- राजीव शङ्कर श्रेष्ठ
गत ५ जुलाई २०१३ अवसर थियो हाम्रा श्रद्धेय भीमराज प्रधानजु र बिन्दुमती प्रधानजुको विवाहको ५० औँ वर्षगाँठ अनि स्थान गान्तोकको होटल मेफेयर रिसोर्ट एण्ड स्पा – सबै आफन्त अनि परिजन र केही मित्रजन भेला भएका थियौं यस सुखद भेटघाट र सौहार्दपूर्ण रमाइलो वातावरणमा | प्रारम्भिक हार्दिक बधाई र मङ्गलमय शुभकामना टक्र्याउँने क्रममा एक उल्लेखनीय विषय थियो आफ्नो श्रद्धा अनि आत्मीयता प्रकट गरी श्रद्धेय केशवचन्द्र प्रधानजुद्वारा यी वरिष्ठ युगलप्रति समर्पित विशेष सुनाखरी प्रस्तुत गरेका थिए| संयुक्त राज्य (बेलायत)-को रोयल हर्टिकल्चरल सोसायटीबाट यसको वैधता र नामकरण पंजीकृत भएर पत्र हिज मात्र प्राप्त भएको कुरा उहाँले मलाई जनाउनु भयो र यस विशेष उपलब्धिको लागि हर्ष र उल्लासको त्यो रमणीय क्षणलाई त्यस सुन्दर सुनाखरीसँग उहाँको एक फोटो खिच्ने अनुरोध गर्दै एक अविस्मरणीय घटनालाई आफ्नो फेसबुक मार्फत् सर्वत्र खुशी बाड़्ने अवसर छोप्छु| प्रसाद स्वरूप त्यो वर्षगाँठ केकको मेरो हिस्सा अलिक पर बसेर हेरिरहेकी आफ्नी श्रीमती रञ्जनासित बाँड़ीखानपुग्दा त्यहाँ एक गजबको आनन्दमय स्थिति उत्पन्न हुन् गएको थियो अनि कसैले हाम्रो फोटो खिँचीदिए पनि हुन्थ्यो, असल हुने जस्तो अहिले लाग्छ| यो एक आपसी प्रेम र सद्भावनाले परिपूर्ण रमाइलो समारोह भएको थियो|
सबै आआफ्ना टेबलमा भेला भई ‘कौला’(भोजनअघिको अल्पाहार)का साथ गफ-सफ र सुख-दु:खको कुराकानीमा तल्लीन थिए| सिक्किम सरकारका भूतपूर्व मुख्य सचिव सोनाम वाङ्दी आफ्नो ‘लिटिल नलेज’(अल्प विद्या) - श्रृङ्खला अन्तर्गत् नकली नोट प्रकरणबारे संस्मरण सुनाएर हामीलाई मनोरन्जनका साथै अमूल्य जानकारी दिइरहेका थिए| यस्तैमा मेरा छेउ बसेका दिनेशप्रसाद प्रधानजुलाई अरुणकुमार प्रधानजुले आफ्नो कोटको खल्तीबाट एक कागज सुटुक्कै निकाल्दै गम्भीरतासाथ केही भन्छन् तर म केही सुन्न सक्दिनँ र यो ती दुई बिचको निजी मामला होला भन्ने लाग्छ| त्यस पछि हामी सबै भोजन तर्फ लाग्छौं |
यहीबिच मेरो अरुणकुमारजुसित फेरि भेट हुन्छ र उत्सुकतावश सोध्छु अघि दिएका कागजबारे| संक्षेपमा त्यो नाम्चीका अवकाशप्राप्त प्राचार्य बालकृष्ण श्रेष्ठजुको एक पुस्तकमा हाम्रा श्रद्धेय सी. डी. राईजुले भूमिकामा हाम्रा पूर्खाबारे केही गम्भीर टिप्पणी राखेको जानकारीदिँदै – त्यो हाम्रो ‘रचना पुस्तक’मा पनि बिक्रीमा रहेको होला भन्छन्, तर सो नभएको जनाउँदा - मलाई पनि एक प्रतिलिपि पठाइ दिने कुरा गर्छन् | यस कुराले मलाई खुबै प्रभावित गर्छ र म घर फर्केपछि आफ्नो ‘जय स्मृति शोध ग्रन्थालय’मा भएका बालकृष्ण श्रेष्ठजुका तीनै पुस्तकहरु – “बालकृष्ण श्रेष्ठका प्रारम्भिक रचनाहरु”, “श्रेष्ठका आँखीझ्यालबाट सिक्किमका वरद् पुत्रहरू” (दुवै २००२) अनि “सिक्किमका नेवार जातिका संक्षिप्त ऐतिहासिक टिपोट” (२००९) हेर्छु तर कहींकतै सो प्रसङ्ग भएको पाउँदिन| अन्तिम पुस्तकमा भने एक ठाउँ “रिनाकका स्वर्गीय जयशंकर लाल श्रेष्ठ र उनका पुत्र श्री आर. एस. श्रेष्ठ आई. ए. एस., जसले नेवार जातिको विभिन्न पुस्तकहरु लेखेका छन् ...” वर्णन गरेको पाउँछु, धन्यवाद!
