उपाध्यक्षको पदमा स्नातकोत्तर विभागबाट निर्वाचित छात्र आसीन हुने निर्णय हुन्छ | यसरी सो उपाध्यक्षको पदमा प्रथम पटक पुग्ने पाँचौं वर्षमा अध्ययनरत विद्यार्थी सुरेन्द्रकुमार प्रधान हुन् जो पछि सन् १९७६मा सिक्किम सरकारी कलेजमा कार्यरत भई प्राचार्यको पदमा २०१० सालमा सेवानिवृत्त भए |
सुरेन्द्र उपाध्यक्ष पदमा रहेको बेला नेपाली विभागमा पास कोर्स अर्थात् ऐच्छिक विषय मात्र पढ़ाइनेगरेको अनि पहिलेदेखि सम्मान कक्षा शुरुहुने कुरा चले ता पनि यसबारे प्राचार्यबाट स्वीकार नहुँदा तीन दिन तीन रातसम्म घेराउ गरी अन्ततः डी.पी.आई.द्वारा तेस्रो दिन स्वीकृति हुन्छ | काठमाडौँको त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा एम.ए. पास गरेर आएका प्रेम दोर्जे भुटिया उर्फ कवि प्रेम शेर्पा ‘विरोकी’को व्याख्याताका रूपमा तदर्थ नियुक्ति हुन्छ अनि सन् १९७१ देखि सम्मान कक्षा शुरु हुन्छ |
पुस्तक-पत्र-पत्रिका प्रेम
विज्ञान सम्बन्धित लेखहरुको सिलसिलामा नै सन् १९७१मा भोटाङ शाही सरकारमा मानस अभायारण्यमा सेवारतछँदा त्यहाँबारे लेख प्रेमले मलाई भनेकाले प्रथम नेपाली डाइजेष्ट ‘हिमालोक’मा मेरो लेख त्यस बेला छापिएको थिए | केही दशकअघि मसित भएको सो पत्रिका एक मित्रले लगेर फर्काउने कृपा नगरेकाले गत वर्ष मेरो अनुरोधमा प्रेमले लेखको फोटोकपी पठाइदिएका थिए |
नेपाली साहित्य सम्मलेन, दार्जीलिङमा प्रेम मूल सचिव छँदा मासिक ‘दियालो’ पत्रिका तथा अन्य प्रकाशनहरुको बिक्री-वितरणको लागि नेपालका विभिन्न नगर हुँदै विराटनगरसम्म पुग्थे | यता गान्तोकमा भर्खर-भर्खरै शुरु गरेको हाम्रो ‘रचना’ पुस्तक पसलमा समेत पुस्तकहरु पठाइदिएका थिए | सिक्किम सरकारको शिक्षा विभागद्वारा आफ्नो पाठ्यक्रममा साझा प्रकाशनका पुस्तकहरु राखेकाले हामी पनि विराटनगर र काठमाडौँसम्म पुगेर पुस्तकहरु ल्याई आपूर्ति गर्थ्यो | यतातिर कसैले पनि साझाका पुस्तक राख्दैन थिए | यस बाहेक रचनाले गोरखापत्र संस्थानको एजेन्सी लिई ‘मधुपर्क’ साथै लोकप्रिय साप्ताहिक ‘समीक्षा’ अनि मासिक ‘रुपरेखा’ पनि आफ्ना ग्राहकलाई उपलब्ध गराउँथ्यो | पछि अरुहरुले पनि पसल खोले र नेपाली पुस्तक बेच्न थाले |
प्रेमसित समय-समयमा भेट हुने कहिले गान्तोक कहिले दार्जिलिङमा | सितम्बर २३ सन् २००१सालमा मेरो पुस्तक ‘विकासको गोरेटो : ग्रामीण प्रौद्योगिकी – कम दाम धेर ज्ञानका सठीक सुझाउहरु’को विमोचन नेपाली साहित्य सम्मेलन, दार्जीलिङको पुस्तकालयमा हाम्रा गुरु डा. गम्भीरसिँह योन्जनका बाहुलीबाट हुँदा प्रेम लगायत स्वर्गीय आर.पी. लामा, स्वर्गीय उदयचन्द प्रधान, गोपीचन्द्र प्रधान, भरतप्रकाश राई, सुभाष छेत्री, हिमुलका हरिप्रसाद, आदिको सहयोगबिना यो कार्यक्रम सम्भव हुने थिएन | असम नलबारीका गोपाल खड़का पनि त्यहाँ उपस्थित थिए | अन्य बाहेक डा. योन्जनले ‘यस पुस्तकलाई एउटा अपूर्व कृतिको रूपमा हामीले प्राप्त गर्नु सकेको...” लेखेका छन् भने प्रेम लेख्छन् “... नेपाली वाङमय इतिहासको एक नौलो कृति हो | प्रस्तुत पुस्तक विज्ञान र प्रविधि सम्बन्ध अत्यन्त ज्ञानमूलक औ ज्ञानमुखी बन्न पुगेको छ |”
