भीष्मप्रताप प्रधान
श्रद्धाञ्जलि २२औँ स्मृति-दिवसमा
राजीव शङ्कर श्रेष्ठ
म सम्झना गर्दैथिएँ मेरा दुवै मुमाहरु रिनाकका यशस्वी टक्सारी चन्द्रवीर प्रधानको परिवारबाट थिए जसको अभूतपूर्व अनि अविस्मरणीय योगदानबापत् आज यस पुण्य-भूमि सिक्किममा एक वंशज भई हाम्रो जन्म हुनगएको छ | यस हिमाली भेकका १२ महान् गौरव पुरुषहरुमा उहाँलाई एक चिन्हित गरेर डा. पारसमणि प्रधानले आजभन्दा एक शताब्दीअघि पाठ्यपुस्तकहरु समावेश अनि तत्कालीन सरकारबाट स्वीकृति प्राप्त गरी जनमानसमा सन्देश पु-याएका थिए | मेरा मुमाका दुई भाईहरु थिए मेरा ठूलो मामा भीष्मप्रताप प्रधान अनि सानु मामा मोहनप्रताप प्रधान, जो सिक्किम राज्यका प्रथम नेपाली मुख्य सचिवको पदमा आसीन भएका थिए आजभन्दा साढ़े-तीन दशकअघि | आफ्ना पिता राई साहेब रत्नबहादुर प्रधानको असामयिक निधनपछि गहन पारिवारिक जिम्मेवारी मेरा ठूलो मामाले वहन गर्दै आफ्ना भाईको उच्च शिक्षा र उज्ज्वल भविष्यको मार्ग प्रशस्त गरेका थिए | म मेरा यी दुई मातालाई देवकी र यशोदासित सँगसँगै सिक्किम माता र भारत माताको रूपमा - एक जसले जन्म दिए र अर्कीले पालन-पोषण गरेको तुलना गर्दै अङ्ग्रेजीमा एक स्वरचित कवितासहित मेरो बृहत् पुस्तक ‘सिक्किम – थ्री डीकेड्स टुवर्ड्स डेमोक्रेसी’ भारतका तत्कालीन राष्ट्रपति ए.पी.जे. अब्दुल कलामलाई उहाँको सिक्किम-भ्रमणमा टक-याउने सौभाग्य पाप्तभएको थियो | मेरी मुमाले सन् १९५४ सालमा मलाई आठ वर्षको कलिलो उमेरमा छोड़िजानुभएपछि मेरा मामाहरुबाट प्राप्त माया र स्नेहप्रति कृतज्ञ यो लेख ठूलो मामालाई उहाँको २२औं स्मृति-दिवसको पुण्य अवसरमा श्रद्धापूर्वक समर्पित छ |
ठूलो मामा (१४ नवम्बर १९२४ – २५ जुलाई १९९२)सित सबभन्दा पहिलेको पुरानो सम्झना सन् १९५०को एक साँझको छ जब म मेरा बुवा-मुमा अनि मामा-माइजु र वर्तमान मुमासित दार्जीलिङमा ‘महल’ चलचित्र हेरेर चौरस्तातर्फ लाग्दै थियौं | कलकतामा जन्मेहुर्केकी माइजु अनि मामा दुवै सिनेमा-प्रेमी अनि मामा अशोक कुमारका प्रशंसक भएकाले रिनाकदेखि त्यस बेलाको लोकप्रिय गीत ‘आएगा आएगा आएगा आनेवाला आएगा’ मधुबालासित अभिनित सफल चलचित्र हेर्नपुगेका थिए सपरिवार | म भने त्यहाँ पसलमा राखेको एक खेलौना देखेर किनिमाँग्दै ढिपी गर्दै अघि हिड़्न मानिरहेको थिइनँ | बुवाले मलाई अनुशासित भई बस्न यस्तो पाठ पढ़ाए कि यो मेरो जिन्दगीको प्रथम र अन्तिम क्षण भएको छ अनि यो बुझ्न सकें कि ‘जीवनमा देखेको हरेक चीज आफ्नो हुनसक्दैन’ | त्यस दिनदेखि मैले चाहेर पनि कतिपय विषय आफ्नो बनाउन प्रयत्न गरिनँ अनि मेरा बुवाले मेरा किशोरावस्थाका उछृङ्खलतापूर्ण समयमा पनि सदैव मौन रहेर नै सही बाटो देखाए | सङ्क्षेपमा ‘लेखेकोले हुन्छ देखेकोले हुँदैन’ भन्ने त्यो लोकोक्ति यहाँ स्मरणीय छ |
अर्को घटना मलाई मेरा बुवा कालेबुङ हुँदाको छ | सन् १८८७ सालमा चौखम्भा, बनारसमा स्थापित ‘हरिशङ्करलाल रामशङ्करलाल नेपाली’ वा ‘नेपाली कोठी’ले सुविख्यात हाम्रो व्यापारिक प्रतिष्ठानको शाखा कार्यालय १० माइलस्थित कोड़ामल बिल्डिङ्गमा सञ्चालन गर्दा हामी साढ़े आठ माइलस्थित (हाल क्लुनी महिला कलेज भएको ठाउँ) परिवारको सानो सुन्दर कटेजमा बस्नेगर्थ्यौं | एक साँझ हामी केटा-केटीहरु बसेर गफ गर्दै थियौं | एक्कासी हामी बसेको कोठाको झ्यालमा ढकढकाउँदै ‘दरवाजा खोलो’ भन्ने सुन्यौं | यसो हेरेको त्यहाँ ठूलो जुङ्गाधारी कालो चश्मा लगाएको र टाउको छोपेर कम्बल ओढ़ेको एक व्यक्ति देखेर डरले हाम्रो होस्-हवास उड़ेको थियो | हाम्रो यस्तो सातो-पुत्लो हराएको देखेर ठूलो स्वरले हाँस्दै हाम्रा ठूलो मामाले आफ्नो छद्म-भेद खोले | बजारबाट यी नकली चीज किनेर घर फर्किंदा यस्तो रूप धारण गरेर यो नाटक गरेका थिए | यस्तो उहाँले हामीलाई यो शिक्षा दिनका लागि गरेका थिए कि जब घरका ठूला-बड़ा नहुँदा र महिला सदस्यहरु घरेलु कार्य वा भान्साघरमा खाना पकाउनुमा व्यस्त भएको बेला रात परेपछि झ्याल-दैलाहरु राम्ररी थुनेर बस्नेगर्नुपर्छ | पछि स्कूलमा हामीले यस्तै कुरा एम.एम. गुरुङ्गको(?) ‘टरवाजा खोलो’ भन्ने कथा पढ़ेको सम्झना अहिले आउँछ |