---
फोटो-परिचय
सिक्किम नेवार गुठीका मुख्य संरक्षक श्री केशवचन्द्र प्रधान आफ्नो नवीनतम सुनाखरी “रिन्कोलेलियो केट्लिया भीमराज-बिन्दु एनिभर्सरी जोय्”सित
केही दिन पर्खेर एक पटक अरुणकुमार प्रधानजुलाई फेरि सम्झना गराउँछु र उहाँले त्यो पुस्तक “सिक्किमको ऐतिहासिक अध्ययन”को आवरणसहित सो पत्र र त्यसबाट एक लेख ‘सिक्किममा नेवार जातिको योगदान’ पठाउँछ्न् | मेरो यो प्रस्तुत लेखमा बालकृष्ण श्रेष्ठजुको त्यस लेखबारे केही भन्न-लेख्न भन्दा सो पत्रमा भएको भ्रामक टिप्पणीमाथि केही कुरा स्पष्टीकरणको राख्ने तुच्छ प्रयास मात्र हो | हाम्रो वर्तमान पिढ़ीलाई नभई दिवङ्गत पिता-पुर्खाबारे टिप्पणी भएकोले हामी सबै मर्माहत भएको र एक वंशज भएको नाताले हामीले यस लाञ्छनाबारे केही यथार्थ पक्ष राख्न अति आवश्यक र नितान्त महत्वपूर्ण भएको लाग्दछ | अमेरिकी नागरिक अधिकार व्यक्तित्व स्वर्गीय मार्टिन लुथर किंग जुनियरको त्यो वाक्य सम्झना आउँछ – “Our lives begin to end the day we become silent about things that matter” अर्थात् “सम्बन्धित विषयहरुबारे यदि हामी चुप लागिबसे सो दिनदेखि नै हाम्रो जिन्दगी शेष हुन थालेको ठान्नु पर्छ|" म अरुणकुमार प्रधानजुलाई फेरि एक पटक फोनमा के-कसो खोज-खबर गरी बुझ्ने गर्छु र जति सक्दो चाँड़ो, भरसक सिक्किम नेवार गुठीको वार्षिक ‘इन्द्रजात्रा स्मारिका’मा राख्नसके, बेस हुने मन्तव्य प्रकट गर्दछु| म आफै पनि रिनाकतर्फबाट केही लेखिरहेको जानकारी दिन्छु कारण अरुले पनि आ-आफ्नो पक्ष राखेको ठीक हुनेछ |
श्रद्धेय सी.डी. राईजु मेरा लागि उत्तिकै श्रद्धाका पात्र हुन् र मेरो सरकारी सेवा प्रारम्भ भएको बेला उहाँले लगाएका मप्रतिको गुणको म अझ पनि आभार व्यक्त गर्दछु आफ्नो परिवारमाझ | निसन्देह उहाँ एक यस्ता व्यक्तित्व हुन् जो कतिपयका लागि आज पनि प्रणेता हुन् | हाम्रा श्रद्धेय केशवचन्द्र प्रधानजु झैँ – यहाँबारे केही प्रशंसामा लेख्नु सूर्यलाई दियो देखाए जस्तै मात्र हो | यो तुच्छ प्रयास कसैले मेरो धृष्टता ठाने इतिहासको त्यो गौरवमय पाटालाई सही परिप्रेक्ष्य अनि सापेक्षमा लिईराख्ने धृष्टता मात्र हो र म यसप्रति अगावैबाट क्षमाप्रार्थी छु | भर्खरै एक साहित्यिक सभामा पनि यो कुरा उहाँले फेरि उठाएका थिए नत्र भने केही दशक अघि आफ्नो साप्ताहिकी ‘गान्तोक टाइम्स’मा प्रकाशित हाम्रा पूर्वजबारे उहाँको एक उत्कृष्ट लेखको सम्झना छ र केही महिनाअघि यसको चर्चा गर्दै एक प्रतिलिपि उहाँलाई पाउने अनुरोध पनि गरेको थिएँ | सी.डी. राईजुको त्यस टिप्पणीलाई कुनै विवादको रूप लिने या दिने न मेरो कोशिस हो, न म यो चाहन्छु नै अनि न ता मेरो सामर्थ्य नै छ |
विवादित पत्रको एक अंश यस्तो छ - “तिम्रो गनथनमा सिक्किममा नेवारले सिक्किममा कसरी जरा गाड़े र आज नेपाली जाति वा सम्प्रदायले बसिखाने सुरक्षित जग्गा पाएको छ भन्नेमा मेरो विचारमा एक समयमा नेवार (प्रधान) ठिकादारहरु काजीहरू भन्दा पनि शक्तिशाली थिए| त्यसबेला उनीहरुले नामथाङमा एउटा मिडिल स्कूल, पाचेखानीमा एउटा स्कूल, रिनाकमा एउटा स्कूल र तुरुक-सुम्बुकमा एउटा स्कूल स्थापित गरिदिएको भए नेपालीहरुले धेरै राई साहेब हरिप्रसाद प्रधानहरु जन्माउन सक्ने थिए| उनीहरुमा शक्ति र सामर्थ थियो, आफ्ना छोरा छोरीहरु दार्जीलिङ, कालिम्पोङ र कलकत्तामा पढ़ाउन पठाए तर गरीब किसानहरुका नानीहरुले शिक्षा आर्जन गर्ने मौका पाएनन् | प्रधानहरु बाहेक सिक्किम शासनको उच्च ओहदमा नेपालीहरु किन पुग्न सकेनन्, त्यसको जिम्मेवार प्रधान ठिकादरहरुले लिनपर्छ, मेरो छोटो गुनासो | सत्य सधैं तितो हुन्छ|”
त्यही ताका उहाँहरुले चन्द्र नर्सरी नजिकै आफ्ना स्वर्गीय माताको नाममा ‘भीमादेवी स्मारक पाठशाला” स्थापित गरेका थिए | आफ्नो परिवार र वरपरका छर-छिमेक मात्रका नभई गाउँ-घरका बाल-बालिकालाई यहाँ पढ्ने सुविधा प्रदान गरे | मेरी मुमा इन्दिरादेवी भन्दा १५ वर्ष ठुली वृन्दादेवी (सिक्किमका प्रथम कृषि-विज्ञान स्नातक रमेश कुमार प्रधानकी मुमा) पनि यही स्कूलमा पढ़ेकी हुन् र राई साहेब र उहाँका भाइ दुर्गा शमशेरका अन्य सबै छोरा-छोरीहरु यहीं पढ़ेका हुन् – सन् १९४०-तिर तीन दशक जति सेवा पु-याएर सो पाठशाला बन्द भएपछि पछिका सन्तान रिनाक बजारमा मिशनको प्राइमेरी स्कूल पढ्न गए | यो पंक्तिकारले पनि आफ्नो प्रारम्भिक शिक्षा बजारको थाना अगािड़ यसै प्राइमेरी स्कूलको ढुङ्गे कक्षामा भुइँमा गुरुआमाले खरी (चक)-ले कोरिदिएका अक्षरमाथि घरबाट साथमा लगेका मकैका दानाले लेखी साउँ अक्षर लेख्नसिकेको थाहा छ मलाई|
मुमाले आफुसित सँगै पढ्नेहरुमध्ये अङ्कित लेप्चाको नाम सम्झना भएको सुनाउनुहुन्छ – सिक्किमका प्रथम पशु डाक्टर निमा लेप्चा (मेरा मामा भीष्मप्रतापसँगैका)-की बहिनी | मुमा पछि कालेबुङ कनवेन्ट पढ्दा शंख गुरुङ, हाम्रा भूतपूर्व मुख्य मन्त्री बी. बी. गुरुङकी स्वर्गीय धर्मपत्नी, पनि सँगै पढेको बताउनु हुन्छ | छिमेकका स्वर्गीय पद्मावती गुरुङ (गणेशन) रिनाक बजारमा स्कूल पढ्न जान्थे |