सन् २००५ मा नेपाली साहित्य परिषद्, सिक्किमको सभाकक्षमा आयोजित रचना रजत जयन्ती समारोहमा दार्जीलिङबाट आएर महोत्सवको शोभा अनि गरिमा बढ़ाउनेहरुमा गोपीचन्द्र प्रधान अनि प्रेम पनि थिए | यस अवसरमा अभूतपूर्व रचना रजत् जयन्ती कथा प्रतियोगिता आयोजन गरी स्वर्गीय शरद् छेत्री, गुप्त प्रधान, डा. शान्ति छेत्री अनि सुवास दीपक भएको निर्णायक मण्डलीद्वारा विजेता घोषित गरेको थियो | पुरस्कृतसँगै उत्कृष्ट २५ कथाहरुलाई सिक्किम हिमाली भेकका सम-सामयिक पुरस्कृत प्रतिनिधि नेपाली कथा-हस्ताक्षरहरुको सङ्गालो ‘रचना कथा अनुष्ठान २००५’ प्रकाशित गरी सुपथ मूल्यमा साझा प्रकाशनद्वारा नेपालसमेतमा बिक्री-वितरण भएको थियो |
यसबिच सिक्किम सरकारको संस्कृति तथा धरोहर विभागद्वारा आयोजित सिक्किम सम्मान सम्मिलन, २००४-को दस्तावेज ‘हाम्रा गौरव शिखर - उहाँहरु, जसको समर्पण र प्रतिभाले हामी गौरवान्वित र सम्मानित छौं!’-मा सम्मिलितहरुमा प्रेम एक थिए | यसमा ‘उनलाई ‘कालो सर्प’ कथाको निम्ति बगर प्रकाशन, नेपालबाट श्रेष्ठ कथाकारको सम्मान मिलेको’ साथै ‘उनका कथाहरु हिन्दी, अंग्रेजी, तमिल, मलयालम र अन्य भाषाहरुमा पनि अनुदित गरिएको’ जानकारी पाउँछौं | यस अन्तर्गत् प्रेमले आजीवन साहित्यिक पेन्सन पाउँदैछन् |
प्रेमसित सन् २०१२मा एक दुर्घटनामा दु:खद निधन भएका हाम्रा बहिनी सुनिता र ज्वाईंसाहब उदयचन्द प्रधानको अन्त्येष्टि क्रियामा हरिदास हट्टा दार्जीलिङमा भेट भएको थियो | त्यसपछि हाम्रा स्वर्गीय मित्र शरद् छेत्रीको दुःखद निधनभएको अन्त्येष्टि क्रियामा सामेल हुनजाँदा नेपाली साहित्य सम्मेलन दार्जीलिङमा प्रेमको सहयोगमा अनेक व्यस्ततामाझ त्यहाँ वार्षिक आम सभामा भाग लिनआएका स्थानीय र टाढ़ाटाढ़ाका अनेकौं साहित्यकार महानुभावहरुसित भेटघाट गर्ने साथै कतिपयसित परिचय गर्ने अनि पछि धोबी तलाउ/रसिक ग्राममा अच्छा राई ‘रसिक’ स्मृति-भवनमा श्रद्धेय कृष्णसिंह मोक्तान लगायत त्यहाँ उपस्थित अनेक लेखक-प्रशंसकहरुसित भेट्ने सुअवसर जुरेको थियो | वास्तवमा दिवङ्गत साहित्यकार-मित्रको अकस्मात निधनमा हाम्रो करुणा देवी स्मारक धर्मार्थ गुठीद्वारा केही दिन अघि घोषित ‘शरद् छेत्री स्मृतिग्रन्थ’बारे जानकारी दिँदै यसको लागि उहाँहरुलाई उनको सम्झनामा आफ्ना संस्मरण रचनाहरुद्वारा सहयोग पनि अनुरोध गर्नु थियो | प्रेमले पनि एक लेख दिएका थिए तर केही लेखहरु षड्यन्त्रवश हामीसम्म पुग्न सकेन – यसबारे लेख्न यहाँ स्थान र समय दुवैले अनुमति नदिएको अनि यो आफैमा एक अर्कै लेखको विषय हुनेछ |