उहाँ खुबै रमाइला प्रकृतिका व्यक्ति थिए अनि हर हमेशा हामीमाथि तिखो नजर राख्नेगर्थे जसलेगर्दा हामी चनाखो भई बस्ने अनि कुनै बदमाशी वा झैं-झगड़ाबाट टाढ़ै रहन्थ्यौं | १९५०को मध्य-दशकतिर हामी उहाँका भान्जा-भान्जीहरु र उनका छोरा विजय र छोरी कला त्यहाँ जाड़ो महिनाको बिदामा भेला हुने गर्थ्यौं | कान्छी छोरी कविता पछि जन्मेकी हो | साइँली ठूली मुमाको निधनपछि दुई बहिनी दीपा र सुशीला माइजुको साथी भई सँगै बसी स्कूल पढ़ेकी हुन् | सन् १९५९ सालमा दीपादी र विष्णु मामालाई स्कूलबाट भारत दर्शनमा जाने सुअवसर प्राप्त भएको थियो | दीपादीको निनीका छोरा केशव दाईसित बिहे भएको अनि हाल दुवै जना सेवानिवृत जीवन अमेरिकामा नै व्यतीत गर्दैछन् – तीनै छोरीहरु आआफ्ना परिवारको साथ त्यहीँ नै छन् | हामी दिदीहरु अनि दाजुभाइहरु मिलेर किशोर अवस्थामा अनेक प्रकारले आनन्दपूर्वक बिताएका थियौं | एक बिहानै उठेर लप्सीको रुखको फेदमा राती झरेका लप्सी टिप्न पुग्थौँ | कोठी शान्ति कुटीरमुन्तिरको जङ्गल गई सुखेका दाउरा-झिक्रा डोकोमा जम्मा गरेर ल्याउनका साथै निङ्ग्रो टिपेर समय काट्न रमाइलो लाग्थ्यो | अमारो, भद्राक्ष, आदि जस्ता जङ्गली फलहरु खोजि-जम्मा गरी बोतलमा अचार बनाउनेगर्ने साथै बगैंचामा भएका बोटहरुबाट कफीका पाकेका राता दानाहरु टिपेर सुकाउन र सुके पछि भुटेर इमाम-जस्तामा कुटेर धुलो पिठो बनाएर ताजा कफीको स्वाद नै भिन्दै रहेको मीठो सम्झना छ |
उहाँका बुवाको निधनले गर्दा ठूलो छोरा भएको कारण परिवार सङ्गाल्ने जिम्मेवारी उनको काँधमा आएको थियो | दुवै दाजुहरु अध्ययन वा स्वास्थलाभको लागि बाहिर छँदा घरको हेरचाह गर्ने जिम्मेवारी कान्छी छोरी भएकोले गर्दा मेरी मुमालाई आएको थियो कारण अन्य सबै दिदीहरु बिहे भएर गइसकेका थिए | उनले आफ्ना पिता राई साहेब रत्नबहादुर प्रधान र चन्द्र नर्सरीका गौरवशाली हर्षका दिनहरु खुबै राम्ररी नजिकबाट स्पष्ट र प्रत्यक्ष हेर्ने सौभाग्य प्राप्त भएको थियो र त्यसपछिका अमर्षका दिनहरुबारे सोंच्न वा त्यसबारे मैले केही लेखेको हेर्न पनि चाहिंदैनन् | राई साहेबका उदार हृदयता र विनम्र आतिथ्यको बयान सुम्बुकका शैलेशचन्द्र प्रधानले आफ्ना बुवाबाट सुनेको एक संस्मरण मलाई सुनाएका थिए एक पटक सो यहाँ राख्न चाहन्छु | राई साहेब हरिप्रसाद प्रधान र भतिज भुवनप्रसाद प्रधानमाझको तिक्त अनि जटिल पारिवारिक अंश-बण्डापत्रको सलाह-विचारका लागि हफ्ता-दस दिन रिनाक आइबसेको बेला स्वादिष्ट व्यञ्जनमा विभिन्न परिकार अतिरिक्त घरैमा बनेका थरि-थरिका मिठाईहरु देखेर कतै चिनीको कारखाना नै यहाँ खोल्नु त भएको छैन भनेर स्वजनहरुले विनोदमा सोधेका थिए | अतिथि सत्कारमा दुई-चार वटा खसीहरु यस्तो समय ढालिए कुनै आश्चर्यको कुरा हुँदैन थियो – समय त्यस्तो थियो |
यही गुण ठूलो मामाले पनि विरासतमा पाएकाले गर्दा आफ्ना परिजनहरुलाई मात्र नभई जो पनि सरकारी वा भारतीय फौजका अधिकारीहरु ‘वुडलेण्ड नर्सरी’ घुम्न आउँथे उनको राम्रो स्वागत-सत्कार हुन्थ्यो | यहाँ पनि तिक्त पारिवारिक अंश-बण्डा फलस्वरूप किम्बदन्ती हुनगएको ‘चन्द्र नर्सरी’को नाम उहाँका काका बाबु दुर्गा शमशेर प्रधानलाई गएको थियो | ठूलो मामाले सुनाएका थिए - भ्रमणमा आएका राज्यका विकास आयुक्त डब्लु. एम. डङ्कनले कसरी सिङ्गो अण्डा एकै पटक डल्लै मुखमा राखेर घुप्लुक्क खाए – यो कुनै कठिन कार्य नहोला तर समान्यतया यो चम्मचले रानी झिकेर वा मिसाएर खाइन्छ |
