शिक्षक दिवसको अवसरमा
'वर्णमाला' अनि 'हाम्रो फूलबारी'
राजीव शङ्कर श्रेष्ठ
गत आइतवार २ सेप्टेम्बर रचना पुस्तकमा आयोजित साँगीतिक साँझमा "बाउल, भक्ति र वर्षा सन्ध्या" नाम दिई "सङ्गीतले वाधा नाँघ्द्छ अनि सङ्गीतले जाति र धर्म पनि नाँघ्द्छ" अर्थात् सङ्गीत जाति र धर्म भन्दा माथि रहेको छ भन्ने धारणासाथ बङ्गला र नेपाली लोक सङ्गीत प्रस्तुत गरिएकोमा प्रथम प्रस्तुति भेटी-स्वरूप नै देऊआशिष मोथेले आफ्नो 'वर्णमाला' राखेर यसको कर्णप्रिय मधुर धुनले सबैलाई फेरि एक पटक मोहित मात्र नपारी पुरानो सम्झना फेरि ताजा गरेको थियो l केही वर्ष अघिदेखिको निरन्तर प्रयास स्वरूप "वर्णमाला : सङ्गीतमय शिक्षा" हालै सिडीको रुपलिई कालेबुङमा भर्खरै एक भव्य समारोहमा लोकार्पण भएको खबर पढ़ेका थियौं l अनि गान्तोकमा पनि यो आइपुगेको थियो त्यो साँझ आफ्ना शुभचिन्तकहरुकोमाझ !
यस अवधिमा के कस्तो प्रचार-प्रसार हुन सक्यो र कतिको सफलता देऊआशिषले पाए जान्न उत्सुक थिएँ र उनी आइपुग्छन् यस सिडी को एक प्रति साथै पोस्टरसित शुभकामनाकासाथ पर्सिपल्ट मलाई भेट्न l हाम्रो सहयोग, समर्थन अनि प्रोत्साहनलाई अझ जारीराख्न यो सहायक हुन्छ र म यसलाई संसारभरि खबर गर्न लाग्छु तुरन्तै साँझमा र आफ्नो वेब साइट करुणागुठी डट कममा यसबारे जानकारी राख्दछु l मलाई थाहा छ हाम्रो करुणा देवी स्मारक धर्मार्थ गुठीको ऐतिहासिक प्रकाशन "धुमिल पृष्ठहरु"को एक प्रस्तुति "कपुरी क खरायो ख..." बाट अभिप्रेरित देऊआशिषले धुन दिएर एक बालगीतको रुपमा यसलाई प्रस्तुत गरेका छन् भनी र यो सुन्न बस्छौं हामी दुवै म र श्रीमती रञ्जना l जति हतारसाथ म वर्णमालालाई फेसबुक र करुणा गुठी डट कम-मा राख्छु त्यति नै शीघ्रतासाथ काठमाडौंका लिपिकार मित्र रबिसन शाक्यले मनपरेको लेख्छन् फेसबुकमा अनि म उहाँलाई वर्णमाला यु-ट्युबमा मीठो लय-ध्वनिसाथ उपलब्ध भएको कुरा लेख्दछु l शायद कमैलाई थाहा होला कि यस वर्णमालाको चित्रीकरण अर्थात् एनिमेशन स्वरुपमा पनि प्रस्तुति सफलतासाथ केही महीनाअघि नै भईसकेको भए ता पनि यो यु-ट्युबमा मात्र उपलब्ध भएको तर अब यो चाडै बजारमा उपलब्ध हुने खबर गर्छन् देऊआशिष l साथमा एक पुस्तक पनि प्रकाशित हुने कुरा भन्छन् - म बधाई दिन्छु र यी हेर्ने उत्सुकता प्रगट गर्छु l
बाउल सङ्गीतको आनन्द यहीँ रचना पुस्तकमा पहिले एक पटक साथै यस अघि सिक्किम विधान सभामा सेवारत छँदा कोलकातामा एक आधिकारिक कार्यक्रम अन्तर्गत् एक दिन हामीलाई हुगली नदीमा मोटर-नौकायानमा दक्षिणेश्वर मन्दिर भ्रमणमा जाँदा यसको अवसर प्राप्त भएको थियो l आजको स्थानीय अङ्ग्रेजी दैनिकी 'सिक्किम एक्सप्रेस'मा रचना पुस्तकमा बाउल कार्यक्रम अनि ‘वर्णमाला परिवार’ अल्बम लोकार्पित भएको समाचार समारोहको एक तस्वीरसहित बाउल गायन पश्चिम बङ्गाल र बङ्गलादेशमा लोकप्रिय भक्तिपूर्ण धार्मिक परम्परा भएको वर्णन छ l
