सिक्किममा शिक्षक पदको लागि अति-शिक्षित अत: अयोग्य ठहराइएपछि बीरगंजमा ‘यति एक्सचेन्ज’ पत्र-मित्र क्लब थालेर ‘यति’ पत्रिका सम्पादित-प्रकाशित गर्छु | नागरिक सेवा परीक्षाको अन्तर्वार्तामा विफल भएर १९७१ सालमा म भोटाङको मानस अभयारण्यमा गेम वार्डनको सेवा हासिल गर्छु | अर्को वर्ष नागरिक सेवा परीक्षामा सफल भई सिक्किम सरकारद्वारा दुई वर्षको लागि भारतीय लेखा सेवाको प्रशिक्षणार्थी भई मसुरी, शिमला, कलकत्ता, आदि स्थानमा तालिम सिद्ध्याई सन् १९७४मा गान्तोक फर्किन्छु | अन्तमा, सन् २००७को नवम्बर महिनामा सेवाबाट फुर्सद पाउँछु | जीवन धान्ने क्रममा दार्जीलिङसित टाढ़िन पर्छ यद्यपि त्यहाँबाट स्वर्गीय मित्र शरद् छेत्रीले आफ्ना नयाँ पुस्तक समय-समय सम्झना गरी पठाइबस्थे | यस बाहेक दार्जीलिङसित सम्पर्क नवीनीकरण गरी प्रगाढ हुने सुअवसर एक वैवाहिक सम्बन्ध स्थापित हुनगएर हुन्छ | स्वर्गीय राधिका रायाकी कान्छी बहिनी चन्द्रप्रभाको रिनाक स्कूलमा ‘हेडसर’ हाम्रा बुवासँगै सेवारत के. के. थापासित भएकोले हाम्रो परिवारसित राम्रो चिनाजाना थियो | उहाँहरुकी जेठी दिदी प्रभावतीका छोरा शरद्-का भाई सुभाष हिमुलमा नै कार्यरत उदयचन्द प्रधानका मित्र भएकाले परिचय-प्रस्तावको माध्यम कायम भई मेरी जेठी बहिनी सुनिताको लगन-गाँठो १७ अप्रेल १९८०मा बाँधिनगयो |
१६ अप्रेल २०१२सम्म मात्र यी दुईको भाबी लेखिएको हुनाले त्यस दिन दार्जीलिङबाट गान्तोक आउँदा मल्लीछेउ टिष्टा नदीमा वाहन-दुर्घटना भई दुवैको दुःखद निधन हुनगएको थियो | आज दुई वर्ष बितिसक्दा पनि उनी दुई अझ हरिदास हट्टा अवस्थित आफ्नो निवास ‘शुभश्री’मा नै छन् भन्ने कहिले काहीं अझ पनि लाग्छ | विश्वास लाग्दैन कि यी हामीमाझ अब छँदैछैनन् |
नेपाली साहित्यप्रति अनुराग र समर्पण नै भएकाले उदयले करुणा देवी स्मारक धर्मार्थ गुठीद्वारा सञ्चालित ‘उदय बचाऊ अभियान’लाई त्यहाँ दार्जीलिङमा साहित्यकार/साहित्यप्रेमीहरुको घर-घर दैलो-दैलो पुगी ‘उदय’को नौलो अङ्क व्यक्तिगत रूपमा भेटी हात पारेर मात्र उनी सन्तुष्ट हुन्थे | “यस प्रकार किन कष्ट गर्नुहुन्छ बजारको कुनै सजिलो ठाउँ वा पसलमा राखे हुने” भन्दा “यही निहुँमा आफ्ना परिचित हरुसित भेटघाट गर्ने मौका जुरेकोले यस्ता सुअवसरलाई किन हातबाट जानु दिनु” भन्ने जवाफमा उनको सेवा-भावना जान्न पाएको हुन्छु | यस सक्रियता अनि सहयोग फलस्वरूप हाम्रो यस अभियानलाई एक सम्मानजनक स्थितिमा पु-याएका छन् | शीर्षस्थ देखि सामान्य स्तरका साहित्य अनुरागीसम्म ‘उदय’लाई परिचित गराएर सदस्यता स्वीकार गराएका थिए | यस समर्पित सहयोग उहाँलाई ‘उदय’का उदय भन्न उपयुक्त ठहरिन्छ |
जीवन यापनका लागि ‘हिमुल’सित लामो समय देखि आबद्ध भएकाले पहाड़का सबै ठाउँ कुना-काप्चा पुगेर ग्रामीण कृषक र दुध उत्पादकहरुसित व्यक्तिगत तौरमा परिचित मात्र नभएर सम्पर्क हर हमेशा गाँसेर आपसी सम्बन्ध मधुर र सुदृढ़ राख्न प्रयत्नशील रहन्थे | उनीहरुको हित र उपकारको लागि सदैव चिन्तित साथै उपलब्ध रहन्थे | कति पटक उनीहरुको अवस्था देखी दया लागेर स्वयम्-ले लगाएको हातबाट घड़ी र वस्त्रसमेत उतारेर दिनेगर्थे | आफ्नो जाति, धर्म, भाषा, साहित्य, संस्कृति, परम्परा अनि धरोहरप्रति यति प्रतिबद्ध थिए कि उहाँ हरदम यीमध्ये कुनै न कुनै विषयसित सम्बद्ध भई उदय हमेशा व्यस्त रहन्थे |