उहाँमा भएको उद्यमिता हामी ससाना छँदा कसरी परिवारको पहिलो गाड़ी सन् १९४०को दशकमा किनेका थिए र यससित सम्बन्धित उहाँका अनुभवहरु सुनाउने गर्थे | रिनाक र रम्फूबिच चल्ने यस जीप गाड़ीका चालक तेजु प्रधान* हुनेगर्थे | कुमरेकछेउ भएको एक दुर्घटनाले उहाँको यस प्रयासको अन्त भएको थियो | त्यसपछि सन् १९६०को दशकमा फेरि त्यही मार्गमा एक जीप गाड़ी सेवामा राखेका थिए अनि यसका कुशल चालकको रूपमा सुब्बा अनि पछि कृष्ण प्रधान* थिए | एक पटक मेरो समान गाड़ीमा पुग्यो तर म अबेर भएकोले सुब्बाले मलाई छोड़िपठाएका थिए र म हिँडेर रम्फू पुगेको थिएँ | हाल गुलमोहर मनोरन्जन पार्कको छेउ भएको खोल्सामा भेल भएकोले आफू अकमकिएर बसेको बेला उता तर्फबाट एक महिला लौरो टेकेर आउँदैगरेको देखेर म पनि आँटगरेर तरेको सम्झना छ | त्यही बेलातिर उहाँले बजारको खजाना उठाउने ठिका लिएका थिए अनि यसको देखरेखका लागि बजारमा नै बस्ने गरेका पारस प्रधान*लाई आफ्नो यस कार्यमा हिस्सेदार बनाएका थिए | यस व्यवस्था अन्तर्गत् शुक्रवार हाटको दिन र अन्य दिनहरुमा बस्तीबाट आफ्ना सामानहरु बजारमा बेच्नआउनेहरुबाट बजार सयर उठाउनपर्थ्यो |
सन् १९६०को दशकको शुरुमा उहाँले पहिलो धान कुट्ने मशिन जड़ान गरेका थिए जुन आजसम्म राम्ररी नै चलिरहेको छ तारकेश्वर प्रसादको देखरेखमा जब कि जसको उद्यमिताले सो यहाँ लाग्नगएको थियो | उहाँ हामीमाझबाट धेरैअघि नै गइसकेका छन् तर उनको योगदान सम्झनास्वरूप अझ छ | मलाई थाहा छ यसको लागि उहाँ कति पटक गान्तोक धाउनपरेको थियो यसको अनुमति-पत्रको लागि |
उहाँ बगैंचामा मालीहरुसित काम गर्न-अराउनमा व्यस्त भए ता पनि घुम्न आउनेहरु, जसमा धेर जस्ता विद्यार्थीहरु, सैनिकहरु हुन्थे उनिहरुलाई त्यहाँ भएका कपुर, अशोक, रुद्राक्ष, आँप-लिची, सफेदा, पाम, राङ्गबाङ्ग, चाँप, युकेलिपट्स, हिङग, किरा-फटेङ्ग्रा खाने उद्भिद, केराको पात भएका यात्रीहरुको बोट र अन्य फल-फूलका वृक्षहरू, पोखरीमा भएका कमल/निम्फियाका फूल, शिशा-घरभित्रका विभिन्न प्रकारका सुनाखरी, उनिउ र केक्ट्स वा बाहिर उद्यानका विभिन्न जातिका जरबेरा, डाह्लिया, ग्लेडीओलस, गोदावरी, आदि फूलहरु देखाउन-चिनाउन व्यस्त हुन्थे | आँगनको ठूलो धुप्पी, लहरै विभिन्न थरिका बगानबेलिया, देवलमा फुलेका विभिन्न मसिना उनिउ र एचिमिनिस जस्ता फूलहरुसित पनि परिचित गराउँथे | सरकारको अनुदान राशिले उहाँले एउटा ठूलो शीशा घर बनाएका थिए जसभित्र थरिथरिका उनिउ, सुनाखरी, इत्यादि उमार्ने गर्थे | साँझ सम्म व्यस्त रात परेपछि नर्सरीको मुख्य क्रिया-कलाप शुरु हुन्थ्यो | बिजन, गाना र बिरुवाहरु बाँसको विशेष प्रकारले बनाइएका टोकरीमा राखेर चट्टि्क बोराले बेरेर पार्सल बनाइन्थ्यो अनि त्यसमाथि पाउने व्यक्तिको नाम र ठेगाना मसिले चर्को र स्पष्ट लेखिन्थ्यो भोलिपल्ट डाकद्वारा पठाउन | यसका सहायक पार्सले बाजे हुन्थे भने कालु धिताल उनको सदैव साथ रहन्थे यता-उता कामतिर दौड़्न | यसको बिल र पत्र टाइप-राइटरमा तयार गरिन्थ्यो | समय समयमा कलकत्ता र अन्य शहरका स्टेट्सम्यान र अन्य राष्ट्रिय समाचारपत्रहरुको आइतबारे अङ्कमा विज्ञापन गरिन्थ्यो – त्यस मौसममा के कस्ता बोट, बिरुवा वा बिजन उपलब्ध छन् | रात परेपछि पेट्रोमेक्सबाहेक एउटा अलादीन लेम्पले ती सब काम गर्न सजिलो बनाएको हुन्थ्यो | सन् १९७९तिर मात्र त्यहाँ बिजुली बत्तीको सुवुधा पुगेको थियो | डाक तार सेवा चन्द्र नर्सरी ले गर्दा नै धेरै अघि आइसकेका थिए | फोनको सुविधा १९६०को दशकतिर पुगेको र ठूलो मामा यसका प्रथम ग्राहकहरुमा एक थिए अनि वुडलेण्ड नर्सरीको फोन नम्बर ३० थियो | गाउँ-बस्तीका हरुलाई आवश्यकता परे यस फोनको उपयोग गर्ने गर्थे | यसको निम्ति उहाँले मूल दैलोछेउ नै फोन राखिदिएका थिए कारण हतारमा आउनेलाई धेर पर्खन नपरोस् भनेर |