यस मिशनको प्राइमेरी स्कूलको सञ्चालन स्कूल प्रबन्धन समितिको देखरेखमा हुन्थ्यो र भारत-तिब्बत व्यापार सँग-सँगै कालेबुङ दस माइल कोड़ामल बिल्डिङ्गमा अवस्थित शाखासाथै हाम्रो चौखम्भा बनारसको व्यापारिक प्रतिष्ठान “हरिशङ्कर लाल राम शङ्कर लाल नेपाली” (स्थापना १८८७) बन्द भएपछि मेरा बुवा (उच्च शिक्षा प्राप्त एम.ए. कमर्स - कलकत्ता विश्वविद्यालय) जयशङ्कर लाल श्रेष्ठ रिनाक आएका बेला यसका अध्यक्ष स्वर्गीय दुर्गाशमशेर प्रधानले तत्कालीन शिक्षा निर्देशक एस.आर. घोषलाई उहाँको नियुक्तिको लागि सिफारिशका साथ उहाँलाई स्कूलको जिम्मा लिइदिनहुन अनुरोध गर्छन् | सन् १९५८ देखि १९७६ सम्म अथक उल्लेखनीय सेवा पु-याए बापत् यस स्कूलको जन्म-शताब्दीको अवसरमा उहाँको सम्मान गरिन्छ | यस अतिरिक्त सन् २०००मा परिवारद्वारा उहाँको ‘सहस्रचन्द्र दर्शनम्’ वा ‘महारथारोहण’ वा ‘जंक्व’ आयोजित गरेको शुभ अवसरमा उहाँका असंख्य विद्यार्थीहरु अनि त्यहाँ वरपरका छरछिमेक बाहेक सिक्किम अनि बाहिरबाट आएका आफन्तजन भेला भएर श्रद्धापूर्वक आशीर्वाद प्राप्त गरेका थिए| यो एक अभूतपूर्व र चिरस्मरणीय घटना थियो| बुवाका छात्र-छात्राहरूमा यहाँ म गर्वकासाथ उल्लेख गर्न चाहन्छु अन्य बाहेक शिक्षा-क्षेत्रमा उत्कर्षमा पुग्ने दुई नाम – साहित्यकार विदुषी डा. शान्ति (प्रधान) छेत्री र शिक्षाविद् डा. हरिप्रसाद छेत्री|
सन् १९४०-तिर भीमादेवी स्मारक पाठशाला तीन दशकको सेवा पु-याई बन्द भएपछि नेपालबाट भागिआएका नेता गणेशमान सिँह त्यहाँ बसेका र ढुंगाको सिह्रानी लगाई एउटा गुन्द्रीमा सुत्ने गरेका कुरा ससाना छँदा सुनेको याद आउँछ | पछि आफ्नो आत्मकथामा उहाँ कसरी रिनाक पुगेको र त्यहाँ चन्द्र नर्सरीमा कृष्णबहादुर टाइपिष्ट हुनपुगेको वर्णन गरेका छन् | घरकाहरु समेतलाई उहाँको वास्तविक पहिचान धेरैपछि मात्र थाहा हुन् गएको थियो |
रिनाक बजारमा टक्सारी चन्द्रवीर प्रधानले ‘श्री ३ धनेश्वर शिवालय महादेव मन्दिर’कासाथै एक सामाजिक संस्था ‘नेवार गुठी’ स्थापित गरेर मानिस एकजुट गराएर समाजमा सांस्कृतिक अनि धार्मिक पक्षको चलनचल्तीमा राखी प्रचार-प्रसार गरेका थिए भने मन्दिरमा साँझ पख भेला भएर भजन मण्डलीद्वारा भजन कीर्तन गर्थे र समय-समयमा विभिन्न जात्राहरु जस्तै, क्वाति पुन्हीको भोलिपल्ट गाइजात्रा, जन्माष्टमीको दिन रथजात्राले बजार-बस्ती परिक्रमा गर्थे|