स्वर्गीय शरद् छेत्रीको ६६औ जन्म-जयन्ती २० जून २०१३को दिन करुणा देवी स्मारक धर्मार्थ गुठीद्वारा नेपाली साहित्य सम्मेलन दार्जीलिङको सुधपा सभाकक्षमा अध्यक्ष गोपीचन्द्र प्रधानको सहयोग र अध्यक्षतामा हालै बङ्गरत्नले विभूषित कृष्णसिंह मोक्तानको मुख्य आतिथ्यमा आयोजित ‘शरद् छेत्री स्मृतिग्रन्थ लोकार्पण समारोह’मा साहित्य अकादमीको नेपाली भाषा परामर्श समितिका नवनियुक्त सञ्योजक प्रेम प्रधान अनि स्वर्गीय शरद्की श्रीमती शोभा छेत्री विशेष-अतिथिद्वयको रूपमा आमन्त्रित थिए | गोपीचन्द्रलाई सभाध्यक्षको भार वहन गरिदिने आग्रह गर्दा संकोच मान्दै थिए तर मैले भनें - हामीले हाम्रालाई सम्मान नगरे कसले गर्लान् अनि यसो गर्न पाउनु हाम्रो सौभाग्य हो अनि उनले स्वीकार गरे | यस सरल, सौम्य तर भव्य साहित्यिक भेलामा नेपाली साहित्य जगत्-का स्वनामधन्य साहित्यकारहरु असीत राई, डा. जस योन्जन ‘प्यासी’, डा. जीवन नामदुंग र मीना लामा, कर्ण थामी, हरेन आले, सूर्य गिरी, सूर्य श्रेष्ठ, एम. पथिक, चन्द्र शर्मा, सचेन्द्र राई ‘दुमी’, दलसिंह ‘अकेला’, पुरण थुलुंग राई र स्नेहलता राई, धनसिंह मोक्तान, लक्ष्मी कालिकोटे, सुभाष छेत्री, उदय राई ‘गोर्खा’, आदि अतिरिक्त हाम्रा गुरु डा. गम्भीरसिंह योन्जन, शिक्षा विद् डा. कवीन्द्रकुमार तामांग, पर्यावरण विद् अनि भारतीय संस्कृति निधिका स्थानीय सञ्योजक भरतप्रकाश राई, टी. एन. प्रधान, रञ्जना श्रेष्ठ, विद्या प्रधान, साँवर अग्रवाल, निम सेरमा, धिरज सुब्बा, एम. प्रधान, आदि जस्ता हाम्रो समाजका नक्षत्रहरुको दुर्लभ उपस्थितिले यस समारोहको शोभा अनि गुठीको गरिमा बढेको थियो | सिक्किमको प्रतिनिधित्व गर्दै गान्तोकबाट डा. शान्ति छेत्री, प्रद्युम्न श्रेष्ठ र अमर बानिया ‘लोहोरो’ अनि गेजिङ्गबाट केदार गुरुङको विशेष उपस्थितिले हाम्रो प्रयासको महत्व निश्चयनै बढ़ेको र सार्थक सिद्ध भएको थियो |
दार्जीलिङ सरकारी कलेजमा स्नातक स्तरको विद्यार्थी छँदा सिक्किममा राजकीय व्यवस्थामा पढी-हुर्केका साथै मेरो अध्ययन विषयहरुमा नेपाली नभएको र छात्रावासमा बस्ने विद्यार्थी भएकोले हामीहरुको तुलनामा स्थानीय वासिन्दा प्रेम आफ्नो घर ‘सरस्वती निवास’मा कतिपय विद्यार्थीहरुलाई आवासीय सुविधा उपलब्ध भएकोले नेपालका चक्रप्रसाद बाँस्तोला, परशुराम राजभण्डारी, वासुदेव शर्मा आदिसित सङ्गत अनि कलेज आउँदा-जाँदा अलग वातावरणमा खेले-हुर्केकाले राजनैतिक दृष्टिकोणमा हामीभन्दा धेर सचेत र अधिक सक्रिय थिए जस्तो मलाई लाग्छ | गुमानसिंह चामलिंग, धर्मशमशेर बस्नेत, दावा बमजन, मोहन छेत्री र अन्यहरुसित मिलेर प्रेमले नेपाली भाषाको संवैधानिक मान्यताको लागि सङ्घर्ष त्यही बेलातिर शुरु गरेका थिए |