फर्साइलो स्वभावका भएकाले उहाँ एक लोकप्रिय व्यक्ति थिए अनि उहाँलाई जन साधारणले आदरपूर्वक ‘ठूलो हजूर’ भनी सम्बोधन गर्ने र चिन्ने गर्थे भने उहाँको निवास ‘शान्ति कुटीर’ ‘वल्लो कोठी’को नामले धेर परिचित छ | उहाँ आरीटार पञ्चायतसित पनि सम्बद्ध र सङ्लग्न थिए अनि यसका अध्यक्ष पनि रहेका थिए | उहाँका समकालीनहरुमा केजाङ्ग वाङ्गदी, छ्यागु छिरिङ्ग र अन्यहरु थिए | उहाँले एक समय ‘सिक्किम नेशनल आयल डिस्ट्रीब्युटर्स’बाट मट्टीतेलको थोक विक्रेताको रूपमा एजेन्सी बुवासित मिलेर शुरु गरेका थिए | त्यस बेला बुवालाई रिनाकबाहिर स्थानान्तरण गरेको थियो जब कि बुवाले आफ्नो सेवा रिनाकका जनतालाई समर्पित गरेका हुनाले बाहिर अन्यत्र जान अस्वीकार गरेका थिए | पछि जनताको तर्फबाट एउटा प्रतिनिधि मण्डलले आफ्नो गुनासो शिक्षा विभागमा चढ़ाएपछि उहाँलाई फिर्ता राखेको थियो | मेरा मित्र धनबहादुर श्रेष्ठले आबकारी इन्स्पेक्टर भई रेशी सीमानामा सेवारत छँदा रिनाकका मानिससित सम्पर्कमा आएका र एक अनुभव मसित राखेका थिए | उनी एक पटक नर्सरी घुम्न गएका र उहाँ मेरा ठूलो मामासित भेट गर्न पाउँदा उहाँ अति सरल स्वभावका अनि कुनै आडम्बरदेखि मुक्त सज्जन व्यक्ति पाएका थिए | पछि बजारकाहरुसित भेट हुँदा उनले भनेका थिए कि कोठीवालाहरुबारे अनेक कुरा गर्ने गरेको तर म स्वयम् उहाँसित भेटघाट गरेर कुरा गर्नपाउँदा उहाँमा त्यस्तो केही पाइएन अनि उहाँ आफ्ना गाउँले दाज्यु-भाइहरुसित जससित दिनरात हर दिन हर मौसममा वर्षौं-वर्ष सँगसँगै बिताएका छन् उहाँले कहिले कदापि अहित सोँच्नै सक्दैनन् अनि उनीविरुद्ध केही काम-कुरा गर्छन् भन्ने लाग्दैन | बजारमा त्यस्ता को छन् उनको विरुद्ध बोल्ने सो जान्न पनि एक कठिन कार्य नहोला तर त्यस्ता समाज-विरोधी तत्वहरुलाई अनदेखा गरेर वास्तै नगर्नु नै बेस होला उनी भन्ने गर्थे | मेरा मुमा पनि चाहन्नन् कि धेर कुरा थाहा भएर पनि ती सब मीठा-नमीठा विषय कुरा नगरेको नै बेस - निकै खोताल्दा केही मलाई सुनाइहाल्नु भए ता पनि यसलाई बेवास्ता गरेकै राम्रो भन्छिन् | अस्सीको उमेर पार गरेर पनि उहाँको असाधारण तीक्ष्ण स्मरण-शक्ति सराहना गर्न योग्य छ | बढ़्दो उमेरमा यस प्रकारको स्मरण-शक्तिले मानसिक स्वास्थ्य सँगसँगै शारीरिक स्वास्थ्य ठीक राख्नमा सहायक हुन्छ | यही कारणवश म पनि पुराना भुले-बिर्सेका कुराहरुको संस्मरण लेखेर आफ्नो सीपको कलम तिखार्ने प्रक्रियामा सङ्लग्न छु हालसाल अनि विभिन्न समाचार-पत्र-पत्रिका आदिमा लेखहरु पठाएर आफ्ना पाठकहरुसमक्ष पुग्ने प्रयासमा हुन्छु हिजआज |
ठूलो मामालाई इच्छा भएर पनि मेरो बुवाले आफूझैं डायरी नभए आफ्नो ठुल्ठूला लेन-देनको हिसाब लेख्न प्रोत्साहन गरे ता पनि हामी जस्तै बेपर्वाह हुनुहुन्थ्यो जस्तो मलाई लाग्छ | स्वयम् एक निष्फिक्र व्यक्ति भए ता पनि अर्काको हित र भलाईमा उहाँ तत्पर रहन्थे | ससाना छँदा उहाँसित हामी बालक-बालिकाहरु भय राख्दथ्यौं किन कि उहाँ हामीप्रति निष्ठुर नभएर सख्त व्यवहार गर्दथे | अहिले बुझ्दा उहाँले यसो गर्नको कारण हामीमा अनुशासनको पाठ पढ़ाउनु थियो जुन बाल्यकाल जस्तो कमुलो अवस्थामा अति आवश्यक हुन्छ | भनिन्छ हाम्रो शैशव काल कुम्हालेको माटो जस्तो हो जसलाई जुनै रूपमा ढाल्न उसको हातमा नै निर्भर गर्दछ | यस प्रकार ठूलो मामा हाम्रो शिल्पकार थिए जसको कुशल देखरेख फलस्वरूप हामी आज जे जस्तो छौँ उहाँको पनि ठूलो देन छ | खाली दिमाग शैतानको कार्यशाला भने झैं चाड़-बाड़का रमाइला व्यस्त दिनहरु बाहेक जाड़ो महिनाको लामो बिदामा नत्र हामी उपद्रवी हुन के बेर लाग्थ्यो | यहाँ उहाँको यो भूमिका स्मरणीय छ | पछि हामी बढ़्दै गएको समय उहाँले ससाना बाल-बालिकालाई खुबै माया गर्नेगर्थे | आफ्ना भतिजो रविको घाँटीमा मादल झुण्ड्याइदिए नाच्न लगाएका थिए र उ चार वर्ष जतिको थियो होला अनि उ पनि मच्चिमच्ची नाचेको थियो | अवसर थियो जाड़ो महिनाको बिदा हुनअघि रिनाक स्कूलको वार्षिक दिवसको उपलक्ष्यमा | सरस्वती पूजाको अवसरमा होइन जस्तो लाग्छ कारण त्यस बेला त्यहाँ हामी कागजका ससाना टुक्रामा स्कूलको छाप लगाएर छात्र-छात्राहरुको सहयोगमा झण्डा-दिवस गरी बजार-रोड़ाथाङ्ग मेलातिर चन्दा सङ्ग्रह गरेर धुमधामले मनाउने गर्ने गर्थ्यौं |
