जीवन रङ्ग अनेक
परिहन ज्ञान – सामान्य ज्ञान
देश गुणाको भेष
राजीव शङ्कर श्रेष्ठ
भर्खरै सफलतापूर्वक सम्पन्न तीन राष्ट्रहरुको भ्रमणमा प्रधान मन्त्री नरेन्द्र मोदीलाई सिक्किमको एक जाति विशेषको पहिरनमा हेर्नपाउँदा फेसबुकमा “नरेन्द्र मोदी – मङ्गोलियाको एक उपहार कण्ठकासित” शीर्षक एक तस्वीर राख्दै चाखलाग्दो टिप्पणी पढ्न पाएको थिएँ यद्यपि यो ठट्यौलीसाथ राखिएको थियो – “एक सम्पूर्ण डेन्जोङ्ग्पा ! सन् १९७५ सालमा उनी सर्वभौम राज्य सिक्किमको एक सठीक प्रधान मन्त्री हुनसक्ने थिए ! – केवल ठट्टामा भनिएको पो त !” धन सुब्बाद्वारा राखिएको धेरै जस्ता पाठकले त्यस बिहानी फेसबुक वा अन्य पत्र-पत्रिकाहरुमा देखे होलान् तर ‘अमुल टपिकल’ शीर्षक विज्ञापन-श्रृङ्खला अन्तर्गत् सो दिनको प्रधान मन्त्रीको ‘मोङ्गोलयात्रा’ शीर्षक यो चित्र कहीँकतै उम्किन त गएन कि मलाई लाग्छ | अघिल्लो सप्ताह मात्र सन् २०१२ साल अमुल विज्ञापनको ५० वर्ष पुरा गरेको अवसरमा प्रकाशित ‘अमुल्स इण्डिया’ पुस्तकको दोस्रो संस्करण यस सन्देशको साथ लोकार्पित हुनु गएको थियो – ‘सिक्वेल्स(परिशिष्ट)-मा प्रथम’ | अमुलसित परिचय गरिराख्न यहाँ म आवश्यक ठान्दिन न त यसको सम-सामयिक विषय/घटना माथि आधारित केही व्यङ्ग्य मिश्रित यी विज्ञापन खुबै लोकप्रिय छन् – यसको अमुल मक्खन लगायत भर्खरै प्रचलित आइसक्रिम अनि अन्य दूधका उत्पादन जस्तै | आजभन्दा ४२ वर्ष अघि १९७३ सालमा यस पङ्क्तिकारलाई भारतीय लेखा एवम् लेखा-परिक्षण सेवा (आइ. ए. एण्ड ए. एस.) प्रशिक्षणार्थीको रूपमा अध्ययन-भ्रमण अन्तर्गत् आनन्द स्थित अमुल उद्योगशाला पुग्ने अनि त्यहाँका प्रणेता डा. भर्गीस कुरियनको गुजरात राज्यको ‘खेड़ा जिल्ला सहकारी दुग्ध उत्पादन सङ्घ’ ख्याति आर्जन गर्दैगरेको सफल प्रयोगको कथा उहाँबाट सुन्ने-बुझ्ने सुअवसर प्राप्त भएको थियो | त्यहाँको अतिथि-गृहमा बस्ने प्रबन्ध गरिएको थियो जसबाट हामीहरुले भोलिपल्ट बिहानै विभिन्न भागबाट दूध-उत्पाद्कहरुले दूध पु-याउन आएको देख्न साथै बिहान अल्पहारमा अति स्वादिष्ट ताजा अमुल मक्खनको स्वाद चाख्न पाएका थियौं | अघिल्लो दिन हामी त्यहाँको कारखानामा उत्पादन पद्धतिबाट अवगत भइसकेका थियौं | त्यसताका फट्याक-फुटुक्क पत्रिकामा देखिने “अटरली बटरली डेलिसियस अमुल बटर” अनि त्यस छेवै सानो बालिकाले बिहानै “हामीलाई आज पनि हाम्रो भोजन दिनुहोस् – अमुल बटरसित” प्रार्थना गरिरहेको आकर्षक विज्ञापनबाट परिचित भइसकेका थियौं | मलाई सम्झना छ त्यस बेला अमुल मक्खन निलो तेर्सा धर्काहरु अनि सेतो बट्टामा आउने गर्थ्यो | त्यस उपरान्तदेशमा मात्र नभई विदेशमा पनि सुपरिचित भई एक घरेलु नाम भइसकेको छ – “भारतको अमुल” भनौं वा “अमुलको भारत” भनौं, कस्तो यहाँहरुलाई मन पर्छ - दुवै नै एक अर्काको परिचायक साथै पर्याय् भइसकेको मलाई लाग्छ |