सम्पादक हेमन्त गिरीबाट प्राप्त स्थानीय साप्ताहिक मिरमिरे कञ्चनजङ्गाको नवीनतम अङ्क शिक्षक दिवस विशेषमा डा. सर्वपल्ली राधाकृष्णनबारे एक लेखले मेरा स्वर्गीय बुवा जय शङ्कर लाल श्रेष्ठ कलकत्ता विश्वविद्यालयमा एम ए (वाणिज्य) पढ्दा उहाँ त्यहाँ सेवारत भएका र पछि बनारस हिंदू विश्वविद्यालयमा, जहाँबाट मेरा बुवा स्नातक भएका थिए, महामना पन्डित मदन मोहन मालवीयको समर्थनमा सेवा पुराउन पुगेका कुरा स्मरण हुन्छ l यिनै महान् गुरुका पदचिन्हमा मेरा बुवाले यहाँ सिक्किम रिनाकमा पछि शिक्षाको क्षेत्रमा आफ्नो बहुमूल्य योगदान पुरयाउनु भएको स्मरण गर्छु र दुवै महान् शिक्षकलाई श्रद्धाञ्जलि अर्पण गर्दछु यस पुनीत दिवसमा l यसै समाचार पत्रमा शिलाङका हेम जोशी प्रेषित खबर छ चौखम्भा बनारसबाट प्रकाशित नेपाली साहित्य पत्रिका 'उदय'ले यसै वर्ष ७५ वर्ष पुरा गरेको र यसका सम्पादक दुर्गा प्रसाद श्रेष्ठलाई यसै वर्ष २०१२-को 'दियालो पुरस्कार'ले विभूषित गरिने समाचार साथै यसको आगामी "कतार विशेषाङ्क" रोचक तथा ज्ञानवर्धक साथै सङ्ग्रहणीय बन्ने कुरा राखेका छन् l हाम्रो "उदय बचाऊ अभियान" यता सिक्किम र दार्जीलिङमा व्यापक समर्थन पाएर लोकप्रिय र सफल भएको कुरा यहाँ राख्न चाहन्छु l
यसरी नै केही सप्ताह अघि गत जुलाई महीना मलाई डा. शान्ति छेत्रीबाट हार्दिक शुभेच्छासहित आफ्नो नवीनतम पुस्तक बाल- कविता सङ्ग्रह "हाम्रो फूलबारी" प्राप्त हुँदछ l त्यहाँ 'बाल-साहित्य र आफ्नो कुरा'मा उहाँ लेख्छिन् , "साहित्य अकादमी दिल्लीले पनि बाल-साहित्य पुरस्कारको स्थापना गरेर कवि-लेखकहरुलाई प्रेरणा दिएको छ l नेपाली, अंग्रेजी, हिन्दी , भोटिया , लिम्बु कुनै पनि भाषाका बाल-गीत हाम्रा ससाना छात्र -छात्राले सिकेर गाएर प्रस्तुत गर्न सके भाषा-साहित्यको विकासमा थप खुड्किलो थपिने थियो l" उनको यो इच्छा यही 'वर्णमाला'ले पूरा भएको छ तर यस बारे उहाँलाई शायदै थाहा होला कारण देऊआशिष मोथेले केही वर्ष अघि नै यस क्षेत्रमा सोच पुरयाएर सङ्गीत सिर्जना गरी रचना पुस्तकमा ती ससाना बाल-बालिकालाई ल्याई प्रस्तुति राखेकै हुन् अनि भर्खरै मात्र उसको यो परिकल्पना सिडीमा रुपान्तरित भएको र अब चाडै माथि जानकारी राखे झैं भिसीडी साथै पुस्तक समेत प्रकाशित भएको हामी सबैलाई उत्सुकतापूर्वक प्रतीक्षा रहेको छ l यद्यपि धेरैले समय-समयमा यहाँ रचना पुस्तकमा आयोजित यस पालीझैं त्यस संगीतमय प्रस्तुतिको आनन्द लिनबाट वञ्चित भए होलान् तर यो यु ट्युबमा समेत राखिएकोले जहिले चाह्यौ सुन्न र आनन्द लिन सकिने कुरा यहाँ फेरि राख्न चाहन्छौं l सजिलो त सिडी , भिसीडी अनि पुस्तक नै हो अनि ती सब उपलब्ध हुने भयो चाहिएको छ केवल हाम्रो सहयोग, प्रोत्साहन र समर्थन अनि देऊआशिष नाम झैं अनुकूल गरी सबैले देऊन् आशिष र शुभकामना l कुरा बुझेर मात्र नभई एक प्रति किनेर, सुनेर र अरुहरुलाई सुनाएर व्यवहारमा ल्याएर स्कूल-स्कूलमा ससाना बाल-बालिकाहरु माझ पुरयाएर l कारण देऊआशिष बताउँछन् कति नानी अब केही प्रोत्साहित छन् कलाकारको रुपमा यता सिक्किम-दार्जीलिङको पहाड़ी भेकमा मात्र नभई छिमेकी राष्ट्र नेपालमा समेत केही परिचित भएर अनि सफलताका केही शब्द सुनेर भने ती मध्ये कति त उमेर नाघी सकेका छन् यही चार-पाँच वर्षमा यी सब हेर्दा-हेर्दै l
शान्ति निकेतन शिक्षित देऊआशिष आफ्नो प्रतिभा प्रदर्शन गर्न अर्को गन्तव्यमा लाग्छन् आज l ती ससाना बाल-कलाकारहरुको भविष्यसितै आफ्नो पनि गाँसिएका देख्छन् अनि म देख्छु सुदुर क्षितिजमा नेपाली वर्णमालाको व्यापक समर्थन र सफलता - टाढै भए ता पनि !