ठूलो मामा कुनै समय एक शिकार-प्रेमी पनि थिए जसमा उहाँका भाईहरु मनोहरचन्द्र, पुष्पकुमार र हुकुमचन्द प्रधान साथै भक्त मिजार पनि सहभागी हुन्थे | शिकारी दाहालले त्यस बेला एउटा ठूलो भालु मारेको चित्र पनि उहाँले हामी ससाना छँदा देखाएका थिए | मृगको शिकारमा उहाँहरु निस्किन्थे अनि त्यस बेला शिकार खेल्न कुनै प्रतिबन्ध लगाइएको थिएन | वनभोज जानु पनि उहाँलाई खुबै मन पर्ने र सबै आफन्तलाई जम्मा गरेर समय-समयमा लैजाने गर्थे | यस्तो वनभोज रेशी वा रोड़ाथाङ्ग खोलातिर हो भने उहाँ मेरा बुवा, शान्ति दाजु* र मनोहर मामा पौड़ी पनि खेल्थे अनि माछा पक्रिने कोशिश गर्थे | सन् १९६०को दशकको उत्तरार्धमा नरेन्द्रकुमार प्रधान* उर्फ खम्बु ओसी रिनाकमा सेवारत थिए अनि मणिकुमार प्रधान* र अन्य सी.पी.डब्लु.डी.मा रेशी-रंगेली सड्क निर्माणमा खटिएका थिए | यही बेला उहाँहरुको खुबै रमाइला दिन भएको मलाई लाग्छ |
त्यही समयतिर ठूलो मामाले सरकारद्वारा प्रायोजित भारत दर्शनका लागि महिना-दिन लामो देश भ्रमण गर्ने अवसर प्राप्त गरे | घर फर्केर आएर उहाँले हामीलाई आफ्ना सहयात्रीहरुको चाखलाग्दा अनुभव सुनाउनुभएको सम्झना छ | पछि १९८०तिर मलाई ठूलो मामा-माइजु अनि बुवा-मुमासित बनारस र गया पितृ पौष श्राद्धको लागि जाने अवसर प्राप्तभएको थियो | दुवै मामा-माइजुहरु सपरिवार बीरगंजसम्म मेरो बिहेमा आइदिनुभएर शोभा बढ़ाउनु भएको पनि सम्झना आउँछ |
सिनेमा-प्रेमी भएकाले उहाँले रिनाकमा श्री कृष्ण सिनेमा हल स्थापना गरेर आफ्ना रुचिका चलचित्रहरु आफै मात्र नभई आफ्ना परिवारजनलाई साथै दर्शकहरुलाई खुबै असल-असल हेर्ने अवसर उपलब्ध गराएका थिए | त्यस समयका पुस्ताले हिन्दीका मात्र नभई नेपालीका पनि लोकप्रिय चलचित्रहरुको आनन्द लिनसकेका थिए | यहाँ आउनुहुँदा उहाँले एक पटक हामीलाई ‘दोस्ती’ जसका ‘राही मनुवा दुःख की चिन्ता क्यों सताती है, दुःख तो अपना साथी है’ र अन्य सबै गीतहरु खुबै कर्णप्रिय थिए, हेर्नलगेका थिए अनि त्यहाँ पनि सो बाहेक अन्य राम्राराम्रा चलचित्रहरु हेर्ने अवसर पाएका थियौं | दोस्रो हफ्तासम्म प्रदर्शित हुनसके सफल मानिने तर यो कमै हुन्थ्यो र चाड़ै-चाड़ै नयाँ फिल्म त्यहाँ देखाइन्थ्यो | यसमा उहाँको अति प्रिय कलाकार अशोक कुमार अभिनित उत्कृष्ट बिदाई-गीत ‘बाबुल की दुवाएँ लेती जा, जा तुझ को खुशी संसार मिले’ भएको ‘राखी’ पनि थियो |
हाम्रो परिवारमा उहाँसित मात्र सङ्गीत-प्रेम सँगसँगै वाद्य-यन्त्र बजाउने सीप पनि थियो | सानु माइजुले ठूलो माइजु आफै पनि खुबै राम्री गायिका हुन् भन्ने कुरा भर्खरै सुनाउनु भएको थियो अनि मलाई पनि सम्झना आयो बीरगंजछँदा मेरा निनी गिरिजा देवीले मलाई भन्नुभएको कुरा याद आउँछ, “उहिले सानोमा ‘मैंया’ तिम्रो ठूलो माइजुले कलकत्ताबाट बनारस आउँदा राम्रा गीतहरु गाएर सुनाएको थियो |” ठूलो माइजु भन्नु हुन्छ कि गान्तोकबाट डाक्टर रत्नकमल देवान रिनाक आउनुहुँदा ठूलो मामाले आफ्नो हार्मोनियम उनकोअघि राखिदिन्थे र आफै दुखी-तबला लिएर दुवै गाउन-बजाउन बस्थे | ठूलो मामा हार्मोनियम, मादल र भायोलिन बाहेक बाँसुरी पनि राम्रो बजाउँथे | हाम्रो परिवारमा उहाँबाट यो सीप कसैले पनि ग्रहण गर्न सकेन जब कि हामी सबै ससानाछँदादेखि उहाँले यी सब बाजा-गाजा बजाउनको साथ असल प्रकारले राम्राराम्रा गीतहरु पनि गाउनुभएको सुन्ने गर्थ्यौं | उहाँका एक दुई मादल मात्र अझ पनि त्यहाँ घरमा झुण्डेको देख्छौं अरु जिनिस कताकता हराएर गए सब, अब केवल सम्झना मात्र छ हामीसित | उहाँले गाउने गरेका उहाँका प्रिय गीतहरु अझसम्म पनि मेरो कानमा उहाँकै स्वरमा गुञ्जी रहन्छन् र जब पनि यी यो गीत सुन्छौं कि देख्छौं रेडियो र टी. भी.तिर उहाँको नै सम्झना आउँछ ताजा भएर ! यी गीतहरु हुन् ‘जिन्दगी देनेवाले सुन, तेरे दुनियाँ से जी भर गया...’, ‘छोटा सा घर होगा बादलों के छाँव में...’, ‘दरशन दो घनश्याम नाथ मोरी, अँखियाँ प्यासी रे’, ‘सुर ना सजे क्या गाउँ मैं, सुर के बिना जीवन है सुना...’, ‘लागा चुनरी में दाग मिटाउँ कैसे...’, ‘नाचे रे मन मोरा तिक धा तिकी धिकी...’, ‘पूछो ना मैंने कैसे रैन बिताई...’, ‘चन्दा जा रे जा रे...’, ‘जाने वालों जरा मुड़ के देखो मुझे...’, इत्यादि |