यसो सम्झेरलैजाँदा यस प्रकार यहाँको पहिरनमा अधिकाङ्श देखिने बाहिरबाट आएकाहरुमा सर्वप्रथम सिक्किमका देवान नारी के. रुस्तमजी*नै थिए जस्तो मलाई लाग्छ अनि उहाँ सेतो वा हल्का पहेँलो बक्खुमा हुने गर्थे | यस अघि ब्रिटिशहरुले पनि लगाए होलान् तर यसको प्रयोग शाङ्ग्रिला तिब्बत छिर्नलाई छद्म वेश-भूषामा उपयोग भएको त्यस बेलाका ऐतिहासिक पुस्तकहरु पढ्दा थाहा लाग्दछ | रुस्तमजी अघिका जोह्न एस. लाल वा उनी पछिका सिद्लन आइ एस. चोपड़ाले नलगाए ता पनि बालेश्वर प्रसाद साथै प्रमुख प्रशासनिक अधिकारी आर.एन. हल्दीपुर प्राय:जसो यस वेशभूषामा देखिन्थे | भर्खरै प्रकाशित बहु-चर्चित एन्ड्रयु डफ्फको पुस्तक ‘सिक्किम : रिक़्युईम् फर ए हिमालयन किङ्गडम’(२०१५)-मा स्थानीय पाल्जर नामग्याल गर्ल्स स्कूलकी प्रधान अध्यापिका मिस मार्था हेमिल्टन पनि यहाँछँदा बक्खुमा सजिएकी देखिन पाइन्छ | यहाँ यदि म गलत भए कृपया सच्च्याउनु होला – मलाई लाग्छ स्थानीय नेपाली अधिकारीहरुले बक्खु लगाउँदैन थिए सिवाय भरतसिँह छेत्री* जो राज दरबारमा ए. डी. सी. पदमा नियुक्त थिए | त्यहाँ निजी सचिवालयमा पूर्णकुमार प्रधान * धेरै समयसम्म सचिवको पदमा सेवारत थिए | उहाँ डेभेलपमेन्ट एरियामा मेरो वर्तमान निवासको मुन्तिर केही पाइला हिँड़ेपछि ‘हेप्पी कटेज’ नामक घरमा बस्नु हुन्थ्यो अनि उहाँको एउटा गाड़ी अस्टिन कार भएको सम्झना छ | हामी डाक बङ्गला(हाल आकाशवाणी गान्तोकको कार्यालय)बाट डेभेलपमेन्ट एरिया (हाल मंशी कोलोनी नजिकै) एउटा सरकारी आवासमा सरेका थियौं अनि केही महिनामा त्यहाँबाट ‘हेप्पी भेल्ली’मा सरेका थियौं – काइँला बाजे राई साहेब भीमबहादुर प्रधान* वन विभाग प्रमुख फरेष्ट मेनेजरको पदबाट सेवानिवृत्त हुनुभएर आफ्नो नव-निर्मित निजी आवास ‘आत्म-निकेतन’मा सर्नुभएका थिए अनि मेरा सानु मामा मोहनप्रताप प्रधान*लाई त्यो सरकारी आवास आबण्टित भएको थियो | पूर्ण कुमार मामा पनि वर्तमान सर टाशी नामग्याल हायर सेकेण्डरी स्कूलतिर जाने बाटो अवस्थित सोनाम बिल्डिङ्ग पल्लोपट्टि आफ्नो निवास ‘आनन्द भवन’मा सरेका थिए | सन् १९७४मा म मेरो दुइ-वर्ष लामो प्रशिक्षण