‘प्रक्रिया भाषा-मान्यता विशेषांक’ (वर्ष ७ – अंक ११ १९९३/२०४८)-मा प्रकाशित प्रेमको लेख ‘नेपाली भाषाको संवैधानिक मान्यता – अन्तिम घड़ीका क्षणहरु’ शुरु गर्न अघि सम्पादकको यस टिप्पणीबाट शुरु हुन्छ - “प्रक्रिया वर्ष ६ – अंक ९ १९९२ मा यस लेखकको सन् १९९२मा ‘भारतीय मर्यादाको निम्ति हाम्रो भाषाको पथयात्रा’मा नेपाली भाषाको संवैधानिक मान्यताको प्रथम चरणको छोटो इतिहास संक्षेपमा वर्णन गरिएको छ | सन् १९५६ सालदेखि शुरु भएको नेपाली भाषाको आन्दोलनमा २४ अगस्ट १९५६ मा नै संसदमा नेपाली भाषाको निम्ति उठेको प्रश्न देखि लिएर नेपाली भाषाको आन्दोलनमा विभिन्न व्यक्ति, राजनैतिक दल, साहित्यिक एवं सामाजिक संस्थाहरुले गरेका महत्वपूर्ण कार्यहरुको संक्षेपमा उल्लेख छ | ‘अ. भा. नेपाली भाषा समिति’ स्थापना हुनअगि नै ‘नेपाली भाषा अध्ययन समिति’ कलिम्पोंगले भारतका प्रधान मन्त्रीलाई चढाएको प्रथम स्मारक पत्रको उल्लेख गर्दै ‘नेपाली साहित्य सम्मेलन’ दार्जीलिङले सन् १९६९ देखि वर्तमान कालसम्म नेपाली भाषाको संवैधानिक मान्यता सम्बन्ध गरेका कार्यहरु वर्णन छ ‘नेपाली भाषा संघर्ष समिति’ (दा.), ‘नेपाली भाषा प्रयोग गर समिति’ (दा.) आदिको स्थापना र उद्देश्यहरु र कार्यहरु एवं देशभरका नेपाली संस्थाहरुले नेपाली भाषाको निम्ति गरेका कार्यहरुको पनि उल्लेख छ | सन् १९७२मा ‘अ. भा. नेपाली भाषा समिति’ स्थापना भएपछि उक्त समितिले अखिल भारतीय स्तरमा सन् १९८६ सालसम्म गरेका महत्वपूर्ण कार्यहरुको पनि उल्लेख छ | नेपाली साहित्य सम्मेलन, नेपाली साहित्य परिषद्, नेपाली भाषा समिति आदिले संयुक्त रूपमा ‘साहित्य अकादेमी’ दिल्लीमा नेपाली भाषालाई मान्यता दिलाएको कुरो पनि उक्त लेखमा उल्लेख छ | त्यसपछि ‘गोर्खाल्याण्ड आन्दोलन’पछि दार्जीलिङले भाषासम्बन्धी कार्यहरु गर्ननसके पनि ‘नेपाली साहित्य सम्मेलन’ आफ्नो सिद्धान्तमा अडिग भइबसेको कुरो उल्लेख छ |”
प्रेमले आफ्नो सो लेखको थालनीनै लामो इतिहासलाई संक्षिप्तमा रोचक तरीकाले यसरी वर्णन गरेकाछन्, “नेपाली भाषाको संवैधानिक मान्यताको लामो इतिहास १८ जनवरी १९५६देखि शुरु भएर २० अगस्त १९९२मा समाप्त भएको छ ‘नेपाली भाषाको संवैधानिक मान्यताको आवश्यकतालाई बुझी ३६ वर्षअगि नै भारतका प्रथम राष्ट्रपति डा. राजेन्द्र प्रसादलाई याददाश्त चढ़ाउने तीन भाषा संग्रामीहरु सर्वश्री आनन्दसिंह थापा, वीरसिंह भण्डारी र नरेन्द्रसिंह राणाले भाषाको इतिहासमा महत्वपूर्ण स्थान ओगटेका छन् र तिनीहरुले चढाएका स्मारक-पत्र भाषा आन्दोलनको ऐतिहासिक दस्तावेज नै भएको छ | संसदका दुवै सदनहरुमा २० अगस्ट १९९२को दिन नै तयार गरिएको सरकारी मसौदा, त्यही दिन नै सर्वसम्मतिद्वारा संविधान संशोधन गरी संविधानको आठौँ अनुसूचीमा गाभिनु हाम्रो निम्ति अति गर्वको कुरो भएको छ | फेरि त्यसको ठीक ११ दिन पछि ३१ अगस्त १९९२ मा नै भारतका राष्ट्रपति डा. शंकरदयाल शर्माले संविधान संशोधित बिललाई सही गरी नेपाली, मणिपुरी र कोंकणी भाषालाई कानुनी रूपमा दर्जा दिनु कम महत्वको कुरो भएको छैन | १ सेप्टेम्बर १९९२, मंगलवार, रेस्टि सं. डी.एल. ३३००४९२ भारतको राजपत्र (The Gazette of India) भाग ll. खण्ड l मा भारत सरकारको सचिव के.एल. मोहनपुरियाले हस्ताक्षर गरी प्रकाशित भएको राजपत्रमा नेपाली भाषालाई संविधानको आठौँ अनुसूचीमा गाभिएको कुरो हामी भारतका सबै नेपालीहरुको निम्ति एइतिहसिक् दिन भएको छ | ...
अनि यो यहाँ राख्न उत्तिकै रोचक लाग्छ “दार्जिलिङमा नेपाली भाषाको निम्ति अन्तिम क्षणसम्म खुल्लमखुल्ला लड़ने वा परोक्ष रूपमा लड़ने व्यक्तिहरुका नाम भाषाको इतिहासमा लेखिन पर्छ | ती व्यक्तिहरु हुन् साहित्यिकहरुमा ...” अन्य बाहेक एक स्वयम् हाम्रा प्रेम प्रधान पनि !
---
उपरोक्त चर्चा-परिचर्चाबाट बहुमुखी प्रतिभा भएका प्रेमलाई साहित्यिक क्षेत्रमा उनका लेख, कथा वा पुस्तक वैज्ञानिक पृष्ठभूमिमा भए ता पनि मनोविश्लेषणात्मक व्याख्या गर्ने प्रयास भएकाले अधिक चर्चित तथा परिचित भएको पाउँछौं | कहीं यो सीप पनि उनले विरासतमा नै पाएका त होइनन् भन्ने संशय वा जिज्ञासा मेरो मनमा जाग्दछ कारण प्रि-यूनिभर्सिटी कक्षामा छँदा स्वर्गीय प्राध्यापक बाबुलाल प्रधानले नेपाली कक्षामा जुन कुशल र सहज तरीकाले हामीलाई विशेश्वरप्रसाद कोइरालाको ‘दोषी चस्मा’ यौन मनोविश्लेषण गरी पढ़ाउँथ्ये त्यहीं गुण वंशानुगत भई प्रेमलाई पनि फ्रायडेली यौन मनोविश्लेषणका एक व्याख्याताको रूपमा हामीले पाएका हौँ कि भन्ने मेरो क्षुद्र विचार छ |
प्रेमको नेपाली भाषा, साहित्य र समाजप्रति विद्यार्थी छँदादेखि नै नेपाली साहित्य सम्मेलन, दार्जीलिङसित आबद्ध भई सेवा पु-याइआएको र हालसालै साहित्य अकादेमीद्वारा नेपाली भाषा परामर्श समितिको सञ्योजक नियुक्त भएकोमा संस्थाले सही निर्णय गरी एक योग्य, कुशल अनि समर्पित साहित्य-सेवीको दीर्घकालीन योगदानको कदर गर्दै यस दिशातर्फ समर्पण गर्न उनलाई अझ धेर अवसर र बाटो प्रशस्त गरिदिए फलस्वरूप उनीबाट आगामी दिनहरुमा अभूतपूर्व कदमहरु चालेर नयाँ क्षितिज खोज्दै केही उल्लेखनीय कीर्तिमान स्थापित गर्न सफल होउन् – मेरो शुभकामनासाथ यो लेख यहीँ शेष गर्ने अनुमति चाहन्छु ||
---
स्थानीय सिक्किम र आसामबाट एकैसाथ प्रकाशित 'हाम्रो प्रजाशक्ति'मा धारावाहिक रूपमा फरवरी १६, १७, १८ अनि १९ २०१४मा छापिएको छ |