समयसँगसँगै अति शीघ्रतासाथ परिवर्तन हुनगएको तकनिकी फड़्कोलेगर्दा कुनै बेला हाम्रो सङ्गीतको स्रोत रेडियो रहेको तर अब विस्तारै टेलिभिजनले घर-घर प्रवेश गरेकोले गर्दा ती सब अवहेलित भएर एक कुनामा राखिएको हुन्छ | त्यहाँ उहिले अल्गो टेबलमा ठूलो भोंपू भएको ग्रामोफोन रेकर्ड प्लेयर जुन हामी ‘हिस मास्टर्स भोइस’का रेकर्डहरुमा देख्नेगर्थ्यौं मूल कोठामा पारिवारिक धरोहरको रूपमा सुसज्जित रहन्थ्यो | त्यो सेट बिग्रेकोले भन्दा हामीले त्यसको महत्व नजानेर लाहाले बनिएका रेकर्डमा तातो पानी हालेर अनेक प्रकारको फूलदानी र गत्ताले बनिएका रेकर्डमा कि सिकारु चित्राङ्कन गरी वा कुनै आकर्षक तस्वीर काटेर त्यसमाथि टालेर भित्तामा सजाउने वस्तु बनाएर ठूलो मामालाई देखाउने गर्थें अनि उहाँले प्रोत्साहन गर्थे मेरा प्रयासलाई | त्यस बेला उहाँको मर्फी रेडियो सेट, जुन आजसम्म त्यही ठाउँमा सजिएर बसेको देख्छौं, सबैको आकर्षणको केन्द्र रहन्थ्यो | हरेक बुधवार राती आठ बजे सबै जना यसकोअघि जम्मा हुन्थ्यौं अमीन सयानीको बिनाका गीतमाला सुन्न जसले हफ्ता-ह्फ्ताका बिक्रीको आधारमा शीर्ष बीस गीतहरुका साथ अन्तमा प्रथम गीत सुन्न सबै उत्सुक रहन्थे | मोहम्मद रफीद्वारा शङ्कर जय किशनको सङ्गीत हसरत जयपुरी लिखित ‘ससुराल’मा जुबिली कुमारले प्रसिद्ध राजेन्द्र कुमारले बी. सरोजा देवीको प्रशंसामा गाएको ‘तेरी प्यारी प्यारी सूरत को किसी की नज़र ना लगे चश्म-ए-बद-दूर’ लगातार प्रथम भएर त्यस वर्षको नै शीर्षतम गीत रहेको सम्झना छ | यसरी नै २७ मई १९६४को दिउँसोतिर म उहाँलाई भेट गर्नपुग्दा पण्डित जवाहरलाल नेहरुको निधन भएको कुरा रेडियोबाट थाहा लागेको सुनाएका थिए | सानु मामाले आफूसित भएको आहुजा ग्रामोफोन-रेडियो भएको ठूलो टेबलजस्तो सेट रिनाक घर पु-याएका थिए अनि ठूलो मामाले हरि ओम् शरणको ‘मन भज ले गोविन्द प्रभु का प्यारा नाम रे ...’ जस्ता भजनहरुको एल.पी. पनि किनेका थिए | दार्जीलिङ पढ़्दा हामी बसेको घरका जीवनका पितासित मलायाबाट होलेण्ड-निर्मित फिलिप्स ट्रांसिस्टर रेडियो म र विजय दुवैले किनेर घर ल्याएका थियौं | हाम्रो अनेक पुराना सामानहरुसहित यसको पनि केही वर्षअघि चोरी हुनगयो भने विजयसित यो सेट अझ छ |
ठूलो मामा एक असल उद्भिद-विद् मात्र नभएर ग्रामीण जीवनसित सु-व्यवस्थित एक कुशल व्यक्ति पनि थिए | उहाँले कतिपय रुख-बिरुवाहरु वैज्ञानिक नामका साथ चिनाउनुभएको थियो | सानैछँदा मलाई उहाँले बोट-बिरुवाहरु बढ़ाउन गुटी लाउने, कलम राख्ने र ‘बडिङ्ग’ गर्ने ज्ञान दिएका थिए | जरबेरा र अन्य फूलबाट असल बिजन जम्मा गर्ने, डाह्लियाका गानाहरुमा पलाएका मुनाहरुबाट चिसो बालुवा भएको गमलामा कलम गाड़ेर बिरुवा बनाउने सीप सिकाएका थिए | उहाँलाई कमल र निम्फिया खुबै प्यारो भएकाले ससाना ट्याङ्कीहरुमा रोपेका बोटहरु बराबर स्याहार्थे | शायद मेरो खुनमा नभएर हो कि यद्यपि मैले दस वर्ष नपुगी छ: हिउँद उहाँसित बस्ने र बराबर भेटघाटको अवसर पाएर पनि उहाँ जस्तो कुशल फूल-ज्ञाता हुनसकिनँ | म मात्र नभई बुवा-मुमा अनि बहिनीहरुसमेत मामा-माइजुको घर प्राय:जसो हरेक साँझ पुग्थ्यौं | फर्किंदा साना बहिनीहरुलाई उकालो ढाड़मा बोकेर घर ल्याउने गर्थे | पछि चार वर्ष पुगेको छोरा रमणलाई पनि त्यही प्रकार बोक्ने तर उकालो काटेपछि तेर्सो बाटो पुगेर उसले भनेको कुरा अझ रमाइलो लाग्छ – “बाबु कति ज्ञानी, आङ्गी बुइय्या पनि भन्दैन !”