सिद्ध्याएर गान्तोक फर्किंदा त्यस भवनमा बसेको थिएँ जहाँबाट सो साल मध्य-नवम्बरतिर म नव-निर्मित ‘एट-युनिट बिल्डिङ्ग’ बस्नपुगेको थिएँ | यस अघि गान्तोक छँदा जहिले पनि म मेरा सानु मामासित बस्ने गर्थें – एक-दुइ पटक भने डेन्जोङ्ग सिनेमा छेउ भवनमा विधान मामासित बसेको थिएँ |‘एट-युनिट बिल्डिङ्ग’को निर्माण हुनु धेरै समय लागेको थियो अनि मलाई लाग्थ्यो कि त्यो मेरै लागि प्रशिक्षण सिद्ध्याएर गान्तोक फर्किआओस् भनी पर्खेर बसेको थियो जस्तो लाग्थ्यो | हामी त्यहाँ प्रवेश गर्दा एउटै मात्र मूल ढोका मात्र लागिएको थियो तर हामीलाई आबण्टित गर्ने सरकारी आदेश-पत्रले सो भवन सम्बन्धित विभागलाई सुम्पिनुअघि यो कार्य सहज बनाएको थियो – सो बेला भवन विभागका प्रमुख ऐतिहासिक व्यक्तित्व सी. डी. राई थिए |
अर्का व्यक्ति जो यस पहिरनमा देखिएका भन्ने चर्चा सुन्न-हेर्नमा आएका हुन् म स्कूल छँदा अनि पछि सेवारत हुँदाका मेरा अग्रज लालबहादुर छेत्री | उहाँको यस विशिष्टताले गर्दानै तादोङ्ग निवासी दयाराम भट्टराईले स्थानीय ‘समय दैनिक’मा भर्खरै सिक्किम राज्य नागरिक सम्मानले पुरस्कृत अनेकौंसित परिचय राख्दै वर्णन गर्दा आफ्नो विचार यसरी पोखेका छन् – “...श्री टागा खाम्पा – सिट्कोमा एमडी भएदेखि चिन्दछु | एल.बी.छेत्रीको साथी | एलबी छेत्री पनि टागा खाम्पा हुन्छु भनेर बक्खु लगाई हिंड्थे तर टागा खाम्पा छेत्री हुने कोसिस कहिल्यै गरेनन् |” यस कुराले मलाई स्कूल छँदा पढेको हाम्रा बुढ़ा-पाकाले भन्ने गरेका त्यो उखान याद आउँछ – “देश गुनाको वेश, कपाल गुनाको केश” अथवा अङ्ग्रेजीमा भन्नु हो भने “डु इन रोम एज द् रोमन्स डु” अर्थात् रोममा छँदा रोमनहरु झैं वेशभूषा लगाउ | यसै कारण हो कि हामी सिक्किम राज्य नागरिक सेवा अन्तर्गत् मसुरी स्थित राष्ट्रिय प्रशासनिक एकडेमीमा प्रशिक्षणमा छँदा हाम्रा एक तीक्ष्ण बुद्धि भएका सहपाठी*ले हिमाली राज्यको विशिष्ट पहिचान दर्शाउने यो पहिरन सिलाउने सलाह राख्दा हामी सबैले एकएक वटा बक्खु सिलाएका थियौं | यो बक्खु कालो रङ्गको अनि पटुका रातो थियो जस्तो कि हामीहरु अझैं पनि यहाँ कतिपयले विशेष उत्सव, विवाह र अन्य समारोहमा लगाएको देख्न पाउँछौं | यससित हामीले साधारण सेतो कमिज नै लगाएका थियौं | यो पहिरन पछि फेरि कहिले लगाउने अवसर प्राप्त भएन किनकि यहाँ फर्किआउँदा यता वातावरण नै केही अर्कै थियो | प्रशिक्षणको अन्तिम चरण छ महिना म कलकत्तामा महालेखाकार (केन्द्रिय) कार्यालयमा थिएँ र अस्थिर राजनैतिक वातावरण भएको गान्तोकबाट हाम्रो मासिक तनखा आउन निक्कै कठिन हुन्थ्यो | वरिष्ठ अधिकारीहरु, देब र साहाले भरसक प्रयास गर्थे तर घरबाट समय-समयमा रकम झिकाएर खाँचो टारेको सम्झना छ |