राई साहेबले यस सुकार्यलाई जारी राख्दै समाजमा सांस्कृतिक अनि धार्मिक पक्षलाई अझ बढी टेवा दिन युवाहरुलाई “चन्द्र ड्रामाटिक क्लब” अर्थात् चन्द्र नाट्य समूह शुरुगरेका थिए | स्थानीय अङ्ग्रेजी दैनिक ‘सिक्किम एक्सप्रेस’ (२१ जुलाई २०१३) मा उक्त क्लबको एक तस्वीरबारे केही जानकारी हासिल गर्न असमर्थ भएको कुरा शीतल प्रधान लेख्छन् | उनले मेरो सन् २०१०मा प्रकाशित मेरो पुस्तक “नेवार हामी यस्तै छौं” देखेका छैनन् जस्तो लाग्छ नत्र भने त्यसमा चित्रमा भएका व्यक्तिहरुको नामसहित परिचय राखेकोले यस विषयको समाधान पाउने थिए| एक पटक यहाँ यो फेरि राखिँदैछ पाठकहरुको हितमा|
रिनाकको चन्द्र नाट्य मण्डलीकासाथ राई साहेब रत्न बहादुर प्रधान (माला पहनिबसेका) देब्रेमा दुर्गा शमशेर प्रधान, दाहिनेमा लालचन्द अग्रवाल, डाकबाबु हर्कजङ्गसिंह छेत्री पछिल्तिर तुलसीलाल प्रधान (डा. शान्ति छेत्रीका पिता), अघिल्तिर हर्कलाल प्रधान, हार्मोनियममा दुर्गा र बालक मोहन प्रसाद प्रधान| राई साहेबको पछि उभ्ने केजाङ्ग वाङ्गदी भुटिया, राई साहेबको देब्रेपट्टि नानी पद्मा गुरुङ (गणेशन) सबै भन्दा दाहिने उभ्ने बालिका कनार लेप्चा (फुरमित लेप्चाकी दिदी), आदि (पहिचान मुमा इन्दिरादेवीद्वारा)
टक्सारीले एक्लै खानी खनेनन् होला न ता टक्सारमा आफै एक्लैले सिक्का छापेर घर ओसारे | त्यसरी नै राई साहेब वा उहाँका भाइले निश्चय नै एक्लै चन्द्र नर्सरीमा बारी जोतेनन् र फल-फूलका बिरुवा रोपेनन् होला| सिक्किम आज जे छ, सो के टक्सारी चन्द्रवीर प्रधानको केही देन छैन र पछिका पुस्ताको केही योगदान छैन भने इतिहास फेरि लेख्न पर्ला | पुरुषार्थले पराक्रमी भए, भविष्यदृष्टा शुरवीर थिए | कुशाग्र बुद्धि र दिन-रातको परिश्रमले संसार-प्रसिद्ध भए अनि अहिले आएर के गुनासो गर्नु | सबै जना टक्सारी चन्द्रवीर प्रधान, राई साहेब रत्नबहादुर प्रधान वा राई साहेब हरिप्रसाद प्रधान जन्मिदैनन् र ती जस्ता महान् हुन सक्दैनन् – यो प्रत्येक युगको एक पुस्तालाई मानव जातिको उत्थानको लागि दैविक वरदानस्वरूप प्राप्त भएको हो हामी सिक्किमवासीलाई | त्यसो हुने हो भने यस्ता महापुरुष धेरैले जन्माउने थिए | खेद यो छ कि तीन पुस्ता पनि बित्दा-नबित्दा हामी स्वयम्-ले बिर्सन गएका छौं | इतिहास यस कुराको साक्षी छ र अब गन्थन नै किन !? सम्पर्क : [email protected]
---
सिक्किम नेवार गुठीको मुखपत्र “इन्द्रजात्रा विशेषाङ्क २०१३ स्मारिका”-मा पनि प्रकाशित