घरअघिल्तिर ठूलो चउर अनि वरपर फैलिएको बगैंचा बाहेक गाइ-गोरु, बाख्रा, कुखुरा अनि पोखरीमा माछा साथै केही कुक्कुर पालेका थिए गोठाला,मालीहरुसित आफूलाई व्यस्त राख्थे | केही मौरीका गुँड़ पनि थिए जसबाट परिवारलाई आवश्यक मह प्राप्त हुन्थ्यो | साग-सब्जी र फलफूल लगाउनका साथै नयाँ प्रजातिका बोट-बिरुवा लगाउनमा पनि उनी उत्सुक रहन्थे | शुरु-शुरुमा पानीको लाइन देखरेख गर्न आरीटारको भक्त मिजारलाई साथ लिएर स्वयम् जाने गर्थे तर पछिपछि केटौले खेमराज शर्मा आएदेखि यस काममा पनि उ नै सहायक हुन्थ्यो | उहाँबाट उसले यो सीप चाँड़ै सिक्नसकेर हालसालै बजारतिर बनिएका अनेक नयाँ बिल्डिङ्गहरुमा उसकै काम देख्न पाइन्छ | ससाना मशिनहरु जस्तै पत्राचार गर्ने टाइपराइटर, सूची-पत्र छाप्ने साइक्लोस्टाइल मशिन वा पुरानो घास काट्ने मशिन आफै आवश्यक मरम्मती गर्नेगर्थे | घुम्न आउनेहरुको स्वागत गर्थे भने अनावश्यक ओहोर दोहोर गरेको उहाँलाई मन पर्दैन थियो | स्कूल फाइनल दिएर घर बसेको बेला मलाई लेख्ने-रङ्गने काममा रुचि भएकोले एउटा सूचना पट्ट यसरी बनाएको थिएँ – यह आम रास्ता नहीं है / No thoroughfare.
गान्तोक आउनुहुँदा आफ्नो काम-कुरा सिद्धिएपछि उहाँ डेंजोङ्ग होटलनजिक डा. रत्न कमल देवानको कक्षमा सदैव भेट्न पुग्थे अनि उहाँसित साथमा हुन्थे उनका प्यारो भाई कृष्णचन्द्र प्रधान* जसलाई उहाँले स्नेहपूर्वक ‘कान्छा’ भन्ने गर्थे | उहाँहरु तास खेल्ने गर्थे र यसमा उहाँका समकालीनहरु पूर्व पुलिस कमिश्नर सोनाम डाडुल, पूर्व फुटबल खिलाड़ी टेम्पो रापग्याल र अन्य पनि सहभागी हुनेगर्थे भन्ने मलाई लाग्छ | दशैं-तिहारमा हामी किशोरहरु तास खेल्न बस्दा उहाँ आफ्नो फड़ छाड़ेर पनि एक दुई दाव भनी रमाइलो गर्न हामीसित खेल्न बस्थे |
उहाँ उदार हृदयी थिए र हामीले सन् १९६४को जाड़ो याममा ‘नव जीवन सन्ध्या क्लब’ शुरुगर्दा एउटा ठाउँ-ठेगानाको आवश्यकता थियो र बजारमा भएको कचहरी हामीलाई प्रयोग गर्ने अनुमति एकै वचनमा दिएका थिए | राई साहेबको समयमा यहाँ मुद्दाहरुको छलफल दिन न्याय हुन्थ्यो भने ठूलो मामा बजार आउनु हुँदा मानिसहरु सित भेटघाट गर्न यो स्थान प्रयोग गर्थे | एक पटक फेरि अन्यत्र स्थानान्तरण गर्दा बुवाले त्यो स्वीकार नगरी शिक्षा-दानको सट्टा बरु रक्सी पसल खोल्ने विचारले सिक्किम डिस्टलेरिजको खुद्रा बिक्रेताको रूपमा भाई अनुप*लाई यहाँ राखेका थिए | पछि उ आफ्नो साथी गर्जमान भुजेलको साथमा भारतीय सेनामा भर्ना हुनगएको थियो | उदयचन्द्र वशिष्ठले आफ्नो संस्मरण ‘रिनाकमा भानु सलिग’ (सुवास दीपक सम्पादित ‘कहिले काहीं’ २००६ निर्माण प्रकाशन) मा यसो लेख्छन् – “सन् १९८३को भानु जयन्ती रिनाकमा भानु सलिग राखेर मनाउने अठोट भयो | ‘जसले गर्छ रहर उसैको जान्छ गोरुको बहर’ भने झैं अब कम्मर कस्नै प-यो | रिनाक बजारमा शिवमन्दिरको छेउमा श्री भीष्म प्रताप प्रधानको (ऐले स्वर्गीय) अलिकति जमीन थियो दुवै (आर. के. प्रधानसित) माग्न गयौं | उहाँले आनाकानी नगरी सहर्ष दिनुभयो | धन्यवाद दियौं | एउटा ठूलो समस्या समाधान भयो | यो भयो १९८३को जून महीनाको कुरा |” उहाँको यस विशाल हृदयतालेगर्दा त्यहाँ श्री ३ धनेश्वर शिवालय महादेव मन्दिरसँगै बजारको मुख्य स्थलमा सालिग स्थापित हुनगएकोले वर्षेनी धेरैजना भेला भएर सो समारोह हर्षोल्लाससाथ मनाउनु सम्भव भयो |
ठूलो मामाले बिहान चियासित आधा-उसिनेको अण्डा खान रुचाउँथे र चाड़बाड़मा खाने सगं खूब मन पराउँथे | उहिले जवान छँदा सबै दिदी-बहिनीहरुले भाई टीकामा चढ़ाएको सगंको अण्डा झण्डै एक दर्जन जति एकै पटकमा मामाहरुले आआफ्ना भागको खानेगरेको र पचाउँथे पनि भनी हामीलाई सुनाउनुहुन्थ्यो | घरमा बनाइएको पालु उहाँलाई मन पर्थ्यो | सिगरेट आफै तयार गरेको केपस्टेन पछि गोल्ड फ्लेक वा विल्स नेभीकट कागजमा बेरेर जिभ्रोको टुप्पाले भिजाएर टालेर पिउनमा आनन्द लिन्थे | निर्मल मामा*ले पनि यसरी नै लिन्थे | बुवाले पहिले पाइपमा नेभीकट हालेर पिउँथे तर पछि उहाँले पनि बेरेर धुम्रपान गर्थे यद्यपि उहाँले यस बानीलाई पछि समयमा नै त्याग्नुभयो |