गान्तोक फर्केर आएर गृह विभागमा सेवारत भएपछि यहाँ भएका घटना-क्रमदेखि केही अनभिज्ञ मलाई अब बक्खु मेरो लागि केही उपयोगी नरहेको लाग्न थाल्यो | सिक्किम क्रमश: भारतको एक अभिन्न भाग हुनुगएको परिवर्तित वातावरणमा बक्खुको स्थान एक शेरवानी धेर उपयोगी होला कि भनेर यसलाई पनि परिवर्तित गर्ने विचार गर्दा गर्दै एउटा लामो कोटमा परिणत गरें, तर यो कहिले पनि काम लागेन वा लगाइएन | यसको विपरीत यहाँ एक प्रकारको अस्कोट जसलाई एक राजनैतिक कार्यकर्ताको पहिरनको रुपमा परिचित छ त्यो बरु यहाँ हिजआज खुबै लोकप्रिय भइरहेको पाइन्छ | यहाँका राजनैतिक कार्यकर्ताहरु पनि के कम छन् र भर्खरै यो पनि सुन्नमा आएको छ कि मोदी कुर्ता मनपर्न थालेर उनीहरुमा कतिपयले लगाएको पनि देखिएको जान्नमा आएको छ | मलाई कुनै आश्चर्य लाग्दैन जब कि मणि शङ्कर आय्यर केन्द्रिय मन्त्री छँदा जब पनि सिक्किम-भ्रमणमा आउँदा उनले यहाँ भेटस्वरूप पाएको लेप्चा जेकेट लगाएर आउनेगर्थे | खेलकूद एवम युवा मामिला विभागमा सेवारत छँदा उहाँसितको उनको पुस्तक ‘कन्फेशंस अफ् ए सेक्युलर फण्डामेन्टालिष्ट’मा हस्ताक्षरित छ | बक्खुको कुरासित मलाई बनारस छँदा मेरा बुवा-मुमाले छ वर्ष छँदा छेवर गरिने बेला मेरो लागि एक कालो शेरवानी अनि सेतो चुड़ीदार पयजामा बनाइदिनु भएको र यस अवसरमा हामी विन्ध्याचल मन्दिर पुगेको सम्झना छ तर कति पटक चाहिं यो लुगा लगाएँ थाहा छैन | सानो छँदा यस पहिरनले मलाई साह्रै प्रभावित परेको होइन् तर पछि युवा नागरिक सेवकको रुपमा पण्डित जवाहरलाल नेहरूलाई सदैव रातो गुलाब अनि सेतो गान्धी टोपीसित यस परिहनमा देख्दा आकर्षित गर्दथ्यो | अँ, सानो छँदा मसित पनि त्यस वेशभूषासित लगाउनु त्यस्तो टोपी थियो तर सन् २००६ सालमा रञ्जनासित अजमेर शरीफ मोइनुद्दीन चिस्तीको दरगाह / ख्वाजा गरीब नवाज दरगाह दर्शन गर्नजाँदा मैले टाउको छोप्न सेतो गोलो बुनेको टोपी किनेर लगाएको थिएँ | यस भ्रमणले हामीलाई बाटैमा पुष्कर स्थित भगवान ब्रह्माको एक मात्र मन्दिर गई पूजा अर्पण गर्ने अवसर प्राप्त भएको थियो | अमृतसर को स्वर्ण मन्दिर नामले सुपरिचित हरमंदिर साहेब जाँदा भने मैले आफ्नो हातेरुमालले टाउको छोपेको थिएँ | जनवरी १९७३मा चण्डीगढ़मा प्रशिक्षणको लागि छँदा मेरा साथीहरु कोही पनि त्यहाँ जानु मननगरेकाले म एक्लै जाने सौभाग्य जुटाएको थिएँ - बिहानै बसबाट गएर सोही रात १० बजे फर्केको थिएँ |