उदयको माध्यमबाट मैले भुल्न-बिर्सन गएका कतिपय सम्पर्क र क्षणहरु ताजा गर्नसकें | कति नयाँ परिचय र मित्रता जुर्न गयो | जहिले पनि केही आवश्यक काम-कुरा प-यो उहाँलाई अनुरोध गर्दा त्यो फत्ते गर्थे | सबैसित सुमधुर सम्बन्ध र स्नेहमय वर्ताव राख्थे र त बाटोतिर हिंड्दा चिना-जानाहरुसित प्रशस्त भेटघाट हुनेगर्थ्यो |
उहाँ जस्ता योग्य वर पाएर हाम्री बहिनी पनि अति सुहृदयी र दयालु भएकी थिई - सुशील र गुणवती अघिबाट थिई नै | यी दुईमा एक- अर्कासित यति धेरै माया र समर्पण थियो कि हाम्री मुमाले भन्नुहुन्छ कि यस दुर्घटनाबाट कुनै एक पनि बाँचेको भए उसलाई बाँच्न अति कठिन मात्र नभई शेष जिन्दगी दोभर मुश्किल हुन्थ्यो | दुर्घटनामा परि पछिल्तिर बस्ने उम्केका एक यात्रुले गाड़ी खोलातिर झर्दा अन्तिम क्षणमा ती दुई एक-अर्काको अङ्गालोमा बलियो बाँधिएका थिए | वैवाहिक बन्धन गाँस्दाको मूल मन्त्र “सँगै जिउने सँगै मर्ने” चरितार्थ र सिद्ध गरेका थिए यी दुईले |
उनको निधनको केही सातापछि मित्र शरद्–ले पनि हामीलाई छाड़ेर गए | हाम्रो पूर्वनियोजित उनको अभिनन्दन ग्रन्थलाई उहाँकै इच्छामा यस युगलको दुःखद निधनले गर्दा स्थगित राखेकाथियौं तर हामीलाई के थाहा उहाँ स्वयम् पनि यसरी हामीमाझबाट टाढ़ाभई अनन्तको यात्रामा प्रस्थान हुनेछन् | उनले आफ्नो ३२औँ र अन्तिम कृति आखिरी जन्म-दिवसमा नेपाली साहित्य जगत्-लाई चढ़ाएर दुई सातापछि ४ जुलाईको दिन संसारसित बिदा लिए | उहाँको प्रथम ६७ औँ जन्म जयन्ती २० जून २०१३को दिन नेपाली साहित्य सम्मेलन भवन दार्जीलिङको सुधपा प्रेक्षागृहमा बङ्गरत्न कृष्णसिँह मोक्तानको प्रमुख आतिथ्यमा आयोजित सरल, शान्त र सौम्य समारोहमा नेपाली साहित्य जगत्-का अनेकौं साहित्यिक नक्षत्रहरु अनि साहित्य-अनुरागीहरुको अभूतपूर्व उपस्थितिमा ‘शरद् छेत्री स्मृतिग्रन्थ’ लोकार्पणकासाथ श्रद्धाञ्जलि अर्पण गर्ने सुअवसर हामीले जुराएका थियौं |
हामीलाई प्रोत्साहन दिँदै आसाम लामडिंगबाट सम्पादक श्रद्धेय के. बी. नेपाली नेपाली साहित्यिक पत्रिका ‘बिन्दु’को नवीनतम वर्ष ४२ अंक १२४-१२५ सिक्किम विशेषाङ्क मार्च २०१४ अङ्कमा लेख्छन् -
"प्राप्ति-स्वीकार
प्रकाशक राजीव शंकर श्रेष्ठ द्वारा करुणा देवी स्मारक धर्मार्थ गुठी सिक्किम बाट शरद छेत्री स्मृति ग्रन्थ प्रकाशित गरेर राजीव श्रेष्ठ ज्यूले नेपाली साहित्यमा एउटा इतिहास रचि दिएका छन् | सरस्वतीका वरद पुत्र अमर कवि कलाकार शरद् छेत्री ज्यूको 'स्मृति ग्रन्थ' द्वारा | हुनत यस्तो महान काम पहिले दार्जीलिङबाट हुनु पर्नेमा सिक्किम बाट हुन गएकोमा राजीव शंकर श्रेष्ठ पनि साहित्य र समाजमा भिजेकै व्यक्तित्व भएका व्यक्ति हुन मान्नै पर्छ | यस्ता काम उहाँबाट आगामी दिनहरुमा पनि भै रहने छ ... आशा राखौं |"
आज हामीमाझ न शरद् रहे न हाम्रा ज्वाईं साहेब उदय अनि बहिनी सुनिता नै | उहाँहरुको अनुपस्थितिमा के कस्तो फरक पर्नजान्छ हाम्रो दिन-दिनैको जिन्दगीमा - हर क्षण हर पल सम्झना आई नै रहेको हुन्छ | धेरै कुराहरु हामीले मिलेर गर्नचाहेका थियौं अनि केही ठोस कार्य गर्नसक्थ्यौं तर लेखिएको थिएन हाम्रो भाग्यमा र स्वीकार थिएँ नियतिलाई | आज उनी दुईको पुण्य तिथिमा दिनसक्छौं भने त्यो हो सिर्फ दुई थोपा आँसु !
हाम्रो लागि दार्जीलिङका पर्याय बनेका यी आत्मा रहेनन् - दार्जीलिङ अब त्यो दार्जीलिङ रहेन !!