राती समाचार सुनेर सुत्न अगाड़ि केही बेर पुस्तक पढ्न रुचाउँथे | साप्ताहिक समाचार-पत्रहरु बाहेक ‘रिडर्स डाइजेस्ट’ डाकद्वारा मगाउने गर्थे | उहाँको पुस्तक सङ्ग्रहालयमा अन्य बाहेक जेको प्रकाशनको प्रथम पुस्तक फिजेरल्डद्वारा अनुदित ‘रुबाइट्स अफ् ओमर खय्याम’ देख्न पाइएको सम्झना छ, तर सबभन्दा त्यहाँ भएको ‘भिजिटर्स बुक’मा नर्सरी घुम्नपुग्नेहरुले आफ्नो मनोभावना अभिव्यक्त गरेको पढ्नमा अलग किसिमको आनन्द आउँथ्यो |
सरल जीवन पद्धतिमा रमिने भएकाले उहाँलाई यसै स्वभावको लागि मानिसले मन पराउँथे | ग्रामीण जीवनसित अभ्यस्त भएर उहाँको प्रथम टेलिभिजन सेट ‘फिलिप्स’ र रेफ्रिजरेटर ‘गोदरेज’ धेरैपछि किनेका थिए यद्यपि म उहाँलाई यी वस्तुहरु विलासिताका साधन नभएर समय अनुसारको आवश्यकता सुविधा हुनगएको भन्ने गर्थें | मलाई त्यो साँझ पनि सम्झना छ जब उहाँले सिलगढ़ीबाट आगो फुक्नलाई ‘ब्लोवर’ किनेर ल्याएका थिए | तब दाउराको आगो बाल्नपर्थ्यो हिजआज जस्तो ग्यासको सुविधा थिएन न मट्टीतेलमा खाना पकाउने चलन थियो किनकि यो बत्ती बाल्न आवश्यक हुन्थ्यो | त्यस बेला बिजुली बत्ती पनि आएको थिएन | शुक्रवार हाटको दिन बजारबाट घर फर्किंदा आफूलाई मनपर्ने प्याजी र जिलेबी नियमित रूपले किनेर ल्याउँथे |
त्यो साल भानु जयन्ती समारोहमा उपस्थित भएर घर फर्किनु हुँदा केही असजिलो लागेकोले गर्दा छोरा विजयसित बाटोमा अस्पतालतिर लागे | डाक्टरले उहाँलाई तुरन्त आई. सी. यु.मा भर्ना गराए अनि त्यस पछिका अर्को १२ दिन खुबै पीड़ादायक हुनगयो र अन्तमा २५ जुलाई १९९२को दिन उहाँले आफ्नो नश्वर शरीरलाई त्याग्नु भयो | यी सब यति चाँड़ो हुनगयो कि राज्यबाहिर असल उपचारको लागि जाने अवसर नै प्राप्त भएन र निको हुनेछन् भन्ने आशा-आशैमा उहाँको इहलीला समाप्त हुनगयो | उहाँ बितेर गएपछि सब कुरा पहिले जस्तो रहेन र धरमराउँदै गरेको वुडलेण्ड नर्सरी र श्री कृष्ण सिनेमा हाल फेरि चल्न सकेन अनि अखिरमा पूर्णतयाः सधैं भरिको लागि यी दुवै बन्द हुनगए |
मलाई आजसम्म अझ पनि मलाई विस्मितपूर्ण शोकित गर्छ जब मेरा तीनै प्रेरणा-स्रोतहरु ठूलो मामा, सानु मामा र बुवा सबैको अन्त यहाँको अस्पतालमा चिकित्साधीन एकै प्रकारले हुनुगएको थियो यद्यपि सानु मामालाई सिलगढ़ी जाने अवसर प्राप्त भएको थियो कारण यहाँ भेन्टिलेटर उपलब्ध थिएन | उहाँहरुका आत्माले चिरशान्ति पाऊन् |
एक साँझ हामी मामा-भान्जा घरअगाड़ी चउरमा सँगै कुराकानी गर्दै घुम्दैफिर्दै थियौं र मैले भुइँमा झरेको एउटा रुद्राक्ष भेटाएर उहाँलाई देखाएँ | (उहाँले धारण गर्नेगरेको एकमुखी रुद्राक्ष उहाँसितै अल्पिन गएको थियो | ) यसो हेरेर ‘यो सात-मुखी रहेछ अनि मङ्गलकारी हो, तिमी नै राख’ भनी मलाई दिनुभयो | त्यसपछि यो रुद्राक्ष मेरो घाँटीमा झुण्ड्याएर राखेको छु उहाँको सम्झनामा आशीर्वादस्वरूप आजसम्म !
---
दृष्ट्व्य : प्रस्तुत लेख सम्झनाको भरमा कोरिएका व्यक्तिगत भावना मात्र भएकाले यसलाई कुनै शोधार्थीको गहन अध्ययन आधारित वा कुनै साहित्यकारको संस्मरण नभई केही घट्नाक्रमलाई, जसअन्तर्गत् बिचबीचमा केही गल्छेँड़ो हुँदै, यहाँहरुसमक्ष राख्ने एक निजी प्रयासको रूपमा मात्र लिइदिनहुन आग्रह गरिन्छ | कतिपय नाम सन्दर्भको निम्ति (तारा*चिन्ह दिवङ्गतहरुसमक्ष राखेर) अनि ती सबसित जोड़्ने प्रयासमा आवश्यक भएकोले राखिएका हुन् - यस अतिरिक्त अन्यथा अन्य केही अभिप्राय नरहेको स्पष्ट गर्नचाहन्छु | यस लेख अङ्ग्रेजीमा पनि उपलब्ध छ | सुझाउ, संशोधन र अतिरिक्त जानकारीको लागि सम्पर्क गर्नुहोस् इमेल : [email protected] फोन 94340-22677 / 03592-202677 ‘रचना’, मनन् भवन अघिल्तिर, डेभेलपमेण्ट एरिया, गान्तोक ७३७ १०१ सिक्किम भारत |