यसै प्रसङ्गमा मेरो काश्मीर भ्रमणको याद दिलाउँछ सोही साल अक्टोबर महिनामा शिमला छँदा जब मैले राज कपूरको ‘बॉब्बी’ चलचित्र पहिलो दिन पहिलो शो हेरेर त्यहाँको प्राकृतिक मनोरम दृश्यहरुले आकर्षित भई श्रीनगर घुम्ने मन बनाएको थिएँ | संस्थाबाट लगिने भ्रमणमा अधिकाङ्श सह-प्रशिक्षणार्थीहरु मन नगरेकाले म र आन्ध्र प्रदेश गुण्टूरका राज शेखर रायालु आफ्नो निजी व्यवस्थामा दशैंको बिदा छेक पारी गएका थियौं | हामी दुवै त्यहाँ सबै ठाउँ घुमेका थियौं – डल झील, शङ्कराचार्य मन्दिर, शालिमार बाग, निशात बाग, गुलमर्ग जहाँ ऋषि कपूर र डिम्पल कपाड़ियाले कमराको चाबी हराएका थिए अनि पहलगाममा हामी घोड़ा चढ़ेका अनि खोला किनार भइरहेको चलचित्र ‘सबसे बडा रूपैया’को छायाङ्कन भएको ठाउँ अभिनेता विनोद मेहरा*सित सँगै तस्वीर लिएका थियौं | गत वर्षको विनाशकारी बाढ़ीले ‘पृथ्वीको स्वर्ग’ भनी परिचित काश्मीरको के दुर्दशा भयो त्यसको म कल्पना पनि गर्नसक्दिनँ | सन् २०१३मा रायालुसित अप्रत्याशित भेट हुन्छ मेरै घरमा – उनी केही सरकारी कार्य-विशेषको सिलसिलामा गान्तोक आइपुगेका थिए | हामी त्यस भ्रमणका आजीवन नबिर्सने अनि आजसम्म साँचेर राखेका यादगार रमाइला क्षणहरुको सम्झना गर्दै शिमला छँदा हाम्रो आवास ‘यार्रोव्स’का दिनहरु साथै हिउँ पर्दाका आनन्दमय समय स्मरण गरेका थियौं | चार दशक पछिको यो भेट यहाँ वित्त विभागमा सेवारत मेरा आफन्त बालकृष्णको सहयोगले सम्भव हुनुगएको थियो | हाम्रो अर्का सँगै प्रशिक्षण गर्ने मित्र नर्बु डाडुल चिङ्गापासित पनि भेट्ने रायालुको इच्छा रहेको तर भर्खरै एक सामाजिक कार्यक्रममा नर्बु भेट हुँदा यो कुरा सोद्धा सो सम्भव हुनुनसकेको थाहा लाग्छ |
---
जब हामी बक्खुको चर्चा यहाँ गर्छौं भने के हामी अर्को लोकप्रिय पहिरनको कुरा नगरी बस्न सार्थक हुन्छ यद्यपि यो दौरा-सुरुवाल कतिपयलाई वर्षमा एकै दिन भए पनि सो लगाउने सुअवसर प्राप्त हुन्छ | छिमेक दार्जीलिङ-पहाड़मा केही वर्षअघि दशैं-तिहारको चाड़को समय त्यहाँको सत्ताधारी दलको आव्हानमा यस परिधानले खुबै लोकप्रियता प्राप्त गर्न सकेको थियो | भयवश वा उन्मादवश भनौं मानिसहरु यति प्रभावित भए कि यसको निम्ति कपड़ा मात्र नभई लुगा सिलाउने दर्जीको पनि अभाव हुनुगएको थियो | यस पहिरनको शोभामा चार चाँद लगाउने अनि सँगै लगाइने भातगाउँले टोपी यसको मूल-थलो नेपालको राजधानी काठमाडौँमा समेत पाउन मुश्किल भएको थियो नत्र भने एक समय यस्तो पनि थियो कि यो बिक्री-वितरण नभएर त्यहाँ यसको लघु-उद्योग समेत विकट स्थितिमा पर्न गएको थियो | यसको कारण मशिनद्वारा बनिएको सस्तो मूल्य भएको रङ्गीन सुती कपड़ाको टोपीसित प्रतिस्पर्धा गर्न नसकेर यसको अस्तित्व सङ्कटमा परेको थियो यद्यपि यो त्यहाँका सभासद, सरकारी सेवामा भएका अनि नेपाल सेनाको समेत आधिकारिक पहिरनको एक आवश्यक भाग रहेको छ |
यद्यपि हामी नेवारको पहिरन केही भिन्न हुन्छ जस्तो कि एक पुरानो ऐतिहासिक महत्व बोकेको तस्वीरमा देख्न सक्छौं जहाँ टक्सारी चन्द्रवीर नेवारलाई रिनाक-काजीसितबसेका अनि छेवैमा जे.ए.एच. लुई अनि रिनाक बजारका अन्य नागरिकहरु उभिएका छन् | यहाँका सरकारले निम्त्याई पठाएर यहाँ आएर व्यापक तौरमा वन-जङ्गल फाँडेर तत्कालीन हिमाली राज्यको समाजमा अभूतपूर्व अनि अनुकरणीय योगदान दिएकोमा एक समुदाय-विशेषले भयङ्कर विद्रोह गरेको जसलाई कतिपय इतिहासकारले शक्ति-सङ्घर्षको लागि प्रारम्भिक विरोध/झड़पको संज्ञा दिइएको भए ता पनि समग्रमा भन्नुपर्दा यो एक प्रकारको लड़ाई नै थियो | मेरा समयका धेरै जस्ता पाठकहरुलाई स्कूल छँदा दूरदर्शी शिक्षाविद् डा. पारसमणि प्रधान* लिखित ‘नेपाली साहित्य’ पाठ्य-पुस्तकमा टक्सारी चन्द्रवीरबारे पाठ सम्झना आइरहेको होला | आफ्नो पुस्तक ‘द् लाइफ एण्ड टाइम्स् अफ् ए प्लान्ट्समेन इन द् सिक्किम हिमालायास्’(२००८)-मा पनि राख्न जे.ए.एच. लुई लिखित पुस्तक ‘द् गेट्स अफ् ठिबेट’-बाट यो तस्वीर कसरी प्राप्त गरे सो वर्णन गर्नुहुँदा केशव मामाले सिक्किम छोग्याल-शासनमा छँदा अनि भारतमा विलय हुँदाखेरिका कतिपय आफ्ना अनुभवहरु एक प्रत्यक्षदर्शीको रूपमा त्यसबेला डाउनलोड गरी पढ़ेका एन्ड्रयु डफ्फको ‘सिक्किम : रिक़्युईम् फर ए हिमालयन किङ्गडम’(२०१५) पुस्तकका अंशहरुसित गाँस्दै रोचक कुराहरु हामीलाई सुनाउनु भयो | त्यहाँ उपस्थित हामी यतिबाट सन्तुष्ट हुनुगएको तर पर्याप्त न भएकोले गर्दा सबैले उहाँलाई एउटा अर्को आफ्नो संस्मरण लेख्न हुन सबैले आग्रह गरेका थिए | कारण उहाँको विलक्षण स्मृति-शक्ति साथै त्यस बेलाको प्रत्येक घटनाक्रम, साल, व्यक्ति, स्थान, आदिका नामसहित सबै दुरुस्त याद भएको देखेर नै यी सब हामीलाईभन्दा हाम्रा भावी पीढ़ीले धरोहर र अझ लाभदायक सन्दर्भ-पुस्तक पाउने छ र यस कार्यको लागि मात्र १५ दिनको समय निकाल्नु भए सो कार्य उहाँबाट सम्भव हुने छ भनेका थियौं | क्रमशः
---